कसो–कसो मःम पोको पारी सिद्ध्याए । दिक्क मान्दै भाँडोमा पोको फ्याँके । लामो श्वास फेर्दै भने, ‘यो भन्दा त बरु पहिला कै जिन्दगी ठिक थियो ।’

इलामका शिव राई काठमाडौँ आकासेधारामा भेटिन्छन् । मनभरि आगो बोकेर हिँडेका छन् । परिवार र आफूलाई बचाउन कहिले मःम बनाउँछन्, कहिले सेकुवा पोल्छन् । पेट अगाउँछ, मन अघाए पो !

‘मान्छेको मनमा रङ्ग उड्न थालेपछि जस्तै चमक पनि फिका लाग्ने’ उनले सजिलै अप्ठ्यारो कुरा गरे । अजीव भएका छन्, शिव । सोच्छन् अर्कै, भन्छन् अर्कै । सुनाउँछन् अर्कै, गर्छन् अर्कै । जस्तो यही वाक्यमा पनि अर्कै कुरा गरे । उनको मनमा रङ्ग उडेर होइन, जीवनबाट रङ्ग उडेर उनी फिका भएका हुन् ।

जीवनबाट ?

अँ जीवनबाट ।

कसरी ?

कथा लामो छ । कमसेकम उनी सेकुवा पोल्नु पर्ने मान्छे चाहिँ होइनन् । उनी रङसँग खेल्ने मान्छे हुन् ।

यो रङ्ग के हो ?

शिवको जीवन ।

त्यसो भए परिकार रङ्गहीन हुन्छन् त ?

हुँदैनन् । जसले रङलाई परिकार मानेर मन भर्छन्, उनीहरूलाई पेट भर्ने परिकार रङ्गहीन लाग्छ । यो चाहिँ स्वाभाविक हो ।

म मनमनै किन संवाद गरूँ । बरु पदचाप पछ्याऊँ उनको । खोजूँ, उनले भेटाएको रङ्गको इतिहास । हुर्किऊँ, उनी हुर्किएको बालापन । अनि बिस्तारो बिस्तारो लागूँ, आकासेधारा । सकिएछ भने, उनको मनको घाउ सेकाएरै जाति पारूँ ।

शिवको होस आउँदा उनी इलामका डाँडाकाँडासँग खेल्दै थिए । ग्रामीण भेग, त्यसमा पनि अलि बिकट गाउँ । इलाम माई पोखरी ५को छागे स्कुल अर्थात् आदरणीय प्राविमा अक्षर चिने । सानो हुँदा एक्लै बस्थे । त्यति साथी–सङ्गति थिएनन् । एक्लै रमाउँथे, एक्लै दुखी हुन्थे । उनका बा धनपति राई भारतीय सेनामा कार्यरत थिए । उनले कथामा आँसु बेच्ने गरी दुःख पाएनन् । र, सुनाउँदा छाती फुल्ने बाल्यकाल पनि थिएन उनको । फिस्स हाँस्दै सुनाए, ‘नेपाली क्याटागोरीमा हुर्किए ।’ सायद उनले सामान्य बाल्यकाल भनेका होलान् । सामान्य अवस्थामा उनीसँग असामान्य प्रतिभा भने हुर्कँदै थियो । उनलाई के थाहा, यही प्रतिभाले एक दिन उनैलाई पोल्नेछ !

हुनैलाई चाहिँ धनपतिको जीवन पनि बुझी सक्नुको थिएन । उनी बन्दुक र कुची दुबैलाई प्रेम गर्थे । सिमानामा शत्रु र घरमा क्यानभास दुवै उनका साथी थिए । सुन्दर चित्र कोर्थे । उनले जीवनमा बनाएका चित्र फगत चित्र छैनन्, प्राण हुन्थ्यो उनका चित्रमा । एक पटक धनपतिलाई घरछेउको ढुङ्गामा भगवान् शिवको चित्र कोर्न मन लागेछ । यति सुन्दर चित्र बनाएछन् । पछि बाटो त्यही ढुङ्गालाई चिरेर जाने भएछ । सडक बनाउने मजदुरले त्यो विशाल ढुङ्गो बाटोको किनारमा पुर्याएछन् । फोहर सफा गरिदिएछन् । उनको चित्र मर्न दिएनछन् । बाको कुरा सुनाउँदा शिवको अनुहारमा नजानिँदो खुसी देखिन्छ ।

