हर्मन हेसले

हर्मन हेस्‌को जन्म २ जुलाई १८७७ मा जर्मनीको स्वाबियामा भएको हो । बिट पुस्ताका पछिल्लो साहित्यिक हस्ती मानिन्छिन्‌ हर्मन हेसले पुस्तक बिक्रेता र मेकानिकका रूपमा काम गरे पनि धेरै समय टिक्न सकेनन्‌ । त्यसपछि लगातार प्रकाशित भएका दुईवटा उपन्यास पिटर कामेन्जिन्द र उन्टर राडले उनलाई प्रसिद्धि दिलाए । सन्‌ १९११ मा हेसले भारतको भ्रमण गरे। भ्रमण अवधिभर भारतीय धर्मदर्शनको गहन अध्ययन गरे । त्यसैका आधारमा गौतम बुद्धको बाल्यकालमा आधारित उपन्यास सिद्धार्थ लेखे जुन सन्‌ १९२२ मा प्रकाशित भयो । त्यसको अङ्ग्रेजी संस्करण सन्‌ १९५०मा प्रकाशित भएपछि उनको ख्याति अमेरिकासम्म फैलियो । जीवनको सङ्घर्ष, संवेदनशीलता र सौन्दर्य चेतना जस्ता गुणहरू आफ्ना रचनामा प्रयोग गरेबापत उनलाई सन्‌ १९४६ को नोबेल पुरस्कारद्वारा सम्मानित गरियो । आख्यानकार हेसलेको तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्‌ । अङ्ग्रेजी, जापानी, फ्रान्सेली, नेपाली, हिन्दीलगायत थुप्रै भाषामा अनूदित भएका छन्‌ उनका कृतिहरू । सिद्धार्थ र पिटर कामेन्जिन्दबाहेक उनका अन्य प्रमुख कृतिहरूमा विनिय द ह्विल (१९०६), डेभियान (१९१९), द स्टेफेनबोल्फ (१९२७), डेथ एन्ड द लभर (१९३०) द ग्लास बिड गेम (१९४२), द जर्नी टु इस्ट (१९५६) आदि पर्छन्‌ । उनको मृत्यु ९ अगस्ट १९६२ मा भयो।

हर्मन हेसले

भित्र र बाहिर

कुनै ठाउँमा फ्रेडरिक नाम गरेका व्यक्ति थिए। बौद्धिक खोजीमाफ समर्पित तिनको ज्ञानको दायरा फराकिलो थियो । तर आफूले हासिल गरेका ज्ञान जत्तिको कुनै विचार लाग्दैनथ्यो । एउटा निश्चित प्रकारको चिन्तन मात्रै उनलाई प्रिय लाग्थ्यो, अनि अरू विचारलाई चाहिँ ज्यादै तिरस्कार गर्थे । उनलाई प्रिय लाग्ने र आदर गर्ने भनेको चाहिँ तर्क नै थियो। जुन अति सराहनीय विधि मानिन्थ्यो र समग्रमा भन्नुपर्दा उनी त्यसलाई विज्ञान भन्न रुचाउँथै । “दुईमा दुई जोड्दा चार हुन्छ, मलाई यसैमा विश्वास छ र मान्छेले यही सत्यमाथि टेकेर नै चिन्तन मनन गर्नुपर्छ,” उनी वारम्वार भन्ने गर्थे । अरू खालका चिन्तन र ज्ञान पनि हुन्छन्‌ भन्ने कुरामा उनी पक्कै पनि अनभिज्ञ थिएनन्‌ । तर ती चिन्तन र विचारहरू विज्ञान थिएनन्‌ । त्यसैले उनी त्यस्ता विचार र चिन्तनलाई हेयको दृष्टिले हेर्थे । स्वतन्त्र चिन्तक भए पनि उनी आफू धर्मप्रति असहिष्णु भने थिएनन्‌ । धर्म भन्ने कुरो वैज्ञानिकहरू बिचका आपसी मौन सहमतिको जगमा अडेको छ भन्ठान्थे उनी । पृथ्वीमा जे जति चिजहरू अस्तित्वमा आए, ती सबैलाई विज्ञानले थुप्रै शताब्दीसम्म आफूमा समाहित गर्यो र ती सबै चिज जान्न लायक पनि रहे । अपवादका रूपमा विज्ञानले आफूमा समाहित गर्न नसकेको एउटै क्षेत्र भनेको मानव आत्मालाई नै हो । समय बित्दै जाँदा आत्मालाई धर्मसित लगेर जोडिदिने, अनुमानलाई आत्मामाथि उदारतापूर्वक छाडिदिने । त्यो पनि गम्भीरतापूर्वक नभई अत्यन्त हलुका ढङ्गले, त्यो त एउटा परम्परा नै बसिसकेको थियो । यसरी फ्रेडरिक पनि धर्मप्रति सहिष्णु बनेका थिए । तर जुन जुन कुरालाई उनले अन्धविश्वासका रूपमा लिए, ती हरेक चिज उनलाई अत्यन्त विरोधाभासपूर्ण र अप्रिय लाग्थे । बिराना, असंस्कृत र पछौटे मानिसहरूले अन्धविश्वास अँगाले होलान्‌, प्राचीन कालमा दूरदराजमा रहस्यवादी चिन्तनको अभ्यास भए होलान्‌ । तर विज्ञान र तर्कको जन्म भएदेखि यता यस्ता पुरानो ढर्राको अनि सङ्गीन हतियारको उपयोग गर्ने सोच कसैले लिएन । उनले जे भने, त्यसैको चिन्तन गरे । जुनबेला अन्धविश्वासका लक्षणहरू उनको जानकारीमा आउँथे, उनलाई औधी रिस उठ्थ्यो । अनि अझ यस्तो महसुस गर्थे मानौँ उनलाई कुनै डरलाग्दो चिजले स्पर्श गर्दै छ ।

