पहिले पहिले कल्ली र फूल जस्ता गहनाहरू स्त्रीका निम्ति सुन्दरता बढाउने शृङ्गार हुन्थे भने आजका सभ्य शिक्षित नारीहरू सादा पोसाक र छरिता आभूषणमै सुन्दरी देखिन्छन् र आज पनि कल्ली र फूल लगाउने कोही भए उनीहरू हँस्सीका पात्र हुन्छन् ।
साहित्यका उदेश्यगत व्याख्याहरुको सन्दर्भमा सत्यम्, शिवम्, सुन्दरम्को बराबर चर्चा गरिन्छ र भनिन्छ–साहित्यको परम उदेश्य यी तिनै उदेश्यको प्रतिपादन गर्नु हो । तर जतिसुकै चर्चित विषय भए तापनि वस्तुतः सत्य के हो, शिव कसरी प्राप्त हुन्छ र सुन्दर कस्तोलाई भन्ने ? यी प्रश्नहरु सधै प्रश्नकै रुपमा छन् । हिजो मानेका सत्य आज असत्य सावित हुन सक्दछ भने आज ठम्याएको शिव भोलि अशिवको रुपमा परिणत हुन सक्दछ । देश काल र स्थिति अनुसार सुन्दरताका पनि विभिन्न रुपहरु हुन्छन् । त्यसैले सत्यम्, शिवम् र सुन्दरम्को सर्वसम्मत परिभाषा हुन सक्दैन । यी केवल प्रतीकार्थ प्रयोग गरिने शब्दहरु हुन् । प्रतीकको दृष्टिले हेर्दा ‘सत्यम्’ दर्शनको प्रतिक, ‘शिवम्’ धर्म वा नैतिक पक्षको प्रतिक र ‘सुन्दरम्’ कलाको प्रतिक भनी मान्न सकिन्छ । यस अनुसार साहित्यमा सत्यम्, शिवम् र सुन्दरम् प्रतिपादन गर्नुको अर्थ दर्शन, धर्म र कलाको समन्वयात्यक उपलब्धिको साधना गर्नु भन्ने बुझ्नु पर्छ । हुन पनि जीवन र जगत केलाएर शाश्वत सत्यको खोजिका लागि नयाँ नयाँ विचारहरु फुराउँदै एक दार्शनिक धरातल खडा गर्नु, मानवीय दुष्प्रवृत्ति– अन्याय, हिंसा र अशान्तिको निन्दा गरी उच्चतर मावनताको प्रतिष्ठापन गर्नु र खेद बिषादले युक्त जीवनलाई नयाँ नयाँ कलाहरुको निर्माण गरी सरस पार्नुमै प्रायः सफल साहित्यकारको प्रयास रहँदै आएको देखिन्छ ।
तिन पदमा संयुक्त सत्यम्, शिवम्, सुन्दरम् लाई अर्थको हिसाबले दुई भागका बाड्न सकिन्छ, ज्ञान र नीतिको अनुष्ठान र प्रतिष्ठान गर्न खोज्ने एउटा मस्तिष्क पक्ष र त्यसलाई हृदय हृदयमा पु¥याएर भिजाउँदै जीवन र जगत्का कठोरताभित्र सरलताको सरिता बगाउन खोज्ने हृदयपक्ष । यिनै दुईलाई अर्काे शब्दमा भावपक्ष र कलापक्ष भनी विद्वान्हरुले नाम दिएका छन् ।
परिवारको वृद्वि र पालनका साथ सृष्टिलाई स्थायित्व दिन स्त्री र पुरुषको पारस्परिक सहयोग जति अपेक्षित छ, साहित्यको सृजना र स्थायित्वको निम्ति कला र भावको समन्वयात्मक सम्बन्ध पनि उत्तिकै अपेक्षित रहन्छ । अर्काे शब्दमा साशित्यको अन्तरङ्ग भावपक्ष हो भने बहिरङ्ग कलापक्ष । यी दुबैको समन्वयनबात जुन प्रभावकारिता अर्काे शब्दमा रसको निस्पत्ति हुन्छ, त्यसैलाई साहित्यको आत्मा हो भनी मान्न सकिन्छ र संस्कृत समीक्षा शास्त्र केही नामुद आचार्यहरुले पनि मानेका थिए ।