शिवले सानै उमेरबाट चित्र बनाउने सोख पाल्न थालेका थिए । ठ्याक्कै साल याद भएन उनलाई । तर, इलामको सुलुबुङ माविमा पढ्दा उनले बनाएको चित्र पुरस्कृत भयो । राजा रानी (वीरेन्द्र, ऐश्वर्य)ले उनको चित्र मन पराए । उनीसँगै विद्यालयको नाम चम्कियो । त्यसपछि त के चाहियो र, उनी मनैबाट चित्रकार भए ।

‘बच्चै हुँदा बुबाले बाकसमा राखेको रङ्ग र कुचीसँग खेल्थेँ’ उनले सुटुक्क बालापनको बदमासी सुनाए, ‘बाकसको चाबी खोलेर रङ्ग चलाइदिन्थेँ, चकचक गर्थे ।’ नोस्टाजिया’को यात्रा गर्दा कहिले उनका आँखा भरिन्थे, कहिले गलामा गाँठो पर्थ्यो । उनले जति बदमास गर्दा पनि बुबा दुःखी भएको देखेनछन् । सम्झिन्छन्, ‘सायद बुबाको सपना नै त्यही थियो, त्यसैले मैले रङ्ग पोख्दा पनि उहाँ खुसी नै देखिनुहुन्थ्यो ।’

राई जीवन कस्तो हुन्छ भन्ने प्रश्न सोध्नेलाई सजिलै उत्तर दिन सक्छन्, चित्र बनाएर । उनी चित्र मात्रै कोर्दैनन्, उनका बा धनपति जस्तै चित्रमा जीवन पनि भर्न सक्छन् । क्यानभासमा रङ्ग भर्न जति सिपालु छन् उति नै सिपालु छन् क्यालियोग्राफिमा पनि । र उनलाई फुर्सद हुँदैन थियो, रङसँग खेल्न ।

शिव राई

पेन्टिङबाट इलाम चिनाउने रहर थियो शिवसँग । इलाममा प्रकृति उदार थियो नै, देशसम्म पुग्ने हुटहुटी उनीसँग थियो । इलामको सुन्दरता प्रकृतिबाट उठाएर दुनियालाई देखाउने रहर २०६८ साल तिर पुरा गर्न लागि परे । घरेलु कार्यालय इलामको प्रशिक्षक नै भएर पेन्टिङ सिकाउन हिँडे पनि । रङ्गिन सपना बोकेका शिवले समाजमा रङ्ग देखाए ।

तर, आज उनी इलाममा छैनन् । मन भरी रङ्ग बोकेर उनी रङ्गिन सहर काठमाडौँ आइपुगे । मनको चरो जति सजिलै उडेको थियो, काठमाडौँको माटो त्यति आफ्नो भएन । बचेरा अघाउनु पर्ने र ओताउनु पर्ने सङ्घर्षले उनी गाँजिए । अनि निभाए मनको आगो । सल्काए चुलो, थाले सेकुवा पोल्न ।

शिवले २०६२ सालमा इलाम सदरमुकाममा ‘इलाम आर्ट सेन्टर’ खोलेका थिए । चलनचल्तीको भाषामा भन्दा उनको पसल र उनको सिप दुवै ‘हिट’ थियो । इलामको इभाङमै हुँदा भित्ता कोरेर सुरु गरेको पेसा व्यवसाय नै हुँदा उनी दङ्ग थिए । खुलेर पाँच वर्ष नपुग्दै उनको व्यवसाय इलामकै चलेको व्यवसाय बन्न पुग्यो । उनी इलाम भरी छरिएर काम गर्न थाले । कमलो मनका उनी बजारमा धेरै पैसा फस्दा निराश थिए । तर, अत्तालिएका थिएनन् । नचाहँदा नचाहँदै उनी थोरै खुले, ‘इलाममा बाँकी काम गराउनेले हैरान बनाएका थिए ।’

