कुबेर राईले गाएपछि कोही अर्कै गायक स्टेजमा आयो । उसको गीत रक्सी पिएपछिको मात लागे झैँ कुबेर दाइको जस्तो थिएन । बरू हातका औंलाहरू गीतको मादकतामा आफसेआफ चले झैँ लाग्ने । निदाइरहेका पैतालाहरू एक्कासि उठेर हिँडे झैँ लाग्ने, कुनै पूर्वेली लोकधूनमा कम्मर मर्काउँदै-मर्काउँदै आइन् ऊसँगै एउटी सुन्दरी …!

जीवित खड्का मगर
आफ्नो आँखा अलिक लोभी छन्, सुन्दर मान्छे देख्यो कि फलामका मसिना टुक्रा-टुक्राहरू आफूसँगै तानिरहने चुम्बकजस्ता । छि: कस्तो लोभी आँखा के मेरा ? कत्तिखेर फुत्त निस्केर मेरै अनुहारबाट उनै युवतीको हात समाइ छमछम नाँच्न पुगिसकेछ । मुकदर्शक म, मेरै आँखा नाँचिरहेको हेर्दै थिएँ, कसैले मलाई कोट्याए झैँ लाग्यो, मित्र शिशिर रहेछन्- “सरकार ! त्यो आइमाई बनेर स्टेजमा नाँच्ने केटामान्छे हो नि !” (नामको बदलामा ‘सरकार’ सम्बोधन गर्ने शिशिरको बानी)
“हँ…., के भन्नुन्छ ?” — म झस्किएँ
“नपत्याए चन्द्रलाई सोध्नूस !”
गत फेब्रुअरी ७ तारिखका दिन, किराँत-राई यायोख्खा, शाखा युएईले आफ्नो यले सम्वत् ५०८० सालको उपलक्ष्यमा आबुधाबीको कुनै एउटा हलमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । म गएँ साथीहरूको पछि, साथीहरू मनोरञ्जनको पछि ।
असलमा म जानूको रहस्य थियो कुबेर राईको पछि । साथीहरू पूल भैदिए मैले सहजै माइखोला पार गरेँ । कुबेर दाइको गायनले मात्रै नभई उनले बाँचिरहेको सादगी जीवनबाट समेत प्रेरित म; त्यसैले उनलाई हेरूँ लाग्यो, देखूँ लाग्यो, यही भएर देख्नै गएँ । यहाँ दुई-पाँच हजार मान्छेले चिन्नुमात्रै पर्छ, एउटा कलाकारले आफ्नो लाइफ स्टाइलमा पूरै युरिया खनाइदिन शुरु गर्छ, कहाँको अर्गानिक कलाकार पाउनू ? उनमा भने त्यसो थिएन, गाउँकै पारा । गाउँकै सुवास । तर यो सब भईकन यो कुरा दुखको साथ भन्नुपर्छ; कुबेर, राष्ट्रव्यापी आधुनिक गायन प्रतियोगिता- २०५२ सालमा प्रथम भएको गायक (अहिलेका शिखर गायक रामकृष्ण ढकाललाई पछारेर), त्यसपछि भने उनको संगीतयात्रामा प्रथम त के कुरा, दोस्रा-तेस्रासम्म भएनन् । होला, यिनको आफ्नै व्यक्तिगत कमजोरीहरू पनि तर उनको प्रतिभालाई राष्ट्रले नचिनेकै हो भन्छु म ।
ओहो… कुबेरको कुरा गर्दैगर्दा गर्ने कुरा गर्नै बिर्सेछु, अब गर्छु-
आजभन्दा झण्डै अठार वर्ष पहिले लमजुङ जिल्ला, अर्चलपोट गाउँको गुरुङबस्तीबाट आकाशमा उडेको एउटा जहाज युएईमा ल्याण्डिङ गर्यो । जहाजबाट ओर्ल्यो युवक र होटेलमा काम पायो, तर कैदी भएर त्यो युवक चारदिबारभित्र हराउन चाहादैनथ्यो । ऊ उन्मुक्त आकाशमा चराहरू झैँ उड्न चाहान्थ्यो । मान्छेले चराहरूको आकाश हेरेर आनन्द लेऊन् भन्ने चाहान्थ्यो । हो, खास कुरा ऊ नाँच्न सिपालु, नाँच्न चाहान्थ्यो | युएईभरि नाँचेर नाम कमाउन चाहान्थ्यो ।
