१९

निकोलाइले आमालाई ढोका उघारिदियो । उसको लुगा खजमजिएको थियो र हातमा एउटा किताब थियो ।

“यति चाँडै ?” – ऊ दङ्ग पर्दै चिच्यायो – “कति छिटो !”

चस्माभित्र उसका मायालु सजीव आँखा झिमझिमाइरहेका थिए । उसले आमालाई कोट फुकाल्न मद्दत गर्‍यो र मायालु तालले मुस्कुराउँदै आमाको मुखमा हेर्‍यो ।

“हिजो राती हाम्रो घरमा खानतलासी लिन आएका थिए ।” – उसले भन्यो ।

“मलाई डर लागेको थियो कतै तपाईँलाई त भेट्टाएनन्, तर पक्रेर चाहिँ लगेनन् । तपाईँलाई भेट्टाएका भए मलाई मात्रै किन बाँकी राख्थे र … !”

उसले आमालाई भान्सा कोठामा लिएर गयो र बडो जोसले बताउँदै गयो –

“बरु नोकरीबाट चाहिँ अवश्य निकालिदिन्छन्, तर केही छैन । दिनभर मेचमा बसेर गरिब किसानहरूको सङ्ख्या गन्दा गन्दा वाक्क लागिसकेको छ ।”

कोठाको हालत रिसाएको साँढेले बाहिर भित्तामा सिँगाउरी खेलेर भित्रको सबै कुरा गज्याङमज्याङ पारिदिएको जस्तो थियो । तस्बिरहरू भुईँमा खसेका थिए । ठाउँ ठाउँमा भित्ते कागज च्यातिएको थियो र धुजा धुजा परेर लट्किरहेको थियो । एक ठाउँमा भुईँमा ठोकेको फल्याक उप्काइएको थियो । चुल्होनजिकै भुईँभरि खरानी छरिएको थियो । आमाले यो चिरपरिचित दृश्य देखेर टाउको हल्लाइन र एकटकले निकोलाइलाई हेर्न थालिन् । आमा आज उसमा केही नौलो कुरा महसुस गर्दै थिइन् ।

टेबुलमा निभिसकेको सामोभार राखिएको थियो । भाँडाहरू जूठै थिए । चीज र सालयासी प्लेटको सट्टा कागजमा राखिएको थियो । किताब, पाउरोटी र कोइलाका टुक्राहरू टेबुलभरि मिल्किएका थिए । आमा बिस्तारै हाँसिन्, निकोलाइ पनि असजिलो मान्दै मुस्कुरायो ।
“योचाहिँ उनीहरूको गडबडीमा मेरो पनि हात छ । तर केही छैन, पेलागेया नीलोभ्ना ! मलाई लाग्छ, उनीहरू फेरि पनि आउन सक्छन्, त्यसैले केही पनि तहलाउनपट्टि नलागेको । अनि तपाईँको सफर कस्तो भयो नि ?”

यस प्रश्नले आमालाई मुटुमै हिर्काएजस्तो लाग्यो । रिबिनको अनुहार फेरि उनको सामुन्ने देखा पर्‍यो । तुरुन्तै उसबारे नबताएकोमा आमालाई आफू दोषी भएजस्तो लाग्यो । मेचमा निहुरिँदै उनी निकोलाइतिर सरिन् र नहडबडाईकन सबै बेलिबिस्तार सुनाउन थालिन् ।

“ऊ समातियो … ।”

निकोलाइले झस्किँदै सोध्यो –

“हो र ?”

आमाले उसलाई चुप लाग्ने इसारा गरिन् र यसरी घटनाको वर्णन गर्न थालिन्, मानौँ उनी साकार न्यायकै अगाडि उभिएर मानिसमाथि भएको अत्याचारको विरुद्ध प्रतिरोध गर्दै छिन् । निकोलाइ मेचमा अडेस लागेर सुन्न थाल्यो । उसको अनुहार फिका भयो र ओठ टोक्दै आमाको कुरा सुनिरहेको थियो, मानौँ ऊ आफ्नो अनुहारमा टाँसिएको अदृश्य माकुराको जालो पुछ्दै छ । उसको अनुहारमा रेखाहरू अझ स्पष्ट भए, गालाको हाड अझ चुच्चो परेर निस्केजस्तो लाग्यो । आमा पहिलोपल्ट उसको यस्तो रूप देख्दै थिइन्, उसको यस्तो आकृति देखेर उनी अलि तर्सिन् पनि ।