अझ समान बिचार र चिन्तन बोकेका साथीहरूमै अनि वैज्ञानिक चिन्तनको सिद्धान्तमा निपुण र शिक्षित भनिएका व्यक्तिहरूमै अन्धविश्वासका लक्षणहरू देखापर्दा त झनै बढी झोक चल्थ्यो उनलाई । सुसंस्कृत भनिएका मानिसहरूले व्यक्त गरेका निन्दनीय घारणाहरू सुन्दा उनलाई त्योभन्दा बढी पीडादायी र असह्य कुरा अरू हुँदैनथ्यो । लाग्थ्यो, वैज्ञानिक चिन्तन सम्भवत: त्यति सर्वोत्कृष्ट पनि होइन, शाश्वत पनि होइन, अनादि पनि होइन, अभेद्य पनि होइन । अनि पहिले नै देवत्वकरण गरिएको चिन्तन पनि होइन, यो त
खालि थुप्रै चिन्तनमध्ये एक क्षणभङ्गुर चिन्तन हो, अनि यो परिवर्तन र पतनबाट मुक्त चिन्तन पनि होइन । उनीहरूका यस्ता धारणा फ्रेडरिकलाई अति हास्यास्पद लाग्थ्यो । यस्तो श्रद्धाहीन, विध्वंशकारी र विषालु अवधारणा जताततै व्याप्त थियो । फ्रेडरिकले पनि यसलाई अस्वीकार गर्न सकेका थिएनन्‌ । युद्ध क्रान्ति र भोकमरीले संसारभरि निम्त्याएको विपत्तिको परिणामस्वरूप यस्ता धारणाहरू एक्कासि देखापरेका थिए सबैतिर जसलाई गोरा हातहरूले सेता भित्तामा लेखिएका डरलाग्दा अक्षरहरूसित एउटा चेतावनीका रूपमा तुलना गर्न सकिन्थ्यो ।

यो विचार अस्तित्वमा आयो र यसले एकदमै गम्भीर ढङ्गले व्यधित तुल्याउने छ भन्ने तथ्यबाट जति जति उनी पीडा झेल्दै जान्थे उति उति उनी आवेशमा आएर यसमाथि र गुपचुप रूपमा विश्वास गर्ने शङ्कास्पद व्यक्तिहरूमाथि जाइलाग्ये । केही शिक्षित व्यक्तिहरूले मात्रै खुलेआम रूपमा उक्त नयाँ सिद्धान्तप्रति आफ्नो आस्था व्यक्त गर्दै त्यसको पक्षमा वकालत गरेका थिए, यस्तो सिद्धान्त जुन पहिल्यै निर्दिष्ट भएको होस्‌, जुन परिसञ्चरण र सत्तामा हासिल गर्नुपर्ने हुन्छ त्यो पनि सबै आध्यात्मिक मूल्य, मान्यता ध्वस्त पार्न र पृथ्वीमा अराजक स्थिति निम्त्याउन । तर जेहोस्‌ कुरो त्यो बिन्दुसम्म अझै पुगिसकेको थिएन, अनि जजसले यो विचार अँगालेका थिए, सङ्ख्यात्मक रूपमा उनीहरू एकदमै थोरै थिए, जसलाई सन्की र विचित्र व्यक्तिका रूपमा परिभाषित गर्न सकिन्थ्यो ।

