स्याङ्जाकी शर्मिला खनालले अहिलेसम्म चित्रकलाको कुनै औपचारिक प्रशिक्षण लिएकी छैनन् । उनी स्वअध्ययन, लगनशीलता र मेहनतले निकै सुन्दर मुहार स्केचहरू गर्छिन् । शिक्षाले म्यानेजमेन्टको विद्यार्थी हुन् उनी । हाल पृथ्वीनारायण क्याम्पस, पोखरामा अध्ययनरत शर्मिला खनालको स्केचमा परिपक्व आर्टिष्टको छनक पाइन्छ ।

जीवित खड्का मगर

‘कुनै औपचारिक ज्ञान नलिई, कसैलाई गुरु नमानी, यो कसरी सम्भव छ ?’, भनेर सोध्दा उनले भनिन्- ‘मलाई सानैदेखि चित्रकलामा रूचि थियो । तर औपचारिक रूपमा चित्रकला सिक्ने कुनै श्रोत पाइराखेकी थिइनँ मैले । चित्र भने कोरिरहन्थें । १२ कक्षाको परीक्षा दिएपछि, स्केचमा बढी ध्यान दिन थालेँ । कसरी जान्ने ? कसरी सिक्ने ? मभित्र अनेकन तर्कनाहरू आइरहन्थे । यस्तैमा एकदिन आइडिया आयो- युट्युब हेर्ने । युट्युब हेर्दै म घन्टौंसम्म अभ्यास गरिरहन्थें । कयौंपटक त समयमा खान बिर्सेकी छु । समयमा सुत्न बिर्सेकी छु । यद्यपि, अहिले पनि यो क्रम चलिरहन्छ । लगत्तै, स्केच आर्टिष्ट कृष्ण मर्सानी सरसँग फेसबुकमा एड भएँ, पछि भेटेँ पनि । उहाँ नै पहिलो प्रेरित व्यक्तित्व हुनुहुन्छ मेरो । यसरी  फेसबुकमा अन्य आर्टिष्ट साथीहरूसित पनि जोडिइरहेकी छु । नयाँ नयाँ कला, नयाँ नयाँ ज्ञानगुन र उहाँहरूबाट सुझाव-सल्लाहहरू पाइराखेकी छु । त्यसो भएर स्केचमा धेरै सुधार आएको छ भन्ने लाग्छ । उप्रान्त पढाइ र चित्र सिर्जनालाई सँगसँगै अगाडि बढाउने विचार छ । त्यसो त अचेल चित्र स्केच गरेर अलि-अलि आम्दानी पनि गर्न लागिरहेकी छु ।’

अत्यन्तै मेहनेती, शर्मिला बहिनीको इच्छाशक्ति र लगनशीलता देखेर मलाई महान विचारक शिव खेराको भनाइ साभार गर्न मन लाग्यो- ‘जित्नेले छुट्टै काम होइन, हरेक काम छुट्टै ढंगले गर्छ ।’ अब हेरौं, शर्मिला खनालका पेन्सिल स्केचहरू-