बीसौं शताब्दिको उत्तरार्द्ध र त्यस पश्चात चेतनशील मानव समाज विचारगत रुपमा ओशोमय हुन पुग्यो । आजका सबै आध्यात्मिक गुरुहरू बाहिरी दृष्टिकोणबाट हेर्दा ओशोकै फिक्का नक्कलझैँ प्रतित हुन्छन् । शुरु गरौँ, ओशोको एनलाइटेन्मेन्ट प्रकरणबाट: ओशो जगतमा बुद्धत्वको नामबाट प्रसिद्ध यो अन्तिम आध्यात्मिक अनुभूति हो । यसप्रकार सबै ओशो संन्यासीहरू, ओशोप्रेमी तथा ओशो अनुरागी साधकहरूको गन्तव्य या भनौँ अन्तिम मकसद नै बुद्धत्व प्राप्ति हो । यो लक्ष्यको प्राप्तिपश्चात् पाउनलाई केही शेष रहँदैन । यो पूर्णताको स्थिति हो, परम विश्रामको प्रयासरहित अवस्था हो । आउनुस जानौँ यो स्प्रिचुअल एनलाइटेन्मेन्टका बारेमा केही मननीय कुराहरू ।
२१ मार्च सन् १९५३ मा भारतको मध्य प्रदेशको जबलपुरको एउटा उद्यानमा रहेको मौलश्री नामक रुखको फेदमा ओशोलाई जुन सत्य उपलब्ध भयो, तत्पश्चात उनको सम्पूर्ण खोज समाप्त भयो । यस अवस्थाको प्राप्ति सबैलाई होस् भनेर नै ओशोले जीवनभर आफ्ना अलग-अलग तरिका या विधिहरूबाट सम्झाउने प्रयास गरे । त्यस समयसम्मका प्राचीन गुढवाद या रहस्यवाद या संगठित धर्महरूद्वारा निर्दिष्ट साध्यहरूमा र ओशोको आध्यात्मिक लक्ष्यमा एउटा फरक छ । पुरानो अध्यात्मको लक्ष्य परम सदाचार, नैतिकता र संतत्व हो जबकि ओशोको एनलाइटेन्मेन्टमा त्यो नैतिकताको अभाव छ, सदाचारको परिभाषा पनि फेरिन जान्छ । संतत्व या बुद्धत्वको दृष्टिकोण नै बदलिन्छ । बुद्ध, महावीर र शंकराचार्य संन्यास, वैराग्य र एकान्तवासको कुरा गर्छन् । ओशो मार्गमा बाह्य संसार सँगसँगै हिँडेर आन्तरिक संन्यासको अन्तर्यात्रा गर्ने चर्चा गरिएको छ । संसार र संन्यासलाई जोडेर त्यसलाई एकसाथ् स्वीकृति दिने विचारलाई ओशो जोड दिन्छन् ।

अझ अरविन्दोले जसरी त्योभन्दा अगाडि गएर भोगको पराकाष्ठालाई ओशो पनि स्वीकार गर्छन् । ओशोको एथिक्स अब कुनै कृष्ण सम्प्रदाय या भक्ति मार्गी जस्तै या टेगोरको कविता जस्तै एस्ठेटिक्स बन्न जान्छ । एकजना गुजराती सन्तले गाएका छन्, ‘हरिनो जन तो मुक्ति ना मांगे, मांगे जनमो जन्म अवतार रे …..’ । ईशोपनिषद्को सन्दर्भ लिएर ओशो ‘तेन तेक्तेन भुन्जिता’ को कुरा गर्छन् । यो कुरा सनातन धर्म दर्शनमा अवधुत त अत्याश्रमीहरूको वर्णनमा निहत नै छ, अष्टावक्र संहितामा पनि यसको गुन्जन सुनिन्छ ।
अर्कातिर जे. कृष्णमूर्तिको दर्शनमा पनि यसको मेल देखिन्छ । ओशो भन्छन्, ‘ईश्वरले संसार रचेका हैनन्, ईश्वर नै जगत बनेका हुन्’ । यहा भोग र त्याग दुवैको महत्त्व छ, यो एनलाइटेन्मेन्ट केवल बुद्ध बन्ने हैन । यहा जोरबा पनि निहित छ । यो घटनालाई बुद्धत्व भनिए पनि बुद्धत्वका पुराना अवधारणा भन्दा यो बिल्कुल भिन्न छ ।

‘ज्योति से ज्योति जले’ प्रवचन मालाको एउटा प्रश्नको जवाफमा ओशोले नै यसलाई स्पष्ट गरेका छन् । प्रश्नकर्ता भन्छन्, ‘भगवान्, तपाइँ दुनियालाई के सन्देश दिन चाहनुहुन्छ ?’

