२१. गीताको जन्मोत्सवको तरखर
एक हप्तापछि गीताको आठौँ जन्मोत्सव पर्थ्यो । एक हप्ताअघिदेखि नै गीता खुसीले चरीझैँ उड्न थालेकी थिई । किनभने आमाले उसलाई जन्मोत्सवमा सबै साथीहरूलाई डाकेर इच्छा लागेजस्तो रमाइलो गर्ने आज्ञा दिनुभएको थियो ।
‘म त इन्द्रजाली रूखमा र मोहिनी वनमा बस्ने सबै साथीहरूलाई बोलाउँछु आफ्नो जन्म दिनमा’ गीताले आफ्ना सबै साथीहरूको नाम एउटा कापीमा लेख्तै भनी ‘अनि खुब मिठा-मिठा खानेकुरा बनाएर भोज ख्वाउँछु ।’
‘अनि सबै मिलेर नाच्ने, गाउने’ आशिषले पनि खुसी हुँदै भन्यो ‘म त्यस दिनमा एउटा खुब रमाइलो नाटक गर्छु, गीत पनि गाउँछु । मसँग कस्ता राम्रा-राम्रा क्यासेट छन् ।’
‘तर आमाले रिसाहा बाउन्ने र के-नाम-के-रेलाई बोलाउन दिनुहोला र ?’ अमरले शङ्का गर्यो ‘ती अलि जङ्गली खालका छन् आमा त्यस्ता मान्छेलाई मन पराउनुहुन्न । त्यसैले उनीहरूलाई नडाक्ने कि ?’
‘तर डाकेपछि त सबैलाई डाक्नै पर्छ नि,’ गीताले भनी “कसैलाई डाक्ने नडाक्ने त कसरी भयो र?… नडाकिएकाहरूले चित्त दुखाउँछन् ।’
‘त्यो त हो ।’ आशिषले भन्यो ‘तर आमाले मान्नुहुन्न ।’
गीता अलमल्ल परी । …अब के गर्ने ? साथीहरूमा कसैलाई छुट्याउने गर्नु त मजा भएन । उसलाई बडो पिर पर्यो। ऊ रुन्चे मुख लाएर दाजुको मुख हेर्न थाली ।
‘त्यसो होइन’ अमरले भन्यो ‘हामी भकुन्डे भाइकहाँ गएर सल्लाह गरौँ । उसले जे भन्छ, त्यही अनुसार काम गरौँला ।’
त्यसपछि उनीहरू मोहिनी वनतिर जान तयार भए । तर आमाले गीतालाई त्यस दिन बाहिर जान दिनुभएन । उहाँले भन्नुभयो ‘आज घरमा धेरै काम छ । गीता नभई म एक्लैले सबै काम गर्न भ्याउन्न । उसले मलाई धेरै काम सघाउनु पर्छ ।’
‘दाइ ! अब तिमी एक्लै जानुपर्ने भयो’ गीताले अमरसँग भनी तिमी गएर भकुन्डे भाइ र हिमानीसँग सल्लाह गरेर आऊ । तर धेरै बेर त नलाऊ, नि । हामी यहाँ बाटो हेरिरहन्छौँ । तिमी नआउन्जेल हामीलाई पिर लागिरहने छ । माथि गएर फेरि कुनै नौलो धरतीमा नजानू नि !’
‘हुन्छ हुन्छ, म तिमीहरूलाई छोडेर एक्लै कुनै नौलो धरतीमा जान्न, त्यसमाथि पनि बादलमाथिको नौलो धरतीमा जान त म चेत बाबा काशी भइसकेँ’ अमरले भन्यो र गीता र आशिषलाई घरै छोडेर मोहिनी वनतिर लाग्यो । गर्मी उखरमाउलो थियो । मोहिनी वनका सबै जीवजन्तुहरू छहारीमा लुकेका थिए। जङ्गल रापले स्याइँ स्याइँ कराइरहेको थियो । अमरलाई यस्तो गर्मीमा त्यो इन्द्रजाली रूख चढेर भकुन्डे भाइकहाँ पुग्ने आँट आएन । त्यसैले उसले सुसेली काढेर रातो लोखर्केलाई बोलायो । अमरको सुसेली सुन्ने बित्तिकै रातो लोखर्के आफ्नो टोड्काबाट बाहिर निस्क्यो ‘किन ? … के भन्न आयौ अमर ?’
