अर्जेन्टिनी साहित्यकारले भनेछन्, ‘मैले नेपालमा त वीर गोर्खाली मात्र हुन्छन् भन्ने सोचेको त राइटर पनि हुँदा रहेछन् है ? नेपालीहरूले लेख्दा पनि रहेछन् है ?’

५० को दशकको कुरो हो । एक पटक के भो भने, तारानाथ शर्माको प्रोफाइल ‘द काठमाडौं पोस्ट’मा छापियो । जुन शरद् प्रधानले लेखेका थिए ।

हारती होटेलमा एक जना अर्जेन्टिनी नागरिक बसेका रहेछन् जो साहित्यकार पनि रहेछन् । शरद्ले होटेलका म्यानेजरलाई चिनेका थिए । तारानाथ शर्माको प्रोफाइल छापिएपछि ती म्यानेजरले उनलाई फोन गरेर भने, ‘सर, तपाईंलाई भेट्न एक जनाले खोजिरहेछ । आउनु न ।’

भेट्न बोलाउने तिनै अर्जेन्टिनी साहित्यकार थिए । शरद्ले लेखेको तारानाथको प्रोफाइल उनले पढेछन् । र, शरद्सँग भेट्न चाहेका रहेछन् ।
शरद्सँग ती अर्जेन्टिनी साहित्यकारले भनेछन्, ‘मैले नेपालमा त वीर गोर्खाली मात्र हुन्छन् भन्ने सोचेको त राइटर पनि हुँदा रहेछन् है ? नेपालीहरूले लेख्दा पनि रहेछन् है ?’

पछि ती व्यक्तिले तारानाथ शर्मालाई पनि भेटेछन् । बसेर खाजापानी खाएछन् । शरद्लाई पछि ती लेखकले स्पेनिस भाषामा लेखिएका किताबहरू पुरस्कार स्वरूप पठाइदिएका समेत थिए ।

शरद् प्रधान

३७–३८ सालतिरको कुरा हो । शरद् प्रधान दार्जीलिङमा पढ्दै थिए । एसएलसी दिएर बसिरहेको बेला थियो । त्यति बेला साहित्यकार पारिजात ‘सिम्हा’ भन्ने नाटक लिएर नेपालबाट दार्जीलिङ गएकी थिइन्, जुन नाटक रायनले लेखेका थिए ।

शरद्ले ९–१० कक्षामै पारिजातका उपन्यासहरू पढिसकेका थिए । नाटक लिएर दार्जीलिङ आएको थाहा पाएपछि भेट्न गए, र अन्तर्वार्ताको प्रस्ताव राखे । पारिजात पनि अन्तर्वार्ता दिन तयार भइन्, तर नाटकको मञ्चन सकेर उनी नेपाल फिर्ती भइहालिन् ।

अहिले जस्तो प्रविधि थिएन । शरद्ले प्रश्नहरू लेखेर हुलाकमार्फत पोस्ट गरे । पारिजातले उसै गरी उत्तरहरू पठाइदिइन् । शरद् भन्छन्, ‘‘अहिले जस्तो प्रविधि भएको भए उहाँकै हस्ताक्षरमा आएको प्रतिउत्तरहरू खिचेर राख्न हुन्थ्यो । त्यो राख्न सकिएन । उहाँको हस्ताक्षरमा आएको पत्र पनि सुरक्षित राख्न सकिएन ।’’

तर पनि शरद्लाई एउटा कुरामा भने खुसी लाग्छ । वास्तवमै, दार्जीलिङमा बसी पढिरहेको एक १८ वर्षे केटोलाई पारिजातजस्तो एक प्रतिष्ठित साहित्यकारले प्रश्नहरूको उत्तर पठाउनु बेहत खुसीको कुरो हो । शरद् थप्छन्, ‘‘अहिले पनि त्यति बेला पारिजातसँग मैले लिएको अन्तर्वार्ता हेर्नुहुन्छ भने त्यहाँ उहाँको व्यक्तिगत जीवनको कुरा केही पनि छैन । उहाँको कृतित्वको कुरा मात्र छ । सिद्धान्त र वादका कुरा भएका छन् । जस्तो उहाँलाई मैले ‘तपाईँले वाद सम्झेर लेख्नुहुन्छ कि समालोचकले झुन्डाइदिन्छन् ?’ भनेर सोध्दा उहाँले भन्नुभएको छ, ‘भाइ, हामीले लेख्दाचाहिँ साहित्य लेख्ने हो । पछि समालोचकले आफ्नो तरिकाले वाद झुन्ड्याइदिने हुन्’ भनेर उत्तर दिनुभएको थियो ।’’

