१८
आमा भित्तामा अडेस लागेर बसिन् र टाउको पछिल्तिर अड्याउँदै उनीहरूले शान्त स्वरमा विभिन्न विषयहरूमाथि आफ्नो मत प्रकट गरिरहेका सुन्न थालिन् । ताचियानाले उठेर चारैतर्फ आँखा घुमाइन् र फेरि बसिन् । किसानहरूतिर असन्तुष्टि र हेलाको दृष्टिले हेर्दा उनका हरिया आँखाहरूमा सुख्खा चमक देखा पर्थ्यो ।

“लाग्छ, तपाईँले आफ्नो जिन्दगीमा धेरै दुःख भोगिसक्नुभएको छ ?” – एक्कासि आमातर्फ फर्कँदै उनले भनिन् ।
“भोगेँ !” – आमाले जवाफ दिइन् ।

“तपाईँको कुरा मलाई असाध्यै मीठो लाग्यो, भित्रैदेखि फेरि सुन्ने इच्छा भएर आउँछ । कुरा सुन्दै जाँदा मनमनै लाग्न थाल्छ, हे ईश्वर ! यस्ता मान्छेहरूको दर्शनसम्म मात्र पाए पनि धन्य हुन्थेँ । त्यो पो हो साँच्चीको जिन्दगी ! हाम्रो जिन्दगी पनि जिन्दगी हो ? भेडा बराबर बाँचिरहेका छौँ ! मलाई नै हेर्नोस् न । अलिकति पढ्न जान्दछु, किताब पढ्छु र थुप्रै सोच्छु । कहाँसम्म भने कहिलेकाहीँ त रातभरि सोचेर बसेकी हुन्छु । तर यसबाट के फाइदा र ? नसोचूँ जिन्दगी त्यसै खेर गइहाल्यो, सोचूँ त्यो पनि बेकारै छ ।”

उनको भनाइमा व्यङ्ग्यको झलक थियो र कहिलेकाहीँ धागो चटक्क चुँडालेजस्तो बोल्दाबोल्दै बिचैमा टक्क थामिन्थिन् । किसानहरू चुपचाप सुनिरहेका थिए । बाहिर झ्यालमा हावा मडारिरहेको थियो, छानाको पराल सर्सराइरहेको थियो र चिम्नीमा झुईझुई आवाज आउँदै थियो । आकलझुकल पानीका एक दुई थोपा झ्यालको ऐनामा ठोकिन पुग्थे । बत्तीको ज्वाला एक पटक हल्लिएर मलिन भयो, तर एकैछिनमा फेरि पहिलेजस्तै शान्त र तेजिलो भएर बल्न थाल्यो ।

“जब मैले तपाईँको कुरा सुनेँ तब मनमनै भनेँ – मानिसले बाँच्नुपर्ने यसै कुराका लागि त हो ! कस्तो अचम्म त, जब म तपाईँको कुरा सुन्न थाल्छु, मलाई यस्तो लाग्न थाल्छ, मानौँ यी सबै कुरा मलाई अघिदेखि नै थाहा थियो । तर यस्तो कुरा न मैले पहिले कसैबाट सुनेकी थिएँ, न त आफैँले सोचेकी थिएँ ।

“ताचियाना, भो अब खाना खाइहालौँ, बत्ती पनि निभाउनुपर्छ !” – स्तेपानले उदास स्वरमा बिस्तारै भन्यो – “मानिसहरूले शङ्का गर्न थाल्नेछन्, किन यो चुमाकोभको घरमा यति अबेलासम्म बत्ती बलेछ, हामी मात्र भइदिएको भए केही थिएन, तर यस्तो पाहुना आउनुभएको छ, उहाँलाई नराम्रो पर्न सक्छ … ।”

ताचियाना उठेर चुल्होतर्फ लागिन् ।

“अब त बुझ्यौ भाइ, प्रत्येक पाइला छामेर सार्नुपर्छ !” – प्योत्रले मुस्कुराउँदै भन्यो – “गाउँमा अखबार देखा पर्न थालेपछि त … ।”

“मलाई आफ्नो फिक्री छैन । समातिए पनि कुनै हानि हुँदैन !”

