फ्रेडरिकले लामो सुस्केरा हाले । क्लान्त स्वरमा फ्रेडरिकले भने “ल त्यसो भए बिदा पाऊँ ” यति भन्दै उनी इर्बिनसित हातै नमिलाई हिँड्न ठिक परे ।

“अहँ ! तिमीले त्यसो गर्न पाउँदैनौ । मकहाँ आएर यसरी छुट्टिन मिल्दैन बुझ्यौ ? हामी दुई मध्य कोही एक जना मृत्युशैय्यामा छ भने मात्रै त्यसो गर्न मिल्ला, नत्र मिल्दैन । त्यस कारण एक अर्कालाई  बिदाइ भन्नै पर्छ हामीले ।”

“तर हामीमध्ये को मर्दै छ भन्ठान्नु इर्बिन ? मेरा मित्र, आजका लागि त्यही ठान, पुनर्जन्म लिनु छ भने जो कोही पनि मर्न तयार हुनै पर्छ ।”

एक चोटि फेरि कागजमा लेखिएको भनाइभित्र र बाहिर शीर्षक पढे फ्रेडरिकले ।

“ठिकै छ,” अन्ततः फ्रेडरिकले भने “तिमीले सही भन्यौ रिसाएर छुट्टिनु ठिक होइन पनि । तिमी जे भन्छौ म त्यही गर्छु । म मान्छु कि हामी दुईमध्ये एक जना मर्दै छौँ । जानुअघि अन्तिम चोटि एउटा अनुरोध गर्न चाहन्छु तिमीसित ।”

“खुसीको कुरा हो, भन त, तिमीले बिदा लिँदै गर्दा म कस्तो उदारता देखाऊँ ?” इर्बिनले भन्यो ।

“पहिलेकै प्रश्न दोहोर्‍याउँछु म, अनि यो मेरो आग्रह पनि हो जतिसक्दो यो भनाइलाई प्रस्ट पार त ।”

इर्बिन एक छिन घोरिए अनि बोले-

“बाहिर केही छैन, भित्र केही छैन” यसको धार्मिक अर्थ त तिमीलाई थाहै होला, भगवान् सबैसित छन् । उनी आत्मामा छन्, अनि प्रकृतिमा पनि छन् । सबै कुरो दैवी हो किनभने भगवान् नै सबै थोक हुन् पहिले यसलाई “सर्वेस्वरवाद” भनिन्थ्यो । अनि यसको दार्शनिक अर्थचाहिँ यस्तो छ- कुनै कुरो सोच्दै गर्दा भित्रलाई बाहिरसित सम्बन्ध विच्छेद गराउने बानी छ हाम्रो तर यो आवश्यक छैन । हाम्रो आत्मा हामीले तय गरेको सीमितताबाट पछि हटेर धेरै पर जाने क्षमता राख्छ । यो वैपरीत्यभन्दा पर यस संसारमा बिलकुलै नयाँ र विविध प्रकारका ज्ञानहरू आरम्भ हुन्छन् ..। तर मेरो प्यारा मित्र, मिथ्या बोलेको स्विकार्छु म । मेरो विचार परिवर्तन भएदेखि यता मेरा लागि दोहोरो अर्थ नलाग्ने शब्द र भनाइहरू छैनन् । हरेक शब्दको दसौँ वा सयौँ अर्थ लाग्न सक्छ । अनि तिमी जुन चिज डराउन थालेका छौ, त्यो हो, जादुगरी अर्थात् रहस्य । फ्रेडरिकले आँखीभौँ खुम्च्याए, अनि क्रमभङ्ग गर्न खोज्दै थिए, तर यत्तिकैमा इर्बिनले शान्त पार्न उनीतिर हेर्दै अझै प्रस्टसित कुरो अघि बढाए । म एउटा उदाहरण दिन्छु तिमीलाई- “मसित एउटा कुनै चिज लेऊ तिमी अनि बेला बेलामा त्यसलाई परीक्षण गरिहेर । भित्र र बाहिरको सिद्धान्तले थुप्रै अर्थमध्ये एउटा अर्थ तिमीलाई खुलाइदिने छ ।”