चालीस वर्षअघिको अन्तर्वार्ताः पारिजात स्मृति विशेषः एउटा पुरानो अन्तर्वार्ता | साहित्यपोस्ट (sahityapost.com)

जुन बेला शरद् दार्जीलिङमा हुर्किरहेका थिए, पढिरहेको थिए, त्यस बेलै भारतीय नेपाली साहित्य उत्कर्षमा पुगिसकेको थियो । उनलाई ईन्द्रबहादुर राई, कुमार प्रधान, राजनारायण प्रधानजस्ता सिद्धहस्त साहित्यकारहरूको सान्निध्य अवसर दार्जीलिङले नै जुरायो । राजनारायण प्रधानका छोरा र शरद् क्लासमेट थिए । छोराको साथीको हैसियतले पनि राजनारायणको विशेष सान्निध्य उनले पाएँ ।

शरद् उमेर र अनुहारले सानै थिए, तर प्राय: साहित्यिक गोष्ठीहरूमा नछुटाई पुग्थे । त्यसैले त गुमानसिंह चाम्लिङ, मनबहादुर मुखियालगायत व्यक्तित्वहरूलाई नजिकबाट बुझ्न पाएँ । शरद् भन्छन्, ‘‘मनबहादुर सरले त मलाई पढाउनु पनि भएको हो । यस्ता धेरै साहित्यकारहरूले अलिक नजिकबाट हेर्ने, चिन्ने र बुझ्ने अवसर पाएँ ।’’

त्यो बेलामा, नेपालीमा भन्ने हो भने ३० को दशकको अन्त्यतिर धेरै राम्रा साहित्यकारहरूको उदय भएको थियो । साहित्य एकेडेमीले नेपाली भाषामा पनि पुरस्कार दिन सुरु गरिसकेको थियो । दार्जीलिङमा त्यस बेलाको साहित्यिक माहोल कहिल्यै नलेख्नेलाई पनि लेखौं लेखौं लाग्ने, कहिल्यै नपढ्नेलाई पनि पढौं पढौं लाग्ने किसिमको रहेको बताउँछन् शरद् । त्यही माहौलले आफूलाई पनि एक पटक साहित्यको नजिक पुगेपछि कहिल्यै टाढा हुनै नदिएको बताउँछन् उनी । भन्छन्, ‘‘दार्जीलिङमा धेरै साहित्यकारहरूसँग मेरो राम्रो सम्बन्ध थियो । त्यसमध्ये पनि राजनारायण प्रधान सरको सबैभन्दा नजिक रहेँ । पहिलो त उहाँ मेरो साथीको बुबा, अनि सर पनि । म जुन कलेजमा म आर्ट्स पढ्थेँ, त्यहाँ उहाँ कमर्स पढाउनु हुन्थ्यो । अर्कोचाहिँ, प्रकाश कोविदसँग म धेरै नै नजिक थिएँ ।’’

शरद् ०४३ सालमा काठमाडौं आए । काठमाडौँका सुरुवाती दिनहरूमा पठाउने काम गरे । पढाउने सिलसिलामा एक प्राइभेट माध्यमिक विद्यालयको प्रधानाध्यापकसमेत बने । उनले ६ वर्ष प्राध्यापन पेसालाई अँगाले, तर साहित्यिक माहौलबाट टाढा भने भएनन् । सँगै रहे ।

काठमाडौँमा डा. तारानाथ शर्मा सरको धेरै नै नजिक थिए शरद् । अविनाश श्रेष्ठ, दिनेश अधिकारी, पुष्कर लोहनी लगायतसँग पनि निकट सम्बन्ध बनाए । उनीहरूलाई भेट्न गइरहन्थे । तारानाथ शर्मा आफ्नो डेरामै आउने गरेको सम्झँदा प्रसन्न देखिन्छन् उनी । भन्छन्, ‘‘तारानाथ सर त एक–दुईपल्ट मेरो डेरामै पनि आउनुभएको थियो । उहाँको घरमा म धेरै पटक गएको छु । मैले काठमाडौं पोस्टमा काम गर्नुमा सबैभन्दा ठुलो भूमिका पनि तारानाथ सरकै छ । उहाँकै सिफारिसमा म जागिरका लागि काठमाडौं पोस्ट पुगेको थिएँ ।’’

डा. तारानाथ शर्मा राइजिङ नेपालको सम्पादक बन्नेपछि शरद्ले एक दिन भने, “सर, म राइजिङ नेपाल आउँछु ।”

तर अनपेक्षित रूपमा तारानाथ शर्माले भने, “काम छैन यहाँ आएर । सरकारी हो यो । काठमाडौं पोस्ट जाऊ ।” र, उनकै सिफारिसमा शरद् काठमाडौं पोस्टमा गए ।

