
स्पेनकी प्रख्यात एथलेट खेलाडी बेट्रिज फ्लेमिनी रूसको अनकन्टार ठाउँको एउटा गुफामा पाँच सय दिन बिताएर फर्किएकी छन् । उनलाई दिन कटाउन आफूसँग लगेको ६० वटा किताबले पनि सहयोग गरेको बताएकी छन् ।
उनी कोभिड कालमा घुम्दै रूसको ग्रानाडा भन्ने ठाउँमा पुगेकी थिइन् । उनी एक्लै भने थिइनन् । उनीसँगै अन्य अनुसन्धानकर्ता र वैज्ञानिकहरू पनि थिए । उनले ठूलो स्वरमा आफैँसँग वा वैज्ञानिकहरूसँग गफ गर्न नपाउने व्यवस्था मिलाइएको थियो ।
५० वर्षे यी खेालडी ४८ वर्षको उमेरमा छिरेकी थिइन् ।
जुन गुफामा उनी छिरेकी थिइन्, त्यसको गहिराई ७० मिटर (२३० फिट) थियो ।
उनले गुफा बसुञ्जेल हजार लिटर पानी पिएकी थिइन् । किताब पढ्नुका अतिरिक्त उनले चित्रकला पनि बनाएकी थिइन् भने आफैँले ऊनबाट ह्याट बुनेकी थिइन् ।
उनको यो गतिविधिलाई मनोवैज्ञानिक, शोधकर्ता, गुफा जीवन अध्ययनकर्ता स्पेलियोलजिस्टले अनुगमन, अनुसन्धान तथा शोध गरेका थिए । उनको स्वास्थ्यको हरबखतको रिपोर्ट तयार पारेका थिए । उनीहरूले खेलाडी बेट्रिजसँग भने कुनै पनि किसिमको संवाद वा सञ्चारका गतिविधि गरेका थिएनन् ।
उनको यो अनुभव निकै गज्जबको रहेको छोटो प्रतिक्रिया दिएकी छन् । डेढ वर्ष मौनव्रत बसेको र यो डेढ वर्ष ननुहाएको प्रतिक्रिया दिएकी छन् ।
गुफा बस्दाका दुई महिनासम्म महिना र गते याद भए पनि त्यसपछिका दिनमा पूर्ण रूपमा मिति बिर्सिएको उनले बताएकी छन् । उनले ५०० दिन गुफामा बिताएकी भए पनि १६० या १७० दिन मात्र बिताएको हो कि भनी अनुमान गरेकी छन् । उनले गुफा बसुञ्जेल धेरै किसिमको आवाजहरू सुन्ने गरेको बताएकी छन् । जसलाई वैज्ञानिकहरूले अडिटरी हलुसिनेसन भनी प्रतिक्रिया दिएका छन् ।
गुफामा लामो समयसम्म बस्ने व्यक्तिका रूपमा उनले कीर्तिमान समेत बनाएकी छन् । तर गिनिज बुकले भने सो कुराको मान्यता दिने वा नदिने भन्नेबारे निर्णय गरिसकेको छैन ।
यसअघि सन् २०१० मा चिलीको एउटा सुनको खानीमा ३३ जना चिली र बोलिभियाका मजदुरहरू ६८८ मिटर गहिराईमा ६९ दिनसम्म थुनिएका थिए । यो नै अहिलेसम्मको सबैभन्दा लामो समयसम्म गुफामा थुनिएको कीर्तिमानका रूपमा रहेको छ ।
यस अनुभवबारे आफूले चाँडै नै पुस्तक लेख्ने खेलाडी बेट्रिजले बताएकी छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