आमाले आफ्नो कुरा सिद्ध्याइसकेपछि ऊ उठ्यो र खल्ती भित्रसम्म मुट्ठी घुसारेर चुपचाप कोठामा ओहोरदोहोर गर्न थाल्यो ।
“निकै आँटिलो मान्छे रहेछ ।” – ऊ दाह्रा किट्दै बडबडाइरहेको थियो – “उसलाई जेलमा बडो मुस्किल पर्नेछ । त्यस्ता मानिसहरूलाई त्यहाँ समय बिताउन असाध्यै गाह्रो हुन्छ ।”

आफ्नो आदेश रोक्न ऊ अझ जोडले खल्तीमा हात घुसार्दै थियो । तर आमा उसको यो अवस्था महसुस गर्दै थिइन् र आफैँ पनि त्यही आवेशको सिकार हुँदै थिइन् । निकोलाइका आँखाहरू यति साँघुरा भएर आए कि अब ती कुनै चक्कुका टुप्पाजस्ता देखिन्थे । फेरि कोठामा ओहोरदोहोर गर्दै उसले क्रुद्ध र कठोर स्वरमा भन्यो –

“एकपल्ट सोचेर मात्र हेर्नोस् त, कस्तो भयङ्कर करा छ । औँलामा गन्न सकिने मूर्खहरू जनतामाथि आफ्नो सत्यानाशकारी सत्ता कायम राख्न जसलाई पायो उसलाई कुटिरहेका छन्, मारिरहेका छन्, थिचिरहेका छन् । बर्बरता बढ्दो छ र चारैतर्फ निर्दयताको राज्य छ । सोच्नोस् त, यस्ता पनि मानिसहरू हुँदा रहेछन्, जो जनतालाई सताउँदा सताउँदा जनावर भइसकेका छन्, नबनुन् पनि किन सजायको डर भए पो ! अर्कालाई सताएर आफूले मजा लुट्ने तिर्खाको रोग लागेको छ । उनीहरू त्यही दासको जस्तो रोग, जसलाई आफ्नो दास भावना र पशुव्यवहारको तिर्खा मेट्न स्वतन्त्रता दिइएको छ । कोही बदलाको भावनाले विषालु बनेका छन् भने कोही मार खाँदा खाँदा लाटा र अन्धा बनिसकेका छन् । जनता भ्रष्ट हुँदै गइरहेको छ, पूरा जनताको यही हालत छ !”

ऊ थामियो र एक छिन चुप लाग्यो । उसका दाँत कटकटाइरहेका थिए ।

“यस्तो जङ्गली जीवनमा मान्छे अनायास नै आफैँ पशु बन्न पुग्छ ।” – उसले बिस्तारै भन्यो ।

जबरजस्ती आफ्नो आवेश रोक्दै उसले झन्डै शान्त तरिकाले आमाको अनुहारतर्फ हेर्‍यो । निकोलाइका आँखामा कठोर तेज थियो ।, आमा रोइरहेकी थिइन् ।

“तर पेलागेया नीलोभ्ना, हामीले त्यसै समय खेर फाल्नुहुँदैन । आउनोस् आफूलाई बसमा राखौँ !”

उसको ओठमा उदास मुस्कान फैलिएको थियो । ऊ आमातर्फ बढ्यो र निहुरिएर उनको हात आफ्नो हातमा लियो ।

“तपाईँको सुटकेस कहाँ छ ?” – उसले सोध्यो ।

“भान्सा कोठामा छ ।” – आमाले जवाफ दिइन् ।

“हाम्रो ढोकामा जासुसहरू ओहोरदोहोर गर्दै छन् । त्यति थुप्रा अखबारहरू हामी लुकाएर घरबाहिर पनि लान सक्दैनौँ, लुकाउने ठाउँ पनि कतै छैन । मलाई लाग्छ, उनीहरू आज राती फेरि पनि आउनेछन् । त्यसैले जति दुःख लागे पनि नजलाई सुख छैन ।”

“के जलाउने ?” – आमाले सोधिन् ।

“सुटकेसमा भएका सबै कुरा ।”

आमाले उसको कुरा बुझिन् । जतिसुकै दिक्क लागिरहेको भए पनि आफ्नो सफलताप्रति गर्वको भावनाले उनको अनुहारमा मिठो मुस्कान फैलियो ।

