सन् १९८३ मा क्यानडेली लेखिका मार्गरेट एटवुडलाई पाँच सय वर्षअघिको बेलायती दरबारको कथा लेख्न मन लाग्यो । यसका लागि उनी युके गइन् र उत्तरी नर्फोक भन्ने ठाउँमा एउटा कठ्याङ्ग्रिने घर भाडामा लिइन् । छ महिना त्यो घरमा बस्दा उनले उपन्यास लेख्न सकिनन् ।
बरू लेख्न पर्ला भन्ने डरले उत्तरी नर्फोक वरपरका जंगल चहारेर बिताइन् । चहार्दै गर्दा उनी एउटा पुरानो चर्च र त्यहाँका भिक्षुणीहरूलाई नियाल्दै जंगलतिर लाग्थिन् ।
जब किताब लेख्न नसक्ने निधोका साथ उनले सामान बटुल्न थालिन्, उनले भिक्षुणीहरू ठूलो पर्खालभित्र कसरी समय बिताउँदा हुन् भनी कल्पन थालिन् । र, जन्मियो- चर्चित उपन्यास ‘द ह्यान्डमेड्स टेल’ ।
एटवुडको सुझाव छः ‘छ महिना समय त्यसै खेर फाल्दाको पीडाले ह्यान्डमेड्स टेल जन्मिएको हो । त्यसैले मैले एक शब्द लेख्न सकिनँ भन्ने पछुतो नमान्नुस् । लेखिरहनुस्, बरू त्यसलाई च्यातेर फ्याँक्नुस् । पक्कै केही राम्रो चिज जन्मन्छ ।’
किताब लेख्दा छ महिना विलम्बको के कुरा भो र ? पाकिस्तानी लेखक मोहसिन हमिदले सात वर्ष लगाएका छन्, मोथ स्मोक उपन्यास लेख्न । तर लेखिसकेपछि यस्तो लेखे कि भारत र पाकिस्तानमा सो उपन्यास बेस्ट सेलर बन्न पुग्यो ।
उनको दोस्रो उपन्यास लेखिसिध्याउन पनि सातै वर्ष लाग्यो । त्यसमाथि पहिलोभन्दा अझ राम्रो लेख्नपर्ने दबाबका कारण उनलाई झण्डै बिरामी बनायो । उनले अन्तरवार्तामा भनेका छन्, ‘कसैले दोस्रो उपन्यासको ड्राफ्टहरू हेर्यो भन्ने पक्कै पनि मेरो क्षमतामा शङ्का गर्नेछ ।’
उनी भन्छन्, ‘तर समयक्रममा मैले लेख्ने प्रयासका कारण कसरी कम खराब किताब लेख्ने भन्ने सिकेँ ।’ त्यही कम खराब लेखेको नतिजा नै द रेलक्टेन्ट फन्डामेन्टलिस्ट उपन्यास जन्मियो । उपन्यास यति सुन्दर थियो कि त्यो भारत र पाकिस्तानमा मात्र चिनिएन, संसारभर बेस्टसेलर बन्न पुग्यो । पछि फिल्म समेत बन्यो ।
क्रिएटिभ राइटिङ सिकाउने कम्पनी लम्ब बैंकमा निर्देशकका रूपमा कार्यरत बेक इभान्स आफ्नो कार्यालयमा लेख्न सिकाइमाग्न आउनेहरूको प्रवृत्ति नियाल्ने गर्छन् । उनी भन्छिन्, ‘धेरैलाई चाहिँ यहाँ सिक्न आएपछि कुरै सक्कियो भन्ने लाग्छ । अघिल्लो वर्ष सिक्न आएकी थिएँ, अलि कुरा नबुझेजस्तो लागेर फेरि भर्ना हुन आएँ ।’
यस्तो प्रवृत्ति भएका लेखकले चाहिँ लेखी नखाने उनको दाबी छ ।
