
हजार वर्ष भन्दा लामो लेख्य इतिहास भएको नेपाली भाषाले आफ्नो जीवनमा प्राप्त गरेको सबै भन्दा प्रखर भाषासेवीको नाम हो— बालकृष्ण पोखरेल । यस्तो व्यक्तित्व, जसले नेपाली भाषाको शुद्धता र मौलिकताका पक्षमा २३ वर्षको कलिलो उमेरमै शंखनाद गऱ्यो, जसले देखाएको बाटोमा हिंडेर नेपाली भाषाले अपूर्व उँचाइ र विस्तार हासिल गऱ्यो, अनि जसले जीवनको अन्तिम प्रहरमा समेत आउँदो युगका लागि भाषाको राजमार्ग निर्माण गरेर गयो । भाषा–वाङ्मयको यस्तो महर्षि, जसले नेपाली भाषाको दिशा निर्धारण गऱ्यो, थिति बसायो, भाषिक अनुसन्धानको जग हाल्यो, भाषाशास्त्रीहरूको प्रथम पुस्ता तयार गऱ्यो र छ दशक भन्दा बढी भाषिक उन्नयनको एकच्छत्र नेतृत्व गऱ्यो । यो यस्तो अवधि हो, जसलाई नेपाली भाषाको ‘बालकृष्ण युग’ भन्नु समीचीन हुनेछ ।
बहुआयामिक प्रतिभा र दुर्लभ अध्यवसायको पुञ्ज प्रतीत हुनुहुन्थ्यो बालकृष्ण गुरु । भाषिक अध्ययन, अनुसन्धान, विश्लेषण, शब्दकोश निर्माण र जातीय इतिहास अन्वेषणमा त उहाँले दुर्लंघ्य शिखरहरू खडा गर्नुभएकै छ; कथा, काव्य, निबन्ध र उपन्यास रचनामा समेत आफ्नो प्रतिमान आफैं हुनुहुन्थ्यो । तथापि, उहाँको मूल व्यक्तित्व भने भाषाविज्ञानीकै हो र त्यसको पनि चुरोका रूपमा उहाँको ‘बालकृष्णत्व’ नेपाली भाषाको दिशानिर्धारक र मार्गनिर्देशकका रूपमा प्रकट भएको छ । त्यही बालकृष्णत्वको सेरोफेरोमा एक दशक अघि उहाँसँग संवाद, सान्निध्य र सहकार्यको अवसर मलाई प्राप्त भयो, जो सौभाग्यवश नेपाली भाषाकै निम्ति उल्लेखनीय उपलब्धिको कारण बन्न पुग्यो । यस आलेखमा म त्यसैको स्मरण गर्दै उहाँप्रति स्मृतिसुमन समर्पण गर्न चाहन्छु । त्यो उपलब्धि थियो : ‘नेपाली कसरी शुद्ध लेख्ने ? (नेकशुले) – २०६९’ को निर्माण ।
पहिले अलिकति पृष्ठभूमि । पत्रकारितामा समय खर्चिरहेको म भाषाशास्त्री अथवा नेपाली भाषाको जागिरे शिक्षक थिइनँ, भाषालाई माया र श्रद्धा गर्ने भाषा–प्रयोगकर्ता मात्र थिएँ । त्यही श्रद्धाका कारण नेपाली बृहत् शब्दकोश (२०४०) मा हिज्जे बिगारिएका गरिब, कानुन, सिकार, कोसिस, खुसी जस्ता शब्दलाई मूल प्रविष्टि दिएर तिनको शुद्ध र मूल रूपलाई गौण प्रविष्टि दिंदै दोस्रो दर्जामा झारिएको देख्ता स्तब्ध र मर्माहत भएको थिएँ । र, लहडबाजीमा हिज्जे बिगार्न हुँदैन, शुद्ध रूप नै लेख्नुपर्छ भनेर ‘नेपाल प्रेस इन्स्टिच्यूट’ मार्फत २०४१ सालदेखि नै पत्रकारहरूलाई भाषाको प्रशिक्षण दिंदै आएको थिएँ । यो कसैको विरोध वा कुनै अभियान नभएर भाषा अर्थात् वाग्देवीको सात्विक अर्चना मात्र थियो । अन्य मञ्च र अवसरहरूमा पनि आफ्नो मत राम्रैसँग राख्तै आइरहेकै थिएँ । यसै क्रममा २०६८ माघमा यशस्वी साहित्यकार जगदीश घिमिरेले केही प्रतिष्ठित लेखक–साहित्यकारलाई ‘मन्थली यात्रा’ गराएर ‘नेपाली भाषाको प्रवृत्ति’ बारे छलफल चलाउनुभएको थियो, जसमा मैले विषय प्रस्तोताका रूपमा हिज्जेका नाममा नेपाली भाषामा चलेको भाँडभैलोबारे विस्तारपूर्वक बताएको थिएँ । भाषिक अराजकताबाट पीडित र चिन्तित सहभागीहरूले काठमाडौं फर्केपछि यस विषयमा एउटा लेख लेख्न मलाई बाचा गराउनुभयो र भन्नुभयो, ‘त्यसको आधारमा हामी एउटा घोषणापत्र जारी गरौं ।’
तदनुसार, फागुन चौथो हप्तामा मैले हिज्जेका नाममा भाषामा मच्चिएको भाँडभैलो, त्यसको पृष्ठभूमि र त्यसले नेपाली भाषालाई कसरी दुर्गतितर्फ उन्मुख गराइरहेको छ भन्ने स्पष्ट पार्दै नितान्त फरक शैलीमा दुइटा लेख लेखें । दुवै लेख २०६८ चैत ४ गते शनिवार एकै दिन दुई प्रमुख अखबारका साप्ताहिक परिशिष्टांकहरूमा मुख्य आलेखका रूपमा छापिए, झण्डै डेढ–डेढ पृष्ठ ओगटेर । एउटा लेख ‘हिज्जेको भाँडभैलो’ शीर्षकमा नागरिक दैनिकमा, अर्को लेख ‘हिज्जेको खेल, लेख्ने जति फेल’ शीर्षकमा कान्तिपुर दैनिकमा । त्यसले राम्रै तरंग ल्यायो ।
अर्को शनिवार, २०६८ चैत ११ गते, आपसी फोन सम्पर्कबाट करीब १०० जना प्रतिष्ठित लेखक, साहित्यकार, पत्रकारहरूको भेला ललितपुरको पाटनढोकामा सम्पन्न भयो, जसको प्रबन्ध पत्रकारितामा सक्रिय एकजना भाषाप्रेमीले गर्नुभएको थियो । सरकारी स्रोत, साधन र राज्यशक्तिको बलमा भाषा भाँड्न लागिपरेकाहरूलाई अस्वीकार गरिएको सो भेला साहित्यकार जगदीश घिमिरेले यी वाक्य मार्फत प्रारम्भ गर्नुभएको थियो, ‘आजको भेलामा कोही आयोजक र कुनै कार्यपत्र छैनन् । भाषाबाट पीडित हामी आफ्ना भावना र वेदना पोखौं र केही गर्ने संकल्प गरौं भनेर फोन सम्पर्कबाट भेला भएका हौं । गएको शनिवार कान्तिपुर र नागरिकमा छापिएका वस्तीजीका लेखहरू तपाईंहरूले पढ्नुभएकै छ । यो भेला त्यसैका आधारमा अघि बढ्छ ।’

शरच्चन्द्र वस्ती
