रक्सी बिनाको कवि वास्तविक कवि होइन ।
कवि कोनराड ऐकन
‘अर्थ ट्रम्फन्ट’ कविता संग्रहबाट चर्चामा रहेका कोनराड ऐकनको ‘सेलेक्टेड पोएम्स’ले पुलित्जर पुरस्कार प्राप्त गरेको थियो भने कलेक्टेड पोएम्सले नेसनल बुक अवार्ड जितेको थियो । उनको ‘साइलेन्ट स्नो, साइलेन्ट सेक्रेट’ कथा सङ्ग्रह निकै लोकप्रिय मानिन्छ ।
एक दिन बेलायती पबमा दुई प्रख्यात कविहरू रक्सी पिउँदै थिए । एक थिए यिनै कोनराड ऐकन र अर्का थिए, माल्कोम लउरी । पहिले त यी दुई सुस्त सुस्त पिउँदै थिए तर पछि को बढी मात्तिने भन्ने प्रतिस्पर्धा नै चल्यो ।
९ बजेपछि ऐकनकी पत्नी क्लारिसा चिन्तित हुँदै पब पब डुल्दै लोग्ने कहाँ हरायो भन्दै खोज्न निस्किइन् । प्रायः पिउने पबमा लोग्ने नभेटिएपछि उनी झन् चिन्तित भइन् ।
एउटा नाली छेउमा ती दुई विद्वान् कविहरू मन पसन्द कुरा गर्दै रहेछन् तर कुरैकुरामा छेउको नाली को बढी उफ्रेर पारि तर्ने भन्ने प्रतियोगितामा ऐकन चाहिँ पछारिन पुगे । उनका साथी माल्कम पनि उनलाई जोगाउन खोज्दा उनी पनि पछारिए ।
०००
एक पेगपछि अर्को नथप्न गाह्रो हुन्छ, जब दुई पेग पुग्छ, त्यसपछि अर्को तीन नलिन साह्रै गाह्रो पर्छ ।
जेम्स एगी
चर्चित उपन्यासकार जेम्स नेगी पत्रकार, फिल्म लेखक, फिल्म समीक्षक र कवि पनि हुन् । उनको कविता संग्रह लेट अस नाउ प्रेज फेमस मेन साह्रै आलोचित कविता संग्रहमा पर्छ । उनले लेख्दै गरेको आत्मपरक उपन्यास अ डेथ इन द फेमिलीले भने पुलित्जर पुरस्कार जितेको थियो । उनले जोन हस्टनसँग मिलेर लेखेको फिल्म द अफ्रिकन क्विन अस्कर पुरस्कारका लागि नामाङ्कन पाएको थियो ।
यी जेम्स एगी शुरूमा रक्सी पिउँदैनथे तर पछि कसो कसो रक्सीको लती बन्न पुगे । रक्सी खाएपछि उनी गज्जबका इन्टरटेनर बन्न पुग्छन् भनेर केहीले उनको मजाक उडाउने गर्थे । फिल्म निर्देशक जोन हस्टनले चाहिँ जेम्सलाई एउटै कारणले रक्सी खुवाउन रूचाउँथे ताकि उनी बोलेको बोल्यै गरून् र मनोरञ्जन दिलाइरहून् ।
निर्देशक जोन हस्टन उनको रक्सी पिएपछिको बेग्लै अवतारलाई यति रूचाउँथे कि आफ्ना दुई फिल्म ‘द ब्राइड कम्स टु येल्लो स्काई’ र टेलिभिजन फिल्म ‘अब्राहम लिंकन’मा वास्तविक रूपमा नै रक्सी खुवाएर अभिनय गराएका थिए ।
०००
जब तपाईं रक्सीले मात्तिनु हुन्छ, त्यसपछि मार्केटिङको मान्छे र तपाईंमा केही फरक देखिनु हुन्न ।
कवि सेरवुड एन्डरसन
सेरवुड एन्डरसन उपन्यासकारका रूपमा चर्चित छन् । उनको ‘विन्सबर्ग, ओहियो’ कथा संग्रह निकै प्रख्यात छ । उनको लेखनीका कारण नै उनीपछिका प्रख्यात लेखकहरूलाई प्रेरित गरेको मानिन्छ । उनको लेखन शैलीले अर्नेस्ट हेमिङवे, जोन स्टेनबेक, थोमस वल्फ र विलियम फकनरको लेखनीमा जबरजस्त प्रभाव पारेको थियो ।
एक पटक अमेरिकाको न्यु ओर्लिन्समा त्यस बखतका चर्चित लेखक सेरवुडको परिचयात्मक कार्यक्रम राखिएको थियो । त्यहाँ अर्का युवा कवि विलियम फकनर पनि थिए । कार्यक्रम सकिएपछि रक्सी पिउने कार्यक्रम थियो र रक्सी पिउँदै गर्दा दुवैबीच गज्जबको दोस्ती बन्यो । कुरामा उनीहरू दुवै मग्न हुन थाले ।
रक्सीको मात कतिसम्म चढ्यो भने युवा फकनरले डिनर प्लेट नै टाउकोमा राखेर नाच्न थाले । यहीबेला फकनरले एन्डरसनलाई पहिलो विश्वयुद्ध लड्दाताका आफू घाइते भएको काल्पनिक कथा सुनाएर एन्डरसनलाई प्रभावित तुल्याए । उनको उडन्ते कुरा सुनेर एन्डरसनले एउटा कविता लेखे तर पछि उनलाई फकनरले गफ दिएको चाल पाए ।
झन्डैझन्डै मरेको उनको कथाको यस्तो तोड थियो कि उनले त्यो कुरा धेरैपछिसम्म बिर्सन सकेनन् ।
एक पटक ब्राजिलमा रहँदा एन्डरसन एउटा रक्सी पार्टीमा थिए । ककटेल पार्टीमा उनले दुर्घटनावश टुथपिक (बाँसको घोचो) निल्न पुगे । निकैपछि यही टुथपिकले पेटमा बनाएको घाउका कारण उनको मृत्यु हुन पुग्यो ।
(स्रोतः हेमिङ्गवे एन्ड बेलीज् बारटेन्डिङ गाइड टु ग्रेट अमेरिकन राइटर्स, लेखकः मार्क बेली)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।