तर विषको एक थोपा, यो विचारको उत्पत्ति दुवैलाई पहिलो घटनाका रूपमा तत्कालै लिन सकिन्थ्यो । अर्धदीक्षित मानिसहरूका माझ यो नयाँ सिद्धान्तको कुनै अन्त्य फेला पार्न सकिएन । संसारै यस्तै यस्तै गोप्य धार्मिक सम्प्रदाय र अनुयायीहरूले भरिएको थियो । जताततै अन्धविश्वास रहस्यवाद, आध्यात्मिक उपासना पद्धतिलगायत अन्य रहस्यमय शक्तिहरूको दुर्गन्ध फैलिएको महसुस गर्थ्यो जो कोहीले पनि । जससित जुध्नु अति जरुरी देखिन्थ्यो तर विज्ञानको कमजोरी भनौँ या के भनौं वर्तमानमा यसले बाधा पुर्याएको थिएन ।

एक दिन फ्रेडरिक आफ्नो एक जना पुरानो साथीकहाँ गए, जोसित उनले सँगै पढेका थिए । ती साथीसित भेट नभएको पनि थुप्रै भैसकेको थियो । घरको सिँढी उक्लिँदै गर्दा ती साथीसित कहिले र कहाँ यसअघि भेट भएको थियो, सम्झिने कोसिस गरे उनले । अरू कुरामा जितसुकै राम्रो स्मरण छ भनेर घमन्ड गरे पनि यो कुरा भने उनले पटक्कै स्मरण गर्न सकेनन्‌ । यसले गर्दा उनी भित्रभित्रै एकखालको सन्ताप र नराम्रो मनस्थितिमा फस्न पुगे यसबाट, साथीको घरको ढोकासामु उभिँदै गर्दा उनी आफूलाई त्यसबाट मुक्त गर्न बाध्य भए ।

आफ्नो साथी इर्बिनलाई अभिवादन गर्न नपाउँदै उनले इर्बिनको प्रफुल्ल मुहारमा एक प्रकारको धैर्य र हाँसो देखे जुन यसअघि कहिल्यै नदेखेजस्तो लाग्यो उनलाई । यस्तो मित्रताको बावजुद तुरुन्तै उनलाई त्यो हाँसोमा कतै वैरभाव वा उपहास पो छ कि भन्ने महसुस भो । आफ्नो स्मरणमा इर्बिनसितको पछिल्लो भेटको कूरा ल्याउने प्रयत्न गर्दै थिए । त्यो बेकार भएको उनले तुरुन्तै महसुस गरे । त्यति बेला उनीहरू झगडा नगरी एकापसमा छुट्टिएको याद आयो फ्रेडरिकलाई । यसमा शङ्कै थिएन तर अझै इर्बिनको मुहारमा मनमुटाब र असन्तुष्टिको भाव झल्किन्थ्यो । त्यति बेला इबिनले अन्धविश्वासमाथि फ्रेडरिकको आक्रमणलाई धेर थोर समर्थन दिएकै थिए ।

यो त अचम्मै भो, कसरी उनी पूरै बिर्सिन सक्थे र ? लामो समयसम्म साथीको खोजी नहुनुको खास कारण यही एउटा असन्तुष्टि मात्रै पो रहेछ कि भन्ने पनि लाग्यो उनलाई । यद्यपि उनी आफैले पनि साथी भेट्ने चाहनालाई पटक पटक स्थगन गर्न थुप्रै बहाना खोजेका थिए ।