२०७३ सालमा पसलको सटर लगाए । इलामबाट एकाएक शिव दाइ हराए । आफूले भोग्न नपाएको जीवन सन्तानले नभोगुन् भन्ने लागेछ । अनि पसल बन्दै गरेर आएका रहेछन्, राजधानी । राजधानी छिर्दा सिप सम्पत्ति हुने आशा रहेछ उनमा । तर, सधैँ सोचेजस्तो किन हुन्थ्यो र !

घर–सल्लाहमै आकासेधारामा खाजा घर चलाए । त्यसले पनि खास भएन । उनी मःम, चाउमिन लगायतको इलामे स्वाद काठमाडौँ ल्याउन खोज्दै छन् । उनलाई थाहा छ, ‘काठमाडौँमा स्वादका पारखी मात्रै पनि बस्दैनन् ।’ र, कत्तिले त मुखै भन्दिन्छन्, ‘बिगारेपछि इलामे स्वाद ।’

तीतेपातीले कालो मसी बनिन्थ्यो । बोडीले हरियो, मजिटोले रातो, मगरकाजेले निलो । शिवले चित्र कोर्न सिक्दै गर्दा अहिलेको जस्तो प्रविधि थिएन । बाँसको कलमले लेख्न सिकेका हुन् । उनका बुबालाई पनि चित्रकलाले पेट भरिन्छ भन्ने लाग्दैन थियो । दिल खोलेर चित्रकला सिक्न पाएनन् । ‘बाको बराबर म कहिल्यै पुग्दिनँ’ उनले भने, ‘बाको आधाउध पुगे भने धन्य हुनेछु ।’

उति बेला जसरी रङ्ग सिक्थे अहिले पकाउन सिक्दै छन् । बाँसको कलम जत्तिकै हो अहिले उनका लागि डाडु पन्युँ । फरक उहिले रहर थियो, ऊर्जा थियो । अहिले बाध्यता छ । ‘तालमेल नमिलेर पनि होला’ उनी भन्छन्, ‘म चित्र बनाउँछु, लेख्छु भन्ने काठमाडौँले सुन्ने गरी भन्नै जानिनँ ।’

हुनैलाई त उनको पालामा विज्ञापन भनेको रेडियो नेपालमा मात्र बज्थ्यो ।  सानो ठाउँमा व्यवसाय गरे । त्यहाँ थोरै मान्छे हुन्थेँ उनीजस्ता । चर्चा घरघर पुर्याउनै पर्दैन थियो । बजारमा कसको पसल थपियो, कसको बन्द भयो सबैलाई कण्ठस्थ हुन्थ्यो । अहिले प्रत्येक मिनेट प्रविधि परिवर्तन हुन्छ । ठुलो ठाउँमा छन्, काठमाडौँमा उनीजस्ता हजार होलान् । उनी अब्बल हुन् भन्ने सुनाउनै पर्छ, देखाउनै पर्छ र प्रमाणित गर्ने पर्छ ।

थाहा छैन उनी काठमाडौँले बुझुन् सक्ने भाषामा सुनाउन सक्छन्, सक्दैनन् । भन्छन्, भन्दैनन् । तर, उनले राजधानीमा सल्काउन नसकेको आगो उनको कलाकारिता हो । उनले भन्न नसके पनि उनी मनको आगोले भित्रभित्रै जलिरहेका छन् । उनको आशा निभेको भने छैन । सुनाउँछन्, ‘भक्तराज आचार्यले गाएको गीतमा झैँ, अल्झेँ कहीँ त के भो बाटो भुलेको छैन ।’

म यस्तो गित गाउछु २ मा देखिएकाे उनकाे चित्र