‘नेपाली भाषा प्रयोगकर्ताहरूको भेला’ नाम दिइएको सो भेलामा त्यसपछि मैले आफ्ना कुरा राखें । तदनन्तर खगेन्द्र संग्रौला, हरि अधिकारी, केदार शर्मा, गोविन्द वर्तमान, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, नारायण ढकाल, धीरेन्द्र प्रेमर्षि, हस्त गुरुङ, नयनराज पाण्डे, किशोर नेपाल, मोहन मैनाली, पारस नेपाल, शेखर खरेल, बुद्धिसागर, धर्मेन्द्र झा, कृष्णमुरारि भण्डारी, गाउँले बलदेव, राप्रउ पोखरेल, रमेश गोर्खाली, अभि सुवेदी, अविनाश श्रेष्ठ, श्रवण मुकारुङ लगायत ३८ जनाले भाषिक अराजकताले आफूलाई दिएको असहनीय पीडा पोख्नुभयो । भेलाले उक्त दुई लेखहरूमा गरिएको प्रस्ताव अनुरूप तीनबुँदे ‘ललितपुर घोषणापत्र’ सर्वसम्मतिबाट पारित र जारी गर्यो । घोषणापत्रका तीन बुँदा थिए :
क. जुनसुकै भाषाबाट आएका भए पनि, लोकव्यवहारमा पचिसकेका ‘तत्सम’ शब्दको इकार–उकार, श–ष–स आदि नबिगारी जस्ताको तस्तै लेख्ने । जस्तै— नीर, तीर, जीप, टीचर, सीट; समीप, शरीर, शहीद, अपील, गरीब, वकील; खूबी, छूट, बूट, स्कूल, स्कूटर; कानून, कार्टून, नमूना, मजदूर, महसूस; शर्त, शहर, शायद, शायर, शेक्सपियर, शेयर; कोशी, कोशिश, खुशी, दशैं, पेशा, फेशन, होश, सिफारिश आदि (उदाहरणमा कुल ९४ शब्द) ।
ख. परम्परागत रूपमा दीर्घ लेखिंदै आएका शब्द यथावत् लेख्ने । जस्तै— कीरो, खीर, तीतो, मीठो, भीड, मीत, शीत, हीरा, ठूलो, दूध, फूल, पूरा, बूढो आदि (उदाहरणमा कुल २६ शब्द) ।
ग. नेपाली भइसकेका तत्सम शब्दमा प्रत्यय लगाउँदा मूल शब्दको ह्रस्व–दीर्घ, श–ष–स आदि जबर्जस्ती नबिगारी लेख्ने । जस्तै— जोशिलो, विश्वासिलो, विदेशिनु, पुष्ट्याइँ, दुष्ट्याइँ, स्वीकार्नु, पूर्वेली आदि (उदाहरणमा कुल १५ शब्द) ।
त्यस भेलामा स्वनामधन्य भाषासेवी कमल दीक्षित पनि जोडिनुभएको थियो, जगदीश घिमिरेको फोन मार्फत । उहाँले नेपाली भाषालाई शुद्ध बनाउन, मानकीकरण गर्न भएका प्रयासबारे सूत्रबद्ध रूपमा केही बताउनुभयो र भन्नुभयो— तपाईंहरूले कुरा गरेर मात्र भएन, म प्रकाशक हुँ, मैले केका आधारमा अघि बढ्ने ? उहाँका शब्द थिए, ‘वस्तीजी, घोषणापत्रले मात्र पुग्दैन । मलाई एउटा व्यवस्था दिनोस् र टेक्नलाई ठाउँ दिनोस् ।’ मैले आफ्नै मात्र बलबुतामा सिंगो भाषिक व्यवस्था खडा गर्ने कल्पना गरेको थिइनँ । गर्न सक्ने कुरै थिएन । त्यसैले कुनै जवाफ दिइनँ ।
लेखहरूले ल्याएको तरंग त छँदैथियो, त्यसमा ‘ललितपुर घोषणापत्र’ समेत थपिएपछि मानौं विस्फोट भयो । हिज्जेका नाममा चलाइएको भाषिक भाँडभैलो विरुद्ध प्रतिष्ठित सञ्चार माध्यमहरूमा वरिष्ठ लेखक, साहित्यकार, पत्रकारहरूका लेख र अन्तर्वार्ताहरूको अपूर्व लहर आयो । भाँडभैलोका संवाहकहरूले पनि केही लेख नलेखेका होइनन् तर तिनले उक्त दुई लेखमा उठाइएका मध्ये एउटा पनि तर्क वा उपपत्तिको खण्डन गर्न सकेनन्, न त भाँडभैलोका पक्षमा कुनै बलियो आधार नै प्रस्तुत गर्न सके । बासी गन्थन र थोत्रा विवरणहरूको संकलन जस्ता लाग्ने ती ऊर्जाशून्य लेखहरूबाट भाषा बिगार्नेहरूको दम्भ र खोक्रोपन मात्र उद्घाटित भयो ।
घोषणापत्र जारी भएपछि कमल दीक्षितले यसमा विशेष चासो देखाउनुभयो र ‘घोषणापत्रमा मात्र चित्त बुझाएर बस्न भएन है’ भनेर घचघच्याउन थाल्नुभयो । यसैबीच बालकृष्ण गुरु विराटनगरबाट काठमाडौं आउनुभएछ र दीक्षितले उहाँसँग २०६९ वैशाख २ गते शनिवार अपराह्न सानो भेटघाट आयोजना गर्नुभयो । त्यसमा हामी तीन जना बाहेक जगदीश घिमिरे, नगेन्द्रराज शर्मा र रोचक घिमिरेको समेत सहभागिता थियो ।
सामान्य भलाकुसारी पश्चात् ललितपुर घोषणापत्रको कुरा उठ्यो । गुरुलाई त्यसबारे राम्ररी थाहा रहेछ । त्यसको पहिलो बुँदा अर्थात् मुख्य चासो नै संस्कृतबाट आएका नीर, वीर, शरीर, मूल, मयूर, देश, वंश आदि शब्दलाई झैं, अन्य भाषाबाट जस्ताको तस्तै आएका ठीक, भीड, सीट, शहीद, गरीब, कानून, स्कूल, नमूना, खुशी, शहर, कोशिश, फेशन आदि शब्दलाई पनि इकार–उकार, श–ष–स आदि नबिगारी जस्ताको तस्तै लेख्नुपर्छ भन्ने थियो । त्यसका पक्षमा मैले केही भनेपछि गुरुले गम्भीर स्वरमा भन्नुभयो, ‘गोडापाँचेक शब्दमाथि पुनर्विचार गर्न सकिन्छ । अरूलाई चलाउन मिल्दैन ।’
गुरुको निर्णयात्मक प्रतीत हुने वाक्यपछि केही वेर सन्नाटा छायो । कसले के भन्ने ? एक छिन पछि मैले नै मौन तोडें । गुरु र मबीच सात–आठ मिनट संवाद भयो । अरूहरू चूपचाप सुनिरहनुभएको थियो । मैले आफ्ना तर्क राखेपछि गुरुले भन्नुभयो, ‘त्यसो भए तीन सय जति शब्दको परिगणन गरेर एउटा सूची बनाउन सकिन्छ ।’
सात–आठ मिनेटमै गुरु पाँच शब्दबाट तीन सय शब्दमा पुग्नु हामी सबैका लागि अप्रत्याशित एवम् अविश्वसनीय परिघटना थियो । गुरुको मुखबाट त्यो वाक्य निस्कनासाथ कमल दीक्षितले आफ्नो चिरपरिचित शैलीमा मौका छोप्नुभयो, ‘ल, ठीक छ । हामीलाई यसबारे केही थाहा छैन । गुरु घट्टेकुलोमा आफ्नो भतीजाको घरमा बस्नुभएको छ । अहिले पूरै फुर्सतमा हुनुहुन्छ । अब गुरुसँग भोलिदेखि वस्तीजीले कुरा गर्ने । हप्ता, दुई हप्ता जति लाग्छ, तपाईंहरूले छलफल गरेर निष्कर्ष निकाल्नोस् । त्यो व्यवस्था हामीलाई मान्य हुन्छ । आजको निर्णय यही भयो है त !’