‘लोखर्के भाइ ! तिमी माथि गएर भकुन्डे भाइलाई म आएको छ, बाल्टिन- यान खसालिदेऊ रे भन न’ अमरले भन्यो ‘यस्तो गर्मीमा मलाई रूख चढेर माथि पुग्ने आँटै आएन ।
‘लौ’ भनेर लोखर्के फुत्रुक्क फुत्रुक्क गर्दै सजिलै रूख चढेर माथि गयो । एक छिनपछि माथिबाट बाल्टिनको गाडी सुरुरुरु तल आयो । अमर गएर त्यस गाडीमा बस्यो । अनि माथिबाट भकुन्डे भाइले गाडीलाई तान्यो । बाल्टिन-गाडी हाँगा-हाँगामा ठक्कर खाँदै माथि जान थाल्यो । यो यात्रा पनि बडो रमाइलो र हाँसो उठ्दो थियो । अमरलाई त्यसरी बाल्टिनमा बसेर इनारबाट पानी तानिएझैँ माथि तानिन रमाइलो लाग्यो।
बाल्टिन-गाडी माथिमाथि चढ्दै गयो । बाटामा अमरले रिसाहा बाउन्नेलाई देख्यो। क आफ्नो ढोकाअगाडि मेचमा उँघिरहेको थियो । अमरले कराउँदै उसलाई नमस्कार गर्यो । तर रिसाहा बाउन्नेले अलमलिएझैँ अनौठो मानेर उसलाई क्वारक्वार्ति हेरिरह्यो । उसले बल्ल-बल्ल अमरलाई चिनेर दाँत ङिच्यायो ।
केहीमाथि पुगेपछि लाटोकोसेरो देखियो । ऊ आफ्नै गुँडमा मस्तसँग आँखा चिम्लेर ध्यान गर्न थालेको थियो । अमरले उसलाई उठाएन । अलिमाथि के-नाम-के-रे पनि आफ्नै घरअगाडि मेचमा सुतेर घ्वार्र घ्वार्रे घुरिरहेको थियो । एक्कासि बाल्टिन-गाडी हाँगामा ठोक्किएको आवाजले उ तर्सेर मेचबाट खस्यो । अनि अमरलाई चिनेर खुसीले उफ्रँदा त ऊ झन् आफ्नो हाँगाबाट खसेर तल्लो हाँगामा सुतिरहेको काम्टेमाथि बज्रन पुग्यो ।
‘ए, के भयो ?… के भयो ?…’ काम्टे आत्तिँदै करायो ।… अनि के-नाम-के-रेलाई यसरी आफूमाथि चढेको देखेर ऊ झन् आत्तिँदै उठ्यो ‘किन के भयो, भुईँचालो आयो कि क्या हो ?’
“होइन, होइन !… म आफै कुदेको होइन’ के-नाम-के-रेले हत्त र पत्त उठ्तै भन्यो ‘मलाई अमरले… क उता हेर अमर… । हेर न क, कसरी बाल्टिन- गाडीमा… ।’
“झाडीमा ? कहाँ ?… केको झाडीमा ?’ काम्टेले कराउँदै भन्यो । ‘झाडीमा होइन, अमर बाल्टिन-गाडीमा चढेर आयो भनेको बैरो’ के-नाम-के-रे झर्केर करायो । काम्टे झन् डराएझैँ यताउति हेर्न थाल्यो । ऊ एकदम हडबडाएझैँ
लाग्यो “पैह्रो ?… होइन, खोइ पैह्रो यो रूखमा कहाँबाट जान्छ पैह्रो।… नचाहिया कुरा गर्छन् यिनी ।”
‘धत्तेरिका ।’ के-नाम-के-रे साँच्चै दिक्क भयो । उसले काम्टेको मुन्टो अमरतिर फर्काएर भन्यो ‘पैह्रो होइन बैरो, अमर आएको भनेको ऊ, हेर तेरा बाजेलाई । …एक थोक भन्यो अर्को थोक सुन्छ ।’
‘ए, अमर !’ अब भने अमरलाई देखेर काम्टे हाँस्यो । तर अमर यतिन्जेल माथिल्लो झ्याम्म परेको हाँगाको छेकामा परिसकेको थियो । काम्टे खिस्स पर्यो । अमर उनीहरूको ताल देखेर मरिमरी हाँस्तै थियो ।
के-नाम-के-रे आफ्नै हाँगामा उक्लेर फेरि मेचमा बस्यो र घुर्न थाल्यो । उसको घुराइले त्यहाँको शून्यतालाई बिथोल्न थाल्यो ।
अमर भकुन्डे भाइको घरमा पुगेर बाल्टिन-गाडीबाट उत्र्यो। उसले भकुन्डे भाइलाई नमस्कार गर्यो । त्यसै बेला हिमानी पनि त्यहीँ आइपुगी, ‘ओ हो । अमर ! तिमी त धेरैमा आयौ ।
‘अँ, तिमी त धेरैमा आयौ’ भकुन्डेले बाल्टिन-गाडी थन्क्याउँदै भन्यो ‘नमस्कार अमर !… अँ हिमानी बस !… अँ गीता र आशिष आएनन् ?’