उनको कोठाको चारैतिर सर्सर्ती हेरे, भित्ताको तखताबाट माटोको एउटा सानो मूर्ति निकालेर फ्रेडरिकलाई दिँदै भने- “बिदाइको उपहार सम्झेर तिमी यो राख । मैले अहिले तिम्रो हातमा राखिदिएको चिज जति बेला तिमीले बाहिर देख्न छोड्छौ, सम्झ कि यो भित्र छ, यदि त्यसो भयो भने फेरि मकहाँ आउनू अन्यथा यो सदाका लागि तिम्रो बाहिरपट्टि बस्यो भने अर्थात् अहिले जस्तो अवस्थामा छ त्यस्तै रह्यो भने मान कि मसित छुट्टिएर गइसकेपछि सदाका लागि तिम्रो र मेरो भेट हुने छैन ।”

फ्रेडरिक धेरै कुरा भन्न चाहन्थे तर इर्बिनले उनको हात समातेर मुसार्न थाले अनि जुन भावभङ्गीमाका साथ उनलाई बिदाइ गरे त्यसले थप कुराकानी गर्ने अवसरै दिएन । फ्रेडरिक इर्बिनको घरबाट निस्के अनि सिँढी ओर्लेर गल्ली हुँदै आफ्नो घरतिर लागे । हातमा माटाको सानो मूर्ति लिएका फ्रेडरिक किंकर्तव्यविमूढ र मुटु रोगी जस्ता देखिन्थे । घर अगाडि पुगेपछि उनी टक्क अगाडि, माटाको मूर्ति समातिराखेको हातको मुठी जोडले हल्लाए । एक चोटि त उनलाई त्यो हास्यास्पद वस्तु भुईँमा बजारेर धुलो पिठो पारिदिऊँ कि जस्तो तिव्रेच्छा नजागेको पनि होइन, तर उनले त्यसो गरेनन् । ओठ टोक्दै घरभित्र पसे । यसअघि उनी त्यसरी कहिल्यै आन्दोलित भएका थिएनन् न त परस्पर विरोधी आवेगले उनलाई यसरी कहिल्यै सताएको नै थियो ।

साथीले दिएको उपहार राख्ने ठाउँ खोजे, अनि लगेर पुस्तक राख्ने दराजमाथि राखे । अर्को व्यवस्था नहुन्जेलसम्म मूर्ति त्यहीँ रह्यो ।

दिनहरू बित्दै गए, बेला बेलामा फ्रेडरिक मूर्ति हेर्थे, त्यसको उत्पत्ति कसरी भयो, घोरिन्थे त्यस्तो बेकारको चिज, कसरी आइलाग्यो, चिन्तन गर्थे । त्यो सानो मूर्ति हेर्दा मान्छेको मूर्तिजस्तो पनि लाग्यो, देवीदेवताको मूर्ति जस्तो पनि लाग्थ्यो । झट्ट हेर्दा उक्त दुई मुखे मूर्ति रोमन देवताको जस्तो देखिन्थ्यो ।

काँचो माटाको उक्त मूर्तिको पालिस अलिअलि डढेको र चिरा परेको देखिन्थ्यो । खस्रो र छन्द न बन्दको त्यो सानो मूर्तिमा वास्तवमा न त रोमन नत ग्रिक कालिगडी नै झल्किन्थ्यो । बरु बढी सम्भावनाचाहिँ के देखिन्थ्यो भने अफ्रिका वा साउथ सिका आदिवासी वा पिछडावर्गले बनाएको हुनुपर्छ । झट्ट हेर्दा उस्तै देखिने उक्त दुई मुखे मूर्तिले ङिच्च हाँसेजस्तो विरक्त लाग्दो मुस्कान धारण गरेकाले कुटिल मुस्कान छोडेको सेतो ख्याकजस्तो पूरै कुरूप देखिन्थ्यो ।