समय समयमा यसको समन्वयात्मकता माथिको आस्था एकाङ्की भएको पनि पाइन्छ । एक समयका साहित्यकारहरुले कालपक्षमा मात्र जोड दिई पदलालित्य, अलङ्कार र रीति आदिको चमत्कारमा मात्र सिमित राख्न नखोजेका होइनन् । यो प्रवृत्ति रीतिकालीन साहित्यको इतिहासमा पढ्दा प्रायः पाइन्छ । कला पक्षमा मात्र सीमित साहित्य लोग्नेमान्छे नभएको घर जस्तै भाँडिएर जान्छ भन्नेहरु ननिस्केको भए सायद साहित्य पुगिसरी आउनेहरुको मनोविनोदका साधना मात्र हुन्थ्यो कि, त्यो विचारणीय छ । कलामा मात्र साहित्य बाच्न सक्दैन, बाच्यो भने पनि त्यो कला कला कै लागि मात्र सीमित हुन्छ, जीवनको लागि हुन सक्दैन । मनुष्यबाट सिर्जित साहित्यले मनुष्य जीवनकै भलाइ गरेन भने त्यो निरर्थक सावित हुन्छ । त्यसैले साहित्यको उपास्य बस्तुमा सुन्दरतालाई मात्र प्रधानता दिइरहन समाजले सकेन । तर, कालपक्षमा मात्र साहित्य बाँच्दैन भन्दाभन्दै एकथरि साहित्यमा कालपक्षको जरुरत छैन पनि भन्न थाले । कलातिर ध्यान दिनु पर्ने हुँदा साहित्यले नैतिकबल मानिसलाई दिन सक्दैन भनी दार्शनिक प्लेटोलाई पीर परे झैँ सुन्दरताको पछि लाग्दा साहित्यमा अशिवत्व छिर्न जाला भनी पिरोलिएर साहित्यमा कलापक्षको अनावश्यकतामाथि जोड दिने पनि कम निस्केनन् । फलस्वरुप साहित्य नैतिक सुत्र र श्लोकको रुपमा परणत भएका उदाहरणहरु पनि साहित्यको इतिहासमा बराबर पाइएका छन् । तर यस्ता साहित्यको औचित्य प्रायः सामयिकतामै सीमित रह्यो, केही बाँचे पनि साहित्यको इज्जत साथ होइन, क्लिष्ट सुत्र र फिका श्लोकको रुपमा । यसबाट पनि यही प्रष्ट हुन्छ – भावपक्ष र कलापक्षको पारस्परिक समन्वय नभई सफल साहित्यको सृजन हुन सक्दैन ।
सुन्दरम्को प्रतिपादन गर्ने उदेश्यले साहित्य साधनाको समानान्तर अङ्ग भएको कलापक्ष शब्द र अर्थ दुबै उपाङ्गमा आधारित हुन्छ । पद लालित्य, तुकबन्दी, लयशीलता र यमक आदि शब्दालङ्कारहरुबाट शैलीमा विभिन्न चामतकारिताको प्रादुर्भाव हुनसक्छ भने प्रतिक, व्यङ्ग्य, ध्वनि एवम् उपम श्लेषादि, कतिपय अर्थाल्ङ्कारहरुबाट समेत भन्न खोजेको कुरालाई प्रभावकारी बनाउन सकिन्छ । यी सबै समष्टिबाट साहित्यको कलापक्ष निर्मित हुन्छ, जसले सामान्य कुरालाई पनि सुन्ने पढ्नेको हृदयमा तीव्र र स्थायी प्रभावका साथ प्रस्तुत गर्दछ । शकुन्तला र म्याकबेथको भावपक्ष त्यति गहन होइन तापनि तिनको कलापक्ष यति चामत्कारिक भएको छ कि पढ्ने सुन्नेको हृदय रसाइहाल्छ, त्यसैमा नै यिनको उत्कृष्टता र अमरता रहेको छ ।