यति बेला उनीहरू एकअर्काको सामुन्ने खडा थिए । फ्रेडरिकलाई यस्तो लाग्न थाल्यो कि त्यस दिनको सानोतिनो विवादले बिचमा ठुलै रूप पो धारण गरेछ कि । एकापसमा रहेको प्रेम, सद्भाव, स्वस्फूर्त समझदारी र ऐक्यवद्धताको सुगन्धजस्ता चिजहरू आफू र इर्बिनका बिच अहिले आएर हराउँदै गएको महसुस भो फ्रेडरिकलाई । त्यस्ता क्राहरूको साटो शून्यतामात्रै थियो यति बेला ।

एकापसमा अभिवादन साटासाट गरे उनीहरूले मौसमका वारेमा कुरा गरे । आफ्नो चिनापर्चीका वारेमा कुरा भए, स्वास्थ्यका वारेमा सोधपुछ भए, अनि खै कन्नि किन हो हरेक शब्दले फ्रेडरिकलाई बेचैन तुल्यायो, उनी आफ्नो साथीलाई पटक्कै बुझ्न सकिराखेको थिएनन्‌ या उनका साथीले उनलाई चिन्नै सकेनन्‌ । उनले बोलेका शब्दहरूले अर्थ दिइरहेका थिएनन्‌ । वास्तविक कुराकानीका लागि उनीहरूले साझा थलो फेला पार्न सकेनन्‌ ।

यति हुँदाहँदै पनि इर्बिनको मुहारमा मित्रवत्‌ मुस्कान अझै कायम थियो । फ्रेडरिकले त्यही मुस्कानलाई घृणा गर्न थालिसकेका थिए ।

चर्को कराकानी एकछिनका लागि थामिएको थियो । यसैबिच फ्रेडरिक आफूले चिनेजानेको स्टुडियो वरिपरि नजर लगाउन थाले । यसै क्रममा भित्तामा पिनले टाँसेको कागजको टुक्रामाथि उनको आँखा पर्यो । त्यो दृश्य देख्दा अनौठो अनुभूति भयो उनलाई । अनि पुराना स्मृतिहरू आँखाअगाडि नाच्न थाले । एकाएक उनलाई याद आउन थाल्यो, धेरै वर्ष पहिले विधार्थी छदाँ कुनै कवि, चिन्तक वा दार्शनिकका महत्वपूर्ण भनाइहरू यसै गरी कागजमा लेखेर टाँस्ने बानी थियो इर्बिनको । उनी जुरुक्क उठे अनि कागजमा लेखिएको कुरा पढ्न भित्तातिर लम्के ।

त्यहाँ इर्बिनका सुन्दर लेखनमा कुँदिएका शब्दहरू यस्ता थिए बाहिर केही छैन, भित्रपनि केही छैन, किनकि बाहिर जे छ त्यो भित्रै छ ।

डरले निलो कालो हुँदै फ्रेडरिक एकछिन हलचल नगरी ठिङ्ग उभिए । ए यस्तो पो ! आफू जुनसित डराएको हो, त्यही चिजको आमुन्ने सामुन्ने खडा भए उनी । अरू बेला भए उनी यो कागजको पत्तालाई वास्ता गर्ने थिएनन्‌ होला, केटाकेटीको लहडबाजी ठानेर सहने थिए होलान्‌ । जोसुकैलाई सम्बोधन गरिएको होस्‌ त्यसलाई हानिरहित सामान्य कमजोरी ठान्ने थिए होलान्‌ । सम्भवतः आसक्ति उन्मुख एउटा तुच्छ भावुकता सम्झेर । तर यति बेला परिस्थिति अलि फरक थियो । उनले महसुस गरे कि यी शब्दहरू खालि एउटा क्षणिक काव्यिकवृत्तिका लागि मात्रै टाँसिएको थिएन । युवावस्थाको अभ्यासतिर इर्बिन धेरै वर्षपछि फर्किने उटपट्याङ मात्रै गरेका थिएनन्‌ । यति बेला जे लेखेर टाँसिएको छ, त्यो उनको साथीको चासोको आत्मस्वीकारोक्तिका रूपमा लिए फ्रेडरिकले । के रहस्यवाद भनेको यही हो ? अथवा इर्बिन विश्वासघाती भएर निक्ले ।

फ्रडरिक बिस्तारै इर्बिनतिर फर्के, जसको मुहारमा फेरि मुस्कान छायो । “के भन्न खोजेको हो यो भनाइले, मलाई प्रस्ट पार त” उनले इर्बिनसित आग्रह गरे । इर्बिनले मुन्टो हल्लाए, पूरै मित्रवत व्यहार देखाउँदै- “तिमीले यो भनाइ कहिल्यै पढेका छैनौ कि क्या हो ?”

