१७
आमा दैलोमा पुगेर अडिइन् र हातले आँखामा छाया पार्दै घरभित्र नियाल्न थालिन् । घर साँघुरो र सानो थियो, तर त्यसको सफाइले तुरुन्तै आमाको ध्यान आकर्षित गर्‍यो । चुल्होपछाडिबाट एउटी तरुनी आइमाई झुलुक्क देखा परिन् र उतिखेरनै चुपचाप टाउको निहुराएर गायब भइन् । अघिल्तिर कुनामा रहेको टेबुलमा बत्ती बलिरहेको थियो ।

टेबुलनेर बसेको घर मालिक हडबडमा आफ्ना औँलाहरूले टेबुलमा टकटक गर्दै आमाका आँखामा भेट्टाउने प्रयास गर्दै थियो ।

“भित्रै आउनोस् न ।” – केही बेरपछि उसले भन्यो – “ताचियाना, तुरुन्त गएर प्योत्रलाई डाकेर ल्याऊ त, बरु चाँडै गर्नु है !”

युवती पाहुनाको अनुहारतिर नहेरी तुरुन्तै निस्किन् । घर मालिकको अघिल्तिर राखिएको बेन्चमा बस्दै आमाले चारैतिर आँखा दगुराइन् । कतै उनको सुटकेस देखा परेन । घरभित्र पट्यारलाग्दो मौनता छाएको थियो । खालि बत्तीको ज्वालाबाट बिचबिचमा निस्किरहने धिपधिपे आवाजले यो मौनता भङ्ग गरिदिन्थ्यो । किसानको चिन्तित अनुहार आमाका आँखाअगाडि बारम्बार घुमिरहेको थियो र यसले उनको हृदयमा एउटा चिसो भावना पैदा गर्दै थियो ।

“मेरो सुटकेस खोइ त ?” – आमाले एक्कासि ठुलो स्वरमा सोधिन् । आफ्नो यस प्रश्नले उनी आफैँ झसङ्ग भइन् ।
किसानले कुम हल्लायो र विचार मग्न हुँदै जवाफ दियो –

“हराउँदैन … ।”
अनि अलि आवाज सानो पारेर उदास स्वरमा भन्दै गयो –

“केटीका अगाडि सुटकेस रित्तो छ भनेर मैले जानाजान ढाँटेको थिएँ । वास्तवमा त्यो रित्तो छैन । त्यसभित्र गाह्रो हुने गरी केही कुरा खाँदिएको छ ।”

“अनि के भयो त ?” – आमाले सोधिन् ।

ऊ उठ्यो र आमाको नजिक आयो, अनि निहुरिएर उनको कानैमा भन्यो –

“त्यो मान्छेलाई चिन्नुहुन्छ ?”

आमा झस्किन्, तैपनि उनले दृढतापूर्वक जवाफ दिइन् –

“चिन्छु !”

यस्तो लाग्थ्यो, मानौँ त्यस उत्तरले उनलाई भित्रैदेखि आलोकित पार्‍यो र बाहिरका सबै कुराहरू स्पष्ट हुन गए । अब उनी शान्त भइन् र सुस्केरा हाल्दै बेन्चमा सजिलो परेर बसिन् ।

किसान मुस्कुरायो ।

“मैले त त्यसै बखत अन्दाज लगाइसकेको थिएँ, जब तपाईँले उसलाई इसारा गर्नुभएको थियो र उसले पनि तपाईँको इसाराको जवाफ दिएको थियो । तब मैले बिस्तारै उसको कानमा सोधेँ – “डेउढीमा उभिएकी आइमाईलाई चिन्छौ ?”

