सेल सिल्भरस्टेन

 

सेल सिल्भरस्टेन

एकादेशमा एउटा रूख थिई
रूखले एउटा सानो बच्चालाई असाध्य माया गर्थी
त्यो रूख छेउ हरेक दिन त्यो बच्चो खेल्न आउँथ्यो
बच्चोले रूखबाट झरेका पातहरू बटुल्थ्यो
बटुलेका पातहरूबाट उसले श्रीपेच बनाउँथ्यो र आफू जंगलको राजा भएको घोषणा गर्थ्यो
ऊ त्यो रूखको हाँगामा चढ्थ्यो
ती हाँगामा ऊ चचहुई गर्थ्यो
त्यही रूखमा फलेको फल खाएर भोक मेटाउँथ्यो
ऊ रूखसँग लुकामारी खेल्थ्यो, कुकु हा… भन्थ्यो
खेल्दाखेल्दै जब केटो थाक्थ्यो, रूखको फेदमा मस्त निदाउँथ्यो
रूखको सामीप्यमा यी सारा कुरा गर्न पाउँदा केटो खुसी थियो, ऊ रूखलाई असाध्य माया गर्थ्यो
केटोको खुसीमा रूख पनि खुसी थिई, ऊ पनि केटोलाई असाध्य माया गर्थी

समय फेरियो
बच्चो हलक्क बढ्यो
केटो अन्यत्रै व्यस्त हुन थाल्यो, उसको व्यस्ततामा रूख एक्लिई

एक दिन केटो रूख छेउ आयो
रूख खुसी थिई केटोलाई हेर्न पाएकामा
उसले केटोलाई भनी‑
आऊ बाबु, मेरो नजिक आऊ
मेरो बुई चढ
मेरा हाँगामा चचहुई गर
नथाकुञ्जेल खेल
थाकेपछि मेरो छहारीमा बसेर मेरा आङमा उम्रिएका फलहरूबाट पेट भर
खुसी होऊ

केटोले भन्यो‑
अब म ठूलो भएँ
मेरा खुसी खेल्नमा होइन, किन्नुमा छ
किन्न पैसा चाहिन्छ, पैसाले खुसी हुन्छु म
के तिमी मलाई पैसा दिन सक्छ्यौ ?

माफ गर, म तिमीलाई पैसा दिन सक्दिनँ‑
रूखले भनी
मसँग पैसा छैन
मसँग पात र फलहरू मात्र छन्
बरू मेरा फलहरू लैजाऊ
तिनलाई शहरमा बिक्री गर
त्यसबाट तिमीले पैसा पाउने छौ
र, त्यो पैसामा रमाऊ

वर्षौंपछि केटो रूख चढ्यो
रूखका आङमा पलाएका फलहरू टिप्यो र भुइँमा खसाल्यो
रूखबाट ओर्लेपछि उसले अँगालोभरि फल भेला पार्यो र ऊ खुसी भयो

केटोको खुसीमा रूख पनि खुसी भई

यसको कयौँ वर्षसम्म केटो हरायो, देखा परेन
केटोको अनुपस्थितिमा रूख दुःखी भइरही

तर अचानक केटो देखा पर्यो
केटोलाई देखेर रूख ज्यादै आल्हादित भई
खुसीले अभिभूत रूखले भनी‑
आऊ बाबु, ममाथि चढ
मेरा हाँगामा चचहुई गर
र, खुसी होऊ

केटोले भन्यो‑
म रूख चढ्न भ्याउँदिनँ
शिशिरको जाडोले म मर्न लागेको छु
जाडोमा मलाई घर चाहिएको छ
मैले मेरा सन्तान र पत्नीलाई जोगाउनु छ
मसँग घर छैन
के तिमी मलाई घर दिन सक्छ्यौ ?

रूखले भनी‑
मसँग पनि घर छैन
जंगल नै मेरो घर हो तर एउटा काम गर
तिमी मलाई काट
मेरा हाँगाहरू भेला पार र घर बनाऊ
त्यसपछि तिमी खुसी हुनेछौ

यो सुनेर केटो खुसी भयो
उसले रूखका हाँगाहरू काट्यो
हेर्दाहेर्दै घर तयार पार्यो
यो देखेर रूख खुसी भई

यसपछि केटो फेरि हरायो
लामै समय हरायो
त्यसपछि अचानक देखा पर्यो
केटोलाई देखेर रूख ज्यादै हर्षित भई
तर ऊ बोल्न नसक्नेगरी वृद्ध भइसकेकी थिई

सकी नसकी वृद्ध रूखले भनी‑
आऊ बाबु, आऊ
तिमी म छेउ आऊ र खेल

केटोले जवाफमा भन्यो‑
म ज्यादै वृद्ध भइसकेँ
तिमीसँग म अब खेल्न सक्दिनँ
मलाई यो उमेरमा बरू एउटा नाउ चाहिएको छ
के तिमी मलाई नाउ दिन सक्छ्यौ
नाउ भयो भने म यात्रामा निस्कने थिएँ
खुसी हुने थिएँ

रूखले भनी‑
उसो भए मलाई छिनाल
मेरो मोटो कम्मर तिम्रो यात्राका लागि गतिलो नाउ बन्नेछ
त्यसपछि तिमी लामो यात्रामा निस्कने सक्नेछौ
त्यसपछि तिमी खुसी हुनेछौ

