वि.सं २०४१ सालमा पाल्पामा कवि शिरोमणि लेखनाथ पौड्यालको शतवार्षिकी मनाइएको थियो । लेखनको सुरुवाती दशक भएकोले म पाएसम्म, भ्याएसम्म यस्ता साहित्यिक सभा समारोहमा जान निकै उत्साहित हुन्थेँ । निकै भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको थियो ।

त्यो कार्यक्रमबाट फर्केपछि मलाई लाग्यो, यस्तो कार्यक्रम हेटौँडामा पनि गर्न पाए हुने । यो महत्त्वाकाङ्क्षाले फणा उठायो । अनि म हेटौँडा गएर भीम विरागसँग सल्लाहमा जुटेँ । त्यो सल्लाहले मूर्त रूप लियो र हेटौँडामा पनि पहिलोपल्ट देशका ख्यातिप्राप्त लेखकहरूको जमघट भयो । कविता वाचन भयो । तुलसी दिवसको नेतृत्वमा सिसासको टोली नै मैले काठमाडौँबाट लगेको थिएँ ।

हेटौँडामा पनि प्रमुख जिल्ला अधिकारीसँग सल्लाह र सहयोग माग्न गयौँ । सहयोग पाइने भयो ।

अन्ततः हेटौँडामा लेखनाथ शतवार्षिकीको अवसरमा “बृहत् काव्य समारोह” सम्पन्न भयो भीम विरागको नेतृत्वमा । तर सामुन्ने नेतृत्वमा भीम विराग देखिए पनि उनको कामको मेरुदण्ड थिए दीपक । अर्थात् दीपक मुडभरी । अर्थात्  दीपक मुडभरी ‘मित्र’ ।

त्यसो त मकवानपुर साहित्य परिषद्को आयोजनामा भएको थियो त्यो कार्यक्रम । अध्यक्ष थिए भीम विराग । महासचिव थिए दीपक मुडभरी ‘मित्र’ । अध्यक्षलाई सफल बनाउन महासचिवको त पूरै हात हुन्छ । निःसन्देह दीपक पूरै कटिबद्ध प्रतिबद्ध भएर लागेका थिए । एक प्रकारले भीम विरागको हनुमान झैँ थिए दीपक । र मकवानपुर साहित्य परिषद्को गठनमा मेरो पनि संलग्नता थियो । मैले नै सो परिषद्को परिकल्पना गरेको थिएँ, यो बेग्लै कुरा हो, त्यसको प्रेरणा श्रोत भने कुनै बेला भीम विराग संलग्न नारायणी साहित्य परिषद् थियो । म मकवानपुर साहित्य परिषद्को संस्थापक मध्ये एक थिएँ । विधानमै उल्लेख भएको ।

मसँग उनको अर्कै विशिष्ट नाता थियो मित्रताको । गाउँले छिमेकको नाता त आफ्नो ठाउँमा छँदै थियो । साहित्यको बेग्लै नाता थियो । साहित्यिक पत्रकारिताको बेग्लै नाता थियो । दीपकले हेटौँडामा साहित्यिक पत्रकारिताको क्षेत्रमा उल्लेखनीय काम गरेका थिए । हेटौँडाको साहित्यिक पत्रकारिताको इतिहास लेख्ने हो भने दीपकको नाम विशेष रूपले उल्लेख हुनुपर्छ भन्ने लाग्छ मलाई ।

कवि उदय विभात सुर्खेतबाट हेटौँडा सरुवा भएका थिए । साझा प्रकाशनको शाखामा । उनी र प्रकाश थापाले सुर्खेतमै छँदै “अठोट” साहित्यिक पत्रिका दर्ता गरेर प्रकाशनको सुरुवात गरेका रहेछन् । एक दुई अङ्क प्रकाशित भएपछि हेटौँडा सरुवा भएछन् । अनि दीपकको अगुवाइमा “अठोट” हेटौँडाबाट प्रकाशन गर्ने अठोट भयो र विसं २०३९ सालमा जेठ-कात्तिक अङ्क प्रकाशित भयो । पहिलो पुनः प्रकाशित अङ्क नै संयुक्ताङ्क । नेपाली साहित्यिक पत्रिकाको नियति ।

प्रकाशक भए उदय विभात र प्रकाश थापा, जसले  पत्रिका सुर्खेतमा दर्ता गरेका थिए । सल्लाहकार भए भीम विराग र टङ्कनाथ पराजुली । प्रधान सम्पादक भए दीपक शर्मा । सम्पादक मण्डलमा रहे दीपक मुडभरी ’मित्र’ सहित विक्रम सिं र मोहन झुल्का । तर दोस्रो अङ्क देखिनै उनी सम्पादक भए एकल । खासमा हेटौँडाबाट साहित्यिक पत्रिकाहरू निस्केका थिएनन् । दीपकले निकै उत्साह उमङ्गका साथ अठोट मार्फत हेटौँडालाई साहित्यिक पत्रकारिताको कर्मले चिनाए ।