ओशो भन्छन्, ‘मेरो सन्देश संक्षिप्त छ । यति संक्षिप्त छ कि त्यसमा सारा शास्त्रहरू समाहित हुन्छन् । कुनै एउटा परम्पराको शास्त्र मात्र हैन, सबै परम्पराहरूका शास्त्र समाहित हुन्छन् र आध्यात्मवादीहरूका शास्त्र मात्र हैन, भौतिकवादीहरूको शास्त्र पनि समाहित हुन्छन् । म यस्तो धर्म दिन चाहन्छु, जो आस्तिक र नास्तिक दुवैका लागि समान रुपमा उपलब्ध होस् । अहिलेसम्मका सम्पूर्ण धर्महरू आस्तिकलाई मात्र उपलब्ध छन्, जसले मान्छन्, उनीहरूका लागि मात्र उपलब्ध छ, तर उनीहरूलाई के त जो मान्दैनन् ? के तिनीहरुलाई छोडिदिऊँ ? के उनीहरूका लागि परमात्मासम्म पुग्ने कुनै उपाय छैन ? त्यसो हो भने यो पृथ्वी पूर्ण रुपमा धार्मिक कहिल्यै हुन नसक्ने भयो । केही न केही कमी हुने नै भयो । केही मानिसहरू सधैँ अधार्मिक हुनलाई बाध्य नै भै हाले । जो मान्छ या आस्तिक छ, उसले खोज्दै खोज्दैन, अनि जो धार्मिक वा आस्तिक छन्, उनीहरूको अधुरो खोज या धर्म केही कमीका साथ नपुंशक नै हुने भयो । असली खोज या क्रान्ति त उसले नै गर्न सक्छ जो मान्दैन, जो केवल जान्नमा उत्सुक छ, जो ‘मान्दिन’ भन्ने शब्दका साथ आफ्नो यात्रा शुरु गर्छ, क्रान्ति त त्यहीँ घट्ने भयो । यस जगतका जो परम धार्मिक मानिसहरू तिनै थिए, जो कुनै बेला परम नास्तिकताबाट गुज्रिए । जसले आस्तिकताबाट शुरु गरे उनीहरूको आस्तिकता सदैव कमजोर या लंगडो रह्यो । मनुष्य पूरा धार्मिक हुन नपाउनुमा यही कमजोर धार्मिकता प्रमुख कारण हो । विश्वास पनि कुनै जबर्जस्ती गर्ने कुरा हो ? यो त हुन्छ त हुन्छ, हुँदैन त हुँदैन / विश्वास नगर्दा के परमात्मासम्म पुग्ने द्वार बन्द नै हुने हो त ? यो त परमात्माको अन्याय भयो, त्यस्तो अन्यायी परमात्माको के काम ? म यस्तो धर्म दिन चाहन्छु, जो श्रद्धाको पनि उपयोग गरुन् अनि सन्देहको पनि । जहाँ भनियोस्, श्रद्धाबाट पनि पुग्न सकिन्छ अनि सन्देहबाट पनि । किनकि सबै मार्गहरू त्यहीँ पुग्ने हुन् ।’

अर्को कोणबाट सरल रुपमा ओशोको एनलाइटेन्मेन्टलाई बुझ्दा, जब कुनै मनुष्य एक व्यक्ति बन्न जान्छ अर्थात ऊ सबै प्रकारका बाहिरी सामाजिक, धार्मिक, राजनीतिक या नैतिक विचारधाराहरूबाट मुक्त भै निर्भयता र आन्तरिक अनुशासनका साथ जिउन थाल्छ, तब उसलाई एनलाइटेन्ड भन्न सकिन्छ । जो सामाजिक छैन, बिल्कुल व्यक्तिगत छ, जसले सबै जाति, धर्म, राजनीतिक, तथा सामाजिक दलहरूबाट निवृत्ति पाइसकेको छ, ऊ नै एनलाइटेन्ड हो ।