“डराउनु पर्दैन, त्यहाँ एक पत्ता कागज बाँकी छैन !” – आमाले भनिन् र बिस्तारै टाठी हुँदै चुमाकोभसँगको भेटबारे निकोलाइलार्य सविस्तार सबै कुरा बताइन् ।

निकोलाइले बडो ध्यानपूर्वक उनको कुरा सुन्न थाल्यो । सुरुसुरुमा त बेचैनीले उसका आँखीभौँ खुम्चिँदै थिए, तर बिस्तारै बेचैनीको स्थान आश्चर्यले लिन थाल्यो र अन्त्यमा आमाको कुरा बिचैमा काट्दै खुसीले चिच्यायो –

ओहो, यो त गजब भइहाल्यो नि, कस्तो भाग्यमानी मान्छे तपाई … ।”

आफ्ना दुवै हातले आमाको हात समाउँदै ऊ बिस्तारै फुसफुसायो – “तपाईँको मानिसमाथिको विश्वास यति हृदयस्पर्शी छ, साँच्चै म तपाईँलाई प्रेम गर्छु । आफ्नी आमालाई जस्तै ।”

आमा उत्सुकतापूर्वक उसलाई हेर्दै मुस्कुराइन् । आमा छक्क पर्दै सोचिरहेकी थिइन्, कसरी निकोलाइ एक्कासि त्यति प्रफुल्ल र सजीव बन्न पुगेछ ।

“साँच्चै भन्ने हो भने परिस्थिति धेरै नै आहत जनक भइरहेको छ ।” – उसले हात मल्दै भन्यो र बडो मायालु तरिकाले हाँस्न थाल्यो ।

“पछिल्ला दिनहरू मैले पनि बडो आनन्दसाथ बिताएँ । किताब पढ्थेँ, मजदुरहरूसँग कुराकानी गर्थे र उनीहरूको अध्ययन गर्थे । हृदयमा यस्तो स्वच्छ, पवित्र भावना उर्लन थाल्यो ! कस्ता जाती मान्छेहरू त, पेलागेया नीलोभ्ना, मेरो मतलब ती नौजवान मजदुरहरू हुन् । कति दृढ, संवेदनशील र ज्ञानका भोका छन् के भनौँ । उनीहरूलाई देख्दा अनायासै मनमा यस्तो विचार आउन थाल्छ, कुनै दिन हाम्रो रसिया अवश्य पनि संसारको सबैभन्दा प्रजातान्त्रिक मुलुक बन्नेछ !”

आफ्नो कुरा पुष्टि गर्न खोजेझैँ उसले हात उठायो । यस्तो लाग्थ्यो, मानौँ ऊ शपथग्रहण गर्दैछ । एक छिन चुप लागिसकेपछि ऊ फेरि बोल्न थाल्यो –

“वर्षभरि एकै ठाउँमा बसेर लेख्दा लेख्दा मेरा अङ्गप्रत्यङ्ग खिइसकेका थिए । दिमाग सड्न आँटिसकेको थियो । निकै असजिलो काम थियो । मजदुरहरूबिच काम गर्ने बानी परिसकेको मान्छेलाई उनीहरूसँग छुट्टिएर बस्नुपर्दा कस्तो असजिलो लागेर आउँदो रहेछ । मगजमा सधैँ एकै किसिमको तनाव रहन्छ । जीउ भारी भएर आउँछ । तर अब त म फेरि स्वतन्त्र जिन्दगी बिताउन सक्छु । सधैँ उनीहरूलाई भेट्न सक्छु । उनीहरूसँग काम गर्न सक्छु । तपाई बुझ्नुहुन्छ, म ती व्यक्तिहरूबिच हुनेछु, जहाँ निरन्तर नौला विचारहरू पैदा हुन्छन् । जवानीको जोसिलो सृजनात्मक शक्ति सम्मुख हुनेछ । कति साधारण, सुन्दर र रोमाञ्चकारी । यस्तो वातावरणमा मानिस फेरि जवान बन्छ । उसमा नयाँ शक्तिको सञ्चार हुन्छ । उसले पूर्ण जीवन बाँच्न सक्छ ।”

ऊ हाँस्न थाल्यो । उसको यो उल्लास आमा बुझ्थिन् र उनको हृदय पनि ऊ सँगसँगै रमाउन थाल्यो ।
“तपाई असाध्यै जाती मान्छे हुनुहुन्छ !” – निकोलाइले गद्गद् हुँदै भन्यो – “तपाई कति स्पष्ट रूपमा मान्छेहरूको चित्रण गर्नुहुन्छ  र कति राम्ररी उनीहरूलाई बुझ्नुहुन्छ !”