“उसले के जवाफ दियो नि ?” – आमाले तुरुन्त सोधिन् ।

“उसले ? भन्थ्यो, हाम्रा थुप्रै साथीहरू छन् । हो, हाम्रो सङ्ख्या धेरै छ … ।”

प्रश्न सूचक दृष्टिले पाहुनामा आँखामा हेर्दै ऊ मुस्कुरायो र भन्दै गयो –

“बडो मर्द मान्छे रहेछ ऊ, बहादुर पनि उत्तिकै ! भनिदिन्छ – हो, मैले गर्‍या हुँ ! जति पिटुन् न, आफूले भन्न खोजेको कुरा भनेरै छाड्छु ।”
उसको क्षीण र सङ्कोचपूर्ण आवाज केके नपुगेजस्तो अनुहार र उदास ट्वाल्ल परेको आँखा । यी सबै कुराले आमालाई झन्झन् ढाडस दिँदै

गए । बिस्तारै बिस्तारै भय र विस्मयको ठाउँमा उनकै हृदयमा रिबिनप्रति एक गहिरो सहानुभूति पैदा हुन थाल्यो ।

“बदमास, निर्दयीहरू !” – एक्कासि तीतो रिसमा आफूलाई थाम्न नसकेर उनी चिच्याइन् र रुन थालिन् ।

किसान उदास भएर टाउको हल्लाउँदै त्यहाँबाट हट्यो ।

“यस्तो हुँदाहुँदै पनि केही मानिसहरू अझै पनि उनै हाकिमहरूका पछि लाग्न छाडेका छैनन् – कस्तो अचम्म त !”
फेरि आमातिर फर्किँदै उसले बिस्तारै भन्यो –

“सुन त, मलाई लाग्छ सुटकेसमा पत्रिकाहरू छन्, होइन र ?”

“हो !” – आँसु पुछ्दै आमाले सोझो जवाफ दिइन् – “मैले उसैलाई दिन ल्याएको ।”

उसले आँखीभौँ खुम्च्याउँदै आफ्नो दाह्री मुठ्ठीमा कस्यो र ट्वाल्ल कुनातिर हेर्न थाल्यो ।

“हो हामीकहाँ पत्रपत्रिकाहरू आउने गर्थे । किताबहरू पनि आइपुग्थे । त्यस मान्छेलाई हामीले चिनेका छौँ, उसलाई देखेका छौँ !”

किसान चुप लाग्यो, केही सोच्यो र एक छिनपछि सोध्यो –

“अब तपाई यसलाई के गर्नुहुन्छ त – यो सुटकेसलाई ?”

आमाले उसको मुखमा हेरिन् र चुनौतीको भावले भनिन् –

“तपाईँलाई छाडेर जान्छु … !”

उसले न त आपत्ति नै प्रकट गर्‍यो, न त विस्मय नै ।

“ठिकै छ !” – उसले छोटकरीमा जवाफ दियो ।

सहमति सूचक टाउको हल्लाउँदै ऊ मेचमा बस्यो र मुठ्ठी फुस्काएर औँलाले दाह्री कोर्न थाल्यो ।
रिबिनको रगतले लतपतिएको घायल अनुहार आमाको दिमागमा घुम्न थाल्यो र उनले अरू सबै कुरा बिर्सिन् । अरू सबै भावनाहरू व्यथा र रोषको त्यस प्रवाहमा बिलाएर गए । अब उनी न त सुटकेसबारे नै सोच्दै थिइन्, न त अरू केही कुरा । उनका आँखाबाट आँसुको धारा

बग्दै थियो, अनुहार कठोर थियो ।

“कसरी सक्दा रहेछन् अर्काको लुटपिट र अपमान गर्न यी नरपिशाचहरू ।” – आमाले दृढ स्वरमा भनिन् ।

“शक्ति त हो ।” – किसानले बिस्तारै भन्यो – “उनीहरूसँग बढी शक्ति छ !”

“कहाँबाट आउँदो रहेछ यो शक्ति ?” – आमा रिसले चिच्याइन् – “हामीबाटै त लिने हुन् नि यिनीहरूले । हामी गरिब जनताहरूबाट त हो नि ! सबै चीज यिनीहरूले हामीबाटै लिन्छन् !”

