संसार प्रसिद्ध टाइम म्यागेजिनको नयाँ अङ्कमा संसारका प्रभावशाली व्यक्तिहरूको सूची जारी गरेको छ ।
यो सूचीमा भारतबाट मनोरञ्जन उद्योगका दुई प्रभावशाली व्यक्तित्व सूचीमा परेका छन् । सूचीमा पर्नेहरूमा फिल्म निर्देशक एसएस राजामौली र अभिनेता शाहरूख खान परेका छन् ।
राजामौलीले आरआरआर फिल्म बनाएर अस्करमा संगीततर्फ पुरस्कार मात्र हात पारेनन्, उनको फिल्मले संसारभरबाट हजार करोड बढी व्यापार गर्यो । नेपालबाट भने यसले उति राम्रो व्यापार गरेको पाइएन । हालै चलचित्र विकास बोर्डले जारी गरेको नेपालमा सबैभन्दा बढी व्यापार गर्ने १० फिल्महरूको सूचीमा आरआरआर थिएन । त्यसो त यसले नराम्रो व्यापार गरेको भने होइन ।
राजामौलीमाथि टाइम म्यागेजिनमा अभिनेत्री आलिया भट्टले टिप्पणी गरेकी छन् । उनले पहिलो पटक राजामौलीलाई बाहुबली २ को प्रिमियरका बेला भेटेको र फिल्म हेरेदेखि नै उनीसँग काम गर्नु आफ्नो सपना भएको, लगत्तै आरआरआरमा काम पाउँदा सपना पूरा भएको कुरा लेखेकी छन् । उनले आरआरआरमा काम गर्नु पुनः विद्यालयमा भर्ती भएजस्तो अनुभूत भएको बताएकी छन् ।
भारतजस्तो विशाल मुलुकको फराकिलो जनसांख्यिक विविधता, स्वाद र संस्कृतिका मानिसलाई सिनेमाका माध्यमबाट एउटै सूत्रमा गाँस्नु अद्भुत कला भएको व्यक्तिका रूपमा प्रशंसा गर्दै अभिनेत्री भट्टले टाइम म्यागेजिनमा सानो टिप्पणी लेखेकी छन् ।
यो सूचीमा राजामौली प्रथम पटक परेका हुन् ।
यसैगरी टाइमको प्रभावशाली सय जना व्यक्तिहरूको सूचीमा अभिनेता शाहरूख पनि छन् । उनी अभिनित पठान फिल्मले भारतबाट मात्र ५०० करोडको व्यापार गर्न सफल भयो । नेपालमा पनि उनको फिल्म निकै रूचाइयो । नेपालमा उनको फिल्मले १३ करोड २७ लाख बढीको व्यापार गरेको हालै चलचित्र विकास बोर्डले जनाएको छ ।
टाइम म्यागेजिनको प्रभावशाली सूचीमा यसअघि पनि परिरहने अभिनेता शाहरूख खानमाथि अभिनेत्री दीपिका पादुकोणेले टिप्पणी लेखेकी छन् । उनले पहिलो पटक शाहरूखलाई १६ वर्षअघि बैंगलोरबाट मुम्बई आउना साथ भेटेको स्मरण गरेकी छन् । उनले खानको फिल्ममा अभिनयका लागि प्रस्ताव गएको र त्यस उप्रान्त अहिलेसम्म उत्तिकै विश्वास, सम्मान र प्रेमपूर्ण सम्बन्ध रहेको टिप्पणी गरेकी छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।