सबैका आँखा गुरुको अनुहारमा केन्द्रित थिए । गुरुले स्वीकृतिको सूचना दिंदै मलाई भन्नुभयो, ‘भतीजाको घर खसी चोक नजीकै छ । बिहान १० बजे आउनुहोला ।’
कमल दीक्षितका मनमा धेरै कुरा पाकिसकेको रहेछ । उहाँले थप्नुभयो, ‘यो नयाँ नेकशुले हुनेछ । नेकशुले–२०६९ । यसलाई नेभाप्रस–२०६९ ले जारी गर्नेछ । त्यो भनेको नेपाली भाषा प्रयोगकर्ता समूह हो ।’ यसमा पनि सबैको सहमति भयो ।
मेरो भने सास रोकिए जस्तो हुन थालेको थियो— भित्रको सास भित्र, बाहिरको बाहिर । एकाएक शिर भारी भयो र नराम्ररी रन्कन थाल्यो । सोच्न थालें— बालकृष्ण गुरु जस्तो अपरिमेय व्यक्तित्वसँग मैले के छलफल गर्ने ? हामीले त उहाँको आदेश मान्ने हो । अनुसरण गर्ने हो । जुन मान्यताका विरुद्ध ललितपुर घोषणापत्र जारी भएको छ त्यही मान्यताका प्रणेता एवम् प्रवर्धकलाई, जो सारा नेपाली भाषाशास्त्रीहरूका गुरु हुनुहुन्छ र जुन गौरीशंकरका सामु अरू सबै वामन थुम्काथाम्की प्रतीत हुन्छन्, मैले आफ्नो कुरामा कसरी सहमत गराउने ? कुन भुमरीमा हालिदिनुभयो कमल दीक्षितहरूले मलाई ? सोच्तासोच्तै आँखा अगाडि अँध्यारो छाए जस्तो भयो । बेलुका घर फर्कंदा कताकता ज्वरो आए जस्तो, हातखुट्टा शिथिल भए जस्तो अनुभव गरिरहेको थिएँ ।
त्यही रनाहामा मैले प्रा.डा. कुमारबहादुर जोशीलाई फोन गरें र सबै वृत्तान्त सुनाएर भनें, ‘मैले कल्पना पनि गर्न नसक्ने बोझ मेरो टाउकामा पर्यो, यो काम म कसरी पार लगाउन सकौंला र ?’
उहाँले शान्त स्वरमा भन्नुभयो, ‘हेर्नोस्, तत्त्वार्थेन तु पण्डितम् भनेको छ । तपाईंलाई थाहै होला । बालकृष्ण गुरु सच्चा अर्थमा पण्डित हो । तपाईं आफ्ना कुरा निश्शंक भएर उहाँका सामु राख्नोस् । मलाई विश्वास छ, तपाईंका कुरा गुरुले स्वीकार गर्नुहुनेछ ।’
त्यतिले पुगेन जस्तो लागेर होला, उहाँले थप्नुभयो, ‘तपाईंभित्र के छ भन्ने शायद तपाईंलाई भान छैन । तपाईंका ती दुइटा लेख पढेर मैले तपाईंको शक्ति थाहा पाएको छु । सरस्वती मातामा विश्वास गर्नोस्, उनले साथ दिनेछिन् । तपाईंका कुरा सुनेपछि गुरुले नाइँनास्ति गर्नुहुनेछैन । उहाँलाई आफ्नै मनको कुरा पाए जस्तो लाग्नेछ ।’
उहाँका कुराले अलिकति ढाडस जस्तो त भयो, पूरै विश्वस्त चाहिं तैपनि भइनँ । भोलिपल्ट बिहान उठ्ता टाउको भारी नै थियो । त्यही अवस्थामा तर निर्धारित समयमा गुरुकहाँ पुगें । त्यसपछि लगातार सात दिन, बिहान दश–साढे दशदेखि बेलुका छ–साढे छ बजेसम्म गुरुसँग कुरा भयो, जसको परिणामस्वरूप नेकशुले–२०६९ तयार भयो ।
सबैलाई थाहा भएकै कुरा हो, बालकृष्ण गुरु एउटा शब्द समातेर बोल्न थालेपछि दुई–तीन घण्टासम्म रोकिनुहुन्नथ्यो । यद् ब्रह्माण्डे तदेव पिण्डे भनेझैं त्यही एउटा शब्दको अर्थ, व्युत्पत्ति, निरुक्ति, इतिहास, भूगोल, पुराण, परम्परा र मानवशास्त्र समेतको व्याख्या गर्दै विश्व भ्रमण गराइदिनुहुन्थ्यो । पहिलो दिनमै, आधा घण्टा जति प्रारम्भिक संवाद भएपछि मैले भन्न पुगें— ‘कोशी’ को ‘श’ चाहिं किन पातलो पार्नुपर्ने नि ?
बस्, के थियो ? त्यही कोशी शब्दलाई पक्रेर करीब साढे दुई घण्टा गुरुले व्याख्या गर्नुभयो, जसमध्ये तीन–चौथाइ कुरा म पहिलो पटक सुन्दैथिएँ । अज्ञात संसारको यात्रामा लैजानुभयो उहाँले । बीचमा बाधा पार्ने आँट आएन, चूपचाप सुनिरहें । अरू दुइटा शब्दको कुरा चल्यो र गुरुले भाषिक सिद्धान्त र नियमहरूको विशद चर्चा गर्नुभयो । म उसैगरी सुनिरहेको थिएँ । मनमा एउटै कुरा खेलिरहेको थियो— यो पाराले त के पार लाग्ला र ?
बेलुका साढे पाँच बजेतिर मेरो मुखबाट खै कसरी हो, पहिले नसोचेको कुरा अकस्मात् निस्कन पुग्यो । मैले भनें, ‘ऋषि जस्ता तपाईंसामु मैले भन्न सक्ने कुरा केही छैन । तर, मेरो विचारमा, भाषा सम्बन्धी कुनै पनि सिद्धान्त अथवा मान्यता जतिसुकै उच्च, महान र वैज्ञानिक भए पनि त्यसलाई व्यवहारमा लागू गर्ने कि नगर्ने भन्ने कुरा त्यसले भाषालाई व्यापक, गतिशील, सर्वग्राह्य र अग्रगामी बनाउँछ कि बनाउँदैन भन्ने आधारमा निर्णय गर्नु उचित हुन्छ होला । त्यस्तो बनाउँछ भने त ठीक छ, होइन र भाषाको विकास तथा गतिमा अवरोध खडा गर्छ भने त्यो सिद्धान्त अथवा मान्यतालाई शास्त्र, पुस्तक, अनुसन्धान र प्राज्ञिक बहसमा सीमित राखेर व्यवहारमा लागू नगर्नु नै राम्रो हुन्छ होला । भाषाको कुरा गर्दा यति विवेक त पुर्याउनैपर्छ होला ।’
यति भनिसक्ता नसक्तै म झसंग भएँ, दिनभरि गुरुले भनेका कुरालाई ठाडै नकार्ने खालको कुरा गरें भनेर । गुरु अपलक मेरो मुखमा हेरिरहनुभएको थियो । गुरुप्रति अविनय, अशिष्टता वा अवज्ञा प्रकट भयो कि भनेर मुटु ढुकढुक गर्न थाल्यो । हच्किंदै हच्किंदै मैले अर्को वाक्य थपें, ‘हाम्रो समाज हरेक क्षेत्रमा, सधैंभरि यसैगरी अघि बढ्दै आएको छ ।’
‘त्यस्तो कहाँ छ ?’ गुरुले थाहा नपाए जस्तो गरेर सोध्नुभयो ।
मैले भनें, ‘वेदान्त दर्शनले संसार र यहाँका समस्त कार्यव्यापारलाई मिथ्या मान्छ । भक्तिमार्गले ईश्वरको इच्छा विना यहाँ एउटा पात पनि हल्लँदैन भन्ने मान्छ । समाजलाई यसमा कुनै आपत्ति छैन । अझ यी सिद्धान्त र मान्यतालाई सम्मान नै गर्छ । तर, यसो भन्दैमा कसैले चोरी, डकैती, हत्या, बलात्कार आदिलाई यो मिथ्या हो अथवा ईश्वरको इच्छाले भएको काम हो, तसर्थ यसबापत मानिसलाई दण्डसजाय दिने परिपाटी खारेज गर्नुपर्छ भन्न थाल्यो भने समाजले त्यसलाई स्वीकार गर्छ त ?’