किसानको त्यो उदार तर रहस्यमय अनुहार देखेर आमा चिढिँदै थिइन् ।

“हो त नि !” – उसले लामो सोचाइमा डुब्दै स्वर तानेर भन्यो – “चक्र त हो … ।”

ऊ एक्कासि सतर्क भयो र ढोकातिर कान फर्काएर सुन्न थाल्यो ।

“आउँदै छन् … ।” – उसले बिस्तारै भन्यो ।

“को ?”

“आफ्नै त होलान् नि … ।”

उसकी स्वास्नी भित्र पसिन्, उनको पछिपछि अर्को एक किसान पनि कोठाभित्र पस्यो र आफ्नो टोपी फ्याट्ट एउटा कुनामा मिल्काएर घर मालिकको नजिकै बस्यो ।

“कस्तो भो त ?” – उसले सोध्यो । घर मालिकले सहमति सूचक टाउको हल्लायो ।

“स्तेपान !” – भान्साबाट गृहिणीले भनिन् – “उहाँ त्यति टाढाबाट आउनुभएको छ, केही खानुहुन्छ कि ?”

“धन्यवाद बहिनी, मलाई भोक लागेको छैन ।” – आमाले जवाफ दिइन् ।

नवागन्तुक किसान आमातिर फर्क्यो र स्वाँस्वाँ गर्दै छिटो छिटो बोल्न थाल्यो –

“परिचय गरिहालौँ न ! मेरो नाउँ प्योत्र एगोरोभ  र्‍याबीनिन हो, बोलाउँदा शीलो भन्ने गर्छन् । तपाईँको कामबारे मलाई धेरथोर जानकारी छ । अलिअलि लेखपढ पनि गर्न सक्छु, पट्टै अन्धो छैन भन्नुपर्‍यो ।”

आमाले आफूतिर बढाएको हात समाउँदै उसले खुब हल्लायो र घर मालिकलाई सम्बोधन गर्दै भन्यो –

“सुनिस् स्तेपान ! भार भारा निकोलाएभ्ना निकै जाती आइमाई छिन् भन्ने कुरा म स्वीकार गर्छु, तर यी सबै कुरामा चाहिँ उनी खतरा र बेवकुफीबाहेक अरू केही देख्दिनन् । उनको भनाइअनुसार ती सबै कुरा अल्लारे ठिटाहरू र विद्यार्थीहरूले सोझो मानिसहरूको मगज भुट्ने उपाय मात्र हो । तर हामी त अर्कै कुरा देख्छौँ, ऊ क्या आजै मात्र यस्तो व्यक्ति पकडिए, जो सोर्है आना किसान थियो । अझ

यहाँलाई नै हेर न, अधबैँसे उमेरकी आइमाई हुनुहुन्छ र मेरो विचारमा खानदान परिवारकी पनि हुनुहुन्न, होइन र ?”

ऊ सासै नफेरी छिटो छिटो तर बुझिने गरी बोलिरहन्थ्यो । उसको दाह्री हल्लँदै थियो र उसका आँखाहरू आमाको अनुहार र पूरै शरीर तलदेखि माथिसम्म नियाल्दै थिए । उसले लगाएको लुगा फाटेर धुजा धुजा परिसकेको र कपाल गज्याङमज्याङ परेर खोसल्लिएको थियो, मानौँ ऊ भर्खरै कसैसँग कुस्ती खेलेर आएको छ र विपक्षीलाई हराएको उपलक्ष्यमा खुसीले मदोन्मत्त छ । उसको जोस र निष्कपट सोझो कुरा गराई आमालाई मन पर्‍यो । मायालु दृष्टिले उसको मुखमा हेर्दै आमाले उसको प्रश्नको जवाफ दिइन् । उसले आमाको हात अझ जोडले च्याप्यो र सुख्खा थर्किलो हाँसो हाँस्यो ।

