जसरी प्रकृतिको विज्ञानका ठोस सिद्धान्तहरू हुन्छन् त्यसै गरी के मनको पनि ठोस विज्ञान निर्मित गर्न सकिन्छ ? त्यसै गरी मनोविज्ञान हामीले केलाई भन्ने ? के त्यो मानसिक बिमारीहरूको उपचारका लागि हो या स्वस्थ चित्तका व्यक्तिहरूको अतिरिक्त विकासका लागि हो ?
आज हामीले हेर्दा मनोविज्ञान आम मानसिक रुग्णता भएका बिरामीहरूको इलाजको एउटा विधाको रूपमा प्रचलित छ / तर मनोविज्ञान केवल त्यति मात्र हैन / पिटर डी. अस्पेंस्कीको मान्यता अनुसार मूल रूपमा मनोविज्ञान आत्मविकासको विषय थियो, जसलाई सुफीहरूले, इसाईहरूले , या बौद्ध र योगीहरूको केही पन्थहरूमा र प्राचीन धर्महरूमा एक प्रकारले विकसित गरिएको थियो / तर आधुनिक कालमा मनोविज्ञान गलत दिशामा हिँडेको छ / हामी यसरी चिन्तन गर्दैनौ किनकि धर्म र मनोविज्ञान आज कतै अन्तै लगिँदै छ या धर्म र मनोविज्ञानको बीचमा रहेको आपसी सम्बन्धलाई हामीले देख्न सकेका छैनौ /
धर्मको त्यो पुरानो मनोविज्ञानलाई नयाँ आध्यात्मिक रूप दिने रसियन रहस्यवादी जर्ज गुर्जिएफ र अस्पेंस्की जुन कारणले प्रख्यात छन् त्यो ‘फोर्थ वे’ या चौथो मार्गको विषयमा केही चर्चा गरौँ / फोर्थ वे’ भन्दा अगाडी प्रचलनमा रहेका तीनवटा मार्गहरूको बारेमा बुझेपछि बल्ल हामी चौथो मार्गको बारेमा बुझ्नेछौ / पहिलो मार्ग हो फकिरको, जसमा शरीरलाई नियन्त्रित गर्ने उपायहरू निहित छन् / दोस्रो मार्ग सन्न्यासी को हो जसमा भावहरूको विकास र नियन्त्रणका उपायहरू पर्दछन् र तेस्रो योगीहरूको मार्ग, जसमा मनका आदतहरूको नियन्त्रण र मनको क्षमताहरू माथि गरिने विभिन्न प्रयोग र कार्यहरू पर्दछन् / फोर्थ वे ले भन्दछ, आजको मनुष्य र उसको जटिल मनोविज्ञानको ढाँचासँग कार्य गर्नका लागि तीनवटा मध्ये कुनै पनि मार्ग पर्याप्त छैनन् / त्यसैले आजको मनुष्यका लागि तीनवटा मार्गका अतिरिक्त थप मार्गदर्शनको पनि आवश्यकता पर्दछ / अस्पेंस्की र गुर्जिएफका स्कुलहरूमा आधुनिक आध्यात्मिक फोर्थ वे को शिक्षा प्रदान गरिन्छ / जहाँ यो भनिन्छ कि मान्छे निन्द्रा मै जन्मन्छ, सुती सुती बाचिदिन्छ, निद्रा मै मर्छ / हामी को हौँ , यहाँ किन छौँ , कहाँ छौँ , र हामीले आफू हुँदा हुँदै के गर्न सक्छौ, यसबाट नै यदि हामी बेखबर भयौँ भने कुनै पनि शिक्षा या जीवनको के अर्थ छ ? पुरा सवाल होसपूर्वक या सजग हुनु सँग र जाग्नुसँग सम्बन्धित छ /
फेरि पनि, चौथो मार्ग के हो ? स्वनिरीक्षण (Self Observation), आत्मस्मरण (Self Remembering) र वर्तमान क्षणमा रहनु नै फोर्थ वे हो / एकजना फ्रेन्च फोटोग्राफर रेने जुबेर जो युद्ध कालको दौरान गुर्जिएफ फ्रेन्च ग्रुपको सदस्य थिए, उनले एउटा किताब लेखेका छन् जसको पुस्तक को नेपाली अनुवादित नाम हो ‘तपाईँ को हो महाशय’ / उक्त पुस्तकमा दिइएका उनका केही सूत्रहरूबाट हामी फोर्थ वे, गुर्जिएफ, अस्पेंसकी तथा स्कुलको विषयमा बुझ्ने प्रयास गर्ने छौ /
१. हामी एउटा सबैभन्दा ठुलो भ्रमलाई पालेर बाचिरहेका छौँ , त्यो के भने हामी निद्रामा छैनौ या जागेका/ब्युँझेका छौ / अचेल त एन्लाइटेण्ड नभएका मान्छेहरू नै पाउन गाह्रो भई सक्यो /
२. जबसम्म जाग्नका लागि सजगतापूर्वक प्रयास गर्दैनौ, तबसम्म हामी सेवक या गुलामहरू जस्तो बाँच्नुपर्नेछ /
३. हामी मानिस एउटा यन्त्र जस्तै हो, त्यसलाई पुरापुरी नबुझीकन हामी यसरी बाची रहेका छौ मानौँ एउटा हवाईजहाजलाई गोरुगाडी वा सो सरह कसैले हाँकिरहेको छ /
४. अस्तित्व मा केही पनि सित्तैमा पाइँदैन / बजारे गुरुहरू, र तिनका किताबहरू अनि मन्दिर, मस्जिद, चर्च र गुम्बाहरूमा सस्तैमा बाँडिँदै गरेको प्रसादहरूबाट कसैले कहिल्यै पनि सही शिक्षा प्राप्त गर्न सक्ने छैन / गहन सिद्धान्तका लागि समेत यस्ता सस्ता प्रचलनहरू प्रचार सम्म मात्र सीमित हुन् जानेछन् /
५. मान्यताहरू, आदतहरू, र रुढीहरूबाट पूर्णतया मुक्त नभईकन विकासको कुनै गुन्जाइस/ या चान्स छैन / हामी संस्कारहरूलाई छोड्न चाहँदैनौ अनि इगोबाट मुक्तिको कुरा गरेर कहिल्यै थाक्दैनौ, यो कसरी हुन सक्छ ?