निकोलाइ आमाको नजिकै गएर बस्यो । लाज मान्दै उसले आफ्नो उल्लासपूर्ण अनुहार अर्कातिर फर्कायो र कपाल मुसार्न थाल्यो । ऊ एक छिनपछि फेरि आमातिर फर्क्यो । बडो ध्यानपूर्वक उनका सरल, स्पष्ट र रोचक बयान सुन्न थाल्यो ।

“ठुलो भाग्यले जोगिनुभएछ ।” – उसले खुसी हुँदै भन्यो – “समातिने ठुलो सम्भावना थियो, तर … । यस्तो लाग्छ, किसानहरूले पनि केही बुझ्न थालिसकेका छन् र यो स्वाभाविकै पनि हो । त्यही आइमाईकै कुरा गरौँ न, म यहीँबाट गजब राम्ररी देख्न सक्छु उनलाई ! – गाउँमा काम गर्नका लागि हामीलाई छुट्टै मानिसहरूको आवश्यकता छ ।”

“पाभेल जेलबाहिर हुँदो हो त, अझ आन्द्रेइ पनि भइदिएको भए !” – आमाले बिस्तारै भनिन् ।

निकोलाइले आमाको अनुहारमा हेर्‍यो र फेरि टाउको झुकायो ।

“पेलागेया नीलोभ्ना, हुन सक्छ, तपाईँलाई यो कुरा सुन्दा दुःख लाग्ला तैपनि भन्छु, मैले पाभेललाई धेरै राम्ररी चिनेको छु – ऊ कदापि जेलाबाट भाग्न तयार हुने छैन । ऊ चाहन्छ, उसमाथि मुद्दा चलाइयोस् । ऊ सबैका अगाडि उभिएर आफ्नो विचार व्यक्त गर्न चाहन्छ, आफ्नो परिचय दिन चाहन्छ र उसले यस्तो मौका कदापि गुमाउने छैन । फेरि यस्तो मौका छाड्ने नै किन ? बरु ऊ साइबेरियाबाट भाग्नेछ ।”

“के गर्नु र ? के गरे राम्रो हुन्छ ऊ आफैँलाई थाहा छ ।” – आमाले सुस्केरा हाल्दै भनिन् ।

“हँ ! – निकोलाइ एक छिन चुप लाग्यो र आफ्नो चस्मा पछाडिबाट आमालाई हेर्दै भन्यो – “मलाई यस्तो लाग्छ, तपाईँले भन्नुभएको त्यो किसान छिट्टै यहाँ आइपुग्नेछ । हामीले किसानहरूका लागि रिबिनबारे एउटा पर्चा तयार गर्नु छ । यसले उसलाई हानि पुर्‍याउँदैन, किनभने ऊ आफैँ ठाडो कुरा भन्न डराउँदैन । म आजै लेखिसिद्ध्याउँछु, लुद्मीलाले तुरुन्तै छापिदिइहाल्छिन् । तर पर्चा कसरी त्यो गाउँमा पुर्‍याउने हो ?”

“म पुर्‍याइदिन्छु … ।”

“होइन, होइन पर्दैन, धन्यवाद छ !” – निकोलाइले हतारिँदै भन्यो – “मलाई लाग्छ, भेसोभसिकोभलाई पनि लगाउने हो कि यस काममा, हँ ?”

“मैले कुरा गरेर हेर्छु ।”

“कुरा गरेर हेर्नोस्, राम्ररी सम्झाइदिनुहोस् !”

“अनि मैले के गर्ने त ?”

“धन्दा नमान्नोस्, तपाईँका लागि पनि कुनै काम भेट्टाइहाल्छौँ !”