काम काठमाडौं पोस्टमा गरे पनि तारानाथ शर्माकै अनुरोधमा राइजिङ नेपालको लागि धेरै वटा आर्टिकल लेखेको सम्झन्छन् शरद् । भन्छन्, ‘‘काठमाडौं पोस्टमा जागिर गरेसि बाहिर आर्टिकल लेख्न पाइँदैन थियो, तर मैले ‘एस. प्रधान’लगायतका नामहरूमा तारा सरका लागि लेखेँ । काठमाडौं पोस्टमा काम सुरु गरेपछि अझै बृहत्तर रूपमा नेपाली साहित्यकारहरूसँग परिचित हुन पाएँ । साहित्य बिटमै लेख्ने हुनाले पनि मूर्धन्य साहित्यकारहरूसँग के कति सङ्गत गर्न पाएँ ।’’

हाम्रा पत्रपत्रिकाहरूलाई लाग्ने गरेको आरोपमध्येको एक नैतिकतासँगै जोडिएको गम्भीर आरोप भनेको आफ्ना कर्मचारीलाई तलब नदिने हो । दिए पनि समयमा नदिने हो । समयमै दिए पनि पर्याप्त नदिने हो । तर काठमाडौं पोस्टमा आफ्नो तलबका बारेमा शरद् भन्छन्, ‘‘तपाईंलाई अचम्म लाग्छ होला ? मेरो बेसिक सेलरी ५ हजार थियो । त्यति बेलाको ५ हजार जति बेला सचिवको सेलरी ४८ सय हुन्थ्यो ।’’

सबै कुराको एउटा समय आउँदो रहेछ । काठमाडौं पोस्टमा आफ्नो ग्रोथ (विकास) कम हुँदै गइरहेको थियो तथा अपेक्षित पद तथा तलब नबढ्दा जीवन धान्न पनि गाह्रो हुँदै गइरहेको थियो शरद्लाई । यिनै कुराहरूको फस्ट्रेसनले गर्दा उनी काठमाडौं पोस्ट छोड्ने अवस्थामा पुगे ।

जागिरका लागि काठमाडौं पोस्टमा प्रवेश गर्दा आफू एक कोरा पत्रकार भएको, तर सात वर्ष काम गरेर निस्कँदा धेरै जान्ने भएर निस्केको अनुभूति साझा गर्छन् शरद् । भन्छन्, ‘काठमाडौं पोस्टमै हुँदै दुई तीन वटा अन्तर्राष्ट्रिय तालिम लिएको थिएँ । त्यही समयमा दिल्लीबाट जर्नालिजममा डिप्लोमा गरेँ । केही समय जर्नालिजमको अध्ययन सिङ्गापुरमा पनि गरेँ । धेरै अनुभव भएपछि, आफैँ धेरै जानेको छु भन्ने परेपछि पत्रकारिता नै छोड्नुपर्ने भयो ।’

काठमाडौं पोस्टमा ७ वर्ष जागिर खाए, ५० सालदेखि । र, यात्रा मोडियो पर्यटन क्षेत्रतर्फ । जागिरे जीवनको सबैभन्दा लामो समय शरद् पर्यटन बोर्डमा बिताए । अर्थात्, काठमाडौं पोस्ट छोडेपछिका १६ वर्ष ।

‘‘तपाईंलाई पर्यटन बोर्डले चाहिँ साहित्यबाट टाढा पुर्‍याएको हो ?’’ भन्ने प्रश्नमा शरद् भन्छन्, ‘‘साहित्यबाट चाहिँ पर लगेको होइन, तर सिर्जनाबाट चाहिँ पर लग्यो । साहित्यबाट किनचाहिँ पर लगेको होइन भने, म बोर्डमा हुँदा मैले धेरै साहित्यिक कार्यक्रमहरूलाई सहयोग गरेको छु । साहित्य तथा कलासम्बन्धी कार्यक्रमहरूमा बोर्डले गर्ने सहयोगमा प्राय: सूत्रधार मैँ हुन्थेँ । बोसहरूलाई बुझाउने र मनाउने काम मैले गर्थेँ । त्यो अर्थमा म साहित्यबाट टाढा गएको होइन । तर सृजनशीलताबाट चाहिँ टाढा गएको पक्कै हो ।’’