ऊ जान्ने भएदेखि नै नाँच्न थालेको रे ! र, मसित कुरा गर्दागर्दै उसले यतिबेला भने आफ्नो बाल्यकाल सम्झेको छ-“मेरी आमा आफ्नो जमानाकी कुशल नृत्याङगन्ना, गाउँठाउँमा कहलिएकी, त्यसैले आमा नै मेरो गुरुआमा । आमाबाहेक मैले कहीँ कतै नृत्यसम्बन्धि तालिम नलिईकन आज म जहाँ छु आमाकै आशिर्वादले छु । अँ, म सानो छँदा खुब नृत्य प्रतियोगिता भैरहन्थ्यो स्कूल-स्कूलहरूमा । यहाँसम्म कि निकै टाढा-टाढासम्म जानुपर्दथ्यो । म हिँड्न सक्दिनथेँ, गुरुहरूले बोकेर लैजानुहुन्थ्यो मलाई । स्कूलमा म कहिले दोस्रो भइनँ । उतिबेलै बालकलाकार भएर म लमजुङभरि फैलिएको थिएँ ।”
सपना देख्नु मात्रै पर्छ, मान्छेलाई सपनाले आफैँसँग दोहोर्याउँछ । भयो पनि त्यस्तै । अन्ततः उसको सपनाको शुरूवात त्यसदिन भयो, जब सन् २००५ मा, तमु समाज युएईले आयोजना गरेको एक कार्यक्रममा पहिलोपटक उसले स्टेजमा खुट्टा उचाल्यो । अनौठो कुरा यो थियो कि, एउटा युगल गीतमा महिला भएर नाच्नुपर्ने । जोडी साथीले उसलाई अनुरोध महिला कलाकार नपाएर गरेको रहेछ । उक्त नृत्यपछिको प्रतिक्रिया उसले यसरी भन्छ-
“सुरुमा अप्ठ्यारो महसुस गरेँ, यद्यपि साथीको अनुरोधलाई हार्न सकिनँ । तर हाम्रो नृत्यपछिको त्यो माहौल यसरी तात्यो कि म शब्दमा भन्न सक्दिनँ । त्यसपछि मेरो व्यस्तता बढ्दै गयो । युएईका हरेक संघसंस्थाहरूले निम्तो दिन थाले । बिडम्बना ! म आफ्नो असली परिचयसहित नाँच्नै पाइनँ । महिलाको भेषमा स्टेजमा उक्लेपछि चौतर्फी प्रशंसा र वाहवाहीमै आनन्द आउन थाल्यो मलाई ।”
अठार वर्ष पहिले होटेलमा काम गर्न आएको त्यही युवक, उसले आज युएईका विभिन्न सहरमा तीन सयभन्दा बढी स्टेजमा आफ्नो कला देखाइसकेको छ । यहाँसम्म कि, नेपाली संघसंस्थाहरूमा मात्रै नभएर युएईको राष्ट्रिय दिवसमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा होस् या बहुराष्ट्रिय कम्पनीहरूले आयोजना गरेको अन्तरदेशीय सांस्कृतिक कार्यक्रमहरूमा समेत नेपालको प्रतिनिधित्व गर्दै मौलिक नृत्य प्रस्तुत गर्ने अवसर पाएको छ ।
अँ, अब सस्पेंस खोलूँ क्यार ! विगत पन्ध्र वर्षदेखि महिला बनेर नाँच्ने चर्चित कलाकार हुनुहुन्छ लमजुङका दीपक गुरुङ । किराँत-राई यायोख्खाको कार्यक्रममा उहाँको नृत्य हेरेपछि मैले दीपकजीको फेसबूक आइडी खोजेँ-भेटाएँ, केही लेखूँ लाग्यो र केहीदिन च्याट गरेँ ।
छुट्नेबेलामा, मेरो अन्तिम प्रश्न थियो- “तपाईं दीपक बनेर स्टेजमा कहिले देखिनुहुन्छ ?”
“कहिले दीपा, कहिले दीपिका, कहिले फुलमाया र कहिलेदिलमाया बन्दैमा फुर्सद छैन मलाई | खोइ ! कहिले हो कहिले … हाहाहाहा !!”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

