कक्षा ८ को नेपाली पढाउन कक्षामा पसेँ ।
आज पाठ सुरु गर्नुपर्ने पालो थियो । कक्षा १० मा पहिल्यै पाठ सुरु गरेर आएको थिएँ । कक्षा १० मा राखिएको कवि रामप्रसाद ज्ञवालीको ‘उज्यालो यात्रा’ कविता पढाउँदा बडो ऊर्जा आयो । जिन्दगीलाई उदात्त बनाउनुपर्ने नैतिक चेतना त्यसमा थियो । हुन त आज लयमात्र पढाउनुपर्ने हो । तर पढ्दै जाँदा मजा आयो, भोलि व्याख्या कति मजाले गरुँला भन्ने योजना बुन्दै गमक्क परेर कक्षाबाट निस्किएँ ।
केही समयपछि कक्षा ८ मा प्रवेश गरेँ । कक्षा ८ को पहिलो कविता थियो ‘सहिदहरूको सम्झनामा’ । भूपि शेरचनको प्रसिद्ध कविता जसलाई हामीले कक्षा १० मा पढेका थियौँ, खुसी लाग्यो । आफूले पढेको कविता पढाउन पाइने भयो । आफूले पढेको कुनै पाठ पढाउन पाउनु शिक्षकका लागि बडो खुसीको कुरा हुँदो रहेछ आज त्यही अनुभूति भइरहेको थियो ।
तर जब कक्षामा प्रवेश गरेँ, एउटा विद्यार्थीले सोध्यो, ‘सर ! सहिद भनेको के हो ?’
मेरो दिमागमा अनेक कुरा आए । मैले कक्षा ९ मा पढेको गुरूप्रसाद मैनालीको सहिद (त्यतिबेला शहीद थियो) सम्झिएँ । सँगै सहिद शब्दका बारेमा भएका अनेक विमर्श सम्झिएँ । पछिल्लो समयमा घोषित भएका सहिदहरू सम्झिएँ । सहिदगेटका सालिकहरू त पूर्वपठनका रूपमा राखिएकै थियो । त्यसको विवरण (क्याप्सनमा) राखिएको विषयवस्तु नै बडो अजङ्गको थियो ।
भन्न त तत्कालका लागि भनेँ, ‘सहिद भनेको देशको लागि ज्यान दिने मान्छे हो बाबु !’ उसले प्वाक्क सोध्यो, ‘देशको लागि किन ज्यान दिने सर ?’ मैले त्यसको पनि तत्काल ओठेजवाफ दिएँ । तर प्रश्नहरू आइरहे यस्ता । अनेक सम्झाईबुझाई गरेर म कवितामा प्रवेश गरेँ ।

नगाधिराज
मलाई उच्चारणमा पनि कतिपय ठाउँमा बिझायो । भूपि शेरचन विशेषतः मुक्त लयका कवि हुन् । पद्यात्मक वा बद्धलयात्मक ढाँचाको उनको यो कविता अति चर्चित भए पनि उनी लयसचेत बनेर लेखेका छैनन्, यो कुरा पाठमा राख्नेहरूले विचार गरे गरेनन् अर्को कुरा हो, तर पढाउने बेलामा शिक्षकलाई दिमाग खराब गराउने किसिमको छ ।
घाँटीमा फाँसी… को गरेर भाँचेर गर्नुपर्ने स्थिति छ । हाँस्ता भन्नुपर्ने ठाउँमा हाँसता जस्तो असहज उच्चारण गर्नुपर्ने स्थिति छ । ‘पाउने थिएनौँ खुसी तिनले छोडेर नगए’ भन्ने पङ्क्ति त जब गाउन थालेँ, त्यसपछि बडो वाक्क लाग्यो, कि त पाउने थिए, नौँ खुसी भन्नुपर्थ्यो, कि त पाउने थिएनौँ भनेर छिटो तानेर खु..सी भनेर हचुवामा उकारको दुईपटक उच्चारण गर्नुपर्थ्यो समस्या नै थियो । इतिहासले धिक्कार्ला भन्ने ठाउँमा हास् यस्तो हलन्त उच्चारणको अनुप्रास बनेर तल लास यस्तो अजन्त शब्द आएको छ जसले गर्दा लय बडो नमिठो बन्छ । अन्तिम अन्तरामा जाँदा केवल तीन पङ्क्ति मात्र छन्, जसले बडो असमन्जसमा पारेको छ विद्यार्थीलाई ।
हामीले खाने प्रत्येक गाँसमा रगत छ सहिदको ।
हामीले फेर्ने प्रत्येक सासमा रगत छ सहिदको ।।
यस किसिमको रगतको बिम्ब कमसे कम आधारभूत तहको विद्यार्थीका लागि चाहिँ अलि असजिलो नै हो कि ? भन्ने लागिरह्यो पढाउन्जेल पनि ।
निष्कर्ष यत्ति हो,
‘सहिदहरूको सम्झनामा’ कविता भूपि शेरचनको चर्चित र सुन्दर कविता हो । तर कक्षा ८ को नेपाली शिक्षक भएर पढाउनुपर्दा चाहिँ यो कविता स्तरयोग्य भएन कि ? सहिद, प्रजातन्त्र स्थापना, जनक्रान्ति, क्रान्ति, त्याग, बलिदान जस्ता कुरा बरू कक्षा १० मा चाहिँ अलि बुझाउन सकिन्थ्यो कि ? लयचेतको हिसाबले त भूपिको कविता निकै भद्रगोल छ । तथापि ज्ञवालीको कविता ८ मा राखेर भूपिको कविता १० मा राख्नु पो बढी उपयुक्त हुन्थ्यो कि ?
मैले सम्झेँ, हामीले आठमा देवकोटाको प्रश्नोत्तर पढ्यौँ जो ज्ञवालीको ‘उज्यालो यात्रा’जस्तै भावको थियो । हामीले भूपिको यो कविता १० मा पढ्यौँ, जो पढ्दा अलि बुझ्ने भएका थियौँ, किनकि कक्षा ९ मा नै ‘खड्गबहादुर’ र ‘सहिद’ जस्ता कथा अनि ‘कलमवीर’ जस्ता कविता पढिसकेका थियौँ । कक्षा ७ बाट ‘परिचय’ जस्तो कविता हटाएर (सायद यो पनि बाबुनानीलाई अलिक कठिन भयो भनेर हटाइएको होला) कक्षा ८ मा भूपिको ‘सहिदहरूको सम्झनामा’ कविता राख्नु चाहिँ वैज्ञानिक भएन कि ? भन्ने मलाई लागेको छ ।
यस्ता त्रुटिहरू किन हुन्छन् ? यसको पनि मलाई धेरथोर हेक्का छ । यसका कारणहरूबारे पनि म धेरै अनभिज्ञ छैन । साथीहरू ! जो यो कुरा उठान भएपछि नकारात्मक टिप्पणी गर्नुहुन्छ, त्यो हुनुभन्दा अगाडि आफू प्रक्रियामा अलि विज्ञ भएर गर्नुहोला । तर हामी पाठ्यक्रम र पाठ्यवस्तुको स्तरअनुकूल चयनमा निकै चुक्न थालेका छौँ । पछिल्लो पुस्ताको परम्परागत पढाइप्रति रुचि घट्दै गएको प्रतिकूल परिप्रेक्ष्यको आगोमा यस्ता भूलहरूले घिउ थप्ने काम गरेका हुन् कि ? कतै ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भन्ने भूपिको कविताको चोरी औँलो यही कविताचयन गर्ने मान्छेतिर त तेर्सिएको छैन ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 