मूर्तिसित अभ्यस्त हुन सकेनन्‌ फ्रेडरिक । उनका लागि यो पूरै नमजाको र घिनलाग्दो चिज ठहरियो । मूर्तिले उनको बाटो छेक्यो, क्षुब्ध बनायो उनलाई । भोलिपल्टै उनले दराजमाथिबाट निकाले स्टोभमाथि राखिदिए, अनि अलि दिनपछि दराजमा थन्क्याइदिए । पटक पटक मूर्ति उनको आँखामा पर्न थाल्यो मानौँ, मूर्ति आफैँ जबरजस्त उनको आँखामा पर्न चाहन्थ्यो । यो बडो मन्द बुद्धिले निर्दयी भएर खिसी टिउरी गर्न ध्यान खिच्न थाल्यो । केही हप्तापछि उनले उक्त मूर्ति उपकक्षमा लगेर राखिदिए, कसैले आँखा नलगाउने सानातिना महत्त्वहीन स्मारिका र इटालीको फोटोको बिचमा । अब उनले घरभित्र पस्दा वा बाहिरिँदा मात्रै देख्ने भए मूर्ति । मूर्ति राम्रोसित हेर्दै नहेरी हिँड्न थाले फ्रेडरिक । यति गर्दा पनि मूर्तिले उनलाई सताउन छोडेन । यद्यपि उनी मूर्तिले दिएको चुनौतीसित झुकेनन् । यो खपटा सँगसँगै दुई मुखे कुरूपता लन्ठा र सास्तीले उनको जीवनमा प्रवेश गरे ।

महिनौँपछि एक दिन उनी छोटो यात्राबाट घर फर्के । बेला बेलामा उनी यस्ता रमाइला यात्रामा निस्किने गर्थे । मानौँ, कुनै अदृश्य शक्तिले उनलाई निरन्तर घचघच्याइरहेको थियो । उनी घरभित्र पसे त्यसपछि उपकक्षमा प्रवेश गर्दै गर्दा नोकर्नीले उनलाई अभिवादन गरी । तर उनी त त्यत्तिकै बिरामी परे मानौँ उनले कुनै महत्त्वपूर्ण कुरा बिर्सेका थिए । न त किताबले आकर्षित गर्‍यो न त कुर्सी नै आरामदायी लाग्न थाल्यो । आखिर किन यस्तो भएको हो ? दिमाग खियाउन थाले फ्रेडरिक । कुनै महत्त्वपूर्ण कुरालाई बेवास्ता पो गरे कि ? अपच हुने कुरा पो खाए कि ? एक छिन घोरिएपछि उनलाई के महसुस भयो भने उनलाई बेचैन तुल्याउने भावनाले उनी घरमा प्रवेश गर्दा नै छोपेको रहेछ। उनी फेरि उपकक्षमा प्रवेश गरे अनि नचाहँदा नचाहँदै पनि उनको पहिलो नजरले त्यो माटाको मूर्ति खोज्न थाल्यो ।

मूर्ति नदेख्दा एउटा अनौठो भयले गाँज्यो उनलाई । गायब थियो त्यो । कतै हराइराखेको माटाका स-साना खुट्टाले हिँड्दा त हिँडेन कतै ? कि उड्यो जादुले गर्दा? उनका मनमा यस्तै यस्तै कुरा खेल्न थाल्यो ।

फ्रेडरिकले आफूलाई सम्हाले । अनि आफ्नो मानसिक अधोगतिप्रति खिस्स हाँसे । त्यस पछि उनी चुपचाप पुरै कोठा चहार्न थाले । जति खोज्दा पनि कहीँ नभेटेपछि उनले नोकर्नीलाई बोलाए । ऊ आई निकै डराएकी थिई । घर सफा गर्दै गर्दा मूर्ति खसालेको कुरा तुरुन्तै सकारी ।

“कहाँ छ त त्यो ?”