गुरु केही बोल्नुभएन । म विदा भएँ । फर्कंदा टाउको रनन्न भइरहेको थियो । (सातै दिन मेरो हालत लगभग यस्तै भयो । दिउसो मात्र होइन, राति निद्रामा पनि टाउको घुमिरहे जस्तो लाग्थ्यो ।) घर आइपुगेपछि कुमारबहादुर जोशी सरलाई फोन गरें र सबै कुरा बताएर भनें, ‘आज बढ्ता बोलें कि जस्तो लागिरहेको छ । गुरु रिसाउनुभयो कि क्या हो !’
उहाँले सम्झाउनुभयो, ‘हेर्नोस्, आज हिज्जेका नाममा जुन भाँडभैलो मच्चिएको छ, त्यसको बीउ २०३४ सालमा हामीले नै रोपेका हौं । यसले नेपाली भाषालाई विकृतितिर धकेल्न लागेको देख्ता मलाई ठूलो पीडा र पछुतो हुन्छ । तर, म उमेर र रोगले गर्दा केही गर्न सक्ने अवस्थामा छैन । यो पीडा र पछुतो मलाई भन्दा बढी बालकृष्ण गुरुलाई छ भन्ने मैले अनुभव गरेको छु, किनभने उसवेला त्यो बीजारोपण उहाँकै नेतृत्वमा, उहाँकै जोडबलमा भएको हो । तपाईं हामीलाई यो पीडाबाट मुक्त बनाउने माध्यम बन्दै हुनुहुन्छ । यो गुरुका लागि पनि खुशीको कुरा हो ।’ र थप्नुभयो, ‘तपाईंले जे भन्नुभयो, एकदम ठीक भन्नुभएको छ । यो हाम्रो मुटुमै लाग्ने कुरा हो । हेर्दै जानुहोला, यसले काम गर्छ ।’
जोशी सरको भनाइले मलाई निकै आश्वस्त बनायो । हुन पनि, बालकृष्ण गुरु आफूले लेख्ने गरेका ‘सब्द्यौली, मुर्ख्याइँ, आसालु, स्विकार्नु’ जस्ता शब्दलाई ‘सन्तानको डीएनए टेस्ट गर्दा पूर्वजसित पनि साइनो गाँसिन्छ’ भन्दै ‘शब्द्यौली, मूर्ख्याइँ, आशालु, स्वीकार्नु’ लेख्न थालिसक्नुभएको थियो (झर्रो शब्द्यौली-२०६४) । अनि केही महीना अघि मात्र ‘गरिमा’ लाई दिएको अन्तर्वार्तामा उहाँले ‘हिज्जे कथ्यको होइन लेख्यको आधारमा हुन्छ’ भन्दै कथ्य नेपालीको कानूनलाई लेख्य नेपालीमा लादेर हिज्जे बिगार्नेहरूलाई ‘भाषा नबुझ्ने’ संज्ञा दिनुभएको थियो । कताकता मलाई लाग्यो, गुरु खुल्न मात्र बेर हो, खुलेपछि सबै कुरा सजिलै मिल्छ ।
भोलिपल्ट घट्टेकुलो पुग्दा गुरुको मुद्रा तनावहीन थियो । उहाँले भन्नुभयो, ‘हिजो तपाईंले ठीक भन्नुभयो । आज तपाईंका अरू कुरा पनि भन्नोस् । म सुन्छु ।’ अनि आरामको मुद्रामा सोफामा अडेस लाग्नुभयो ।
गुरुको भावभंगिमा र आदेशले मेरो मन चंगा भयो । हिज्जेको अराजकता र त्यसले गर्ने हानिबारे छुट्न नहुने केही बुँदा टिपोट गरेको एउटा चिर्कटो गोजीमै थियो । त्यसलाई टेबुलमा राखें र आफ्ना कुरा भन्न थालें :
‘मेरो दृष्टिमा, समस्याको मूल जरो भनेको नेपालीमा संस्कृतबाट जस्ताको तस्तै आएका शब्दलाई यथावत् लेख्ने, अरू भाषाबाट त्यसैगरी आएका शब्दमा चाहिं शुरू र बीचमा रहेको दीर्घ इकार–उकार हटाएर ह्रस्व मात्र लेख्ने, श–ष हटाएर पातलो स मात्र लेख्ने भन्ने नियम नै हो । तद्भवीकरणका नाममा ल्याइएको यो नियम नेपाली भाषाको प्रकृतिविरुद्ध छ, त्यसैले प्राकृतिक नियम नै होइन । आज हिज्जेका नाउँमा देखा परेको भाँडभैलोको मुख्य कारण नै यही हो । यसलाई निरस्त गरिएन भने यो भाँडभैलो आगामी दिनमा अझ उग्र भएर जान्छ र नेपाली भाषा अन्योल र अराजकताको भुमरीमा पस्छ ।
‘मलाई के लाग्छ भने, नेपाली संकीर्ण, विभेदमुखी अथवा जड भाषा होइन । यो त एकदमै उदार, जीवन्त र गतिशील भाषा हो । एउटा भाषाबाट आएका शब्दलाई काखमा र अरू भाषाबाट आएका शब्दलाई पाखामा राख्नुपर्ने छुवाछुतवादी मान्यता यसको प्रकृतिमै छैन । आफूले ग्रहण गर्ने सबै शब्दको गरिमा र पहिचानलाई सम्मान गर्ने यसको नैसर्गिक चरित्र हो ।
‘हामीले आफ्नो भाषालाई समृद्ध पार्न भनेरै विभिन्न भाषाबाट शब्द लिएका हौं । ती शरणार्थीका रूपमा बास खोज्दै हामीकहाँ आएका होइनन् । त्यसरी लिइएका शब्द लोकले स्वीकार गरेर स्थापित भइसकेपछि एकाएक हिज्जे बिगारेर तिनको सामूहिक अंगभंग गर्न पाइँदैन । त्यो कृतघ्नता र अनैतिकता मात्र होइन, अपराध नै हुन जान्छ । मेरो दृष्टिमा त तिनलाई आगन्तुक भन्न पनि सुहाउँदैन । आगन्तुक भनेको अतिथि अथवा पाहुना हो, जो केही दिन पछि फर्केर आफ्नै घरमा जान्छ । यी त्यस्ता शब्द होइनन्, फर्केर जाँदैनन् । यहींका नागरिक भइसके ।
‘यो कथित नियम नेपालीमा दीर्घ इकार–उकार र श–ष उच्चारण नै हुँदैनन् भन्ने मान्यताको जगमा उभिएको छ । यो आफैंमा ठूलो भ्रम हो । हो, कैयौंले यिनको उच्चारण गर्न नसक्लान् अथवा नगर्लान् । तर, कसैले जानेन वा उच्चारण गर्न सकेन भने त्यसैलाई मानक बनाउन मिल्दैन । त्यो गलत बाटो हो । संस्कृतको ‘शरीर’ लाई पनि त कसैले ‘सरिर’ भन्दो होला नि । त्यसो भनेर त्यसलाई ‘सरिर’ त बनाएका छैनौं । उच्चारण जसरी गरिए पनि लेख्ता शुद्ध रूपमै लेख्छौं । यही कुरा संस्कृत बाहेकका भाषाबाट आएका शब्दमा चाहिं लागू हुँदैन भन्ने पनि हुन्छ र ? लेख्य र कथ्य भाषाका बेग्लाबेग्लै कानून हुन्छन्, एउटाको कानून अर्कोमा लगाउन हुँदैन भनेर तपाईंले नै भन्नुभएको छ । अनि, यस्तो कुरालाई कसरी नियम भन्न सकिन्छ ?
