चारु
▪️छत्रपति दाहाल

कुसुमसित वसन्ती गाउँदै चारु आइन्
प्रकटित सुषमामा छाउँदै चारु आइन्

प्रणय भर जवानी जिन्दगी होस् खुशीको
नरम नरम माला लाउँदै चारु आइन्

जलन सब हरायो चित्त आफैं रमायो
सुमधुर प्रिय गाना गाउँदै चारु आइन्

अब सँगसँग हाम्रो प्यारको सृष्टि हुन्छ
तन, मन, मुटु सारा धाउँदै चार आइन्।

<>•<>•<>◾️<>•<>•<>

चारु विराग
▪️महेश मार्सेली

आज रातो कार्पेट टेक्दैमा हिजोको धुलो बिर्सनु हुन्न
ऐश्वर्य नहर बग्यो भन्दै दु:खको कुलो बिर्सनु हुन्न

आज महल ठड्याएँ भनेर तिमी गमक्क नगम्किनु
हिजो मुसा लुक्ने तिम्रो कोठाकोचैँ त्यो दुलो बिर्सनु हुन्न

आज थरीथरीका व्यन्जन तिम्रो भन्सामा पाक्यो भन्दैमा
हिजो बारीको हरियो साग पाक्ने त्यो चुलो बिर्सनु हुन्न

आज सैयौँ कोश परसम्मनै तिम्रो दृष्टि पुगेता पनि
हिजो मज्जाले आँखामा परेको ठूलो फुलो बिर्सनु हुन्न

आज तिमी बलवान् भए पनि लाज सबै नपचाऊ
हिजो केही गर्दा नचलेको त्यो हात लुलो बिर्सनु हुन्न ।

<>•<>•<>◾️<>•<>•<>

राग

सुन्दरप्रसाद रिजाल

मुहारमा छाली अधरमा लाली चढे जाग्छ जवानी
उमेर जब पुग्छ तब सबैको हुन्छ यहीँ कहानी

रुप र शृङ्गार प्रकृतिले दिने अमूल्य श्राप होला
त्यसैले अबुझ जति रुप देखेर गर्छन् तानातानी

मनोबल बढ्नुपर्छ सधैँ तर अहंकार होइन
अहम् आयो भने उसले गर्नेछ त्यहाँ मनोमानी

असल सभ्य मान्छे बनेर यहाँ पहिचान दिनुहोस्
नत्र मरेपछि सबै हुन्छन् जलेर चितामा खरानी

ज्ञानको मुहार सभ्यताको शिखर चुम्ने मानव हो
मान्छेले देखेका रहेनछन् जन्मेर यो ज्ञानको खानी ।
▪️ विराटनगर ५