‘उनीहरूलाई आमाले आउन दिनुभएन’ अमरले भन्यो ‘म पनि एक छिनका लागि तिमीहरूसँग एउटा सल्लाह गरूँ भनेर आएको ।’
‘के कुराको सल्लाह ? हिँड न त भित्रै बसेर कुरा गरौँ । गर्मी उखरमाउलो छ । भित्र कागतीको सर्बत पनि छ, खाँदै सल्लाह गरौँला’ भकुन्डे भाइले भन्यो । अनि सबै भित्र पसे । अमरले गीताको जन्मोत्सवको कुरा बताउँदै भन्यो ‘गीताको जन्मोत्सवमा हामीले त सबै साथीहरूलाई बोलाऔँ भनेको । तर आमाले रिसाहा बाउन्ने, काम्टे बालाई मन पराउनुहुन्न । त्यसैले अब क-कसलाई बोलाउने भनेर सल्लाह गर्न आएको ।’
‘तिम्रो घरैमा बोलाउन किन पर्यो ?’ हिमानीले भनी “अर्को हप्ता बादलमाथि जन्मोत्सवको धरती आउँदै छ । त्यहीँ गएर जन्मोत्सव मनाएपछि त कसलाई बोलाउने कसलाई नबोलाउने भन्ने कुरै रहन्न । सबैलाई बोलाउने ।’
‘हो हो !… हिमानीले भनेको कुरा ठिक हो’ भकुन्डे भाइले सही थाप्यो । अघिल्लो वर्ष पनि जन्मोत्सवको धरती आएको थियो, तर त्यतिखेर कसैको जन्मोत्सव नपरेकाले जान पाइएन । यसपालि त गीताको जन्मोत्सव त्यहीँ गएर
मनाउने ।
‘जान त हुन्छ, तर म त कुनै नौलो धरतीमा जान चेतबाबा काशी भइसकेँ’ अमरले भन्यो ‘भन त हिउँ दानवको धरती, घुम्ने धरतीहरूमा हामीले कति गोता खायौँ ?…’
‘तर अमर ! जन्मोत्सव धरतीमा त कुनै त्यस्तो खतरा छैन होला’ हिमानीले भनी ‘जन्मोत्सव धरती नाम सुन्दै कति रमाइलो । अमर हामीले त्यहाँ जानै पर्छ, मौका खुस्काउनु हुन्न ।’
‘तिमीहरू सबै त्यसै भन्छौ भने’ अमरले भन्यो ‘म गएर गीता र आशिषलाई भन्छु।’
‘हुन्छ, त छिटै जाऊ’ हिमानीले भनी ‘हामी पनि साथीहरूलाई खबर गर्छौँ । जुँगे हिउँ मानव र उसका सेतेहरूलाई पनि भन्नै होइन त ? सबै जम्मा हुँदा रमाइलै हुन्छ, होइन ?’
‘हो सबैलाई भन्ने’ अमरले भन्यो ‘लुगा धुने आइमाई र रिसाहा बाउन्नेलाई पनि !… अनि खाने कुरा के के तयार गर्ने ?… चिया र बिस्कुट मात्रै कि, अरू मिठाईहरू पनि ?’