अठार वर्षे कलिलो उमेरमै पारिजातको अन्तर्वार्ता लिएका, डा. तारानाथ शर्मा जस्ता व्यक्तिको छत्रछायामा रहेका शरद्लाई पुस्तकसहित लेखकका रूपमा नेपाली साहित्य क्षेत्रमा उपस्थिति जनाउन भने लामो समय लाग्यो । अझभन्दा, पारिजातको अन्तर्वार्ता लिएको १८ वर्षे फुच्चेलाई आफ्नै किताब प्रकाशनमा ल्याउन अर्को ४० वर्ष लाग्यो । खैर जे होस्, ०७८ सालको अन्त्यमा शरद्को पहिलो कृति ‘स्मृति–बिम्ब’ प्रकाशनमा आयो ।

किशोरकालबाटै साहित्यमा निरन्तर सक्रिय रहेर पनि पुस्तकका रूपमा प्रकाशनमा आउन शरद्लाई किन यति लामो समय लाग्यो ? पढौं, उनकै शब्दहरूमा –

म स्कुले जीवनदेखि नै साहित्यमा धेरै सक्रिय हो । आठ–नौ कक्षातिर पढ्दै दार्जीलिङबाट निस्कने ‘नवराग’ भन्ने पत्रिकामा मेरा कविताहरू छापिन्थे । दस कक्षामा पढ्दा त मैले रामकृष्ण शर्मालाई अलिक चुनौती दिएर पत्रै लेखेको थिएँ । ‘मेट्रिक’को परीक्षा दिएर बसेको समयमा मैले पारिजातको अन्तर्वार्ता लिइसकेको थिएँ । कलेज पढ्दा, दुई पटक कलेजको पत्रिकामा सम्पादक भएर काम पनि गरेँ । त्यस समयमा सिलगुडीबाट निस्कने ‘हिमालचुली’ भन्ने पत्रिकामा मेरो कथा, कविता, निबन्धहरू प्रकाशित भइरहन्थे । पछि काठमाडौँमा आएर आस्था भन्ने पत्रिका मैले निकालेको हो ।

तर पछि के भो भन्दा, आफ्नो जीवनको व्यस्तता, जीवनमा केही गर्नु पर्ने बाध्यता, पारिवारिक जिम्मेवारी आदिका कारणले लेखनबाट अलिकति टाढिएँ, र पत्रकारितातिर लागेँ । पत्रकारिता लागे तापनि मेरो मुख्य फोकस भनेको साहित्य र साहित्यकारहरूप्रति नै थियो । काठमाडौं पोस्टमा काम गर्न थालेपछि अङ्ग्रेजीमा लेख्न थालेँ । कान्तिपुरमा पनि बेला–बेला लेख्थेँ, तर मुख्य जागिर काठमाडौं पोस्टमा भएकाले त्यहाँ अङ्ग्रेजीमा करिब २५ जना साहित्यकारहरूको प्रोफाइल लेखेँ । विजय मल्ल, केदारमान व्यथित, ईश्वर वल्लव, केशवराज पिँडाली, जनकलाल शर्मा लगायतसँग प्रत्यक्ष भेटेर लेखिएका जीवनीहरू अझै पनि मसँग छन् ।

केही समय काठमाडौं पोस्टमा रहेको म, त्यसपछि जागिरका लागि नेपाल पर्यटन बोर्डमा पुगेँ । त्यहाँ पुगेपछि भने त्यहाँका आफ्नै व्यस्तताका कारण साहित्य कर्ममा अलिकति सुस्तता छायो । त्यस बेला पनि अलिअलि लेख्नचाहिँ लेखिरहेकै हुन्थेँ, तर ती अङ्ग्रेजीमै लेखिएका थिए । नेपालीमै लेख्नुपर्छ भन्ने चाहिँ कोभिड–१९ को प्रकोप आएपछि भान भयो । लकडाउनका कारण घरमै थुनिएपछि चाहिँ युनिकोड सिकेर नेपाली भाषामा कलम चलाउन थालेँ । त्यसपछि एउटा नयाँ शैलीमा ‘स्मृति–बिम्ब’ तयार भयो । त्यहाँ तपाईँले मेरो आफ्नो संस्मरण, सम्बन्धित लेखकका कृतिहरूको आलोचना–समालोचना, तत्कालीन अवस्थाको चित्रण, भारतीय नेपाली साहित्यको परिवेशलगायत कुराको सम्मिश्रण पाउन सक्नु हुन्छ । जस्तो: लकीदेवी सुनदास, देउकुमारी थापाका बारेमा लेख्दा विशेष गरी दार्जीलिङमा महिला साहित्यको अवस्था, तत्कालीन महिला साहित्यकारहरू र उहाँहरूको उदयका बारेमा लेखेको छु । रामकृष्ण शर्माको बारेमा लेख्दा त्यतिखेरको समालोचनाको अवस्थाका बारेमा पनि उल्लेख गरेको छु ।