ओशोले अध्यात्मलाई त्यसको बाहिरी रुपरङ, चमक-धमक, चमत्कारको रुपमा सदैव नकारेका छन् तर साथै जीवनलाई एक रहस्यमय वस्तुको रुपमा सदैव प्रस्तुत गरे, जो तर्क र बुद्धि भन्दा पर छ । यो पुरानो धर्मशास्त्रमा वर्णित आध्यात्मभन्दा बिल्कुल भिन्न नयाँ धर्म या विचारधारा हो, जसमा उनले अध्यात्मलाई एउटा मनोविज्ञानसरह पेश गरे । तपाईं आफैँ सोच्नुस् त, आजका कुन साधु या बाबाजीहरू सुकरात र शार्त्रको कुरा गर्छन् ? को अध्यात्मिक गुरु फ्रायड र साइकोलोजीको गहिराईमा लिएर जान्छन् ? कुन गुरु आइन्स्टाइनको सापेक्षवाद या यस्तै आधुनिक वैज्ञानिकशास्त्रमाथि तर्कसंगत कुरा गर्छन् ? ओशोलाई पढेर बुझेर सकेपछि दोस्रो बाबा या अध्यात्मिक गुरु कसैको मनलाई प्रभावित गर्दैछ भने उसले ओशोलाई बुझेन, यो स्पष्टै हुनजान्छ । सारा बाबाहरूका पनि बाबा ओशो नै हुन् – र एउटा टिपिकल बाबाभन्दा ओशो अलग्गै र धेरै अगाडि छन् । कुनै पनि अध्यात्मिक गुरुमा तपाईंले जे भेट्नु हुन्छ, त्यो ओशोमा पनि भेटिन्छ, तर जो ओशोमा भेटिन्छ त्यो अन्य आध्यात्मिक गुरुमा भेटिदैन ।

फेरि पृथक् कोणबाट ओशोको आध्यात्मिक दर्शनलाई हेर्दा यो भन्न सकिन्छ कि ओशोले जे बोले त्यो विशुद्ध वेदान्त हो, त्यसलाई बुझेको उपलक्ष्यमा उनका समकालीन स्वामी चिन्मयानंदजीले जुन वेदान्तका कोर्सहरू शुरु गरेका थिए, त्यसलाई बुझ्नु आवश्यक छ । तथापि त्यो कोर्सलाई गरिसकेका सबै वेदान्तिहरू त्यो परम अवस्थासम्म त पुग्न सकेनन्, तर यसको मतलब यो हैन कि त्यो अध्ययन निरर्थक थियो । त्यो अध्ययनबाटै यो थाहा पाउन सकिन्छ कि प्राप्त गर्न लायक केही छैन, जो छ सो छँदैछ । वेदान्त स्वाध्यायबाट जीवशिवको द्वैत तिरोहित हुन् जान्छ र अहं ब्रह्माष्मीको अद्वैत अनुभव हुन् जान्छ । शुरु शुरुमा आम मानिसहरूले ओशोलाई वेदान्तको प्रोफेसरको रुपमा बुझेका थिए । वास्तवमा उनी फिलोसोफीका प्रोफेसर थिए तर हिन्दुहरूले उनलाई वेदान्तको ज्ञाता या विद्वानको रुपमा चिनेका थिए, जुन स्वाभाविक थियो ।

वेदान्तको एउटा अर्थ पारामार्थिक हो, जसलाई अरुणाचलका सन्त रमण महर्षिले स्वानुभवपूर्वक आफ्नो मौलिक ढंगमा सहज रुपमा व्यक्त गरे र त्यसको व्यावहारिक अर्धघटन विवेकानन्द र अरविन्दोले गरे । विवेकानंदले वेदान्त ज्ञानलाई राष्ट्र एवं समाजको विकासमा लागु गर्ने प्रयास गरे जबकि अरविन्दोले उपनिषदको त्यो ज्ञानलाई व्यक्तिगत चेतनामा समष्टिको अवतरणका हेतु प्रयोग गरे- जो राष्ट्र र समाजको विकासमा