जुन ठाउँमा संसार प्रख्यात नाटककार विलियम सेक्सपियरका नाटक मञ्चित भए, त्यो ठाउँमा अब त्यही पुरानो नाटकघर पुनः ब्युँतने भएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट सेक्सपियरले नाटकका पर्दा उघारेको, नाटकमा अभिनय गरेको र रोमियो जुलियटमा पहिलो पटक अभिनय गरेको जस्ता कयौँ कुराहरू दर्शकले हेर्न पाउने छन् ।
द म्युजियम अफ सेक्सपियर नाउँको यो संग्रहालय सन् २०२४ को वसन्त याममा यसलाई सर्वसाधारणका लागि खुला गरिनेछ । सेक्सपियरको समयमा भर्खरै व्यावसायिक रूपमा नाटकघरहरू खुलेका थिए र त्यो बेला खुलेको शुरूवाती नाटकघरमध्येको पहिलो द कर्टेन प्लेहाउस थियो ।
लन्डनको सोरडिचमा रहेको सो नाटकघर सेक्सपियरका बेलामा निकै प्रख्यात सांस्कृतिक केन्द्रजस्तो ठाउँ थियो । यस्ता ठाउँमा त्यो बेला नाटक मञ्चनसँगै कहिलेकाहीँ युवायुवतीबीच सम्बन्ध जोड्ने कार्यसमेत हुने गर्थ्यो ।
सन् २०११ देखि २०१६ सम्म भएको एउटा उत्खनन अभियानका बेला यो ठाउँमा म्युजियम रहेको खुलासा भएको थियो । उत्खनन गरेको ठाउँबाट तीन मिटर तल म्युजियममा पाइने अनेक वस्तु फेला परेको आधारमा यो म्युजियम अफ सेक्सपियर बनाइएको हो ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा निर्मित यो संग्रहालयमा कोही छिर्नेबित्तिकै दर्शकलाई त्यही पुरानो र साढे चार सय वर्ष पुरानो अवस्थामा पुगेको आभास हुनेछ ।
म्युजियम अफ लन्डनकी वरिष्ठ आर्कियोलजिस्ट भन्छिन्, ‘यो संग्रहालय सञ्चालन भएपछि हाम्रो नाटक घरप्रति हेर्ने दृष्टिकोण पूरै परिवर्तन हुनेछ ।’
द कर्टेन प्ले हाउस सन् १५७७ बनेको थियो र यो नाटक घरमा एकसाथ १४ सय मानिसहरू छिर्न सक्थे । सेक्सपियरले यही कर्टेन प्ले हाउसमा शुरूवाती दिन बिताएका थिए । यसैले उनलाई नाटककारका रूपमा परिपक्व बनाएको थियो । यति मात्र होइन, सेक्पियरको पहिलो नाटक रोमियो जुलियट र हेनरी पाँचौँ जस्ता नाटकले यही सुपरहिट हुने अवसर पाएका थिए ।
रोचक चाहिँ, त्यो बेला नाटक हेर्नका लागि एक पेन्नी पैसा तिर्नुपर्थ्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।