“अवश्य पढेको छु, थाहा छ मलाई यो रहस्यवाद हो । यो काव्यिक हुन सक्छ तर जे होस्‌, यस भनाइको व्याख्या गरिदेऊ त मलाई, अनि यो पनि भन त किन यो तिम्रो घरको भित्तामा झुन्डिबसेको छ ?”

“ज्यादै खुसीको कुरो” इर्बिनले भने “यो भनाइ ज्ञानमीमांसाको पहिलो परिचय हो । आजभोलि म यसको अध्ययनमा लागेको छु, यसैले त मेरो जीवनमा यत्रो खुसी ल्याएको छ ।”

फ्रेडरिकले आफ्नो आवेशलाई नियन्त्रण गरे, उनले सोधे- “नयाँ ज्ञानमीमासा रे ! त्यस्तो पनि हुन्छ कहीँ ? अनि त्यसलाई के भन्छन्‌ नि ?”

इर्बिनले जबाफ दिए “औहो ! यो त मेरा लागि मात्रै नयाँ कुरा हो। यो त निकै पुरानो र पुजनीय पो छ त। यसलाई रहस्य वा ज दुगरी भन्छन्‌ ।”

शब्द इर्बिनको मुखबाट फुत्किहाल्यो । इर्बिनको निष्कपट साबिती बयानबाट उनी एकदम स्तब्ध र खङ्रङ्ग भए । थरथर काम्दै गरेका फ्रेडरिकलाई साथीको भेषमा एउटा कट्टर दुश्मनसित आँखामा आँखा जुधाएको महसुस भो । उनलाई थाहा भएन उनी आँसुको नजिक छन्‌ कि आवेशको, एउटा अपुरणीय क्षतिको तितो भावनाले उनलाई गाँज्यो । निकै बेरसम्म उनी मौन रहे ।

त्यसपछि आफ्नो आवाजमा बनावटी निर्णय लिँदै उनले सोधे- “उसो भए तिमी अब जादुगर बन्न खोज्दै छौ हैन ?”

“हो,” इर्बिनले जबाफ दिए ।

“एक प्रकारको सिकारु जादुगर कि कसो ?”

“अवश्य” ।

सँगैको कोठामा घडीको टिकटिक आवाज सुनियो, त्योबाहेक एकदम शान्त ।

त्यसपछि फ्रेडरिकले भने- “यसको मतलब तिमी विज्ञान र मसितको भाइचारा सम्बन्ध सबै तोड्दै छौ, हैन ?”

“मैले त्यसो भन्न खोजेको हैन, यदि त्यस्तो हुनु नै छ भने म बबुरो के नै गर्न सक्छु र ?” इर्बिनले भने ।

तिमी के चाहिँ गर्न सक्छौ ? फ्रेडरिक एक्कासि जङ्गिए, “यो केटाकेटी पारा तुरुन्त सदाको लागि त्यागिदेऊ । अनि यो बेकारको जाबो जादुगरीमाथिको विश्वास पनि त्यागिहाल त । यदि तिमी मेरो सम्मान गर्छौ भने यति काम गरिहाल त ।”

इर्बिन मुसुक्क हाँसे, यद्यपि उनी पनि धेरै बेरसम्म प्रफुल्ल रहन सकेनन्‌ ।

इर्बिन नरम स्वरमा बोल्दै गर्दा फ्रेडरिकका कटु आवाज कोठामा अझै गुन्जिरहेका थिए । उनले भने, “तिमी त यति सजिलै भन्छौ कि मानौँ यो सबै मैले मेरै इच्छाले मात्रै गरेको हुँ । फ्रेडरिक, यदि मसित अन्य कुनै विकल्प भैदिएको भए सायद म त्यसो गर्ने नै थिइनँ होला ।” “कुरा त्यसो होइन मसित अरू विकल्प थिएन र छैन पनि, यो टुनामुना मैले चुनेको होइन, दुनामुनाले नै मलाई चुनेको हो ।”

क्रमश…