उपयोगी हुन्छ । यस सन्दर्भमा ओशो फरक थिए, ओशोले उपनिषद् र वेदान्तलाई एउटा अलग आयाम दिए । विवेकानन्द र अरविन्दो दुवैको उद्देश्य कतै न कतै सामाजिक थियो, उनीहरूले समूह विकासको वकालत गरेको प्रतीत हुन्छ । जबकि ओशोको वेदान्तले व्यक्तिलाई नै प्रधानता दिन्छ र अन्ततोगत्वा त्यसमा समूह विकास नै निहित छ । ओशोले परोपकारवादको घोर निन्दा गरे र स्वार्थ परायणवादको वकालत गरे । समाजवाद र धार्मिकतालाई ओशोले पुँजीवाद र नास्तिकताको परिणाम भने । उनले व्यक्तिको स्वतन्त्रता र उसको विकासलाई नै प्रधानता दिए । यसकारण मानिसहरूले जुन स्थान विवेकानन्द, अरविन्दो, समाज सुधारक एवं समाज सेवक सन्त र महात्माहरूलाई दिन्छन्, त्यो स्थान ओशोलाई दिन हिच्किचाउँछन् । वास्तवमा ओशोले आफ्नो छुट्टै स्थान बनाए र उनका कुराहरू नै अद्वितीय थिए, अतुलनीय थिए र उनको तुलना कुनै सन्त या सुधारकसँग गर्न सकिदैन ।

ओशोले खुलेर पुँजीवादको समर्थन गरे । तत्कालीन भारतीय र वैश्विक राजनीतिक र सामाजिक परिप्रेक्ष्यमा ओशोले मानिसहरूलाई समाजवाददेखि सावधान गराए । वेदान्तको पुँजीवादी अर्धघटन एक फरक आइडिया हो । ओशोले आफ्नो जीवनमा अध्ययनलाई नै साधना बनाए । यदि उनका कुनै अनुयायीलाई अध्ययनमा रुचि छैन भने म त उसलाई ओशो संन्यासी मान्दिनँ । वेदान्तमा श्ववण नै साधना हो । यदि श्रवण ठीक ढंगमा गरिएको छ भने मनन पनि हुन्छ अनि जीवनमा लागु पनि हुन्छ / सारा खेल सुन्ने कलासँग सम्बन्धित छ । सुनियो कि जानियो, मनन गरियो कि श्रुति फर्कियो । कसैलाई केही गर्नु छैन, कहीँ पुग्नु छैन । बुद्ध स्वभावबाट कोही कहिल्यै अलग नै छैन । आत्मस्वरुपमा सबैको सहज स्थिति छ । कृष्णमूर्ति अनि जेन बुद्धिज्म पनि यही भन्छन् । यसलाई सत्योमुक्ति भनिन्छ, यो भविष्यको विषय हैन, तिमी अहिले यहीँ बुद्ध हौ,‘द फस्ट एण्ड लास्ट फ्रिडम’ । यदि यसलाई कसैले नुबुझेमा ओशोसँग अरु तरिका पनि छन् । सय मार्ग छन्, अनेक ध्यानका प्रयोगहरू उनले नवप्रवर्तन गरे । सबै ढेडुको व्यापार एक आध्यात्मिक व्यापार हो । यद्यपि ओशो यो मूल वेदान्त या जेनहरूको मर्मका अतिरिक्त कसैको अनुमोदन गर्दैनन् तर पनि अन्य उपायको निरुपण पनि गरिरहन्छन् ।