निकोलाइ लेख्न बस्यो । आमाले टेबुल सफा गर्दै कर्के आँखाले उसलाई हेरिन् । उसको हातको कलम सेतो कागजमा काला हरफहरू कोर्दै दौडिरहेको थियो । बेलाबेलामा उसको गर्दनको छाला झडकन्थ्यो । ऊ आँखा बन्द गरेर टाउको पछाडि अँठ्याउँथ्यो, त्यस बेला उसको चिउँडो काँप्थ्यो । यो देखेर आमालाई चिन्ता लाग्यो ।

“लौ तयार भयो !” – उसले उभिँदै भन्यो – “तपाई अहिलेलाई यो कागज कतै आफ्नो जीउमा लुकाएर राख्नोस् । तर याद राख्नुहोला, पुलिसहरू आइपुगे भने तपाईँको जीउसमेत छाम्न सक्छन् ।”

“कस्ता पापीहरू त !” – आमाले शान्त भावले जवाफ दिइन् ।

साँझपख डाक्टर इभान दानीलोभिच आइपुग्यो ।

“यो हाकिमहरू किन एक्कासि यस्तरी खलबलाएका हँ ?” – “उसले कोठामा ओहोरदोहोर गर्दै सोध्यो – “हिजो राती मात्रै सात घरको तलासी लिए । बिरामी खै त ?”

“ऊ त हिजै हिँडिसक्यो !” – निकोलाइले जवाफ दियो – “आज शनिवार उसको अध्ययन मण्डली छ, उसले छाड्न चाहेन … ।”

“यो त सोह्रै आना मुर्ख्याइँ भइहाल्यो नि, फुटेको टाउको लिएर अध्ययन मण्डलीमा जानु … ।”

“मैले निकै मनाएको थिएँ, तर माने पो … ।”

“साथीहरूका अगाडि फुर्ती लाउन दौडेको होला ।” – आमाले भनिन् – “उसले यो देखाउन खोजेको होला, यी हेर न, मैले आफ्नो रगतसमेत बगाएर पनि … ।”

डाक्टरले आमाको अनुहारमा हेर्‍यो र बनावटी कठोरतासहित भन्यो –

“तपाई पनि कति निष्ठुरी हुनुहुन्छ !”

“लौ इभान, यहाँ तिम्रो कुनै काम छैन । हामीकहाँ पाहुना आउने भएका छन्, तिमी अब गए हुन्छ । पेलागेया नीलोभ्ना, खोइ त्यो पर्चा यहाँलाई दिनोस् त !”

“फेरि कुन कागज नि ?” – डाक्टरले अचम्म मान्दै सोध्यो ।

“हो, अर्को एउटा पर्चा तुरुन्तै लगेर प्रेसमा दिइहाल ।”

“हुन्छ, पुर्‍याइदिउँला । अरू पनि केही छ कि ?”

“अरू केही छैन । चारैतिर जासुसहरू घुमिरहेका छन् । होसियार हुनु ।”

“देखेको छु, मेरो घरअगाडि पनि घुमिराख्या छन् । लौ त बिदा ! निष्ठुरी आइमाईसँग पनि बिदा ! साथी हो, साँच्ची भन्ने हो भने मसानमा भएको त्यो सङ्घर्ष निकै फाइदाजनक ठहरियो, पूरा सहरमा यही चर्चा चलेको छ । त्यस विषयमा लेखिएको तिम्रो पर्चाले पनि खुब राम्रो काम गर्‍यो । निस्कन पनि खुब टाइममै निस्क्यो । म त सधैँ भन्ने गर्थे – सही लडाइँ गलत शान्तिभन्दा बेस हुन्छ ।”

“धेरै गन्थन नगर अब, तिमी हिँडिहाल … ।”

“यही हो तिम्रो अतिथि सत्कार ? प्रेमी त होइनौँ, तैपनि हात मिलाइहालौँ नीलोभ्ना ! जे भए पनि यहाँबाट हिँडेर त्यस केटोले बडो बेवकुफी गर्‍यो । तिमीलाई थाहा छ, ऊ कहाँ बस्छ ?”

निकोलाइले ठेगाना दियो ।

“भोलि उसकहाँ जानुपर्ला, बेस केटो छ, होइन र ?”

“अवश्य !”