“यो इमानदारितापूर्ण काम हो, बुझिस् स्तेपान । बडो असल काम हो ! मैले तँलाई भनेकै थिएँ, जनता आफैँ यो काम गर्न अघि सर्नेछ । जहाँसम्म मेम साहेबको कुरा छ, उनी साँचो कुरा कहिल्यै बताउँदिनन्, यसमा उनलाई हानि छ । हो, कुरै के गर्नु र ! म उनको आदर गर्छु । उनी मान्छे वेश छिन्, हाम्रो भलो चाहन्छिन्, तर थोरै, त्यसै हदसम्म मात्र जहाँसम्म उनलाई बेफाइदा हुँदैन । तर जनता त सिधै अघि बढ्न चाहन्छ । ऊ घाटादेखि डराउँदैन । उसका निमित्त पूरा जीवन नै घाटापूर्ण छ, जता फर्केर हेर चारैतिर एउटै शब्द ‘पर्ख’ सिवाय अरू केही सुनिँदैन ।”

“मैले बुझ्या छु !” – स्तेपानले टाउको हल्लाउँदै भन्यो र फेरि थप्यो – “उहाँलाई सुटकेसको पिर छ ।”

“केही धन्दा मान्नु पर्दैन ।” – आमालाई आश्वासन दिँदै प्योत्रले आँखाको सान गरेर भन्यो – “सबै ठिक हुन्छ आमै ! तपाईँको सुटकेस मकहाँ छ । उसले तपाईँलाई पनि यही काममा लाग्नुभएको छ भन्नासाथ नै मैले भनेको थिएँ – हे स्तेपान, होसियार हुनु है, यस्तो कुरामा चुँक्कसम्म पनि गर्नुहुन्न । तपाई आफैँले पनि त त्यहाँ सँगै उभिएको बेलामा नै बुझिसक्नुभएको थियो होला हामी को हौँ ! इमानदार व्यक्ति त परैबाट चिनिन्छ, तर दुःखको कुरा के हो भने इमानदार मानिसहरू नै कति पो छन् र ? तपाईँको सुटकेस मकहाँ छ … ।”

ऊ आमाको नजिकै गएर बस्यो र प्रश्न सूचक दृष्टिले उनको मुखमा हेर्दै भन्यो –
“यदि तपाई सुटकेसमा भएको कुरा छाड्न चाहनुहुन्छ भने पनि हामी खुसीसाथ तपाईँको मद्दत गर्न तयार छौँ । किताबहरूको हामीलाई खाँचो छ … ।”

“उहाँ सबै किताबहरू हामीलाई नै छाडेर जान चाहनुहुन्छ !” – स्तेपानले कुरा स्पष्ट पार्दै भन्यो ।

“झन् राम्रो आमा ! हामी ती सबै चीजहरू सुरक्षित राख्नेछौँ ।”

ऊ हाँस्दै फुर्तीसाथ उभियो र कोठामा ओहोरदोहोर गर्न थाल्यो अनि फेरि मक्ख पर्दै भन्यो –

“कस्तो काकताली त ! तर अचम्म मान्ने कुरा पनि केही छैन नि, घिउ कहाँ पोखियो, छोराको भागमा ! जहाँसम्म पत्रिकाको कुरा छ, आमा, बडो आवश्यक कुरा हो । जुन कामका लागि ल्याइएको हो त्यसै काममा प्रयोग हुनेछ । मानिसहरूको आँखाको पट्टी खोल्ने काम गर्नेछ ! हो, धनीहरूलाई नराम्रो लाग्ला । म आफैँ यहाँबाट चार–पाँच कोश पर बस्ने एउटी मेम साहेबकहाँ सिकर्मीको काम गर्छु। साँच्ची भन्ने हो भने आइमाई धेरै बेस छिन्, विभिन्न प्रकारका पुस्तकहरू पढ्न दिइरहेकी हुन्छिन् । कुनै कुनै पुस्तक त कस्ता पनि हुन्छन् भने पढिसक्दा पर्दा खोलझैँ छर्लङ्ग भएर आउँछ । साँच्ची भन्ने हो भने हामी उनीप्रति निकै आभारी छौँ । तर एक दिन मैले उनलाई के एउटा यस्तै पत्रिका देखाएको थिएँ, उनी त रिसाउन पो थालिन्, भन्न थालिन् – “प्योत्र, मिल्काइदेऊ यो पत्रिका । यो सबै अल्लारे ठिटाहरूको काम हो, जसबाट आपत्तिसिवाय अरू केही हात लाग्दैन । जेल र साइबेरिया पठाउँछन् यस्ता कुरा पढ्नेहरूलाई … ।”