वेदान्तभन्दा बिल्कुल विपरीत मार्ग जर्ज गुर्जिएफको कामबारे चर्चा गर्दै गरेका ओशो पनि देखिन्छन् । गुर्जिएफ र अस्पेंस्की जसलाई वर्क अन वान्सेल्फ़ भन्छन्, फोर्थ वे भन्छन्, सिस्टम भन्छन् । त्यसको एउटा छुट्टै प्रक्रिया छ । ओशोले आफूमा जति काम गरेका थिए त्यति त गुर्जिएफ र अस्पेंस्कीले पनि गरेका थिएनन् होला- तर उनीहरूको तरिका फरक र मौलिक थियो । यसमा अब्जर्वेसनमा जोड दिइएको छ- जस्तो कि विपश्यना । यद्यपि सिस्टमको दृष्टिकोण नै फरक छ । रमण र गुर्जिएफ दुई जना विपरीत ध्रुवबाट आफ्नो कुरा भन्दैछन्, ओशो अस्पेंस्कीको पक्षमा थिएनन्, रमणको पक्षधर थिए । ओशो आधारभूत रुपमा सिस्टमको विरुद्धमा थिए, किनकि तिमी जे छैनौ, त्यो बन्ने प्रक्रियावाला परिभाषाप्रति ओशोको कुनै ताल्लुक छैन । वेदान्त अर्थात् जहाँ सुन्नु नै साधना हो र जेन अर्थात् जहाँ हेर्नु नै उपासना हो, यो मान्यताप्रति ओशो सबैभन्दा निकट छन् । कृष्णमूर्ति भन्छन्, ‘सुन्नु र हेर्नु’- कृष्णमुर्ति दुवैको कुरा गर्छन्- जबकि ओशो त्यहाँभन्दा अझै पारि पुग्छन् । कृष्णमूर्ति यो सुन्ने र देख्ने या हेर्ने कुरालाई पनि एउटा कुरा गर्छन्, त्यो हो भक्ति मार्ग । यो सुन्दा कसैलाई झट्का लाग्न सक्छ कि मूलत: जे. कृष्णमुर्ति भक्तिमार्गी थिए । कसैले उनलाई तार्किक र दार्शनिक भनून् तर कृष्णमूर्ति जस्तो भक्ति प्रचारक खोज्न कठिन छ, यो जमानामा । यहाँ भगवान् र भक्तको द्वैत हैन कि भक्तिको मूलसूत्र यसमा निहित छ जो अस्तित्वप्रति र समग्रताप्रति पूर्ण समर्पित छ । यदि सुन्नु र हेर्नु अनि अध्ययन र वर्क गर्न जटिल लागेको भए ओशो पनि यही तेस्रो मार्ग अर्थात् भक्ति या परम समर्पणलाई नै देखाउँछन् । ओशो भन्छन्, ‘आफू बिलाउ, हराउ, नष्ट हौ, मरो हे जोगी मरो’ । कृष्णमूर्तिको यो कुरा ताओबाट आएको हो । लाओत्सु संसारका सबभन्दा पुराना भक्त हुन् । भक्तिको यो महामार्ग सबैभन्दा कठिन मार्ग हो । थियोसोफीको सार हो ताओ, परम-स्वीकार, तथाता – यो फेमिनिन वे हो – यहाँ मस्कुलिन केही पनि हैन । फिलोसोफी मस्कुलिन या पौरुष गुण हो । अनि यो फिलोसोफी हैन श्त्रैण चित्त हो, थिओसोफी हो- यहाँ पौरुष गुणको काम छैन । हामीले वेदान्त र विपश्यनालाई बुझ्न सक्यौ भने यही काफी छ । आखिरमा भक्तिको अर्थ यति नै हो कि सबै आफ्नो तर्फबाट गरिने प्रयासहरूलाई छोडिदिनु । साधक हुनका लागि अहंको आवश्यकता पर्दछ । त्यो अहंबाट मुक्त हुनु, केही नगर्नु, जतिबेला जताबाट जस्तो हावा आउँछ, त्यसैमा उड्नु, प्रवाहमा हराउनु, यो हो ताओ, यो हो भक्ति, यही हो कृष्णमूर्ति, अनि यही हो ओशो ।