‘त्यस कुराको धन्दै नमान’ हिमानीले भनी ‘हामीले यहाँबाट केही लानै पर्दैन । जे चाहिए पनि उहीँ उब्जन्छ । …नामै त जन्मोत्सव धरती । …त्यहाँ जन्मोत्सव मनाउन पाए ।’
‘ठिक छ’ अमरले भन्यो ‘गीताको जन्मदिन आउँदो सोमबार पर्छ । सम्झिराख । म अब जान्छु। मैले गीताहरूलाई चाँडै फर्कन्छु भनेर आएको । फेरि उनीहरू आत्तिन्छन् ।’
‘तर चिया त खाएर जाऊ’ भकुन्डे भाइले भन्यो । ‘मसँग बिजुली चकलेट पनि छ।’
‘भैगो, धन्यवाद !… तर ढोसे बिस्कुट छ भने ल्याऊ । त्यो चाहिँ खाउँला’ अमरले भन्यो । भकुन्डे भाइले ढोसे बिस्कुट र चिया तयार गरेर ल्यायो । अनि सबै त्यहीँ बसेर लाल छौँडाहरूलाई पकडेको कुरा गर्दै बिस्कुट र चिया खाए । खाइसकेपछि अमरले मुख पुछ्तै उठेर भन्यो ‘अब त मैले साँच्चै जानु पर्छ ।’
अनि उसले एउटा नीलो बालिस्ट छानेर चिप्लेटीको मुखमा राख्यो अनि त्यसैमा बसेर सुइत्त तल झर्यो । गुप्ती घोप्टेको ढोका खोलेर ऊ झ्याउको गद्दामा हाम्फाल्यो । अनि उठेर मोहिनी वन हुँदै घरतिर दगुर्यो ।
दाजुलाई पर्खिरहेका गीता र आशिष अमरलाई देखेर खुसी हुँदै बगैँचातिर दगुरे । गीता त खुसीले दाजुलाई अँगालो हाल्न पुगी ‘के भयो दाइ ?… के भने भकुन्डे भाइ र हिमानीले ? क-कसलाई डाक्ने रे ?’
‘यहाँ डाक्ने होइन । जन्मोत्सव धरतीमा गएर जन्मोत्सव मनाउने सल्लाह भयो । अर्को हप्ता जन्मोत्सव धरती बादलमाथि आइपुग्छ, त्यसैले सबै त्यहीँ जाने’ अमरले हिमानीले भनेको कुरा सबै बतायो । त्यो सुनेर गीता र आशिष पनि साँच्चै खुसी भए । गीताको त अनुहार नै फूलजस्तो भयो । ‘ओ, जन्मोत्सव धरती । …क्या रमाइलो होला । त्यहाँ, कति अनौठो होला । …त्यहाँ मैले खोजेको सबै मिठाई पनि पाइएला त दाइ ?…’
‘किन नपाउनु’ आशिषले मिठा-मिठा खानेकुराको कल्पना गर्दै बिचैमा भन्यो ‘हिमानीले भनेपछि । …अझ हामीले नदेखेको मिठाई पनि पाइन्छ त्यहाँ ।’
‘आमालाई भन्नु पर्छ, पर्दैन ? …सके आमाले जानै नदिनुहोला’ गीताले शङ्का गर्दै भनी । अनि उनीहरू आमाकहाँ गएर लाडे स्वरमा जन्मोत्सव धरतीको कुरा गरे । आमाले जन्मोत्सव धरती भनेको त्यतै मोहिनी वनको कुनै रमाइलो ठाउँ होला भन्ने ठानेर कुनै विरोध गर्नुभएन । उहाँले हाँस्तै भन्नुभयो ‘जाओ तिमीहरूको जन्मोत्सव धरतीमा, मलाई के !… झन् मलाई त तिमीहरूका साथीहरूको चाकरी गर्नै परेन !… त्यसमा पनि यो घर धेरै साँगुरो छ । …मलाई
त हाइसञ्चो ।’
‘त्यस दिन म नयाँ घाँगर लगाएर जान्छु है आमा ?’ गीताले घाँटीमा झुन्डिँदै लाडे स्वरमा भनी ‘त्यही के त, तपाईँले पोहर दशैमा सहरबाट ल्याइदिनुभएको, नीलो किनारा भएको घाँगर !’
तर आमाले उसको कुरा मान्नुभएन । उहाँले ठाडै नकार्दै भन्नुभयो ‘तिमीहरूले अघिल्लोपल्ट आफ्नो लुगाको कस्तो दुर्दशा पारेर आएका थियौ । त्यो कुरा मैले कहाँ बिर्सेकी छु र !… त्यसैले जान्छौ भने पुरानै लुगा लगाएर जाओ ।
नयाँ लुगा लगाएर जान त म किमार्थ दिन्न ।’
आमाको कुराले गीता रुन मात्र सकिन । उसले आँखाभरि आँसु पारेर भनी ‘आमा मैले आफ्नो जन्मदिनमा पनि राम्रो लुगा लगाएर जान नपाउने ?’ तर आमाले उसको कुरै सुन्नुभएन । उहाँले सफासफी भनिदिनु भयो ‘पुराना लुगामा जान्छौ भने जाओ, होइन भने नजाओ ।’
अब उनीहरूसँग अर्को कुनै उपाय थिएन । अमर पनि दुःखी भयो । उसले आमासँग त केही भन्न सकेन, तर मनमनै भन्यो ‘पुराना लुगामा जन्मोत्सव मनाउन जाँदा साथीहरूले के भन्लान् ? बरु नजानु नै जाती हो कि ? … आमा पनि कस्तो जबरजस्ती गर्नुहुन्छ कहिलेकाहीँ ।’
तर सोमवारको दिन आएपछि अमरहरूले पुरानै लुगा लगाएर भए पनि जाने निधो गरे । जे त होला । … हद भन्लान् यिनीहरू गरिब रहेछन् । हाम्रो देशमा धनी मान्छे नै कति छन् र ।… ‘लौ हिँड जाऔँ’ अमरले भन्यो । उनीहरू घरबाट निस्केर मोहिनी वनतिर लागे । मोहिनी वनका रूखहरूले सुइँ सुइँ गरेर गीत गाउँदै उनीहरूको स्वागत गरे । गीताले ती ससाना बोटहरूलाई खुसी हुँदै अँगालो मारी र म्वाइँ खाई । उसलाई लाग्यो ती बोटबिरुवाले मधुरो स्वरमा भनिरहेका छन् “गीता ! तिम्रो जन्मदिनको शुभकामना !’
