सन् १५९९ विख्यात लेखक विलियम सेक्सपियरको जीवनमा अद्भुत समयका रूपमा अंकित बन्न पुग्यो । उनले त्यो एक वर्षको अवधिमा महानतम् नाटकहरू रचना गरेका थिए । उनले हेनरी पाँचौँ यही वर्ष लेखी सिध्याएका थिए । जुलियस सिजर र एज यु लाइक इट नाटकलाई पनि लेखेर पूरा गरेका थिए । यी दुई लेखेर पूर्ण भएको महसुस गर्नासाथ उनले ह्यामलेट नाटकको पहिलो ड्राफ्ट कोरी भ्याएका थिए ।
रोचक त, उनले सोही वर्ष उनको निजी कम्पनी द ग्लोबमा लगानी गरेर भव्य नाटक कम्पनी खडा गरेका थिए ।
उनको सो वर्षमाथि विषद् अध्ययन गरेर लेखिएको पुस्तक ‘१५९९ः अ इयर इन द लाइफ अफ विलियम सेक्सपियर’लाई हालै विनर अफ द विनर्स पुस्तकका रूपमा घोषणा गरिएको छ । सन् २००५ मा हार्पर कोलिन्स नामक प्रकाशकले प्रकाशन गरेको सो पुस्तकलाई गैरआख्यान पुरस्कृत गर्ने बेली गिफोर्ड प्राइजले आफ्नो पुरस्कार स्थापनाको २५ औँ वर्ष पुगेको उपलक्ष्यमा अघिल्ला २४ पुरस्कृत पुस्तकहरूमध्ये सर्वोत्कृष्ट छानी सेक्सपियरमाथि लेखिएको यो पुस्तकलाई २५ हजार पाउन्ड राशिको पुरस्कार विनर अफ विनर्स प्रदान गरेको हो ।
यो पुस्तकलाई जेम्स सेपिरोले लेखेका हुन् । सन् २००६ मा पुरस्कार दिइएपछि यसपाला २०२३ मा पनि सो पुस्तक नै पुरस्कारदाताहरूको छनोटमा परेको हो ।
यो पुस्तक प्रकाशन भएपछि एक किसिमले तरङ्ग नै जन्माएको थियो । त्यो सालको चर्चित इतिहाससम्बन्ध पुरस्कार स्यामुअल जोन्सन पुरस्कार पनि यो पुस्तकले हात पारेको थियो । यो पुस्तक सर्वसाधारणले पनि उत्तिकै रूचाएका थिए ।
न्यु स्टेट्सम्यान नामक म्यागेजिनका अध्यक्ष, प्रधानसम्पादक तथा बेली गिफोर्ड पुरस्कारका निर्णायकमध्ये एक जेसन काउलीले यस पुस्तकलाई पढ्नैपर्ने पुस्तकमध्ये एक भएकाले पुनः पुरस्कृत गरेको बताएका छन् ।
यस पुस्तकका लेखक सेपिरो अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा इतिहास पढाउँछन् भने उनी १६ औँ शताब्दीको लन्डन विशषज्ञका रूपमा चिनिन्छन् । उनले त्यो बेलाको लन्डनको राजनीति, धर्म र सामाजिक वातावरणमाथि विशेषज्ञता हासिल गरेका छन् ।
सेक्सपियर पहिला नाटकका पर्दा तान्ने काम गर्थे । पछि सानोतिनो अभिनय पनि गर्न थाले । त्यो बेला नाटकको लोकप्रियता अद्भुत थियो । त्यो देखेर उनले लेखनमा पनि आफ्नो भाग्य परिक्षण गर्ने प्रयास गरे । उनको पहिलो मञ्चित नाटक हेनरी छैटौँको द्वितीय भाग भएको अनुमान गरिन्छ र सो नाटक १५९०-१५९१ मा मञ्चित भएको विश्वास गरिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० कार्तिक २०८२, आईतवार 