ओशोको विषयमा यो बुझ्नु पर्छ कि यो अध्यात्मको नाममा एउटा नयाँ धर्म हो, जसमा पुराना धर्मपुरुष र शास्त्र गौण हुन् र अज्ञेयवाद तथा सौन्दर्यवादलाई एउटा सांस्कृतिक रुप दिइएको छ । धर्म निरपेक्ष धर्मको रुपमा कृष्णमूर्ति र ओशोद्वारा यो नयाँ मनुष्य निर्माणका लागि एउटा यात्रा हो । दोस्रो कुरा, यो वेदान्त र जेनको मूल विचारसँग एकरुप छ, जसलाई बुझ्नका लागि बौद्धाचार्य नागार्जुनको माध्यमिक शास्त्र एवं शून्यवाद तथा शंकराचार्यका गुरुका पनि गुरुद्वारा रचित पुस्तकहरूलाई बुझ्नुपर्नेछ ।

यसप्रकार कृष्णमूर्ति जस्तै ओशो मौलिक छन् अनि गुर्जिएफ अस्पेंस्की जस्तै पुरातन गुढ विद्यासँग पनि सम्बन्धित छन् । यो धारणा नयाँ हो जसको तार पुरानो अवधारणासँग जोडिएको छ । यसमा रिबेल छ अनि रिफर्म पनि । कृष्णमूर्तिका बौद्धिक अभिव्यक्ति र अस्पेंस्कीको अध्यात्मलाई तार्किक साबित गर्ने प्रयास हेर्दा लाग्छ आखिरमा निशब्द, मौन, शब्दातीत, बुद्धितित, रहस्यवादी, सत्यलाई यति धेरै शाब्दिक, तार्किक गर्नुको के नै अर्थ छ र ! ओशो भन्छन्, थियोसोफीलाई फिलोसोफी बनाउन सकिँदैन । कृष्णमूर्ति यति धेरै बौद्धिक तरिका र भावभंगिमाबाट कुन सत्यलाई उद्घाटित गर्ने प्रयास गर्दैछन् ! अस्पेंस्कीले आम मानिसहरूले नबुझ्ने कस्तो किसिमको आध्यात्मिक मनोविज्ञान बुझाउने प्रयास गर्दैछन् ! के हो त्यो गहन गम्भीर कुरा जसको लागि यति सोचेर अनि तौलेर बोलिरहेका छन् ? केही हैन, केही छैन, यस्तो गम्भीरताको कुनै अर्थ छैन, यति बौद्धिक र तार्किक हुनु बेकार छ । बेइमानी हो धर्मको जगतमा तार्किक हुनु । महाशय, थियोसोफी बुद्धिको विषय नै हैन । मिस्टिसिजम शब्दहरूको विषय नै हैन । यसैले यो भन्दा ज्यादा ओशो आध्यात्मको कुरा गर्दैनन् र भन्छन्, ‘नाच-नाच्नु नै अध्यात्म हो, यदि बौद्धिक कुरा नै गर्नु थियो भने आध्यात्मको कुरा नगरे भयो । बेकारमा विषयलाई जटिल बनाइयो, जीवनको ऊर्जावान् समय व्यर्थ कार्यमै बित्यो । त्यसैले अस्पेंस्कीले पनि अन्त्यमा आफ्नो वर्क नै छोडिदिए, अनि कृष्णमूर्तिलाई उनका श्रोताहरूदेखि असन्तोष थियो । आखिर यति धेरै सज्जन शब्दहरूमा उनले के नै बोले र ! यही भने कि त्यो व्याख्यातित छ, भावातीत छ । ओशो भन्छन्, ‘यो के रुन्चे मुख पारेर बसेको, यो लामो उदास अनुहार लिएर के घुमिरहेको, अध्यात्मको अर्थ हो हाँस, खेल, गीत गाऊ, यो हो- धर्मको व्याख्या, नाच र उत्सव मनाऊ ।’ जो तर्क दिँदैछन्, तिनीहरू थाहै नपाई आध्यात्मको विरोधी हुन् जान्छन् । तर्कातितलाई तर्कले बुझ्ने प्रयास नै व्यर्थ छ । शब्दहरूमा मौनको महिमा गाउने काम कहिले पनि सफल हुँदैन । अनि ओशो भन्छन्, ‘नाच- नाच्नु नै अध्यात्म हो ।’

