महाकाली नदीको उद्गम भूमि लिम्पियाधुरासहितको ३ सय ३५ वर्ग किलोमिटर नेपालको नक्सामा पहिलोपटक समेटिएको छ । जेठ ५ गते नेपाल सरकारले आधिकारिक रुपमा यसको निर्णय गरेको हो ।

सीमा क्षेत्रमा वर्षौंदेखि थिचोमिचो सहेका नागरिकका विषयमा दर्जनौँ पुस्तक लेखिएका छन् । सयौँ लेख लेखिएका छन् र हजारौं जनताले दुःख सहेका छन् । यसका कथाहरु अनगिन्ती छन्, जसलाई संकलन गर्न सकिएको छैन ।

वषौँदैखि मिचिएको भूमि नक्सामा समेटिनु भने स्वागतयोग्य कुरा हो तर यसलाई प्राप्त गर्न राजनैतिक र कूटनीतिक दुई खाले गम्भीर तत्परताको खाँचो छ । यसका लागि सबै नेपाली एकजुट हुनु अहिलेको आवश्यकता हो । एकजुट हुने हो भने मिचिएको भूमि प्राप्त गर्न गाह्रो छैन । किनभने सम्पूर्ण ऐतिहासिक दस्तावेजहरु नेपालका पक्षमा छन् । केवल नेतृत्वले खुट्टा कमाएका कारण यो मुद्दा पछाडि धकेलिएको मात्र हो ।

केहीलाई लाग्न सक्छ, भारतसँग हामीले किन निहुँ खोज्ने ? हामीले निहुँ खोजेका होइनौँ, आफ्नो अधिकार मागेका हौँ । हजारौँ नेपालीहरुले गोर्खा रेजिमेन्टभित्रको अङ्ग भएर भारतका लागि लडाईँ लडेका छन् । अंग्रेजका लागि हजारौँ र स्वतन्त्र भारतका लागि पनि सयौंले ज्यान दिएका छन् । आज आफ्नो हक माग्दा ऊसँग दुश्मनी गरेको कसैगरी पनि ठहर्दैन । बरु चुप लागेर बस्नु हाम्रो निरीहता झल्कन्छ ।

यसका लागि सबैले आ–आफ्नो पक्षबाट काम गरिरहेका छन् । हामी लेखक–कविहरुले अक्षरबाट हाम्रो लडाईंलाई जारी राख्नेछौँ । यो लडाईं यतिबेला अझ बढी आवश्यक र मुखर चाहिएको छ ।

यसका लागि साहित्यपोस्ट र शिखा बुक्स पब्लिकेसन्सबीच एउटा निबन्ध संग्रह प्रकाशन गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाली वीरता, सौर्य र स्वतन्त्रताका विषयमा लेखिएका २० वटा निबन्धहरुको कृति २०७७ सालको बडा दसैंको अवसर पारेर प्रकाशन हुनेछ ।

यी निबन्धहरुमा सीमा अतिक्रमण, सिमानाका जनताले पाएको दुःख, नेपाली नेताहरुको निरीहपन, गोर्खा सैनिकको वीरता, ऐतिहासिक तथ्य र त्यसको विश्लेषण, ठूला देशले साना देशलाई गर्ने व्यवहारहरु, शक्ति र सत्ताको बलमा तथ्यहरुको ठाकछोप गर्ने प्रवृत्ति, छिमेकी राष्ट्रहरुले बेलाबेलामा छर्ने भ्रमहरु, विदेशमा भइरहेको सीमा विवाद र त्यसबाट पार पाएका ऐतिहासिक अनुभव आदि विषयमा लेखक–कविहरुका आलेख, निबन्ध, अनुभूतिहरु समेटिनेछन् ।

यस अभियानमा सबै लेखकहरुको सक्रिय सहभागिताको आशा राखिएको छ । यसमा देशका प्रतिष्ठित निबन्धकारहरुका रचना त समेटिने छन् नै, पाठकहरुबाट आएका रचनाहरु पनि सहभागी गराइने छन् ।