‘फेरि, दीर्घ इकार–उकार र श–ष हाम्रा बोझ होइनन्, सम्पत्ति हुन् । यिनको सही उच्चारण गर्न सिकाउनु हाम्रो दायित्व हो । त्यो त कहिल्यै सिकाएनौं, उल्टो यी अक्षरै चाहिंदैनन् भन्न थालेका छौं । यसले भावी पुस्ताको क्षमता घट्छ । उनीहरू कमजोर हुन्छन् र विश्वका अन्य भाषामा दक्ष हुन, प्रतिस्पर्धा गर्न सक्तैनन् । यो झन् ठूलो अपराध हुन्छ ।
‘मानव समाज अँध्यारोबाट उज्यालोतिर लागेरै अघि बढेको हो । गलतबाट सहीतिर, अपभ्रंशबाट शुद्धतिर जान चाहनु मानवजातिको आधारभूत प्राकृतिक स्वभाव नै हो । यही भएर संसार शब्दको मूल रूप र शुद्धतातिर फर्किरहेको छ । पेकिङ बेइजिङ भएको छ, बम्बे मुम्बई भएको छ । पहिले अपभ्रंश ‘ग्यांगेज्’ लेख्ने अंग्रेजीले अब शुद्ध ‘गंगा’ लेख्न थालेको छ । हामी चाहिं शुद्ध ‘खुशी’ लाई जात काढेर अपभ्रंश ‘खुसी’ तिर जाँदैछौं । यो त भाषिक प्रतिगमन नै भयो नि ।’
‘छोटी मुंह बडी बात’ जस्ता लाग्ने मेरा कुरा गुरु चूपचाप सुनिरहनुभएको थियो । त्यसले मेरो आत्मविश्वास बढायो । झन् जोशिएर भन्दै गएँ :
‘एउटा आदेश जारी गरेर हजारौं शब्दको हिज्जे एकमुस्ट परिवर्तन गर्नु भनेको अनधिकार चेष्टा हो । यस्तो काम गर्ने अधिकार कसैलाई हुँदैन । विद्वानहरूको बहुमत त के, सर्वसम्मतिबाट पनि गर्न मिल्दैन । यस्तो चेष्टालाई मान्यता दिनै हुँदैन । नत्र बाँदरलाई लिस्नो लगाइदिए जस्तो हुन्छ र कुर्सीमा पुगेपछि जसलाई जे मन लाग्यो त्यही आदेश जारी गर्ने अनर्थ–परम्परा शुरू हुन्छ । नेपाली भाषामा त्यही भएको छ । अर्कातिर, दशकौंदेखि राज्यकै शक्ति लगाएर बल गर्दा पनि यो आदेश आजसम्म स्वीकार्य हुन सकेको छैन । यो गर्न नहुने काम थियो भन्ने योभन्दा ठूलो प्रमाण के हुन सक्छ ?
‘झर्रोवादले नेपाली भाषालाई ठूलो गुन लगाएको छ । यो नभएको भए नेपाली भाषाले आफ्नो मौलिकता उहिल्यै गुमाइसक्थ्यो होला । तर, यही झर्रोवादको रन्कोमा २०४० को नेपाली बृहत् शब्दकोशमा हिज्जे बिगारिएका शब्दलाई मूल शब्दको दर्जामा उकालेर प्राथमिक प्रविष्टि दिइयो र हिज्जे नबिगारिएका मूल शब्दलाई चाहिं दोस्रो दर्जामा झारेर दोस्रो प्रविष्टि दिइयो । झ्वाट्ट हेर्दा दुवै हिज्जेलाई मान्यता दिएको जस्तो देखिए पनि यसले भयावह अनर्थ निम्त्यायो । किनभने, राज्यको आधिकारिक शब्दकोशमा जुन हिज्जेलाई प्राथमिक प्रविष्टि दिइएको छ, त्यही हिज्जे सरकारी कामकाज, औपचारिक लेखापढी र पाठ्यपुस्तकमा चलाउनुपर्ने हुन्छ । यसप्रकार यी सबै ठाउँमा अपभ्रंशले मान्यता पाउने भयो र मूल शब्द समाप्त हुने भए । पाठ्यपुस्तक विकृत बन्ने भए । नयाँ पुस्ताले मूल शब्दलाई अशुद्ध मान्ने भयो । लेखनाथ, देवकोटा र समलाई शुद्ध लेख्न नजान्ने ठान्ने भयो । शब्दकोशको यो गडबडीले अनेकौं विकृतिलाई जन्म दियो । भाषाका लागि योभन्दा दुःखद कुरा के हुन सक्छ ? उसवेला यस्तो होस् भनेर त्यसो गरिएको त पक्कै थिएन होला । यस्तो हुन्छ भन्ने अनुमानसम्म पनि भएको भए शब्दकोश त्यस्तो बन्दैनथ्यो होला ।
‘यसको सबै भन्दा डरलाग्दो पक्षमा त झन् कसैको ध्यान नै गएको छैन । यो नियमले नेपालकै राष्ट्रिय भाषाहरूबाट नेपालीमा आएका शब्दहरूलाई समेत दोस्रो दर्जाको ठान्छ र तिनको हिज्जे बिगारेर विरूप पार्छ । यस्तो नियम पञ्चायतकालमा ठीक मान्न सकिन्थ्यो होला, किनभने त्यसवेला राजनीतिक व्यवस्थाको चरित्र र मनोविज्ञान नै त्यस्तै थियो । तर, अब त राज्य पनि र समाज पनि सबैको अस्मिता र पहिचानको सम्मान गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । हरेक समुदायको पहिचानको एउटा प्रमुख आधार भाषा नै हो । आफ्नो समुदायमा पितृपुर्खादेखि चलेर आएका शब्दलाई सत्ताको बलमा कसैले अशुद्ध घोषित गर्छ र दोस्रो दर्जामा झारिदिन्छ भने त्यो चोट सहिनसक्नु हुन्छ । यसले ती भाषाभाषी समुदायमा नेपाली भाषाप्रतिको अपनत्व मात्र घटाउँदैन, दूरी र घृणा पनि बढाउँछ । यसप्रति समयमै संवेदनशील भइएन भने यसैले कालान्तरमा भाषिक द्वन्द्व निम्त्याउन सक्छ । यसले नेपाली भाषालाई नेपालभित्रै अस्वीकार्य बनाउन चाहने तत्वहरूलाई अकल्पनीय सघाउ पुर्याउँछ, जो नेपाली भाषा मात्र होइन देशकै लागि समेत ठूलो दुर्भाग्य साबित हुन सक्छ ।
‘यी सबै कुरामा गम्भीर भएर यो गल्ती सच्याउनैपर्छ । यसलाई सच्याएपछि योसँग जोडिएर आएका अरू विकृति पनि सच्चिंदै जान्छन् । मेरो आग्रह यत्ति हो । ललितपुर घोषणापत्रको मर्म पनि यही हो । गुरुको जो विचार ।’
यति भनेर म चूप लागें । मैले चिर्कटोमा टिपेर ल्याएका मुख्य बुँदा यिनै थिए । तर बोल्दै जाँदा अरू पनि धेरै कुरा बोलें । झन्डै दुई घण्टा बोलेंछु । मेरा अनाडी र अपरिपक्व तर्क सुन्दा गुरुलाई झ्वाँक पनि चल्यो होला, तर बीचमा केही बोल्नुभएन । मलाई चाहिं बढ्तै चर्का कुरा गरें, गुरुले के ठान्नुभयो होला भनेर असजिलो लागिरहेको थियो ।
‘त्यसो भए अब के गर्ने त ?’ झन्डै एक मिनट तन्किएको मौन पश्चात् गुरुले भन्नुभयो । उहाँको अनुहारमा अप्रसन्नताको छनक नदेखेपछि मेरो सास आयो । मेरा कुरामा कुनै प्रतिक्रिया नदिनुभएकाले मनमा तुलबुल त छँदैथियो ।
‘नयाँ नेकशुले बनाउने त होला नि’, मैले भनें, ‘तर यसमा मेरो एउटा कुरा छ ।’
‘के ?’