उसकी स्वास्नी टेबुलअगाडि आइन् र भनिन् – “खोइ उठ त … ।”

ऊ उठ्यो र एक छेउमा उभिएर स्वास्नीले टेबुलमा खाना राखेको हेर्न थाल्यो ।

“तिमी–हामीजस्ता त पैसाका सय वटा भेटाइन्छन्, होइन त भाइ,” – उसले व्यङ्ग्यपूर्वक भन्यो ।

एक्कासि आमालाई उसमाथि दया लागेर आयो । आमालाई त्यो मान्छे झन्झन् मन पर्दै गइरहेको थियो । आफ्नो मनको सबै कुरा पोखिसकेकीले उनलाई दिनभरिको बोझबाट हलुङ्गो भएजस्तो लागिरहेको थियो । उनी मनमनै आफैँप्रति दङ्ग पर्दै थिइन् र अहिले उनको हृदयमा सबैप्रति सद्भावना थियो ।

“घरधनी, तपाईँको कुरा ठिक लागेन ।” – आमाले भनिन् – “तपाईँको रगत चुस्ने मान्छेहरूले तपाईँको जुन मोल राखेका छन्, के तपाई त्यही मोल स्वीकार गर्नुहुन्छ ? हामीले आफैँले आफ्नो मोल राख्नुपर्छ । तपाईँको मोल, तपाईँको गुणको मोल साथीहरूले राखेको मोल हुन्छ, न कि शत्रुहरूले राखेको … ।”

“हाम्रा साथीहरू नै पो कहाँ छन् र ?” – किसानले निराश हुँदै भन्यो – “एक गाँस भातका लागि … ।”

“म भन्छु, हाम्रा साथीहरू थुप्रै छन् … ।”

“छन् होलान्, तर यहाँ छैनन् । यही त छ फसाद !” – स्तेपानले केही सोच्दै भन्यो ।

“यहाँ पनि आफ्नो साथी खोज्ने कोसिस किन गर्नुहुन्छ त ?”

“हो त नि, यो खाँचो अनुभव गर्न थालेका छौँ … ।” – स्तेपानले केही बेर सोचिसकेपछि बिस्तारै भन्यो ।

“बसौँ, खाना खाइहालौँ !” – ताचियानाले भनिन् ।

आमाको भाषणबाट प्योत्रमा नयाँ जीवन सञ्चार भएजस्तो भएको थियो । त्यो प्योत्र खाना खाने समयमा फेरि फुर्तिलो भएर छिटो छिटो कुरा गर्दै थियो ।

“आमा, तपाईँलाई कसैले पनि नदेखे राम्रो । त्यसैले बिहान सबेरै नै तपाईँले यहाँबाट हिँड्नुपर्छ । सहरभित्र नपसी, तपाई सिधा दोस्रो स्टेसनतिर लाग्नोस्, हुलाकी एक्का भेट्टाइहालिन्छ … ।”

“किन त्यसो गर्नुपर्‍यो र ? म पुर्याइदिहाल्छु नि !” – स्तेपानले भन्यो ।

“तिमीले किन गइरहनुपर्‍यो र ! केही परिआयो भने तिमीलाई सोधपुछ गर्न थाल्नेछन् । यहाँ बास बस्नुभएको थियो ? अनि कता लाग्नुभयो त ? मैले स्टेसनसम्म पुर्‍याएर आएको थिएँ । ए, त्यसो भए तैँले पुर्‍याएर आएको थिइस् ! लौ त जा जेल ! बुझिस् ? जेल जान किन त्यस्तो हतार गर्नुपर्‍यो र ? सबै कुराको आफ्नो पालो आउँछ । ‘कुबेलामा तिल नघोट्नु, बखतमा हीरा फोड्नु’ भन्छन् । एक्लै जानु भए के हुन्छ र ? राती बास बस्नुभएको थियो, बिहानै भाडामा एक्ला लिएर हिड्नुभो । कसकहाँ को बास बस्छ, कसलाई के मतलब र ! मूल सडकमा परेको गाउँ, मानिसहरू आउने जाने गरिरहेकै हुन्छन् … ।”

“प्योत्र, तिमीलाई यस्तो डरछेरुवा बन्न कसले सिकायो हँ ?” – ताचियानाले व्यङ्ग्यपूर्वक सोधिन् ।

