
तपाईं जे काम गर्नुहुन्छ, त्यही नै तपाईंको पहिचान नहुन सक्छ । अर्कै एउटा परिचय बाँचिरहेको पनि हुनसक्छ र जे काम गरिरहनु भएको छ, त्यसले तपाईंको खास परिचय पनि नदिन सक्छ । यस्तै कथा छ, लक्ष्मण रावको । पेट पाल्न, चिया बनाउने उनको वास्तविक परिचय भने २४ पुस्तकका लेखकको छ ।
१२ वटा पुस्तक प्रकाशित भइसकेका छन् । तीमध्ये आधा दर्जनले पुनर्मुद्रणको उज्यालो देखिसकेका छन् । उनले लेखेको उपन्यास रामदासका लागि दिल्ली राज्य सरकारले दिने इन्द्रप्रस्थ साहित्य भारती पुरस्कार समेत पाइसकेको छ । ६२ वर्षका चिया व्यापारी लक्ष्मण रावको लेखनयात्रा कम रोचक भने छैन ।
१९७९ मा पहिलो पटक उनको पुस्तक प्रकाशित भएको थियो । त्यसयता उनलाई चिन्नेहरूले लेखकजी भन्दै सम्बोधन गर्ने गर्छन् । उनलाई पनि त्यही परिचयले अहिलेसम्म ऊर्जा भरिरहेको छ ।
उनी दिल्लीको फुटपाथमा चिया बनाउँछन् । लेख्ने काम चाहिँ मुख्य भएकाले उनले एक रूपैयाँमा नै चिया बेच्ने गर्छन् । जबकि, अचेल सबैभन्दा सस्तो चिया पनि पाँच रूपैयाँभन्दा तल आउँदैन । उनी भन्छन्, म त लेखेर नै गुजारा गर्न सक्छु तर चियाले लेख्न सक्ने आत्मविश्वास दिने हुनाले म यो काम छाड्दिनँ ।
विगत २५ वर्षदेखि चिया बनाइरहेका उनले शुरूवाती दिनमा होटलमा भाँडा माझे । त्यसपछि उनले घरेलु नोकरका रूपमा काम गरे । ती काम गर्दै जाँदा उनले कहिले पनि आफ्नो लेखनको जिजीविषा मर्न दिएनन् ।
एक दर्जन पुस्तकका लेखकको चिया नै बेचिरहनुपर्ने अवस्थाका बारेमा भने लक्ष्मणलाई भने कुनै गुनासो छैन । उनको चिया पसलमा आफूले लेखेका किताबको बिस्कुन लगाएका छन् । जब चिया पिउन आउनेहरू उनका किताबमा आँखा लाउँछन् र पढ्न थाल्छन्, उनलाई त्यसैमा आनन्द लाग्छ ।
कयौँ ठाउँमा आफ्ना पुस्तक बेचिदिन विक्रेताहरूलाई आग्रह गर्छन् र जसले किताब बिक्रीका लागि राखिदिन्छन्, तिनले पनि यी लेखकलाई चिन्दैनन् । उनलाई त्यसमा पनि कुनै दुखेसो छैन किनभने उनी आफूलाई चिनाउनुभन्दा पुस्तक पढाउनुमा बढी रमाइलो मान्छन् ।
हालसम्म पाएको सफलताका कारण आउँदा दिनमा प्रकाशन हुन बाँकी अन्य १३ पुस्तक प्रकाशन गर्ने इच्छा राखेका छन् । त्यसो त कुनै प्रकाशकले उनको पुस्तक प्रकाशन गर्न रूचि नराखेको र आफैँले हालसम्म पुस्तक प्रकाशन गरेको अनुभवका आधारमा उनले एउटा प्रकाशन संस्था दर्ता गरेका छन् ।
अधिकांश प्रकाशकले आफ्नो पुस्तकमा कुनै चासो नदेखाएका कारण आफैँले छाप्नु परेको उनको दुखेसो छ । उनले गुनासो गर्दै भने‑ मेरो किताब पढेर धारणा बनाउनुभन्दा पनि मेरो अनुहार र लुगाफाटो हेरेर धारणा बनाए । मलाई त्यत्ति एउटा कुरामा दुःख छ ।
बालापनमा मजदुरीमा बिताउनु परेकाले पढ्न पाएनन् । तर जब अलिअलि पैसा जोगाउन थाले, त्यसपछि उनले औपचारिक अध्ययनलाई अघि बढाए । उनले पछि स्नातकसम्म अध्ययन गरेको बताउँछन् ।
उनले आफ्ना पुस्तक विभिन्न स्कुल तथा कलेजमा बेचेका छन् । अहिलेसम्म उनी किताब बेच्न ८०० वटा स्कुलमा पुगेको बताउँछन् । तीमध्ये आधाले किताब किन्न रूचि देखाए ।
उनकी पत्नी रेखा र दुई सन्तान हितेश‑परेशका साथ डेरामा बसिरहेका उनी त्यही एउटा कोठामा राति अबेरसम्म लेखपढ गर्छन् । पहिला पहिला उनकी श्रीमतीले उनलाई पढाकू पागल ठान्ने गर्थिन् । श्रीमती मात्र होइन, वरिपरिका सबैले उनलाई पागल भनेरै तर्केर हिँड्थे । अचेल भने उनलाई सोही रूपमा स्वीकारेका छन् ।
बालापनमा मुम्बईको अमरावतीबाट भागेर दिल्ली आएका उनी विरलै घर पुग्छन् । ४० रूपैँया चोरेर घरबाट भागेका उनका तीन भाइमध्ये दुई जना लेक्चरर र अकाउन्टेन्ट छन् भने अर्का एक जना किसानी गर्छन् । उनीहरूको अवस्था आफ्नो भन्दा राम्रो भएकामा भने उनी खुसी नै छन् । आफूले छनोट गरेको जिन्दगीले दिएको प्रसादमा उनी सन्तुष्ट नै छन् ।
सन् १९७५ मा दिल्ली आइपुगेका उनी पेट पाल्नका लागि सानातिना काम गरिरहे पनि बिदाका बेला उनी दिल्लीको दरियागञ्जस्थित पुराना किताब पसलहरू चहारेर त्यहीँ दिनभरि पढ्थे । पढ्ने शोखका कारण उनले भारतीय लेखकहरू मात्र चिनेनन्, सेक्सपियर, बर्नार्ड शाजस्ता अन्तर्राष्ट्रिय लेखकका बारेमा समेत जाने ।
लक्ष्मणका किताबहरूमध्ये अधिकांश चाहिँ जीवनीपरक नै छन् । तिनको जीवनबाट प्रेरित भएर आफूले तिनको जीवनी लेखेको लक्ष्मण बताउँछन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