ऊ फेरि अकस्मात् चुप लाग्यो र केही सोचिसकेपछि सोध्यो –

“भन्नोस् त आमा, के यो मानिस तपाईँको नातेदार हो ?”

“होइन, पराइ नै हो ।” – आमाले जवाफ दिइन् ।
प्योत्र मुसुमुसु हाँस्यो र यस प्रकारले टाउको हल्लाउन थाल्यो, मानौँ ऊ केही कुरामा धेरै खुसी भएको छ । तर आमाले तुरुन्तै अनुभव गरिहालिन्, रिबिनप्रति ‘पराइ’ शब्द प्रयोग गरेर उनले ठिक गरिनन् र आफैँ आफ्नो अपमान गर्दै छिन् ।

“नातेदार त होइन ।” – उनले भनिन् – “तर म उसलाई धेरै अघिदेखि चिन्छु र आफ्नै दाजु, जेठा दाजुजस्तो आदर गर्छु !”

उनी आफ्नो भाव व्यक्त गर्न मिल्दो शब्द भेट्टाइरहेकी थिइनन् । यसले गर्दा उनलाई अति कष्ट भएर आयो र असाध्य भएर फेरि रुन थालिन् । घरभित्र उदास, शङ्कास्पद वातावरण फैलियो र प्योत्र टाउको झुकाएर उभिएको थियो, मानौँ केही सुन्दै छ । स्तेपान टेबुलमा कुहिनो मारेर बसेको थियो र हडबडले गर्दा टेबुलमा टकटक गर्दै थियो । स्तेपानकी स्वास्नीचाहिँ चुल्होमा अडेस लाएर उभिएकी थिइन् । आमालाई उनको आफूमाथि एकोहोरो हेराइको आभास भइरहेको थियो र उनी आफैँ पनि बेलाबेलामा छड्के तालले उनको अनुहारमा हेर्थिन् । आइमाईको अनुहार लाम्चिलो र गहुँगोरो थियो, नाक सोझो र चिउँडो चट्ट काटिएको थियो । उनका हरिया आँखाहरू निकै तीखा र सतर्क देखिन्थे ।

“उसो भए साथी भन्नुपर्‍यो !” – प्योत्रले केही सोच्दै बिस्तारै भन्यो – “आफ्नो दिमागले काम गर्छ र आफ्नो कदर गर्न जान्दछ, क्याबात मान्छे ! देख्यौ, ताचियाना तिमी चाहिँ भन्छ्यौ … ।”

“ऊ विवाहित हो ?” – ताचियानाले बिचैमा उसको कुरा काटेर सोधिन् । उनको सानो मुखमा पातला ओठहरू टम्म कसिए ।
“स्वास्नी भरिन् !” – आमाले उदास स्वरमा जवाफ दिइन् ।

“त्यसैले त त्यत्रो बहादुरी देखाउन सकेछ ।” – ताचियानाले मधुर आवाजमा भनिन् – “जहान परिवार भएको मान्छे यस्तो काममा लाग्दैन, डराउँछ … ।”

“अनि म के त ? मेरो परिवार छैन र ?” – प्योत्रले चर्को स्वरमा सोध्यो ।

“भइहाल्यो छिमेकी फुर्ती लाउनुपर्दैन ।” – आइमाई प्योत्रतिर नहेरीकनै मुख बङ्ग्याउँदै भनिन् – “तिमी कामै के गर्छौ र ? खालि गफ गर्न जान्या छौ । कहिलेकाहीँ यसो एउटा किताब पढिदिन्छौ । तिमी र स्तेपानले एउटा कुनामा बसेर ग¥या खस्याकखुसुकले फाइदा नै कसलाई हुन्छ र !”