गीता गद्गद् भई । … उसको जन्मोत्सवमा रूखहरू पनि कति खुसी भएका । अनि उनीहरू इन्द्रजाली रूखको फेदमा पुगे । त्यहाँ रूखका बासिन्दाहरूले हाँगा-हाँगामा ध्वजापताका टाँगेर सजाएका थिए, जुनकिरीले लाल्टिन बालेर जताततै झिलिमिली पारेका थिए । जताततै स्वागतपटहरू टाँसेका थिए ‘गीता जन्मदिन शुभ होस् ।’
‘कति रमाइलो !… तर नयाँ घाँगर लगाउन पाएको भए !’ गीताले अलि नरमाइलो मानी । तर के गर्ने । त्यसै बेला लुगा धुने आइमाईको प्लास्टिकको अटल डोरीमा झुन्डिएर सररर तल झर्यो ।
‘अटल गाडी !… यो हाम्रो निम्ति साथीहरूले पठाएको होला ।’ आशिष कराउँदै रूखतिर दगुर्यो । अनि सबै जना झटपट अटलमा चढे । माथिबाट भकुन्डे भाइहरूले उनीहरूलाई ताने । माथि पुगेर हेर्दा त त्यहाँ सबै जम्मा भइसकेका थिए । उनीहरू माथि पुग्नासाथ के-नाम-के-रेले गीतालाई काँधमा बोक्यो । सबै एकै स्वरमा कराए ‘गीता ! … तिम्रो जन्मदिनको शुभकामना ।’
‘तर तिमीहरू झिलिमिली लुगा लगाएर आऔला भन्ठानेको त’ भकुन्डे भाइले भन्यो । गीताले अँध्यारो मुख लगाई । तर हिमानीले बिचैमा कुरा काटेर भनी ‘केही छैन, जन्मोत्सव धरतीमा भनेजस्ता लुगा पाइन्छन् । बरु चाँडै जाऔँ । लौ सबै तयार होऔँ । … तर काम्टे, काम्टे बा खोइ ?’
‘भरखरसम्म यहीँ थिए । अनि चिप्लेटी कोठामा पसेका थिए’ एउटा सेतेले भन्यो ‘उनी त चिप्लेटीबाट तल पुगे ।’
‘क्या सिल्ली काम्टे रहेछ’ के-नाम-के-रेले झर्कँदै भन्यो ‘मफतमा दुःख बाहेक केही दिँदैन ।’
अनि फेरि बाल्टिन गाडी तल झारेर काम्टेलाई माथि ताने । त्यसपछि सबै जना माथि भर्याङतिर जान तयार भए ।
‘लुगा धुने आमै खोइ ?’ गीताले भनी । लुगा धुने आइमाई भरखर ढल्की ढल्की आउँदै थिई । वास्तवमा ऊ खम्बा जस्ती मोटी र धम्मरधुस भएकीले छरितोसँग हिँड्नै सक्तिनथी । त्यसैले ऊ घरबाट निस्केकी यो नै पहिलोपल्ट
थियो ।
‘म त भुतुक्कै भएँ’ उसले लामो सुस्केरा हालेर भनी । अनि सबै जना बादलको भर्याङतिर लागे । भकुन्डे भाइ भर्याङबाट सोझै उफ्रेर बादलको भ्वाङबाट छिरी बादलमाथि पुग्यो । त्यहाँ खुब रमाइलो जन्मोत्सव धरती थियो । सबै भकुन्डेको पछि जन्मोत्सव धरतीमा पुगे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।