“भाइ, मान्छेले सबै कुरा जान्नुपर्छ !” – हातले घुँडामा ठोक्दै प्योत्रले भन्यो – “मौकाअनुसार डराउनु पनि पर्छ, बहादुर पनि बन्नुपर्छ ! तिमीलाई सम्झना छ, यही अखबारका लागि कसरी भागानभलाई पुलिसले ठोकेको थियो ? अब त लाख रुपैयाँ दिए पनि ऊ अखबार हातमा समाउन मान्दैन । तर आमा, तपाई मलाई विश्वास गर्नोस्, म मान्छे चर्को र बदमास छु, सबैलाई थाहा छ । म तपाईँको सबै अखबार र पर्चाहरू भनेजस्तो गरी बाँडिदिन्छु । साँचो हो, हाम्रा गाउँलेहरू त्यति साह्रो लेखपढ गर्न जान्दैनन् र बढी डराउँछन्, तर समयले मानिसलाई चारैतिरबाट यसरी घेरामा पार्छ कि ऊ आँखा खोल्न बाध्य हुन्छ र सोच्न थाल्छ, ‘कसरी यी सबै कुराबाट मुक्ति पाउने हो ?’ अखबारहरू यस्तै बेलामा काम लाग्छन् । त्यसमा साफ साफ जवाफ लेखिएको हुन्छ । अनि त के छ र, खालि सोचविचार गर, बुद्धि निकाल । यस्ता पनि कैयौँ घटनाहरू छन्, जब अनपढ किसानहरू पढेलेखेका मानिसहरूभन्दा पनि समझदार निस्कन्छन् । खास गरेर त्यस बेला, जब पढेलेखेका मान्छेहरूमाथि भोकको मार परेको हुँदैन । म यहाँ कुना कुनामा पुगेको छु र मैले सबै कुरा देखेको छु । वास्तवमा काम गर्न खोजे नसकिने होइन, तर धेरै सोच र अकल भने अवश्य चाहिन्छ । नत्र सुरुमै जेल पर्न पनि बेर छैन । अफिसरहरूले पनि यो गन्ध पाइसकेका छन् कि किसानहरूको उनीहरूप्रतिको व्यवहारमा रत्तीभर पनि आदरको भावना छैन । अफिसरहरूलाई देख्दा उनीहरू मुस्कुराउन छाडिसकेका छन् र मुस्कुराए पनि करबलले । वास्तवमा उनीहरू अफिसरहरूबाट परपरै रहन चाहन्छन् । हालसालैको कुरा हो, यहीँ नजिकैको स्मोल्याकोभो गाउँमा सब सरकारी कर्मचारीहरू त्यहाँ मालपोत असुल गर्न आइपुगेका थिए, किसानहरूले लाठो लिएर उनीहरूको स्वागत गरेका थिए । थानेदारले त सिधै भनेछ – “तिमीहरू गधाका सन्तानहरू, जार विरोधी काम गर्दैछौ ।” स्पिभाकिन नाउँ गरेको एक जना किसानले त मुखभरिको जवाफ दियो – “जाओ, तिमीहरू पनि तिम्रा जारसँग नरकमा । के काम हामीलाई त्यस्तो जार, जसले जीउमा लगाइराखेको कमिजसमेत फुकालेर लिन्छ ।” देख्नुभयो आमा ! कुरा कहाँसम्म पुगिसक्यो त । अवश्य, स्पिभाकिनलाई त्यसपछि जेल हाले । तर उसको भनाइलाई त जेल हाल्न सकिन्न । बच्चा बच्चाले सुनेका छन् उसको कुरा र त्यो कुरा हाम्रो कानमा गुन्जिँदै छ, मनमा गढिरहेको छ ।”

प्योत्र केही खाइरहेको थिएन, खालि सुस्त आवाजमा छिटो छिटो बोलिरहेको थियो । उसले काला चम्किला आँखाहरूले चारैतिर हेर्दै थियो । ऊ गाउँको जीवनबारे आफ्ना अनुभव आमालाई यसरी बताउँदै थियो, मानौँ थैलोमा भएको पैसा मुठी मुठी बाहिर झिक्दै छ ।
स्तेपानले दुई पटक बिचैमा उसको कुरा काटेर भन्यो –

“तिमी पहिले खाना त खाऊ !”