कलापक्षको विवेचना गर्दा ध्यान दिनु पर्ने मुख्य कुरा के छ भने मानिसको सौन्दर्यबोध सधैँ र सबै ठाउँमा एकैनास हुँदैन । पहिले पहिले कल्ली र फूल जस्ता गहनाहरू स्त्रीका निम्ति सुन्दरता बढाउने शृङ्गार हुन्थे भने आजका सभ्य शिक्षित नारीहरू सादा पोसाक र छरिता आभूषणमै सुन्दरी देखिन्छन् र आज पनि कल्ली र फूल लगाउने कोही भए उनीहरू हँस्सीका पात्र हुन्छन् । किनभने आज धेरैको सौन्दर्यबोध अनुसार कल्ली र फूल आभूषण होइन, भार वा बन्धन मात्र प्रतीत हुन्छ । यसैगरी छन्द, तुक, यमक आदिमा मात्र सीमित कलापक्ष आधुनिक कविको दृष्टिमा भार लाग्न थालेको छ । छन्दविहिनतामै लय खोज्ने, अमूर्ततामै मूर्ततमको आभास दिने, उपमाले नै उपमेय खोस्रने र प्रतीक प्रतीकै पाइप बिछ्याएर भावधारालाई अर्काको हृदयसम्म पु¥याउन खोज्ने जस्ता जे जति प्रयासहरु साहित्यकारहरुबाट हुन थालेका छन्, तिनैका समष्टिस्वरुप प्रादुर्भाव हुने प्रभावकारितामै आधुनिक साहित्यको कलापक्ष निहित छ । तर सौन्दर्यबोधको यस परिवर्तनशीलता नबुझी लगाइरहेका गहना मात्रै लगाउन सजिलो मान्ने पनि हामीहरुमध्ये धेरैको बानी छ । वस्तुतः जसलाई जस्तोमा सुन्दरताको आभास हुन्छ, त्यसले त्यसैलाई राम्रो मान्नु कुनै गल्ती वा आश्चर्यको कुरा होइन । युरोपियनहरुले सुनौलो केशमा सुन्दरता देखे भन्दैमा हामीले काला केशे युवतीहरुलाई थोत्री बुढी भनी हेप्नै पर्छ भन्ने कुनै बाध्यता पनि छैन । तर क्षण क्षणमा नयाँ नयाँपनको आभास मिल्दै जानुको नाम नै रमणीयता हो भन्ने पुराना महाकवि माघकै भनाइमाथि एकपल्ट सोच्ने हो भने पनि सौन्दर्यबोधको परिवर्तनशीलता प्रस्ट हुन्छ । अनि, आधुनिक साहित्यकारहरुले गर्न थालेका नयाँ नयाँ चामत्कारिक प्रयोगहरु केवल विकृति र विरुपताका नमुना मात्र हुन भन्ने अधकल्चो धारणाले हामीलाई छोप्न सक्दैन । आजको सौन्दर्यबोध हिजोको जस्तो नहुनु प्रकृतिसिद्ध कुरा हो ।
तर ध्यान दिनु पर्ने कुरा के छ भने आधुनिक साहित्यले सत्यम्, शिवम् र सुन्दरम्मा शिवम्लाई चाहिँ धेरै लत्याउँदै गएको प्रतीत हुन्छ । सुन्दरम्को मर्यादित सिँढी नाघेपछि शिवम् पक्ष दह्रो हुन नसक्नु स्वभाविक पनि हो । तर सुन्दरम् जस्तै शिवम्को पनि परिभाषा परिधिको नयाँ मुल्याङ्कन हुँदै जाने आशा गर्नु पर्छ । यहाँ भन्न खोजेको त यत्ती हो– साहित्यमा सत्यम्, शिवम् र सुन्दरम् तिनै साध्यको समन्वयात्मक साधना हो । यसैमा साहित्यको भावपक्ष र कलापक्षको राम्रो सामञ्जस्य हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।