फेरि अर्को आयामबाट ओशोलाई बुझ्ने प्रयास गरौँ । ओशो एक पर्फर्मर थिए, जसको छुट्टै स्तर थियो, उनको पर्फर्मिङ आर्टको छुट्टै रुप थियो । लिटरेचर आर्ट अन्तर्गत साहित्यमा दुई भाग हुन्छन्, सम्प्रज्ञ साहित्य र असम्प्रज्ञ साहित्य । ओशो सम्प्रज्ञ कलाकार थिए – एनलाइटेन्ड पर्फर्मर । टेगोर कविदेखि ऋषिसम्मको यात्राको मध्यमा छन् र अर्का हुन् खलिल जिब्रान । खुशवन्त सिंहलाई बल्ल बुझ्दैछन् तर ओशो नानकमय भएर जपजीमाथि धारा प्रवाह बोल्छन्, ओशोमा एक कवि पनि छ अनि ऋषि पनि-उपनिषदमा भनिएको छ ‘कविम मनिषी हि’ । ओशो पिएर बोल्छन्, एक रस भएर बोल्छन् । ओशो कतै आफू जाँदै छैनन् । सबैलाई लिएर जाँदैछन् । उनी आफू त पुगिसके, अब उनको कुनै यात्रा बाँकी नै रहेन । उनका आँखामा हरेक समय उनी पूर्ण छन्, तृप्त छन् भन्ने नै छचल्किरहेको हुन्छ । एउटा सदाचारको पराकाष्ठामा आसिन शाक्यमुनि बुद्ध थिए भने ओशो आफ्नो मौलिक दृष्टिकोणमा सम्यक सम्बुद्ध थिए, शाक्यमुनि भन्दा कम थिएनन् । यद्यपि यहाँ जोरबा पनि आफ्नो पूर्ण रुपमा फक्रिएर प्रस्तुत छन् । सामान्यतः साहित्यकार, कलाकार र चिन्तक, विचारक, वक्ता, प्रवचनकारहरूले आफूलाई आध्यात्मिक गुरुभन्दा तल्लो दर्जामा राख्छन्, तर ओशो त्यसमा मिसिदैनन् । ओशो सदैव बिना विरोधाभाषसहित सतत् उनमा केही चमत्कारिक घटेको छ र त्यो उनी मानिसहरूमाझ बाँडिरहेका छन् भनेर बोलिरहे । ओशोले कहिले पनि यो भनेनन् कि उनी साधक थिए, स्वयंलाई उनले सदैव सिद्धझैँ प्रस्तुत गरे । त्यसैले ओशोलाई एक पर्फर्मरको रुपमा मान्नु साधारण कुरा हैन । ओशो एक घटना थिए – उनी एक सम्प्रज्ञ अभिव्यक्तिकार थिए । ऋषि र कविमा एक भेद हुन सक्छ तर ओशोको ऋषिता उनको कवितामा थियो, काव्यमा थियो – ऋषित्व र कवित्वको भेद जहाँ तिरोहित हुन्छ, त्यहाँ ओशो उदित हुन्छन् । यिनै हुन् पर्फर्मर ओशो ।

अर्को एउटा कोणबाट ओशोमा देखिने गरेका विरोधाभाषहरूमाथि प्रकाश: ओशो विरोधाभाषी थिएनन्- यो बुझ्न सबैको हैसियतले भेट्दैन । त्यसको लागि जान्ने अभिप्शा चाहिन्छ, एउटा गहिरो प्रश्न, जसलाई जान्नु नै जीवनको लक्ष्य होस् । त्यो स्तरमा विरोधाभाष छैन – त्योभन्दा अगाडि विरोधाभाष छ । यहाँ उच्च अधिकारीहरूका लागि कुरा गरौँ- केवल ओशो मात्र हैनन् कृष्णमूर्ति पनि, अस्पेंस्की /गुर्जिएफ पनि, रमण पनि, शार्त्र