<>•<>•<>◾️<>•<>•<>

चारु

निरु गौतम

थोरै भए पनि खुसी छरेर बाँचू म
दुःखीका हरेक पीडा हरेर बाँचू म

एकबारको जुनी केही गरी बिताऊँ
सदा अमर वीर झैँ मरेर बाँचू म

नसोचूँ कुभलो आफू, सम भाव राखूँ
अरुकै लागि भलाइ गरेर बाँचूँ म

मायाँ साँची मुटुभरि यहाँको माटोको
हृदयमा स्वदेश नै भरेर बाँचू म

यदि आए दुष्ट भाव छताछुल्ल पारी
आफैँबाट धेरै पर सरेर बाचूँ म
▪️ मोरङ

<>•<>•<>◾️<>•<>•<>

चारु / विराग

ताराप्रसाद चापागाईँ

जता कोल्टे फेर्दा नि जनताकै हार भयो
उन्नति हाेला भन्दा उल्टाे झनै मार भयाे

सिनु माथि गिद्धले झैँ कुर्सी घेर्छन् नेता
दिनै फेर्ने गठबन्धन कस्ताे लाचार भयाे

खुन पसिना बगाएर सधैँ दुख गर्छन् गरिब
ऋणमा डुबे ती जनता नेताकाे घरबार भयाे

सचेत बनौँ जन अब बेला अायाे हामी जुट्ने
भ्रष्टाचार र अन्यायकाे हद नै पार भयाे

तस्कर पाेस्दै युवा जति परदेशमा बेच्छन्
आयात गरौँ नेता अब लाै न अतिसार भयाे ।

धुनिबेसी

<>•<>•<>◾️<>•<>•<>

विराग

अलख निरन्जन लोहार

घरी घाम घरी बादल लागिरहेको छ
आसमानले गर्दैछ छल लागिरहेको छ

हावा चुपचाप थियो मलिन अनुहारमा
आगो दन्किन तिम्रै दखल लागिरहेको छ

पर्दा पछाडि काम गरेको छु रंगमन्चमा
मलाई त चिनेकै आँचल लागिरहेको छ

दुईचार बात मै यतिसम्म पगाल्यो उसले
तिमीले सुन भन्यौ पित्तल लागिरहेको छ

कुवासम्म जानु पर्छ प्यास बुझाउनलाई
तिमीलाई सडकमा जल लागिरहेको छ ।
▪️ टीकापुर , कैलाली
हाल : भारत

<>•<>•<>◾️<>•<>•<>

चारु

उमा ओडारी

देश दु:खेर देश रून थालेको छ
मुटु दुखेर मन छुन थालेको छ

तिमीले नजानिदो तान्दै छौ प्रिय
अचेल जिस्काउन धुन थालेको छ

भाग्यको भाँडोमा प्वाल पर्दैछ दिनै
प्रगतिका घडा चुहुन थालेको छ

भएकोछ फर्सिजस्तो जिन्दगी पनि
जोगाउन कतैबाट कुन थालेको छ

मकै जस्तै बनायौ मेरो देशको छाती
चपाउँदै धूलो झार्न घुन थालेको छ ।
▪️ पाँचथर

<>•<>•<>◾️<>•<>•<>

विराग

अम्बिका खरेल उप्रेती

पारेर पीर स्वार्थमा पनि सरेर नजाऊ
मायालु मेरा नजरमा पनि झरेर नजाऊ

हे नारी तिमी सजग भई अगाडि आऊ न
समान हक पाउने छौ तिमी मरेर नजाऊ

हकका लागि तिमीले चाहिँ बजाऊ मादल
पीरका गाठा कसेर पछि परेर नजाऊ

सागर भित्र कलङ्क बोकी अगाडि नबढ
जन्जालहरू समाजभित्र छरेर नजाऊ

तुवाँलो पनि हृदयदेखि कहिले हट्ने हो
चेतना मनका टेकेर पनि हरेर नजाऊ ।
▪️ विराटनगर -१२

<>•<>•<>◾️<>•<>•<>

राग विराग
जमुना कायस्थ

जाऊ जहाँ केही नयाँ समय बनोस्
रहनू त्यहीँ शुभारम्भ अजय बनोस्!

समयको चाल र हुरीबतास को छाल
जीवनबाट सदैव कुनै लय बनोस्!

मनका मैला हटाई सफलता चुमून्
जनमानस मा फैलेर अभय बनोस्!

खालीपनमा प्रभुको नै शरण पर्दछु
हृदयमा शान्ति सुखले विनय बनोस् !

संकष्ट र पीडाबाट छुटकारा पाउनलाई
अधैर्य हटाएर धैर्यवान् उदय बनोस् !
▪️ पोखरा

<>•<>•<>◾️<>•<>•<>

चारु/राग/विराग

रवि श्रेष्ठ

कहिले कालो रात, कहिले उज्यालो जून भयो जिन्दगी
कहिले गुलियो चिनी, कहिले चर्को नुन भयो जिन्दगी

जीवनको हरेक मोडमा, समस्यै समस्याले घेरिएर
चामल र गहुँसँगै पिसिने, पीडित घुन भयो जिन्दगी

सुमधुर संगीतमा रमाउने मन थियो, तर के गर्नु खै
थोत्रिएर पुरानो सारङ्गीको जस्तो, धुन भयो जिन्दगी

जीवनको हरेक पल रङ्गीन बनाउने आशा राख्दा
पान मसलामा घोलिने कत्था र चुन भयो जिन्दगी

औकातले भेटेसम्म कर्तव्य र दायित्व पूरा गरेकै थिएँ
तर पनि किन हो ? गुन भन्दा बढी बैगुन भयो जिन्दगी
▪️ सन्धिखर्क-१, अर्घाखाँची,
हाल : काठमाण्डौँ