“मेरो कुरा खाने धेरै छन् ।” – किसानले रन्थनिँदै बिस्तारै भन्यो – “जहाँ पनि म नभै हुँदैन । तिमी बेकारमा यस्तो कुरा गर्छौ … ।”
स्तेपानले चुपचाप स्वास्नीको मुखमा हे¥यो र फेरि टाउको झुकायो ।

“किन यी लोग्नेमान्छेहरु बिहे गर्दा रहेछन् ?” – ताचियानाले सोधिन् – “कामै गराउनका लागि त हो नि, तर कामै पो के छ र ?”
“तँलाई अझ काम पुगेको छैन र ?” – स्तेपानले रन्किँदै भन्यो ।

“यस्तो काम पनि काम हो र ? आधा पेट खाएर दिन काट्ने बाटो गरेर आखिर फाइदा नै के छ र ? सन्तान जन्मिन्छन्, यही कामले गर्दा उनको हेरचाह गर्ने फुर्सद हुँदैन, तैपनि कहिल्यै पेटभरि खान पाउनु छैन ।”

उनी आमाको नजिकै गएर बसिन् र कुरा गर्दै रहिन् । उनको भनाइमा न दुःख मनाउ नै थियो, न त उदासी नै ।

“मेरा दुई वटा केटाकेटी भए । एउटा दुई वर्षको उमेरमा तातोपानीमा परेर मर्यो । अर्को मरेकै जन्मियो । सबै यही पापी कामको फल हो । सुख नै मैले के पाएँ र ? म त भन्छु – यी मान्छेहरू बेकारमा बिहे गर्छन् र आफ्नो हातमा आफैँ हतकडी लाउँछन् । स्वतन्त्र जिन्दगी बिताएर सबैको भलाइका लागि लडेका भए कति जाती हुन्थ्यो । त्यो अवस्थामा प्रत्येक किसान त्यो मान्छेजस्तो निर्धक्क भएर सच्चाइको खोजीमा निस्कन सक्छ । होइन त आमा !”

“हो नानी !” – आमाले भनिन् – “ठिक भन्यौ तिमीले बहिनी, यसविना हामीले आफ्नो जिन्दगी बदल्ने लक्ष्य नै कसरी राख्न सक्छौ र … ।”

“तपाईँको लोग्ने हुनुहुन्छ ?”

“उनी मरे । छोरा छ … ।”

“ऊ नि ? तपाईँसँगै बस्छ ?”

“जेलमा छ !” – आमाले भनिन् ।

सधैँ यो कुरा सुनाउँदा आमा दुःखित हुन्थिन् तर यसपल्ट उनको स्वरमा गर्वको भावना मिसिएको थियो ।
“दोस्रो पटक जेल परेको छ । उसको कसुर भन्नु नै के हो भने उसले सत्य बुझेको छ र निर्धक्क भएर सबैलाई बताउँछ । ऊ नौजवान, सुन्दर र चलाख छ । उसैले त तपाईँहरूका लागि यो पत्रिकाको कुरा सोचेको हो । आफूभन्दा दुई गुना जेठो मिखाइल इभानोभिचलाई उसैले सही बाटामा लिएर आयो । चाँडै नै उनीहरूमाथि मुद्दा चलाइनेछ र मेरो छोरालाई साइबेरिया पठाउनेछन्, तर ऊ भागेर आइपुग्नेछ र फेरि आफ्नो काममा लाग्नेछ ।”