पनि, बुद्ध पनि, मार्क्स पनि अनि कान्ट पनि विरोधाभाषी हुन् । यो विचार गरौँ कि अध्यात्म आफैँ विरोधाभाषी हो । यसलाई विरोधाभाषी भन्नु अगाडि विरोधाभाष के हो, त्यो बुझ्नु जरुरी छ । तपाईंलाई के लाग्छ, यो असी हजार पुस्तक अध्ययन गर्नेवाला, जिन्दगीमा साहसिक प्रयोगहरू गर्ने वाला, आफ्नो बुतामा उभिएको मान्छे जे बोल्दैछ त्यो के आम धार्मिक स्तरबाट मात्रै बोल्छ होला ? यदि उनको कुनै पाठक, संन्यासी या अभिभावक यस्तो मान्छन् भने त्यो घमण्ड राम्रो हैन, त्यो मुर्खताले भरिएको हुनेछ- एक मिथ्या अभिमान । ती मान्छेहरू केवल सक्रिय ध्यान र कुण्डलिनी गरेर अनि ओशोको प्रचारकको हिसाबले उनले बोलेका शब्दका आधारमा ओशोलाई बुझेको दाबी गर्न सक्दैनन् । अहिले तिनीहरूको यात्रा शुरु नै भको छैन- त्यो विरोधाभाषबाट मुक्त हुनका लागि । त्यो विरोधाभाष छँदैछैन जुन भनिदैछ, यो बुझ्न समय लाग्छ, त्यसका लागि अहिलेसम्म प्राप्त ज्ञानलाई छोड्नु पर्नेछ ।

बीसौं शताब्दीमा ओशोको वास्तविक अर्थ शायदै कसैले बुझ्यो होला, चालु एक्काइसौं शताब्दीमै ओशोको अर्थ स्पष्ट हुन सक्छ । के तपाईं उत्सुक हुनुहुन्छ त्यो जान्नलाई ? जिज्ञासा छ तपाईंभित्र ओशो चिन्ने ? ओशोका सबै कुराहरूलाई काट्न सकिएला, काट्न सकिन्छ, तर चुरो कुरो त्यो हैन ! ओशो भन्छन्, भिड जम्मा गर्नलाई उनले विरोधाभाषी लाग्ने कुराहरू गरे, यसमा उनको मूल ध्येय हामी सेवा, परोपकार, दान, धर्म र समाजवादबाट सावधान भएर, सबैलाई छोडेर स्वार्थी बन्नु पर्छ । ओशोले स्वार्थी बन्न भने । यही उनको मूल शिक्षा हो । जुन नयाँ मार्गबाट ओशो उदाए, निष्पक्ष भएर व्यावहारिक रुपमा हेर्दा ओशोले जुन नयाँ मार्गको आधारशीला खडा गरे हामी यहाँ त्यसको समर्थनमा छौँ । म आफू पनि परम स्वार्थी र पुँजीवादी हुँ । ओशोलाई बुझ्न सहज छैन, के तपाईंले ओशोका सबै पुस्तकहरू पढेर बुझ्नु भयो ? उनका सबै उपलब्ध अडियो र भिडियो प्रवचन सुनेर/बुझेर सक्नु भयो ? तपाईंले ध्यानको मनोविज्ञान बुझ्नु भयो ? कृष्णमूर्तिको कान्ट कनेक्सन बुझियो ? सदाचार र शिष्टाचारको तत्त्व ज्ञान तथा सत्यप्रति प्रेमको ज्ञानको भेदलाई तपाईंले आफ्नो बौद्धिक कसीमा राख्नु भयो ? ओशोभित्रबाट धाराप्रवाह रुपमा जुन सरिता बग्यो, त्यसको गंगोत्री या श्रोतको पत्तो पाउनु भयो तपाईंले ? ओशोलाई पिउन र पाउन जो जिउँछन्, उनीहरूलाई नै त्यो अमृत्वको प्राप्ति हुन सक्छ । कहाँ छन् ती मान्छेहरू जोसँग ओशोलाइ गर्व होस् ?