हुन त मोफसलबाट प्रकाशित हुने पत्र पत्रिकामा राष्ट्रिय स्तरका लेखक कविले रचना नपत्याउने र राजधानीको पत्रिकाले मोफसलका लेखक कविलाई हम्मेसि नस्विकार्ने हावा पानीको बेला दीपकले राजधानीका स्वनामधन्य साहित्यकारका रचनाहरू जुटाए र “अठोट” मा प्रकाशित गरे ।

पहिलो अङ्कमै पवन आलोक, विप्लव प्रतीकका रचनाहरू प्रकाशित गरेका उनले त्यसपछिका अङ्कहरूमा नकुल सिलवाल, विश्व विमोहन श्रेष्ठ, दिनेश अधिकारी, जीवन आचार्य, मीन बहादुर विष्ट, शलभ, शैलेन्द्र साकार, विमल कोइराला, खिलबहादुर भावुक, कणाद महर्षी, महेश प्रसाईं, भवानी घिमिरे, शुभ श्रेष्ठ, स्नेह सायमि, शङ्कर सुब्बा फागो, घटराज भट्टराई, अमर शाह, भागिरथी श्रेष्ठ, तेजप्रकाश श्रेष्ठ, सुवसेन ओली, तीर्थ श्रेष्ठ, वनमाली निराकार, सीता पाण्डे, अशेष मल्ल, महेश प्रसाईं, कृष्ण भूषण वल, ईन्दिरा प्रसाईं, देव कुमारी थापा, गोविन्द वर्तमान, प्रमोद प्रधान, शरद क्षेत्री, केशव उपाध्याय जस्ता प्रखर युवा तथा स्वनामधन्य लेखक कविका रचना उनले अठोटमा प्रकाशन गरे ।

त्यस्तै वाशु शशी, पारिजात, परशु प्रधान, भीम विराग, नगेन्द्रराज शर्मा सँगका अन्तर्वार्ताहरू पनि प्रकाशित गरे । उनले कविता अङ्कहरू प्रकाशित गरे । विशेष गरी केही अङ्क स्थानीय कविका कविता अङ्कहरूको प्रकाशन स्थानीय कविहरूलाई स्थान दिने हिसाबले महत्त्वपूर्ण काम थियो ।

मैले पनि केही रचना, केही अन्तर्वार्ता लिइदिएर अठोटमा लेखकीय सहभागिता जनाएको थिएँ ।

दीपक अठोटमा रचना सङ्कलन गर्न र लेखक कविलाई अठोट वितरण गर्न काठमाडौँ आइरहन्थे र हाम्रो मैत्रीपूर्ण सत्सँग चलिरह्यो । रचना सङ्कलनका लागि मैले धेरै कवि लेखकसँग उनको परिचय पनि गराएको थिएँ । काठमाडौँ आउँदा उनको मुकाम मेरै डेरामा हुन्थ्यो ।

म हेटौँडा जाँदा, जाँदाजाँदै पस्ने घर भीम विरागको हुन्थ्यो । अनि भोलिपल्ट बिहान भुटनदेवी माईको दर्शनपछि भेट्ने दोस्रो व्यक्ति दीपक हुन्थे । उनको घरमा मलाई परिवारकै सदस्यको माया र स्नेह उपलब्ध हुन्थ्यो । दीपकका पिता माताले मलाई छोराको साथी भएकाले छोरा समान मान्थे ।

टिसिएनको जागिर खाँदै उनले साहित्यिक पत्रकारिता र लेखन सँगसँगै अघि बढाएका थिए । उनले अठोट पत्रिकालाई २०४६ सालसम्म प्रकाशन गरे । त्यसपछि साहित्यिक पत्रकारिताबाट बिदा लिए । तर कविता लेखन र साहित्यिक कर्ममा भने उनको निरन्तरता थियो ।

उनले कविताको पुस्तक निकाल्ने अठोट गरे । “अठोट” का सम्पादकको अठोट थियो यो । तर यो अठोट यथार्थमा परिणत हुन सकेन । प्रेसमा झन्डै आधाभन्दा बढी मुद्रण भएपछि पुस्तकको अन्तिम रूप तयार भएन । उनले किताबको नाम राखेका थिए, “केही अस्पष्ट रेखाहरू” । तर यसको प्रकाशन भने अनिश्चित भयो । प्रकाशनको ढोकाबाट निस्कन तयार भैसकेको र मुद्रणमा गइसकेको कृति त्यत्तिकै थलियो ।