६. जीवनमा आउँदै गरेका आघात, या पीडाहरूको स्वीकार गर्नै पर्छ / यी पिडाले नै हामीलाई बेहोशीको गहिरो निद्रादेखि आत्मस्मरण हुँदै होससम्म पुर्याउने छन् / यो प्रणालीमा संन्यास लिनु पर्दैन, गुर्जिएफ भन्नु हुन्छ ‘जुन परिस्थिति मा तपाईँ हुनुहुन्छ, या जुन परिवेशमा तपाईँलाई फ्यालिएको छ , त्यो नै तपाईँको आत्मिक विकासका लागि सर्वोत्तम ठाउँ हो /
७. कहिलेकाहीँ बौद्धिक विकास तर्कलाई प्रधानता दिने भएको हुनाले स्वजागरणमा अवरोधक बन्न पुग्छ / बुद्धि र तर्क नभएको अवस्थामा गर्न त केही नसकिएला तर कहिले समाप्त नहुने तर्क वितर्कहरूले पनि हामीलाई कहीँ पनि पुर्याउँदैन /
८. हामी पर्याप्त ऊर्जाबाट युक्त हुन्छौ तर त्यसलाई फजुलमा खर्च गरी दिन्छौ / त्यसैले सवाल ऊर्जाको हैन , त्यसको व्यय को हो / हामी फोकस या केन्द्रित हुन सक्दैनौँ , हामी कतै पनि र जति बेलै पनि अल्लमल्ली हाल्छौँ /
९. भिड, धार्मिक समारोह, कर्मकाण्ड, प्रवचन यी सबै साधनाका लागि निरर्थक हुन र तिनीहरूको कुनै प्रयोजन छैन /
१०. आत्मसंस्मरण अर्थ हो अतीत र भविष्यका क्षणिक सृष्टिहरूमा भटकिनु भन्दा पृथक् बर्तमानमा एकाग्र हुने कला हो / यो भनेको वर्तमान क्षणमा जिउनु हो /
११. ढुङ्गा , रुख र पशुहरू हुनु र मान्छे हुनुमा समानता छैन / तर उनीहरू भन्दा धेरै एक निश्चित विकास अस्तित्वको रूपमा प्रकृतिले मानिसलाई छोडी दिएको छ / त्यसपछिका विकास मनुष्यले स्वयम् सजग प्रयासहरूबाट गर्नुपर्नेछ /
१२. हर किसिमका ज्ञानहरूबाट युक्त भएको दावा गर्ने यो मनुष्य वास्तवमा आफैलाई जान्दैन /
१३. आम तौरमा मनुष्य दुई वटा प्रभावमा बाचेको हुन्छ , पहिलो हो धन, पद, प्रतिष्ठा जस्ता भौतिक प्रभाव र दोस्रो हो धर्म, जीवन र जगत् जान्ने इच्छा, उत्कृष्ट साहित्य एवं दर्शन आदिको प्रभाव / दोस्रो प्रभावको सजगताबाट युक्त व्यक्ति ऊर्ध्व विकासको लागि प्रेरित भएमा उसलाई तेस्रो प्रभावबाट युक्त व्यक्ति वा त्यस्तो समूह भेटिनेछ जसलाई भेटेपछि उसको अन्तरविकासको गति तीव्र हुनेछ / तेस्रो प्रभाववाला व्यक्ति जागृत देहधारी व्यक्ति हो , या त्यो जागृत व्यक्तिहरूको एउटा समूह हो /
रेने जुबेर अगाडी लेख्छन् ‘ तेस्रो प्रभाववाला व्यक्तिको उद्देश्य नै केवल अनुयायीहरूलाई उपयुक्त मार्गदर्शन गरेर अनुयायीको अन्तर्निहित गुरुसँग साक्षात्कार गराउनु हो / मात्र यही उद्देश्यका लागि शिष्यको जीवनमा गुरु प्रवेश गर्छ र बिदा हुन्छ / जुन उद्देश्यहरू अगाडी नै तय गरिएका हुन्छन् / यी आधारभूत कुराहरूलाई मध्य नजर गर्दै अब हामी स्वनिरीक्षण, आत्मस्मरण एवं वर्तमानमा जिउने दिशा तर्फ सफल कोसिस गर्न सक्नेछौ /
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।