प्योत्रले दुवै पटक रोटीको टुक्रो र चम्चा उठायो, तर चराले गति गाउनमा मगन मस्त भएझैँ ऊ खान बिर्सेर फेरि आफ्नो कहानी सुनाउनमा नै मस्त हुन्थ्यो ।

खाना खाइसकेपछि ऊ फुर्तीसाथ उठ्यो र भन्यो –

“लौ त, अब म पनि घर हिँड्ने बेला भयो … !” ऊ आमाको अगाडि उभियो र टाउको निहुराउँदै आमासँग हात मिलायो ।

“हवस् त आमा ! हुन सक्छ, जिन्दगीमा फेरि कहिल्यै भेट नहोला । तर तपाईँसँग भेट्न पाउँदा र तपाईँको कुरा सुन्न पाउँदा धेरै खुसी लाग्यो । तपाईँको सुटकेसमा अखबारबाहेक अरू पनि केही छ कि ? तपाईँको रुमाल ? ठिक छ, त्यो म पठाइदिउँला । सम्झिराख स्तेपान ! ऊ अहिले तपाईँको सुटकेस लिएर फर्कन्छ । हिँड स्तेपान ! हवस् त आमा, नमस्कार !”

उनीहरू निस्किसकेपछि कति शून्य भने साङ्लाहरू यताउता दौडिएको आवाजसमेत सुनिन थाल्यो । बतास छानामा सुसाउँदै चिम्नीभित्र झुईझुई आवाज निकालिरहेथ्यो । पानीका छिटाहरू एकनासले झ्यालमा ठोकिरहेका थिए । ताचियानाले आमाका लागि चुल्होमाथिबाट डसना झिकेर ओछ्यान लगाइदिइन् ।

“बडो फुर्तिलो मान्छे छ !” – आमाले भनिन् ।

“नबर्सने बादलजस्तै त हो नि, गर्जन खुब जानेको छ ।” – आमाले सोधिन् ।

“बेसै छन् ! मान्छे असलै छन्, जाँड रक्सी पिउँदैनन्, मिलेरै बसेका छौँ । मान्छे अलि कमजोर मुटुको छन् र मात्र … ।”
उनी सोझिएर उभिइन् ।

“भन्नोस् न, आजको जमानामा मान्छेले गर्नुपर्ने कुरा के हो ?” – एक छिन रोकिएपछि उनले भन्न सुरु गरिन् – “जनताले विद्रोह सुरु गर्नुपर्छ होइन ? अवश्य त्यही गर्नुपर्छ । सबैले यो कुरा बुझेका छन् तर सबै आ–आफ्ना मनमा राखेर बसेका छन्, जबकि यस्तो कुरा चिच्याई चिच्याइ भन्नुपर्छ । सुरुमा कम्तीमा पनि एक दुई जना त अघि बढ्नुपर्छ ।”

उनी बेन्चमा बसिन् र अचानक सोधिन् –

“तपाई भन्नुहुन्छ, घरानियाँ परिवारका युवतीहरू पनि यस्तो काम गर्छन् । मजदुरहरूकहाँ जान्छन्, उनीहरूलाई किताबहरू पढेर सुनाउँछन् – के यस्तो काम गर्न उनीहरू घिन मान्दैनन्, डराउँदैनन् ?”

ध्यानपूर्वक आमाको जवाफ सुनिसकेपछि उनले लामो सुस्केरा हालिन् र टाउको झुकाउँदै आँखा बन्द गरिन् ।

“एउटा किताबमा मैले यस्तो शब्द भेट्टाएकी थिएँ – “निरर्थक जीवन ।” मैले यस शब्दको अर्थ तुरुन्तै बुझिहालेँ । कस्तो यो जिन्दगी हो भन्ने कुरा मलाई राम्ररी थाहा छ । अर्थ त छ, तर सबै यसरी छरिएका हुन्छन् – गोठालेविनाको भेडाको बथानजस्तै न बटुल्ने मानिस नै छ, न त साधन नै । यही हो निरर्थक जीवन ! आफ्नो बसको कुरा भइदिएको भए यस्तो लाग्छ, भागिहालूँ यस जिन्दगीबाट । केही कुरा बुझ्न थालेपछि मानिसलाई यस्तो दिक्दारी लागेर आउँदो रहेछ !”