यतिखेर त्यो मूर्ति त्यहाँ हुने त कुरै भएन । निकै कडा देखिन्थ्यो त्यो सानो चिज, उनी बेला बेला आफ्नो हातमा लिन्थे त्यसलाई । भुईँमा खसेर सयौँ टुक्रा र चोइटामा परिणत भएको थियो त्यो मूर्ति, जोडने कोसिस गरे तर सकेनन्‌ । टुक्रा र चोइटा बोकेर कालिगडकहाँ गए । कालिगड उसको कुरा सुनेर खुब हाँसेको थियो अनि त्यसपछि रिसले उनले ती सबै टुक्रा र चोइटा फालिदिएका थिए । फ्रेडरिकले नोकर्नीलाई बाहिर पठाइदिए । उनी मुस्कुराए उनका लागि त मूर्ति हराउनु अति नै जाती भो । मूर्ति नाश भएकोमा उनलाई कुनै पछुतो भएन, भगवानलाई थाहा छ । जाबो त्यो घिनलाग्दो चिज हरायो त के भो । मूर्ति हात परेकै दिन यदि त्यसलाई धुलो पिठो पारेको भए आजसम्म अशान्ति खप्नुपर्ने थिएन कि । यत्रो लामो समयसम्म उनले के मात्रै सहेनन्‌ । कति सुस्तरी, कति अचम्मसित कति धृष्टतापूर्वक, कति नमज्जासित, कति अट्टहास गरेको थियो उनलाई देखेर त्यो मूर्ति तर यतिखेर त्यो मूर्ति नष्ट भैसकेको कुरा उनले नस्विकारी धरै थिएन । माटाको त्यो देवताको मूर्तिदेखि उनी साँच्चिकै डराएका थिए । के त्यो मूर्तिले उनलाई अति घिन लाग्ने र असह्य चिजहरूको प्रतीक थिएन र ? उनले चिनेका वस्तुहरूमध्ये विनाशकारी, विरोधी र दमनयोग्य थिएनन्‌ र ? सबै खाले अन्धविश्वास सबै खाले अन्धकार विवेक र आत्माको जबरजस्ती प्रयोग थिएन र ? पृथ्वीको भित्री भागमा बेला बेलामा उग्र रूपमा उत्पन्न हुने भयावह शक्तिको प्रतिनिधित्व गरेको थिएन र त्यसले ? जस्तो भूकम्प, संस्कृतिको नजिकिँदो उन्मुलन, सम्भावित उपद्रव । त्यही घिनलाग्दो मूर्तिकै कारण उनको अभिन्न मित्र खोसिएको होइन र ? खोसिएको मात्र होइन एउटा मित्रलाई शत्रु बनाएको पनि त्यसैले होइन र ? ठिकै भो आज त्यो चिज पनि गयो, अस्तित्वहीन, धुलो पिठो र समाप्त भयो । जे भो ठिकै भो, आफूले नष्ट गर्नुभन्दा अरूले नष्ट गरिदियो, झन्‌ जाती भो ।

उनले यस्तै यस्तै सोचे अर्थात्‌ भने । अनि उनको दैनिकी पहिलेको जस्तै यथावत्‌ चल्न थाल्यो । तर मूर्ति नाश हुनु उनको लागि अभिशाप भो । उनी भर्खर भर्खर त्यो हास्यास्पद मूर्तिको धेरथोर नजिक भएका थिए । प्राय: उपकक्षको टेबलमा देखिने उक्त मूर्ति हेर्ने बिस्तारै बानी परिसकेका थियो । त्यो दृश्य उनका लागि सामान्य भैसकेको थियो । अहिले त्यो मूर्ति देख्न नपाउँदा उनलाई सकस हुन थाल्यो । उपकक्षमा पस्दै गर्दा उनलाई सकस हुन थाल्यो । उनलाई मूर्तिको कमी महसुस हुन थाल्यो । कोठै रित्तो भएको महसुस भो उनलाई । मूर्ति राखेको ठाउँबाट रिक्तता निःसृत भो अनि पूरै कोठा अनौठोपनले भरियो ।

फ्रेडरिकका लागि दिन र रात दुवै खराब हुँदै गए । दुई मुखे मूर्तिका बारेमा नसोचीकन त उनी उपकक्षमा पस्नै सकेनन्‌ । त्यसैको न्यास्रो लाग्न थाल्यो उनलाई । उनका सारा सोचविचार नै त्यसैमा टाँसिएजस्तो महसुस हुन थाल्यो । उनका लागि मूर्ति अति दुःखदायी मनोवैज्ञानिक बाध्यता हुन पुग्यो । जति बेला उनी कोठामा पस्थे, उति बेलाउनलाई यही मनोवैज्ञानिक बाध्यताले च्याप्प समातेजस्तो महसुस हुन्थ्यो ।

जसरी रिक्तता र एक्लोपनले यति बेला उपकक्षको टेबुलको रित्तो स्थानमा उज्यालो छरेको थियो, उसै गरी यो बाध्यकारी विचारले उनको भित्री तहसम्मै उज्यालो पारेको थियो । पीडा दिँदै, रिक्तता र अनौठोपनले हृदय भर्दै अरू सारा विचारलाई बिस्तारै पाखा लगाउँदै गएको थियो त्यो बाध्यकारी विचारले ।