‘द लास्ट एक्ट अफ लभ’ र ‘डियर रिडर’ पुस्तककी लेखिका क्याथी रेन्जेन्ब्रिङ्क भन्छिन्, ‘धेरैलाई दिनदिनै लेख्ने बानी बसाल्यो भने समयसँगै राम्रो लेख्ने साहित्यकारका रूपमा स्थापित भइन्छ भन्ने भ्रम छ । आफ्नो लेखनीमा आत्मविश्वास बढ्न थाल्छ भन्ने पनि कतिपयलाई लाग्न सक्छ तर वास्तवमा त्यस्तो हुँदैन । कतिपय अवस्थामा आत्मविश्वास अझ बढी स्खलित हुनपुग्छ । लेखनीमा सधैँ इच्छा र डरको एउटा ‘टग अफ वार’ चलिरहन्छ । त्यसैले उतार-चढाव भइरहनु लेखक बाँच्नु हो ।’
कसरी लेख्ने भन्नेबारेमा धेरैले नियम बताउने गरेका छन् तर ती नियम पुरानो भइसकेको र तिनले तपाईंका लागि काम नगर्ने दाबी बेकको छ । विज्ञहरूका अनुसार, हरकोही लेखक बन्न सक्छ । लेखक कसरी बन्न सक्छ भन्ने उदाहरण सेरिल स्ट्रेडलाई हेरे पुग्छ । तपाईंले वाइल्ड भन्ने पुस्तक पढ्नु भएको छ ? पुस्तक पढ्नु भएको छैन भने पक्कै पनि सोही नाउँको फिल्म त हेर्नु भएकै होला । त्यो किताब यति हिट भयो कि अस्कर अवार्ड विजेता रिजी विदरस्पूनले सो फिल्म निर्माण मात्र गरिनन्, अभिनय नै गरिन् । सेरिलले यति सुन्दर किताब लेखे पनि उनलाई कहिल्यै लेख्न सकूँली भन्ने लाग्दैनथ्यो ।
यसपछि उनी अरूले कसरी लेख्दा हुन् भन्ने खोजीनिधि गर्न थालिन् । उनले के पाइन् भने, बेस्ट सेलरहरूको सुझाव हुन्थ्यो, ‘दैनिक लेख्नूस्, लेख्नु भएन भने तपाईं लेखक बन्नु भएन ।’
सेरिललाई यो सुझाव गज्जब लाग्यो । उनलाई लाग्यो- हो त नि ! जाबो दैनिक नलेख्ने पनि के लेखक ?
यसपछि उनले दैनिक रूपमा केही न केही लेख्ने जाँगर जुटाउन थालिन् । तर सकिनन् । त्यसपछि उनलाई यो सुझाव वाहियात लाग्यो । उनले एक ठाउँमा भनेकी छन्, ‘त्यो उनीहरूका लागि जरूरी नियम होला तर मेरा लागि चाहिँ हुँदै होइन । म त घुम्न रूचाउने व्यक्ति हुँ । घुम्नु मेरो पहिलो कर्तव्य हो, लेखनी दोस्रो । त्यसैले मैले दैनिक लेख्ने अभ्यास गरिरहनु जरूरी छैन ।’
तर एक दिन अचानक उनलाई यस्तोसँग फुर्न थाल्यो कि उनले दिनभरि लेखिरहिन् । त्यस दिन थाहा भयो, लेख्न जान्नका लागि दैनिक लेख्नु पर्दैन बरू फुरेका बेला लेख्नुपर्छ ।
दिनदिनै लेख्ने झन्झटको नियम बनाउने व्यक्ति चाहिँ प्राध्यापक रोबर्ट बोइस् हुन् । उनले सन् १९८० र ९० को दशकमा दिनदिनै लेख्ने मन्त्र बनाएका थिए । त्यो पढ्ने लेखकहरूले त्यही मन्त्रलाई मुख्य आधार बनाएर अर्को एक दर्जन पुस्तकसमेत लेखियो ।
लेख्नका लागि कसैलाई शान्त ठाउँ चाहिन्छ, कसैले हल्लागुल्लाका बीच पनि लेखिरहेकै हुन्छन् । सन् १९६९ ताका पेरिस रिभ्यु पत्रिकामा लेखक ई.बी. ह्वाइटले लेखेका छन्, ‘मेरो लेख्ने कोठामा एउटा होहल्लायुक्त उत्सव हुन्छ । म जुन ठाउँमा लेख्छु, त्यहाँबाट भान्सा छिरिन्छ, त्यहीँ मेरा सन्तान उछलकुद गर्छन्, नोकर्नीले मेरो टाइपराइटर उचालेर कागज सम्हाल्छिन् । केटाकेटीको झाङ्गलझुङ्लको त कुरै भएन ।’