उनका हरिया आँखाको सुक्खा चमकमा, ओइलिएको अनुहारमा र आवाजमा आमा यो दिक्दारी देखिरहेकी थिइन् । आमालाई त्यस आइमाईलाई ढाडस दिने र माया गरेर सुमसुम्याउने इच्छा भयो ।

“तपाईँले त सबै कुरा बुझी नै सक्नुभएको छ, के गर्नुपर्छ भन्ने पनि थाहा नै छ … ।”

“बुझेर मात्र पनि के गर्नु र, केही गर्न सके पो ।” – ताचियानाले बिस्तारै आमाको कुरा काट्दै भनिन् ।

चुल्होतिर हटेर उनी चुपचाप खडा भइन् – उनको अनुहार गम्भीर, निश्चल र विचार मग्न थियो । आमा लुगा नफुकालीकनै पल्टिन् । जीउमा कति कष्ट भइरहेको थियो भने कनाइको एक हलुका आवाज निस्क्यो । ताचियानाले बत्ती निभाइन् । घरभरि अन्धकार फैलिएपछि उनी एकोहोरो मसिनो स्वरमा बोल्न थालिन् । यस्तो लाग्थ्यो, मानौँ उनको स्वर निसास्सिँदै अन्धकारको सम्म मुखाकृतिबाट केही पुछेर लग्दै छ ।

“तपाई पनि ईश्वरमा विश्वास गर्नुहुँदो रहेनछ । म पनि विश्वास गर्दिनँ, न त चमत्कारमै विश्वास गर्छु ।”

आमाले कोल्टे फेरिन् । झ्यालबाहिरको अभेद्य अन्धकारले सिधै उनलाई हेरिरहेको थियो र यस अन्धकारमा प्रत्येक क्षण स्वर र सरसराहट टड्कारो भएर सुनिरहन्थ्यो । उनले अति सानो र कम्पित स्वरमा भनिन् –

“ईश्वरको कुरा त थाहा छैन, तर ईसामसीहमाथि चाहिँ मलाई विश्वास लाग्छ । मलाई उहाँको आफ्ना छिमेकीहरूलाई आफैँलाई झैँ, प्रेम गर !” भन्ने सन्देशमाथि विश्वास लाग्छ … !”

ताचियाना चुप लागिन् । चुल्होको कालो पृष्ठभूमिमा आमा उनको तन्किएको अनुहारको धमिलो रूपरेखा देखिरहेकी थिइन् । चुल्होको कालो पृष्ठभूमिमा यो अनुहार खैरो देखिन्थ्यो । उनी निश्चल भएर उभिएकी थिइन् । आमाले उदार भएर आँखा बन्द गरिन् ।

आमाले एक्कासि ताचियानाको कठोर शब्द सुनिन् – “मेरा बच्चाहरूको मृत्युका लागि म न ईश्वरलाई, न त मानिसलाई नै क्षमा गर्न सक्छु !”

आमा विचलित भएर उठिन् । ताचियानाका शब्दपछाडि जुन वेदना लुकेको थियो, त्यो उनले राम्ररी बुझेकी थिइन् ।

“तपाई अझै तरुनी हुनुहुन्छ, बहिनी, अरू पनि जन्मेलान् नि ।” आमाले मायालु स्वरमा भनिन् ।

“अहँ डाक्टरले भनिसकेको छ, अब म बच्चा जन्माउन सक्दिनँ, कहिल्यै जन्मँदैन … ।” – केही रोकिएर साउतीको स्वरमा आइमाईले भनिन् ।

भुईँमा खुर्र मुसो दौडियो । कुनै वस्तु फुटेको सुख्खा चर्को आवाज सुनियो । यसै अदृश्य बज्रपातले कोठाको निस्तब्धता भङ्ग गरिदियो । फेरि पर छानामा झरीको सरसरे आवाज स्पष्ट सुनिन थाल्यो । यस्तो लाग्थ्यो, मानौँ कसैका हडबडाएका मसिना औँलाहरू त्यहाँ केही छाम्दै छन् । पानीका थोपा तप्केको उराठलाग्दो आवाज मन्द गतिले बितिरहेका शरद ऋतुको रातको याद दिलाइरहेको थियो ।
उँघ्दाउँघ्दै आमाले बाहिर बरन्डामा कसैको नजिकिँदै आइरहेको एकनासे पदचाप सुनिन् । बिस्तारै ढोका खुल्यो र सानो स्वरमा कसैले सोध्यो –

“ताचियाना, तँ सुतिसकिस् ?”

“अहँ, सुतेकी छैन ।”

“उहाँ नि ?”