बोल्दाबोल्दै आमाको गर्वको भावना बढ्दै गयो र उनको सामुन्ने आफ्नो यस कहानीको नायकको चित्र कति स्पष्ट भएर देखा पर्‍यो भन उसको वर्णनका निमित्त शब्दहरू बाढी आएजस्तै उनको ओठमा आउन थाले । यसले गर्दा उनलाई सास फेर्नसमेत मुस्किल पर्न थाल्यो । अहिले आमा कुनै त्यस्तो उज्ज्वल एवम् विवेकपूर्ण कुराले दिउँसो आफूले देखेका भयङ्कर घटनालाई छोपिदिन चाहन्थिन् । त्यस घटनाको निरर्थक त्रास, लज्जास्पद क्रूरताले आमाको मस्तिष्क ढाक्दै थियो । त्यसैले आफ्नो स्वच्छ आत्माको मागसमक्ष अचेतन रूपमा आत्मसमर्पण गर्दै आमाले ती समस्त आदर्श एवम् उज्ज्वल कुराहरूलाई बटुलेर एक प्रबल ज्योतिको रूप दिइन् र त्यस ज्योतिको प्रकाशले आमाको आँखै तिरमिराए … ।

“ऊजस्तै अरू पनि धेरै छन्, हरेक दिन नयाँ नयाँ जन्मँदै छन् र उनीहरू सबै जिन्दगीभर सत्यता र जनमुक्तिका निमित्त लड्दै छन् … ।”
आमाले सतर्कता बिर्सिन्, हुन त उनी कसैको नाउँ लिइरहेकी थिइनन्, तर जनतालाई उत्पीडनबाट मुक्त गर्न जे जति गुप्त कामहरू भइराखेका थिए, ती सबैको विषयमा आफूलाई थाहा भए जति बताइदिइन् । आफ्नो हृदयनजिक भएका ती मानिसहरूबारे चर्चा गर्दै उनले आफ्ना शब्दहरूमा त्यस प्रेमको सारा शक्ति र प्रचुरता चुर्लुम्म हुने गरी भरिदिइन्, जुन प्रेम जिन्दगीका कठोर मारहरूले गर्दा यति ढिलो गएर उनमा प्रस्फुटित भएथ्यो । उनी आफैँ पनि आफ्नो र कल्पनामा उभिन आएका मानिसहरूको चित्रमा हेर्दै मक्ख परिरहेकी थिइन् । उनको भावनाले उनलाई अझ प्रतिभामयी र गौरवशाली बनाइदिएको थियो ।

“यो काम सारा विश्वभरि, प्रत्येक सहरमा, जताततै चलिरहेको छ । इमानदार व्यक्तिको कुनै सीमा हुँदैन । उनीहरूको यो शक्ति दिन प्रतिदिन बढ्दै छ र त्यस समयसम्म बढ्दै जानेछ, जबसम्म हामी विजयी हुने छैनौँ ।”

उनको स्वरमा मन्द प्रवाह थियो, शब्द खोज्न उनलाई कुनै कठिनाइ लागिरहेको थिएन । त्यस दिनको रगत र फोहोरको प्रत्येक चिन्हलाई आफ्नो हृदयबाट मेटेर फालिदिने विचाररूपी बलियो धागोमा उनी आफ्ना यी शब्दहरूलाई रङ पोतेझैँ जोड्दै गइरहेकी थिइन् । आफ्नो कुराले किसानहरूमाथि प्रभाव पार्दै छ भन्ने कुरा आमाले बुझेकी थिइन् । किसानहरू आँखा झिमिक्क पनि नगरी ध्यानपूर्वक आमाको कुरा सुन्दै थिए । आफूसँग बसेकी आइमाईले सास फेरेको थर्किला आवाज उनको कानमा पर्दै थियो । यसले गर्दा उनी आफैलाई पनि आफ्ना ती सबै कुराहरूमा विश्वास बढ्दै गइरहेको थियो – जुन कुरामा उनी ती व्यक्तिहरूलाई विश्वासमा पार्दै थिइन् ।