मूर्ति नाश भएकामा दुःख मनाउ गर्नु कतिसम्म हास्यास्पद होला, प्रस्ट हुनैका लागि पनि अति सु स्पष्ट ढङ्गले मूर्तिको मनमा बारम्बार उतार्न थाले फ्रेडरिकले उक्त दुई मुखे मूर्तिलाई अति कुरूप बर्बर अवस्थामा अनि भावहीन कुटिल मुस्कान छर्दै गरेको अवस्थामा, साँच्चिकै करकापमा परेर पूरै घृणाका साथ आफ्नो उपकक्षमा देख्ने गर्थे उनी । त्यस्तो अवस्थाको मूर्ति देख्दा उनी पनि कुटिल मुस्कान छर्ने प्रयास गर्थे । मूर्तिको दुई वटा मुख के वास्तवमै उस्तै देखिन्थे त ? उनलाई यो प्रश्नले बारम्बार घोचिरहन्थ्यो । पालिसमा अलिअलि खस्रोपन वा छिद्रका कारणले दुईमध्ये एउटा मुखको मुखाकृति अलि फरक देखिएको थिएन र ? अनि अलि हास्यास्पद पनि देखिएको थिएन र ? नृसिंहको मूर्तिजस्तो पनि देखिन्थ्यो झट्ट हेर्दा । अनि त्यो पालिसको रङ पनि कति अनौठो देखिएको थियो नि, हरियो, निलो, खैरो र रातो सबै रङ मिसिएको थियो पालिसमा । अरू वस्तुमा पनि त्यस्तै रङ मिसिएको थियो । पालिसमा अरू वस्तुमा पनि उनी त्यस्तै रङ फेला पार्ने कोसिस गर्थे, झ्यालको सिसामा देखिने सूर्यको परावर्तित किरण वा भिजेको सडक पेटीको प्रतिबिम्बनमा ।

राति पनि मूर्तिको पालिसको विषयमा धेरै सोचे उनले । कति अनौठो पाराको कर्ण कटु, अपरिचित र अशुभ थियो त्यो पालिस भन्ने शब्द । झिलिक्क गर्‍यो उनको दिमागमा त्यो शब्द । उनले शब्दको विश्लेषण गरे अनि एक चोटि अक्षरको क्रमलाई उल्ट्याई हेरे । उल्ट्याउँदा इज्याल्ग बन्यो । यो अप्ठ्यारो शब्दको उच्चारण पो कसरी गर्ने होला । यो इज्याल्ग शब्दसित उनी भलिभाँती परिचित थिए । यसबाहेक यो शब्द प्रतिकूल र नमिठो थियो । यसको गुदार्थ पनि अलि कुरूप र क्षुब्ध तुल्याउने खालको थियो । यो प्रश्नबाट उनी निकै लामो समयसम्म पीडित भइरहे । अन्ततः उनले इज्याल्ग शब्दको अर्थ संयोगले फेला पारे । धेरै वर्षअघि कतै यात्रामा निस्किँदा किनेको एउटा पुस्तकको याद दिलायो यो शब्दले । प्रिन्सेस इजाल्का शीर्षकको उक्त पुस्तकले भयभीत तुल्याएको थियो, सताउनसम्म सताएको थियो फ्रेडरिकलाई । अभिशापै भो उनलाई त्यो पुस्तक पनि यद्यपि गोप्य रूपमा यसले उनलाई आकर्षित गरिरह्यो । यसका हरेक चिज मूर्तिसित ठ्याक्कै मिल्थ्यो- पालिस, निलो रङ, हरियो रङ । मूर्तिको मुस्कानले शत्रुता इङ्गित गर्थ्यौ, उनलाई सास्ती दिँदै अनि विषाक्त बनाउँदै । अनि उनको पुरानो शत्रु, इर्बिनले उनको हातमा मूर्ति राखिदिँदै गर्दा कस्तो कुटिल मुस्कान छाडेको थियो । कति अर्थपूर्ण, कति शत्रुतापूर्ण कति अनौठो मुस्कान थियो त्यो ।