“निदाइसक्नुभएजस्तो लाग्छ ।”

एक्कासि उज्यालो भयो । आगाको ज्वाला केही बेर हल्लियो र फेरि निभ्यो । किसानले आमाको ओछ्याननेर गएर उनका खुट्टा छोपिने गरी ओढ्ने ओढाइदियो । आफूप्रतिको यो माया गराइले आमालाई हृदयदेखि नै आनन्द लागेर आयो । आँखा बन्द गर्दै उनी मुस्कुराइन् । स्तेपान चुपचाप लुगा फुकालेर पल्टियो । चारैतिर फेरि शून्यता छायो ।

आमा चुपचाप पल्टिएर ध्यानपूर्वक त्यस स्वप्निल निस्तब्धताको उथलपुथल सुनिरहेकी थिइन् । उनका आँखाअगाडि रिबिनको रगतले लतपत भएको अनुहार घुम्न थाल्यो ।

घरधनीहरू सुतेका ठाउँबाट फुसफुसाएको सुख्खा आवाज आयो ।

“देख्यौ कस्ता मानिसहरूसमेत यस काममा लागेका छन् । उमेर बितिसक्यो, पिर र व्यथा खप्नुसम्म खपिसकिन्, अब बसेर आराम गर्नुपर्ने बेलामा उनीहरू यस्तो काम गर्दै छन् । तिमी त अझै जवान छौ, चलाख छौ, तैपनि … धत्तेरि स्तेपान … ।”

“यस्तो काममा सोचविचार नगरी हात हाल्नुहुँदैन ।” – किसानले गुन्जँदो आवाजमा जवाफ दियो ।

“सुनिसकेकी छु मैले यस्तो कुरा … ।”

एक छिनका लागि फुसफुसाहट बन्द भयो र फेरि सोपानको आवाज सुनियो –

“काम सुरु गर्ने हो भने सबैभन्दा पहिले किसानहरूसँग छुट्टाछुट्टै कुरा गरेर हेर्नुपर्छ । जस्तै – अलेक्सेई माकभ लेखपढ गर्न जान्दछ, मान्छे जोसिलो छ र हाकिमहरूदेखि चिढिएको छ । सेर्गेइ शोरिन पनि बुझ्ने खालको मानिस छ । कन्याजेभ इमानदार र सुरो छ । हाललाई यत्तिकै भए पुग्छ । हामीले उनले बताएका जस्ता मान्छेहरूसँग सम्बन्ध राख्नुपर्छ । म बन्चरो बोकेर सहरतिर लाग्छु, मानिसहरू सहरमा दाउरा चिरेर केही पैसा कमाउन गयो होला भन्ने ठान्छन् । यस्तो काममा बडो सतर्क हुनुपर्छ । उनी ठिकै भन्दै थिइन् । मानिसले आफैँले आफूलाई आँक्न जान्नुपर्छ । आजकै त्यही किसानकै कुरा लेऊ, ईश्वर नै अगाडि उभ्याए पनि आफ्नो कामबाट पछि हट्ने छैन । नीकिता नै भयो, देख्यौ कस्तो भएर निस्केछ त, त्यस्तो भएर निस्केला भन्ने कसैले सोचेको थियो र !”

“तिमीहरूकै अगाडि मानिसलाई कुट्दा पनि मुखमा बुझो हालेझैँ चुप लागिरहन्छौ … ।”

“के करा गरेकी तिमी त्यस्तो, अझ ईश्वरले दया गरे भन न ! नत्र हामीलाई नै कुट्न बाध्य गर्थे होलान्, त्यति सजिलो छ भन्ठानेकी छ्यौ ।”
स्तेपान धेरै बेरसम्म खुसखुसाइरह्यो । उसको आवाज कहिले यति मन्द हुन्थ्यो कि आमालाई सुन्नसमेत मुस्किल पर्थ्यो । कहिले चर्को गुन्जँदो आवाजमा बोल्न थाल्थ्यो ।

“बिस्तारै बोल न, ब्युँझनु होला ।” – स्वास्नीचाहिँ बेलाबेलामा भन्थी ।

गहिरो निद्राको बाक्लो बादलले आमालाई डम्म ढाक्यो । उनी मस्तसँग निदाइन् ।

बिहानीपख ताचियानाले आमालाई ब्युँझाइदिइन् । झिसमिसे उज्यालो हुन थालेको थियो । प्रातकालीन चिसो निस्तब्धता भङ्ग गर्दै गिर्जाघरको घण्टा बज्न थाल्यो र हावाको लहरसँगै पट्यारलाग्दो तरिकाले गाउँभरि फैलिँदै रातको पहरा सिद्धिएको सूचना दिइरहेको थियो ।