‘पुरानो नेकशुलेलाई शब्द विचार भनिएको थियो, यसलाई हिज्जे विचार भन्नुपर्छ होला ।’
‘अँ !’ उहाँले स्वीकृतिको संकेत दिनुभयो । त्यसपछि, भाँडिएको भाषालाई ठीक ठाउँमा ल्याउन राम्रै मिहिनेत गर्नुपर्ने बताउनुभयो । कता–कता के–के बिग्रिएको छ, ककसले बिगारेका छन्, त्यो पनि भन्नुभयो । एकछिन पछि कुरा जस्ताको तस्तै आएका ‘आगन्तुक’ शब्दतिरै मोडियो र गुरुले भन्नुभयो, ‘तिनलाई अपवादका रूपमा सूचीकृत गर्नुपर्छ । बढीमा तीन हजार पुग्लान्, त्यत्ति न हो ।’
मलाई आफूले त्यत्रो बेर त्यति जोड दिएर भनेका सारा कुरा बालुवामा पानी खन्याए सरह भए जस्तो लाग्यो । अनि विनम्र भाकामा प्रतिवाद गर्दै भनें :
‘पहिलो नेकशुलेले आजसम्म बाटो देखायो । गुरु जस्तो व्यक्तिको निर्देशनमा अब बन्ने नेकशुलेले कम्तीमा ५० वर्षका लागि बाटो देखाउनुपर्छ । मेरो विचारमा, यस्तो सूचीले बाटो बन्द गर्छ, त्यसैले सूची बनाउन हुँदैन । व्यवस्था नै दिनुपर्छ । आजसम्म आएका शब्दलाई त सूचीकृत गरौंला, तर अब आउनेलाई त्यसमा सूचीकृत गर्न सकिंदैन । आज सूची बनाऔंला, त्यो सूची जारी गरुन्जेलसम्ममा अरू दशवटा शब्द थपिइसक्छन् । निरन्तर आइरहेका हुन्छन् । तिनलाई के गर्ने ? वर्षैपिच्छे सूची जारी गर्न पनि व्यावहारिक हुँदैन । त्यसैले भोलिका लागि पनि समस्या नपर्ने गरी व्यवस्था नै दिनुपर्छ । जस्ताको तस्तै आएका शब्दलाई यथावत् लेख्ने भन्नासाथ समस्या समाधान भइहाल्छ ।’
त्यही सन्दर्भमा मैले थपें, ‘मलाई त के लाग्छ भने, तद्भवीकरणको सिद्धान्त नै अब असान्दर्भिक भइसकेको छ । त्यो आज भन्दा १० वर्ष अघिसम्म पनि सान्दर्भिकै थियो होला, तर सञ्चार–प्रविधिको तीव्र विकासले आजको दुनियाँमा अर्थहीन भइसक्यो । हिजो पो अंग्रेजीको ‘हस्पिटल’ शब्द नेपाल आइपुग्दा भारतको ‘हस्पताल’ हुँदै ‘अस्पताल’ भएर आएको थियो । आज भए त सीधै ‘हस्पिटल’ नै आउँथ्यो । आज विश्व नै एउटा गाउँ जस्तो भइसकेको छ । उता बोलेको यता सुनिन्छ, यता बोलेको उता, त्यो पनि दृश्य सहित । ज्ञान, विज्ञान, व्यापार, व्यवसाय, कुनै पनि क्षेत्रमा अघि बढ्न चाहने हो भने दुनियाँसँग प्रत्यक्ष दोहोरो संवाद अनिवार्य भइसक्यो । त्यसैले अब शब्दहरू कुनै पनि देशबाट अर्को देशमा जस्ताको तस्तै भ्रमण गर्न थालेका छन् । हिजो जे भयो, भयो । तद्भवका रूपमा स्थापित शब्द आफ्नै ठाउँमा छन् । तर, अब कुनै पनि भाषाबाट कुनै पनि भाषामा आउने–जाने शब्दहरू जस्ताको तस्तै, तत्सम रूपमा नै आउने–जाने गर्छन् । त्यसैले पनि शब्दको सूची बनाउन हुँदैन ।’
‘ल ठीक छ’, गुरुले सरक्कै मान्नुभयो । मलाई नाचूँ नाचूँ लाग्यो ।
त्यसपछि नयाँ नेकशुले उदार हुनुपर्ने, त्यसले मूल बाटो निर्धारण गर्ने तर कसैलाई निषेध नगर्ने, प्रचलनमा आइसकेका कुरालाई विकल्प अथवा अपवादका रूपमा मान्यता दिने जस्ता आधारभूत दिशानिर्देश गुरुले स्पष्ट पार्नुभयो । र, ‘भोलि आउँदा प्रारम्भिक खण्डको खेस्रा तयार पारेर ल्याउने’ आदेश दिनुभयो ।
बेलुका जोशी सरसँग फोन–वार्ता हुँदा मैले दिनभरि भएका कुरा बताएँ र ‘आज गुरुले भाषिक सिद्धान्त र नियमका कुरै नगरेको’ पनि सुनाएँ । उहाँले भन्नुभयो, ‘अब ढुक्क हुनोस् । तपाईंले गुरुको मनमा भएका कुरालाई नै बल पुग्ने गरी बडो राम्रोसँग कुरा राख्नुभएछ । त्यही भएर गुरुले मौन समर्थन गर्नुभएको हो । तपाईंमा कत्तिको दम छ भनेर आज गुरुले परीक्षा लिनुभएछ । तपाईं उत्तीर्ण भइसक्नुभयो । नत्र गुरुले काम नै लगाउनुहुने थिएन ।’
तेस्रो दिन प्रारम्भिक खण्ड अर्थात् नाम, सर्वनाम, विशेषण, क्रियापद र अव्यय सम्बन्धी सामान्य नियमको खेस्रा लिएर म हाजिर भएँ । थोरैभन्दा थोरै र सरल शब्दमा स्पष्ट रूपमा कुरा बुझाउनुपर्छ भन्ने आग्रह त ममा पूर्वाग्रहकै स्तरमा छँदैथियो । खेस्रामाथि गुरुले दिएका निर्देशनहरूलाई त्यसै अनुरूप व्यवस्थित गरियो र त्यस खण्डलाई सजिलै अन्तिम रूप दिइयो । साथै आगन्तुक शब्दबारे कुरा प्रारम्भ गरियो ।
चौथो दिन ‘विशेष शब्द–विचार’ खण्डमा प्रवेश गरियो । मुख्य खण्ड त्यही थियो । संस्कृत–इतर भाषाबाट जस्ताको तस्तै मिल्न आएका र आउने शब्दबारे मिहीन कुरा भए र तिनको हिज्जे नबिगारी लेख्ने व्यवस्था तय गरियो । सबैभन्दा बढी समय यसैले लियो । संस्कृतबाट आएका र झर्रोवादी आन्दोलनबाट स्थापित शब्दहरूले खासै समय लिएनन् । परम्परागत रूपमा शुरूमा दीर्घ लेखिंदै आएका तद्भव शब्द यथावत् लेख्नुपर्ने र नेपाली प्रत्यय लगाउँदा मूल शब्दमा रहेका वर्णहरूलाई सकेसम्म बिगार्न नहुने निर्क्यौल भयो । खेस्रालाई अन्तिम रूप दिंदा साढे पाँच बजेको थियो ।