“हामीले उसको हेरविचार गर्नुपर्छ । बडो होनहार केटो छ !” – डाक्टरले बाहिर निस्कँदै भन्यो – “यस्तै मान्छेहरूबाट पछि गएर वास्तविक सर्वहारा बुद्धिजीवी तयार हुन्छ, जब हामी त्यस संसारमा पुग्नेछौँ, जहाँ सायद नै कुनै वर्गीय भेदभावहरू होलान्, उनीहरूले हाम्रो ठाउँ लिनेछन् ।”

“इभान, तिमीले अचेल धेरै बकबक गर्न थालेका छौ … ।”

“मलाई रमाइलो लागिराखेको छ, त्यसैले बोल्दै छु ।”

त्यसो भए जेल जाने तयारी गर्दै छौ ? आशा गर्छु, त्यहाँ आराम गर्नेछौ … ।”

“धन्यवाद ! म थाक्या छैन ।”

आमा उनीहरूको वार्तालाप सुन्दै थिइन् । त्यस केटाबारे उनीहरूको चिन्ता देखेर आमालाई धेरै खुसी लाग्यो ।

डाक्टर गइसकेपछि आमा र निकोलाइ खाना खान बसे । रातको पाहुनालाई पर्खँदै उनीहरू बिस्तारै बिस्तारै कुरा गरिरहेका थिए । निकोलाइले आमालाई आफ्नो निर्वासनमा भएका साथीहरूबारे धेरै बेरसम्म बताइरह्यो । उसले निर्वासनबाट भागेर आएका र अर्कै नाम राखेर काम गरिरहेका साथीहरूबारे बतायो । उसका ती शब्दहरू घरका नाङ्गा भित्ताहरूमा ठोकिएर फेरि यसरी फर्किन्थे, मानौँ संसारको नवीकरणको महान् लक्ष्यका लागि आफूलाई बलि चढाउन तत्पर यी कहादुरहरूबारे बताइरहेका कहानीहरूमाथि उनीहरूलाई विश्वास छैन । आमालाई ममताको न्यानो भावनाले छोप्यो र यो अपरिचित व्यक्तिहरूप्रति प्रेमको भावनाले हृदय तात्न थाल्यो । उनको कल्पनामा ती सबै व्यक्तिहरू एक भीमकाय अनन्त शक्ति भएको महापुरुषमा परिणत भए । त्यो महापुरुष बिस्तारै बिस्तारै अघि बढ्दै छ र आफ्ना कर्मठ हालहरूले असत्यताको युगौँ पुरानो फोहोर मैला हटाउँदै छ, जसले गर्दा मानिसहरूले जीवनको सरल र स्पष्ट सत्यलाई देख्न सकुन् । जब यस महान् सत्यको पुनर्जन्म हुनेछ, तब उसले सबैलाई समान हार्दिकतासाथ आफूतर्फ डाक्नेछ र उनीहरूलाई लोभ, रिस र असत्यजस्ता ती तीन पिशाचहरूको फन्दाबाट मुक्त गर्नेछ, जसले समस्त संसारलाई नै आतङ्कित र दास बनाएर राखेका छन् । यस कल्पनाले उनको हृदयमा त्यही भावना जागृत गर्‍यो, जुन जिन्दगीका आफ्ना कम कष्टदायक दिनहरूको अन्त्यमा ईश्वरको मूर्तिअगाडि उभिएर त्यस दिनका निमित्त उहाँप्रति आभार प्रकट गर्दै प्रार्थना गरिसक्दा उनको हृदयमा जागृत हुन्थ्यो । अतीतका ती दिनहरूबारे उनले बिर्सिसकेकी थिइन्, तर अहिले त्यही भावना उनको हृदयमा बढ्न थाल्यो र त्यस भावनाले एक उज्ज्वल र उल्लासपूर्ण रूप लिन पुग्यो, एक सजीव वस्तुको रूपमा प्रस्फुटित हुन थाल्यो ।

“पुलिसहरू त आएनन् नि !” – निकोलाइले आफ्नो कुरा बिचैमा टुङ्ग्याउँदै भन्यो ।

“नरकमा बास होस ती सत्यानाशीहरुको !”

“हो, बरु नीलोभ्ना, अब तपाई पनि सुत्न जानुभए हुन्छ, असाध्यै थाक्नुभएको होला । कतिको शक्ति छ तपाईँमा ! यतिको परेशानी र खतरा खप्नुपर्दा पनि तपाई पटक्कै हरेस खानुहुन्न । हेर्नोस् त, कपाल पनि कति चाँडै फुल्न थालिसकेछ । जानोस्, आराम गर्नोस् ।”