“मैले सामोभार बसालिसकेकी छु, चिया पिएर जानुहोला । नत्र उठ्ने बित्तिकै हिँड्दा ठन्डी लाग्न सक्छ ।” – ताचियानाले भनिन् ।
स्तेपान आफ्नो लट्टा परेको दाह्री केलाउँदै गम्भीरतापूर्वक आमालाई सोध्दै थियो – कसरी उनलाई सहरमा फेला पार्न सकिन्छ ? आमालाई लाग्यो, आज उसको अनुहारमा बढी दृढता आएको छ । चिया पिउँदै स्तेपानले हाँसेर भन्यो –

“कस्तो अचम्मको कुरा हुन गयो ?”

“के भो ?” – ताचियानाले सोधिन् ।

“यो भेटघाट नि ! हेर न कति सजिलोसँग … ।”

“यस काममा सबै कुरा यस्तै सजिलोसँग हुन्छ ।” – आमाले केही सोच्दै दृढ स्वरमा भनिन् ।

उनलाई बिदा गर्दै किसान दम्पित्तले सकभर आफूलाई कडा पारे, धेरै बोलेनन् । तर उनीहरूले उनको सुविधाबारे सानातिना कुराहरूसमेत ध्यान दिएका थिए ।

एकान्तमा बसेर आमा सोच्दै थिइन्, स्तेपानले मुसाको चालमा होसियारीसाथ काम सुरु गर्नेछ र कहिल्यै थाकेर बस्ने छैन । स्वास्नीको असन्तुष्ट आवाज सधैँ उसको कानमा गुन्जिरहनेछ । उनका हरिया आँखाका भत्भताउँदा ज्वाला तबसम्म चम्किरहनेछन्, जबसम्म उनी जीवित रहनेछिन् । आफ्ना सन्तानको मृत्युले जन्माएको उनको हृदयको प्रतिरोधपूर्ण हिंस्रक वैरागीपन कहिल्यै शान्त हुने छैन ।
आमालाई रीबिनको सम्झना आयो – उसको रगत, अनुहार, बल्दा आँखा, उसका कुरा, पुलिसहरूको पशुत्वअगाडि आफ्नो असमर्थताको तीतो भावनाले उनको मुटु निमोठ्दै थियो । सहरसम्म नै बाटोभरि मिखाइलको अनुहार त्यस नरमाइलो दिनको पृष्ठभूमिमा आमाका आँखाअगाडि घुमिरह्यो । उनी देख्दै थिइन्, उसको हट्टाकट्टा शरीर, कालो दाह्री, धुजा धुजा परेको कमिज, पछिल्तिर फर्काएर बाँधिएका हात, खोसलिएको कपाल । रिबिनको हृदयमा प्रतिशोधको ज्वाला दन्किरहेको छ । ऊ आफ्नो सत्यतामा विश्वस्त छ । आमाले पृथ्वीको अनगिन्ती गाउँहरू र त्यहाँ बस्ने मानिसहरूबारे सोचिन्, जो आफ्नो हृदयमा न्यायको दिन आउने बाटो पर्खेर बसिरहेका छन् । उनले ती हजारौँ मानिसहरूबारे सोचिन्, जो जिन्दगीभर चुपचाप बिना कुनै लक्ष्य काम गरिरहेका छन् – यिनलाई कुनै सुधारको आशा छैन ।

आमालाई लाग्यो, जिन्दगी त्यो बाँझो पाखो हो जुन चुपचाप कसैले आएर खनिदिन्छ भन्ने प्रतीक्षामा बसेको छ । यस्तो लाग्थ्यो, ऊ स्वतन्त्र र इमानदार मानिसहरूको मूक प्रतीक्षा गर्दैछ –

“मेरो छातीमा सत्य र न्यायको बीउ रोप, म तिम्रो परिश्रमको सय गुना बढी फल फलाइदिनेछु ।”
आफ्नो सफलताको सम्झनाले उनको हृदयमा बिस्तारै आनन्दको भावना उर्लन थाल्यो, तर तुरुन्तै लज्जित हुँदै दबाइदिइन् ।