अर्को दिन पञ्चम वर्ण, शिरविन्दु र चन्द्रविन्दुमा केन्द्रित रह्यो । ‘ङ’ मा संयुक्त अक्षर र शिरविन्दु दुवैलाई स्वीकार गरेर ञ, ण, न, म मा चाहिं संयुक्त अक्षरलाई मात्र स्वीकार गरियो । पञ्चम वर्णका नाममा आउने ‘ङ’ बारे लामै छलफल भएको थियो । पञ्चम वर्ण अर्थात् परसवर्णको नियमले संयुक्त अक्षरको निर्माण गर्ने भएकाले त्यसलाई संयुक्त अक्षरकै रूपमा लेख्नुपर्छ, शब्दको बीचमा खुट्टा काटेर लेख्न मिल्दैन, त्यो देवनागरी लिपिको प्रकृति विपरीत हुन्छ भन्ने मेरो जिकिर थियो । परसवर्णमा खुट्टा काटेर ‘अङ् क’ लेख्न मिल्ने भए चञ् चल, घण् टा, सन् तान, सम् पादक पनि लेखिन्थ्यो होला भन्ने मेरो तर्कमा गुरु खुलेर हाँस्नुभयो । ‘अनुस्वार बरु विकल्प हुन सक्छ, किनभने त्यो परसवर्णमा पाँचै वर्णको पूर्वावस्था वा जनक हो र त्यसले ती सबैको प्रतिनिधित्व गर्छ,’ मैले भनेको थिएँ । गुरुको चिन्ता चाहिं ‘ङ’ का लागि शिरविन्दुको विकल्प छोड्दा सबै पञ्चम वर्णमा पहिरो जाला र सर्वत्र अनुस्वार स्थापित होला भन्ने थियो । त्यसैले किटेर व्यवस्था गरियो ।
छैटौं दिन पदयोग–वियोगको व्यवस्थाबारे छलफल भयो । नेपाली भाषाको प्रकृति पदवियोगमुखी छ र यो भाषा क्रमशः पदवियोगतर्फ लम्कँदो छ, त्यसैले पदवियोगबारे उदार हुनुपर्छ भन्ने मेरो आग्रह थियो । तर गुरु त त्यसभन्दा धेरै अगाडि हुनुहुँदो रहेछ । समस्त शब्दबारे कुरा टुंग्याएर नामयोगीमा पुग्दा उहाँले भन्नुभयो, ‘सबै नामयोगी छुट्याइदिए हुन्छ ।’ उहाँको भविष्यमुखी दृष्टिले म चकित भएँ । र, भनें, ‘मुकुन्दशरण गुरु पनि यसै भन्नुहुन्छ । भोलि नेपाली भाषा त्यहीं पुग्ने हो । तर आज एकैचोटि यत्रो परिवर्तन गर्दा प्रयोगकर्ताहरूलाई असजिलो महसूस हुन सक्छ । त्यसैले अहिलेलाई असजिलो महसूस नहुने गरी त्यतातिरको बाटो मात्र खोल्ने कि ?’ एक छिन विचार विमर्श भएपछि तय गरियो, अहिलेलाई विभक्तिवत् आउने नामयोगीलाई छुट्याएर पनि लेख्न पाइने र ती बाहेक सबैलाई छुट्याएरै लेख्ने व्यवस्था दिनु उचित हुन्छ ।
सातौं दिन अर्थात् वैशाख ९ गते समग्र नेकशुले–२०६९ लाई बुँदाबुँदामा मसीनो गरी पुनः केलाएर थप छरितो तथा स्पष्ट पारियो र अन्तिम रूप दिइयो । भोलिपल्ट पाटनढोकामा कमल दीक्षित तथा जगदीश घिमिरेसँग यसमाथि विमर्श हुँदा गुरुले यसको प्रस्तावना लेख्ने जिम्मा मलाई दिनुभयो । पहिलो नेकशुलेको प्रस्तावना बालकृष्ण समले लेख्नुभएको थियो । जगदीश घिमिरेले मलाई बधाई दिंदै थप्नुभयो, ‘समको जस्तै यसमा तपाईंको पनि नाम रहन्छ ।’ मैले आफ्नो जिम्मेदारी यथासमय सहर्ष पूरा गरें ।
यस अवधिमा कमल दीक्षित र जगदीश घिमिरेले हरेक दिन जस्तो नेकशुलेको प्रगतिबारे खोजखबर लिनुभएको थियो । प्रा. मुकुन्दशरण उपाध्यायसँग म निरन्तर सम्पर्कमा थिएँ । ‘आगन्तुक’ शब्दको हिज्जेमा आक्रमण गर्न हुँदैन, यसले अनर्थ निम्त्याउँछ भनेर २०३४ सालदेखि नै आवाज उठाउने एक्लो बृहस्पति उहाँ नै हुनुहुन्थ्यो । (नामयोगी मात्र होइन, विभक्ति समेत छुट्याउनुपर्ने र एस, तेस, इनी, एता, तेता जस्ता सर्वनामका मौलिक रूप पुनःस्थापित गर्नुपर्ने पनि उहाँको आग्रह थियो, जो मलाई हरेक दृष्टिले उचित र ग्राह्य लाग्थ्यो ।) नेपाली भाषामा हिज्जेका मुख्य गुरुकुल दुइटै थिए— एउटा बालकृष्ण गुरुको, अर्को मुकुन्दशरण गुरुको । दुवैलाई एक ठाउँमा ल्याउन पाए नेपाली भाषा कति उज्यालो हुन्थ्यो होला जस्तो मलाई लागिरहन्थ्यो । नयाँ नेकशुलेको स्वामित्व दुवैले लिइदिए यसको ओज अतुलनीय हुनेथियो भन्ने लोभ त छँदैथियो । यसबीच नेकशुले–२०६९ आगन्तुक शब्दको हिज्जे नबिगार्ने निष्कर्षमा पुगेको थियो र नामयोगी तथा सर्वनामबारे उहाँको आग्रहलाई आंशिक रूपमै भए पनि यसले सम्बोधन गरेको थियो । यसबाट मुकुन्दशरण गुरु निकै पुलकित हुनुहुन्थ्यो र आफ्ना सुझाव सहित यसको समर्थन गर्ने निर्णयमा पुग्नुभयो । यो सानो खुशीको विषय थिएन ।
यसैबीच बालकृष्ण गुरु स्वयम् ले कृष्णप्रसाद पराजुली, डा. तारानाथ शर्मा र प्रा.डा. कुमारबहादुर जोशीसँग नेकशुले–२०६९ ले लिएको बाटोबारे फोनमा विस्तृत विमर्श गर्नुभयो र यसमा उहाँहरूलाई सहमत गराउनुभयो । अन्य विशिष्ट व्यक्तिहरूसँग मैले सम्पर्क गरें । सबैको सहमति प्राप्त भएपछि २०६९ वैशाख १३ गते पूर्वाह्न बालकृष्ण गुरुले नेकशुले–२०६९ का प्रत्येक पानामा हस्ताक्षर गर्नुभयो र यसलाई आधिकारिकता प्रदान गर्नुभयो । उहाँपछि क्रमशः जगदीश घिमिरे, कमल दीक्षित, नगेन्द्रराज शर्मा र रोचक घिमिरेले हस्ताक्षर गर्नुभयो । मैले पनि हस्ताक्षर गरें । त्यही दिन अपराह्न हामी सबैलाई लिएर बालकृष्ण गुरु तारानाथ शर्मा तथा कुमारबहादुर जोशीकहाँ जानुभयो र दुवैका घर–बैठकमा मलाई नेकशुले–२०६९ वाचन गर्न लगाएर उहाँहरूको हस्ताक्षर लिनुभयो । मुकुन्दशरण उपाध्याय र कृष्णप्रसाद पराजुलीले अर्को दिन हस्ताक्षर गर्नुभएको थियो । उहाँहरू सबैले नेकशुले–२०६९ का प्रत्येक पानामा तल–माथि हस्ताक्षर गरेर यसको स्वामित्व लिनुभएको छ ।
त्यसपछिका पाँच दिन मैले साहित्य, भाषा, कानून, पत्रकारिता आदि क्षेत्रमा प्रतिष्ठित झन्डै ८० जना नेपाली भाषाका विशिष्ट प्रयोगकर्ताहरूसँग बेग्लाबेग्लै र सामूहिक रूपमा समेत भेट गरें । केहीले आफैं पढेर, केहीले मबाट वाचन गराएर, अस्पष्ट लागेका कुरा स्पष्ट पार्न लगाएर र अन्त्यमा गुरुहरूको हस्ताक्षरलाई श्रद्धापूर्वक ढोगेर बडो प्रेम र विश्वासका साथ यसमा हस्ताक्षर गर्नुभयो । विशिष्ट प्रयोगकर्ताहरूलाई हाटहुटे पाराले सही गराउनु ठीक हुँदैन, राम्ररी जानेर बुझेर विचार गरेर समर्थन गर्ने अवसर दिनुपर्छ भनेर यो प्रक्रिया अपनाइएको थियो । उहाँहरूको नाम नेकशुले–२०६९ मा अंकित गरिएको छ ।