आफ्नो विचारको बाध्यात्मक प्रवृत्तिको बहादुरीका साथ प्रतिवाद गरिरहे तर थुप्रै दिनसम्म सफलता हात लागेन । उनले प्रस्टैसित खतराको गन्ध पाए- उनी कतै पागलै बन्न त चाहँदैनथे, अहँ ! पागल बन्नुभन्दा त बरु मर्नु निको । उनको लागि विवेक महत्त्वपूर्ण थियो न कि जीवन । उनको साथी इर्बिनले त्यही टुना मुना वा जादुगरीकै सहायताले सम्भवतः केही हदसम्म वशीभूत गरेको हुनुपर्छ भन्ने लाग्न थाल्यो फ्रेडरिकलाई । यी तथाकथित सानातिना शक्तिका विरुद्ध त्यागको रूपमा विवेक र विज्ञानको प्रतिरक्षकका रूपमा पराजित हुनु पर्नेछ भन्ने पनि महसुस भो उनलाई । त्यस्तै हुन्थ्यो भने यदि उनले त्यस्तो सम्भावनाको परिकल्पना गर्न सकेको भए, रहस्य भन्ने कुनै कुरा छ यदि भने पनि त्यो खालि टुना मुना मात्रै हुनसक्थ्यो । अहँ, बरु मर्नु निको ।

एउटा डाक्टरले उनलाई हिँडडुल गर्न र नुहाउन सुझाव दिए, अनि कहिलेकहीँ मनोरञ्जनका लागि साँझपख उनी भट्टीमा पनि पस्न थाले तर त्यसले खासै फाइदा पुर्‍याएन । उनले इर्बिनलाई सरापे अनि आफैँलाई पनि ।

आजभोलि प्राय: उनी जे गर्छन्‌ त्यसै गरी एक दिन राति उनी चाँडै सुत्न गए । तर निद्रा लागेन उनलाई छटपटी भइरह्यो ।

सन्चो नभएजस्तो असजिलो महसुस भो । ध्यान गर्न चाहन्थे । उनी आराम होला कि भनेर राम्रा वाक्यहरू, आनन्द दिने, आश्वस्त पार्ने वाक्यहरू, अनि मिठास र सच्चा शान्ति घोलिएका वाक्यहरू एक्लै उच्चारण गर्न चाहन्थे । दुईमा दुई जोड्दा चार हुन्छ । जस्ता विज्ञानसम्मत वाक्यहरू झट्ट दिमागमा केही आएन तर लगभग पूरै चन्चले पाराले केही टुटे फुटेका शब्द गुनगुनाउन थाले एक्लै । बिस्तारै शब्दहरू ओठमा फुर्न थाले । अर्थ नबुझीकनै धेरै चोटि उस्तै खालका छोटा छोटा वाक्यहरू बर्बराउन थाले फ्रेडरिक । यस्तो लाग्थ्यो मानौँ त्यो गुनगुनाहटले उनलाई बेहोस पार्ने छ, अनि अथाह गहिराइको किनार हुँदै अघि बढेको साँघुरो गल्लीमा भाग्दै गरेको निद्रालाई पर्खालमा छामछुम गर्दै थिए उनी । तर अकस्मात्‌ जब उनले अलि चर्को स्वरमा बोले तब उनले गुनगुनाउँदै गरेका शब्दहरूले उनको भित्री चेतना तहसम्म भेदन गर्‍यो । उनलाई थाहा भएका शब्दहरू यस्ता थिए “हो, यति बेला तिमी मभित्र छौ ।” उनलाई तत्कालै थाहा भो, ती शब्दहरूको अर्थ के हो भनेर ती शब्दहरूले मूर्तिलाई नै निर्देशित गरेका थिए अनि यति बेला रातको समयमा त्यस अलौकिक दिनमा इर्बिनले गरेको भविष्यवाणी ठ्याक्कै मिल्न गएको महसुस भो उनलाई । त्यति बेला आफ्ना औँलाहरूले बडो घृणापूर्वक समातेको उक्त मूर्ति यति बेला बाहिर नभएर उनीभित्रै बास गर्न पुग्यो । किनभने बाहिर जे देखिन्छ, त्यो भित्रै छ ।