केटोले रूख काट्यो
मोटो, भरिलो थामोबाट ऊ नाउ बनाउन थाल्यो
रूख खुसी हुन सकिन

यसको लामो समय केटो हरायो

जब केटो फेरि फर्किएर रूखको ठुटोछेउ उभियो
रूखले भनी‑
तिमी आयौ तर तिमीलाई दिन मसँग केही छैन
मेरा फलहरू सकिए

केटोले भन्यो
तिम्रा फल खाने मेरा दाँत पनि रहेनन्

रूखले भनी
ममाथि चढ्न सक्दैनौ
मेरा हाँगाबिँगा सकिए
तिमी त्यसमा चचहुईं गराउन सक्दिनँ

केटोले भन्यो
हाँगालाई पिङ बनाउने गरी जवान रहिनँ
म अब सक्दिनँ
ज्यादै बूढो भइसकेँ
चाँडै थाक्छु

रूखले भनी
दुःख लाग्यो
काश… तिमीलाई म केही दिन सक्थेँ
मसँग केही बाँकी रहेन
मात्र म एउटी बूढी रूखको ठुटोमा परिणत भएँ
तिम्रालागि काम नलाग्दा
म दुःखी छु

केटोले जवाफमा भन्यो
अब मलाई जीवनमा केही चाहिएको छैन
मलाई शान्तपूर्वक बस्ने ठाउँ चाहिएको छ
त्यहाँ बसेर म आराम गर्न सकूँ
म ज्यादै थकित छु

यो सुनेपछि ठुटी रूखले खुसी हुँदै भनी
उसो भए म तिमीलाई अझै केही दिन सक्छु
बूढी भएँ त के भो
ठुटी नै रहेँ त के भो
मेरो ठुट्यानमा तिमी आनन्दले बस
आराम गर धित मरूञ्जेल

वृद्ध भएको त्यो केटो
ठुटो छेउ गयो र आफ्नो थकित शरीर
काम्दै ठुटोमा अड्यायो र आराम फर्मायो

ठुटो हुञ्जेल पनि आफू केटोको काम लागेकामा
रूख खुसी भई ।

 

(यो सानो किताबको पृष्ठभूमि कथाका बारेमा जान्नु पनि उत्तिकै रोचक हुनसक्छ । आउनोस्, यसबारे चर्चा गराैँः

सन् १९६४ मा यो पुस्तक पहिलो पटक प्रकाशित भएयता नै बेस्टसेलर भएको थियो । यसलाई सेल सिल्भरस्टेनले लेखेका हुन् । उनैले यसको चित्र बनाएका थिए । यसलाई संसारका असंख्य भाषामा अनुवाद गरिएको छ । यो लोकप्रिय हुनुको मूल कारण यसमा रूखले एउटा केटोलाई गर्ने निःस्वार्थ माया र केटोको रूखप्रतिको स्वार्थ र लिन मात्र खोज्ने व्यवहारप्रति टिप्पणी गरिएको छ ।

रोचक त के छ भने शुरूमा यो किताब छाप्न प्रकाशकले अस्वीकार गरेको थियो । लेखक सिल्भरस्टेन यो किताब सिमोन एन्ड सुस्टरले छापोस् भन्ने चाहन्थे तर त्यहाँका सम्पादकले यसलाई वाहियात किताब भनेर पन्छाए ।

खासमा किताब साह्रै निराशापूर्ण भएकाले बालबालिकाका लागि उपयोगी नभएको सम्पादकको राय थियो । त्यस्तै वयस्कका लागि यो ज्यादै सामान्य पुस्तक भएकाले त्यति बिक्री नहुने आकलन गरिएको थियो । पछि सिमोन एन्ड सुस्टरबाट अस्वीकृत भएपछि भने हार्पर कोलिन्स (त्यो बेला हार्पर एन्ड रो)मा प्रस्ताव लिएर गए ।

त्यहाँका सम्पादकले यसका चित्रलाई परिवर्तन गर्न सुझाव दिए । खासमा लेखक सिल्भरस्टेन प्ले ब्वाई म्यागेजिनका व्यंग्यचित्रकार थिए । त्यसैले उनको चित्रमा त्यसको छनक आउने हुनाले त्यसभन्दा अलग बनाउन सुझाव दिइयो । लेखकले पुनः नयाँ चित्र कोरे । यसपछि प्रकाशकले किताबको सानो संस्करण बजारमा ल्यायो र प्रथम संस्करण १९६४ मा आउँदा जम्मा ५ हजार प्रति मात्र प्रकाशित गरियो ।

सन् २००१ सम्म आइपुग्दा पुस्तक ५० लाख प्रति बिक्री भइसकेको थियो । त्यसयता पनि हरेक वर्ष राम्रै संख्यामा यो पुस्तक बिक्री हुने गरेको छ । सन् २०११ मा पब्लिसर्स विक्ली पत्रिकाले दिएको तथ्याङ्कअनुसार त्यो बेलासम्म सर्वकालीक बेस्टसेलिङ किताबको १४ औँ नम्बरमा रहेको थियो ।

यसैगरी सन् १९९९‑२००० मा विभिन्न बालबालिकाहरूमाझ राष्ट्रिय शिक्षा संघले गरेको सर्भेमा यो पुस्तक बाालबालिकाका १०० उत्कृष्ट पुस्तकमध्ये यो २४ औँ नम्बरमा थियो ।)