“ती सबैले, जो कठोर जीवनयापन गर्दै छन्, जसलाई अभाव र अत्याचारको बोझले थिचिरहेको छ, जसलाई धनी र उनका पछौटेहरूले अन्यायपूर्वक पाइतालामुनि दबाइरहेका छन्, ती सबैले ती व्यक्तिहरूको साथ दिनुपर्छ, जो हामी सबैका निमित्त जेलमा सडिरहेका छन्, प्राणको बाजी लगाइरहेका छन् । उनीहरू निस्वार्थ भावले सबैलाई सुखको बाटो देखाउँदै छन् । कसैलाई धोका दिने उनीहरूको उद्देश्य छैन । सिधै भनिदिन्छन् – कठिन बाटो छ र जबरजस्ती कसैलाई यस बाटोमा ल्याउँदैनन् । तर जो पनि एक पटक उनीहरूको साथ लागिसकेपछि फेरि कहिल्यै अर्को बाटोमा लाग्दैन, किनभने उसले आफ्नै आँखाले देख्छ – यही एक मात्र सही बाटो हो र यसबाहेक अर्को बाटो छैन ।”

आज आमा आफैँ मानिसहरूलाई सत्य कुरा बताउँदै थिइन् र आफ्नो यो चिर सञ्चित कामना पूरा भएको देख्दा उनी अपार सुख अनुभव गर्दै थिइन् ।

“जनताले यस्तै मान्छेहरूसँग लाग्नुपर्छ । उनीहरू अलिअलि सफलतामै सन्तोष मानेर बस्दैनन् । जबसम्म उनीहरूले समस्त धोखेबाजी, लालसा र द्वेष जरैदेखि उखेलेर फाल्ने छैनन्, तबसम्म उनीहरू चुप लागेर बस्ने छैनन् । उनीहरू त्यस बेलासम्म आफ्नो हात बाँधेर बस्ने छैनन्, जबसम्म सारा जनताले उठेर एकै आवाजमा भन्ने छैनन् – “म नै मालिक हुँ र म आफैँ त्यो कानुन बनाउँछु, जो सबैका निमित्त एक समान हुनेछ !”

अब आमालाई थकाइ लाग्न थाल्यो । चुप लाग्दै उनले आफ्ना स्रोताहरुतिर एक दृष्टि फ्याँकिन् । आफ्नो कुरा खेर नगएको देख्दा आमा सन्तोष अनुभव गर्दै थिइन् । अब दुवै किसान बडो उत्सुकतासाथ उनलाई हेर्दै थिए । प्योत्र काखी बाँधेर साँघुरो आँखा पारेर बसिरहेको थियो । उसको ओठमा मधुर मुस्कान खेलिरहेको थियो । स्तेपानचाहिँ एक हातले टेबुलमा कुहिनो मारेर यस प्रकारले अघिल्तिर झुकेको थियो कि लाग्थ्यो ऊ अझै पनि आमाको कुरा सुनिरहेको छ । अनुहारमा परेको छायाले गर्दा उसको अनुहार अझ पूर्ण भएजस्तो लाग्थ्यो । आमाको नजिकै बसेकी उसकी स्वास्नी घुँडामा कुहिनो अड्याएर आफ्ना खुट्टा मुनितिर हेर्दै थिइन् ।

“यही त हो वास्तविकता ।” – प्योत्र मन्द स्वरमा फुसफुसायो र टाउको हल्लाउँदै बेन्चमा गम्म परेर बस्यो ।
स्तेपान आङ तान्दै सिधा भयो र स्वास्नीतिर हेर्दै यसरी हावामा हात फैलायो, मानौँ ऊ त्यहाँ उभिएका सबैलाई आलिङ्गन गर्न चाहन्छ ।
“साँच्चै, यदि यो काममा हातै हाल्ने हो भने ।” – बडो विचार मग्न हुँदै भन्न सुरु ग¥यो – “तब त सारा तनमन यसैमा लगाउनुपर्छ … ।”
“पछि हट्ने कुरै छैन ।” – प्योत्रले दृढ स्वर थप्यो ।

“लाग्छ, यस काममा धेरै मान्छेहरूले हात हाल्नेछन् !” – स्तेपान भन्दै थियो ।

“सारा विश्व नै यसैतर्फ खिँचिएर आउनेछ !” – प्योत्रले फेरि भन्यो ।