यसका लागि हामीले केही नियमहरु बनाएका छौँः

१) यो अभियानमा सहभागी हुन पठाइने निबन्ध २ हजार ५ सय शब्दभन्दा लामो बनाउन पाइने छैन ।

२) प्राप्त निबन्ध निम्नलिखित विषयमध्ये एकमा केन्द्रित हुनुपर्नेछः

क) नेपाली सीमाका पीडा
ख) अतिक्रमित नेपाली भूमिका ऐतिहासिक दस्तावेज
ग) नेपाल एकीकरणका लागि नेपाली सेनाले देखाएको कौसल र युद्धरणनीति
घ) अंग्रेज र भारतीय सेनामा गोर्खाली सेनाले देखाएको बहादुरी र पीडाका गाथाहरु
ङ) छिमेकीको होचो अर्घेलो
च) नेपाली नेताको निरीहपना
छ) दासता नभोगेको देश नेपाल
ज) पदका लागि देशको बलिदान
झ) भौगोलिक चेपले दिएको सौन्दर्य र कुरुपता
ञ) सानो नेपालभित्र ठूलो भारत आदि ।
(यो शीर्षक होइन, केवल विषय हो )

३) पुस्तकमा २० वटा निबन्ध समावेश गरिनेछ । लेखकले आत्मपरक वा वस्तुपरक जुनसुकै शैलीमा कलम चलाउन स्वतन्त्र हुनेछन् । दुवै थरिका निबन्धमा तथ्य र कलाको मिश्रणको अपेक्षा भने गरिनेछ ।

४) पुस्तक २०७७ सालको बडा दसैंको उपलक्ष्यमा शिखा पब्लिकेसन्सबाट प्रकाशन हुनेछ ।

५) पुस्तकमा समावेश भएका निबन्धका प्रत्येक निबन्धकारहरुलाई आकर्षक पारिश्रमिक उपलब्ध गराइनेछ ।

७) पुस्तकमा उत्कृष्टतम रचनाहरु मात्र प्रकाशन हुनेछन् । पुस्तकमा समावेश हुन नसकेका अन्य स्तरीय रचनाहरु भने क्रमशः साहित्यपोस्टमा प्रकाशन हुँदै जानेछन् ।

८) पुस्तकलाई अडियो र इबुकमा पनि प्रकाशन र प्रशारण गरिनेछ । अडियो र इबुकको अधिकार साहित्यपोस्टमा रहनेछ भने छापा–पुस्तकको अधिकार शिखा बुक्समा रहनेछ ।

९) पुस्तकका लागि भनेर पठाइएका रचना अन्य पत्रपत्रिकाहरुमा दिन पाइने छैन ।

१०) सङ्ग्रहमा बढी भन्दा बढी युवा पुस्ताका लेखकहरुको रचना परुन् भन्ने हाम्रो चाहना छ । यद्यपि देशका स्थापित लेखकहरुबाट आएका रचनाहरु पनि यसमा समेटिने छन् । पुराना पुस्तासँगै नयाँ पुस्ताको संलग्नताले राष्ट्रियताको साहित्यिक लडाईँ बलियो हुनेछ भन्ने हाम्रो विश्वास छ ।

११) साउन १५ गतेसम्म साहित्यपोस्टको इमेल [email protected] मा आएका रचनालाई मात्र यो प्रतियोगितामा समावेश गरिनेछ । विषयमा स्पष्टसँग ‘निबन्ध प्रतियोगिता’ उल्लेख गर्नुपर्नेछ ।

१२) पुस्तकका लागि रचनाको छनोट स्वतन्त्र र विज्ञ साहित्यकारहरुबाट गरिनेछ । यसमा साहित्यपोस्ट र शिखा बुक्सको कुनै पनि हात रहने छैन ।

आउनुहोस्, राष्ट्रियताका लागि लेखेर योगदान दिऔँ ।