नाटकीय ढङ्गले छिटो प्रगति गर्दा आगो र बरफमाथि टेकेको महसुस भो उनलाई । वरिपरिको संसारै फनफनी घुमेजस्तो लाग्यो । सम्पूर्ण ग्रहहरूले उनलाई उनीतिरै पागलजस्तै एकटकले हेर्न थाले । लुगाहरू फाले बत्ती बाले । मध्य राति घर छोडेर उनी इर्बिनको घरतिर दौडे । इर्बिनको घरको भ्यालमा बत्ती बलिरहेको देख्दा ढोका खुलै रहेको थाहा भो उनलाई । हरेक चिजले उनकै प्रतीक्षा गरिरहेझैँ लाग्यो । हतार हतार सिँढी उक्ले धरमर धरमर गर्दै उनी इर्बिनको अध्ययन कक्षतिर लागे । थरथर कामेको हात टेबुलमा टेकाउँदै उनले आफूलाई भरथेग गरे । मधुरो बत्तीको उज्यालोमा मुस्कुराउँदै बडो ध्यानमग्न देखिन्थे इर्बिन ।

बडो शालीन ढङ्गले इर्बिन उठे “तिमी आयौ बडो जाती भो ।” “मेरै प्रतीक्षामा थियौ र तिमी ?” फ्रेडरिडले सोधे “म तिम्रै प्रतीक्षामा थिएँ । तिमीलाई थाहा छ, मैले तिमीलाई दिएको त्यो सानो उपहार लिएर यहाँबाट हिँडेदेखि नै म तिम्रै बाटो हेरेर बसिराखेको छु । मैले त्यतिखेर जे भनेको थिएँ त्यो भयो कि भएन त ? कस्तो लाग्यो ?”

“हो तिमीले जे भनेका थियौ, आखिर त्यही भो । त्यो मूर्तिले मेरो मनभित्र बास गर्‍यो । म अब यहाँभन्दा बढी सहन सक्दिनँ ।”

“मैले के गर्नुपर्‍यो भन न त ।” इर्बिनले भने “म केही जान्दिनँ, जे मन लाग्छ त्यही गर । तिम्रो टुना मुना हो कि जादुगरी के हो, मलाई प्रस्ट बताऊ । मूर्ति कसरी बाहिर निस्किन्छ, मलाई भन,” फ्रेडरिकले भने ।

इर्बिनले आफ्नो हात साथीको काँधमा राखे । फ्रेडरिकलाई हाते मेचमा लगेर बसाले । उनले बडो स्नेहपूर्वक मुस्कुराउँदै मैत्रीपूर्ण स्वरमा भने:

“मूर्ति तिम्रो अन्तर आत्माबाट फेरि बाहिर निस्कने छ, ममाथि विश्वास गर । आफैँमाथि विश्वास गर, यसमाथि विश्वास गर्न सिकिसकेछौ तिमीले । अब यसलाई प्रेम गर्न पनि सिक । यो तिमीभित्रै छ तर यो अझै मृतावस्थामा छ। अझै भ्रममा छौ तिमी, यसलाई जगाऊ, योसित बोल प्रश्न गर, किनभने यो भनेकै तिमी हौ । यसलाई अब धेरै घृणा नगर । यसलाई धेरै नतर्साऊ, धेरै यातना नदेऊ । बिचरो यो मूर्तिलाई कति यातना दिइसक्यौ तिमीले, जुन अझै तिमी नै थियौ । आफैलाई कति सास्ती दिएको तिमीले, के रहस्यको मार्ग यही हो ?” वृद्धजस्तै उनी कुर्सीमा थचक्क बसे । उनको आवाज पनि निकै दबेको थियो ।

इर्बिनले जबाफ दिए- “हो मार्ग यही हो, सायद तिमीले पहिल्यै निकै कठिन पाइला चालिसक्यौ । अनुभवबाटै तिमीले पत्ता लगाइसक्यौ । बाहिर भित्र हुन सक्छ, तिमी वैपरीत्यको जोडीभन्दा धेरै पर गइसकेका छौ । तिमीलाई सायद यो नरकजस्तो लाग्यो होला तर भित्र पो त स्वर्ग हो, किनभने यो तिम्रै प्रतीक्षामा रहेको स्वर्ग हो । सूक्ष्म दृष्टिले हेर, यो जादु हो भित्र र बाहिरलाई एकै ठाउँमा राख्नु हो, बाध्यताले होइन न त आवेशमै, जसरी तिमीले गरेका छौ, स्वतन्त्र र स्वैच्छिक रूपमा विगत र भविष्यलाई एकत्रित गर, दुवै तिमी यसभित्रै छ, आजसम्म तिमीभित्रको दास बन्यौ । अब यसको मालिक बन्न सिक । त्यही हो रहस्य वा जादु भनेको ।”