त्यसपछि दीपक अमेरिका आए । अमेरिका उनको गन्तव्य पारिवारिक मिलनका लागि थियो । अमेरिका आएपछि जो कोही पनि सुरुका केही वर्ष त कुहिराको काग हुन्छ । नयाँ देश, नयाँ समाज, नयाँ काम, नयाँ उद्देश्य र आकाङ्क्षा र महत्त्वाकाङ्क्षाले हरेक जसोलाई डस्छ । दीपक पनि त्यही डसाइमा परे ।

तर उनी भित्रको कवि जीवित थियो । उनको किताब प्रकाशन गर्ने हुटहुटी मरेको थिएन । सुषुप्त मात्र थियो । उनले नेपाल जाने योजना बनाए । पुस्तक प्रकाशन गर्ने योजना बनाए । मैले नै मुद्रणका लागि प्रोल्लास सिन्धुलियजीलाई सम्पर्क गर्ने चाँजोपाँजो मिलाइदिएँ ।

“केही अस्पष्ट रेखाहरू” प्रकाशित भयो । नेपालमै विमोचन भयो । तर उनी किताब प्रकाशनमा मात्र अडिएनन् । अमेरिकामा आएर दिवङ्गत भएका पिता माताको नाममा हेटौँडाको साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुर मार्फत “सुभद्रादेवी मदन प्रसाद मुडवरी स्मृति काव्य पुरस्कार’ को स्थापना समेत गरे । पुरस्कारको स्थायित्वका लागि अक्षयकोषको समेत व्यवस्था गरे ।

“केही अस्पष्ट रेखाहरू”मा उनकै कर बलले मैले पनि आफ्ना कुरा लेखेँ । उनले तेजप्रकाश श्रेष्ठ भूमिका नेपालमा छँदै लेखाएका थिए । उनले हेटौँडाका तुलसी थापा, निमेश निखिल, आरआर चौलागाईंबाट पनि थप भूमिका लेखाए । उसको साहित्यिक सन्तान झन्डै नजन्मँदै टुहुरो हुन लागेको थियो, त्यसको उद्धार गरे ।

दीपक कविता लेख्छन् र लेखिरहन्छन् । दीपक कविता सुनाउँछन् र सुनाइरहन्छन् । विशेष गरी कोरोना महामारी पश्चात् फस्टाएको भर्चुअल दुनियाँमा उनी अभ्यस्त छन् । भर्चुअल दुनियाँमा उनी कविको रूपमा निकै राम्रो परिचय बनाएका छन् ।

अप्रिल १६, २०२३ का दिन मेरिल्यान्ड राज्यको बाल्टिमोरमा अनेसासको च्याप्टरका पदाधिकारीहरूको पदस्थापन, पारिजात स्मृति दिवस र किताब वाचन कार्यक्रमको आयोजना गरिएको थियो । उनी पनि कविता सुनाउन पुगेका थिए । केही कविहरूका कविता वाचनपछि उनको पालो आयो । उनले कविता सुनाइरहँदा, यौटा साँच्चैको कवि मञ्चमा छ भन्ने लागिरह्यो मलाई । सँगै बसेकी सीता पाण्डेले मलाई खुसुक्क भनिन्, “कविता भनेको यस्तो पो हुन्छ ।“

कविता पढ्नुअघि उनले जे भने, त्यसले मलाई आश्चर्यमा पार्यो । उनले अमेरिकामा बसेको यतिका वर्षमा सार्वजनिक रूपमा मञ्चमा कविता पढेको त्यो नै पहिलो अवसर रहेछ ।

दीपकको कवितामा काव्य चेतको दीप जीवन्त थियो ।

मान्छेको उमेर ढल्कँदै गर्दा विविध सोच पलाउँछन् । विविध चिन्तन प्रकट हुन्छन् । दीपकले पनि पुनर्जन्मको चिन्तन कवितामा व्यक्त गरेका छन्

मलाई नरोक कसैले

नछेक

बाधा अड्चन नदेऊ

बग्रेल्ती छन् ,सु-अवसरहरू

तिमी नै दुरुपयोग गर

कम से कम

मलाई त सदुपयोग गर्न देऊ

यस जन्ममा सकिएन

नेपाल आमा रिझाउन

अर्को जन्ममा सकिन्छ कि ?

पुनर्जन्मको तयारी गर्दै छु ।