अब बेस्टसेलर किताबहरू ‘मनीबल’ र ‘द बिग सर्ट’का लेखक माइकल लेविसको लेखन प्रक्रिया भने ज्यादै क्लिष्ट छ । उनी भन्छन्, ‘म कुनै चिज लेख्न बसेँ भने मलाई घोत्लिन महिनौँ लाग्छ । म त्यो बेलामा पारिवारिक झमेला सहन सक्दिनँ ।’ उनको निजी जीवन पूरै बन्द हुन्छ र लेखनकर्ममा मात्र उनी आफूलाई होम्छन् । लेख्दै गर्दा उनी पात्रहरूसँगै हाँस्छन्, बोल्छन् । बेलाबेला उनकी पत्नीले उनलाई अलि बढी भो कि भनेर सम्झाउनु पर्छ ।
केहीलाई भने लेख्नका लागि नियमै लगाउनुपर्ने हुन्छ । जस्तो अस्टिन क्लिअनले बिहान साढे आठ बजेको खाजापछि लेख्न बस्छन् । दुई घण्टा लेखेपछि दिउँसो खाना खान्छन् र केहीबेर टहलिन्छन् । बिहीबार उनी पूरापूर समय छुट्टीका रूपमा बिताउँछन् । त्यो दिन उनी लेख्दैनन् । बरू आफूले लेखेका कुराहरू साथीभाइ र प्रकाशकलाई सुनाउने दिन हो ।
यस्तै नियममा हिँड्न रूचाउने लेखिका इसाबेल अलन्दे पनि हुन् । उनका लागि हरेक वर्षको जनवरी ७ कहिल्यै नआओस् भन्ने चाहन्छिन् । किनभने भोलिपल्टबाट उनले किताब लेख्न थाल्नुपर्ने हुन्छ । जब लेख्न बस्छिन्, हरेक दिन निश्चित समयमा लेख्न थाल्छिन् र यो क्रम त्यतिञ्जेलसम्म चलिरहन्छ, जबसम्म उनले पहिलो ड्राफ्ट लेखिसिध्याउँदिनन् ।
तर फेरि प्रख्यात इटालेली लेखिका एलेना फेरान्ते चाहिँ, आफ्नो कुनै लेख्ने रूटिन नभएको बताउँछिन् । लेख्नै पर्ने भन्ने उनलाई लाग्यो भने लेखेको लेख्यै गर्छिन् । त्यसका लागि उनी समय तोक्दिनन्, न त ठाउँ नै उनका लागि महत्त्वका लागि हुन्छ । एक चोटि लेख्न बसेपछि नथाकुञ्जेलसम्म लेखिरहन्छिन् ।’
फेरि उता अपराध उपन्यासका प्रख्यात लेखक जेफ्री डिभर चाहिँ आठ महिनासम्म लेख्ने विषयमाथि शोध, खोज र अनुसन्धानमा लाग्छन् । जब सामग्री पूरापूर भेला भयो भन्ने लाग्छ, त्यसपछि मात्र उनी लेख्न बस्छन् । त्यो लेख्न बस्दा पनि के के कुरा लेख्न जरूरी छ भनेर शुरूमा निर्देशिका लेख्छन् र त्यो कहिलेकाहीँ १५० पृष्ठसम्मको पनि हुनसक्छ । लेख्नु काम होइन उनका लागि, बरू सिर्जनात्मक अभिव्यक्ति हो । त्यसैले पूरा तयारीका साथ लेख्न बसिसकेपछि उनले एक डेढ महिनाभित्र पहिलो ड्राफ्ट लेखिसध्याउँछन् ।
राम्रो लेख्नेहरू निश्चित माइन्डसेटमा काम गर्छन्, निश्चित अनुशासन अँगालेर होइन । माइन्डसेटले उनीहरूलाई सधैँ राम्रो काम गर्न प्रेरित गरिरहन्छ । राम्रो नियमले वा अनुशासनले राम्रो लेखक बनाउँदैन, राम्रो माइन्डसेटले राम्रो लेखक बनाउँछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।