२०६९ वैशाख २१ गतेका दिन यसको घोषणा सभा त्यहीं आयोजित गरियो, जहाँबाट अघिल्लो महीना ललितपुर घोषणापत्र जारी गरिएको थियो । यस पटक कार्यक्रम स्थलको व्यवस्थापन कमल दीक्षित आफैंले जिम्मा लिनुभएको थियो । नेपाली भाषाले आफ्नो जीवनकालमा यसअघि यति बृहत्, विशिष्ट, गम्भीर र गरिमामय भाषिक जमघट देख्ने सौभाग्य पाएको थिएन । आफैं संस्था जस्ता भइसकेका झन्डै सय जना विशिष्ट नेपाली भाषा प्रयोगकर्ताहरूको त्यस भेलामा बालकृष्ण पोखरेल नेपाली भाषाका महागुरुहरूलाई वरिपरि राखेर बीचमा विराजमान हुनुहुन्थ्यो । उहाँको आदेशमा मैले नेकशुले–२०६९ वाचन गरेर सभा समक्ष औपचारिक रूपमा प्रस्तुत गरें र उहाँले त्यसलाई जारी गर्नुभयो । बालकृष्ण गुरुको सारगर्भित मन्तव्यका शब्द थिए, ‘नेकशुले–२०६९ लाई हामी सबैले सिरानमा राख्नुपर्छ । भाषाप्रेमीहरूले यसलाई गीता मान्नुपर्छ ।’ (नेकशुले–२०६९ को पूर्ण पाठ परिशिष्ट—१ मा हेर्नुहोस् ।)
मुकुन्दशरण उपाध्याय, तारानाथ शर्मा, कृष्णप्रसाद पराजुली, कमल दीक्षित आदिले भावविभोर भएर संक्षिप्त तर ऊर्जस्वल सम्बोधन गर्नुभयो । ‘नेपाली जिभ्रोले तालव्य श उच्चारण गर्दैन भनेर मैले आफ्नो थर सर्मा लेख्न थालेको, त्यसको अर्थ त कुकुर्नी पो हुँदो रहेछ । त्यो थाहा पाएपछि त मैले फेरि शर्मा लेख्न थालिहालें नि’ भनेर तारानाथ शर्माले आफैंमाथि व्यंग्य गर्दै शुद्ध हिज्जेको महत्व स्पष्ट्याउँदा सभामा ठूलो हाँसो फैलिएको थियो । त्यही सभामा उदय, नेपाली, रचना, अभिव्यक्ति, हिमाल र शिक्षक पत्रिकाका सम्पादकहरूले अब उप्रान्त आफ्ना पत्रिकामा नेकशुले–२०६९ को व्यवस्था लागू गर्ने जानकारी गराए । नेकशुले–२०६९ को घोषणाले सञ्चार माध्यमहरूमा व्यापक स्थान पायो र नेपाली भाषा प्रयोगकर्ताहरूमा ठूलो तरंग ल्यायो ।
#
बालकृष्ण गुरुको नेतृत्वमा नयाँ नेकशुले बन्दैछ भन्ने खबरले भाषामा भाँडभैलो मच्चाउनेहरूको निद्रा उडेको थियो । तीमध्ये दुई जना नेकशुलेको निर्माण चलिरहेकै वेला गुरुलाई भेट्न एक दिन बिहान सबेरै घट्टेकुलोमै पुगेछन् र गुरुको विचार गलत छ भनेर शास्त्र पढाउन खोजेछन् । तिनको बुद्धिप्रति टीठ मान्दै दिउसो गुरुले मलाई भन्नुभएको थियो, ‘ती त मैलाई पो शास्त्र र सूत्रका कुरा पढाउन थाले । ए बाबा, त्यो त मैले नै तिनलाई पढाएको हो नि ! तिनले भाषाका सूत्र र शास्त्रका ठेली त कण्ठ पारेछन् तर भाषा बुझेनछन् । बिचरा !’
नेकशुले घोषणा भएको पर्सिपल्ट नगेन्द्रराज शर्माले एउटा उदेकलाग्दो सन्देश ल्याउनुभयो । भाषा भाँड्ने टाउकेहरू अर्थात् ‘नवग्रह’ भनी चिनिएकाहरूले उहाँलाई ‘बालकृष्ण गुरुका तर्फबाट हामीलाई भेट्ने निम्तो पठाइदिनुपर्यो’ भनेका रहेछन् । हामीबीच हाँसो फैलियो । आफ्नै गुरुलाई भेट्न पनि चेलाहरूले गुरुको निम्तो खोज्ने यो दम्भ देखेपछि जगदीश घिमिरेले ‘बुद्धि सकिएको प्रमाण’ भन्ने तीखो टिप्पणी गर्नुभयो । कमल दीक्षित र रोचक घिमिरेको टिप्पणी पनि प्रीतिकर थिएन । नगेन्द्रराज शर्माले ‘भनिहाले, बोलाइदिऊँ न त, के भन्दा रहेछन् सुनिहालौं’ भनेपछि गुरुले स्वीकृति दिनुभयो ।
वैशाख २४ गते दिउसो नवै जना पाटनढोकामा उपस्थित भए । मसँग उनीहरूको आग्रह थियो, ‘यो कुरा सञ्चार माध्यममा नजाओस् ।’ मैले ‘हुन्छ’ भनें र त्यस दिनको सारा संवाद टिपोट गर्नुका साथै आफ्नो आइफोनमा रेकर्ड पनि गरेर राखें ।
सबैजना बालकृष्ण गुरुकै चेला थिए । शुरूमा गुरुले तिनलाई सम्झाउनुभयो, ‘नेपाली हिज्जे कथ्यको होइन, लेख्यको हो । उच्चारणको आधारमा लेख्य हिज्जे हुन्छ भन्ने भ्रममा नपरौं । परिवर्तनका लागि परिवर्तन गर्नतिर नलागौं । कथ्य नेपालीका उदाहरण दिएर लेख्य नेपालीमा किचलो, बाझो, रडाको नफैलाऔं ।’ उहाँले विशेष जोड दिएर भन्नुभयो, ‘२०३४ सालमा विवादको बीजारोपण गर्ने फटाहा भनौं कि बदमाश मै हुँ । तर किन फर्किएँ त आज यता ? बुझौं । कथ्य नेपालीका नियम लेख्य नेपालीमा नल्याऔं । बदलिएको सामाजिक वातावरणमा बाँच्न सिकौं । नयाँ युग आएको छ, यसलाई बुझौं ।’
त्यसपछि तिनले पालैपालो बोले । गुरुका कुराले तिनको कानमा बतास पनि लागेनछ । एक वरिष्ठतम सहित तीन जनाका कुरा शिष्ट थिए, दुई जनाले औपचारिक भाषा प्रयोग गर्दै दम्भ देखाए र चार जनाले चाहिं निकै क्षुद्र कुरा गरे । तिनका कुरामा निन्दा, आक्रोश र भर्त्सना मात्र थियो; ज्ञान, तर्क वा उपपत्तिको नामोनिशान थिएन । तीमध्ये पनि दुई जनाको, जो गुरुलाई भेट्न घट्टेकुलो समेत पुगेका थिए, बोली बढी नै अमर्यादित थियो ।
गुरुले सबैका कुरा शान्तिपूर्वक सुन्नुभयो र ‘नाति पनातिले काखमा फोहोर पार्छन्, म रिसाउँदिनँ’ भन्दै तिनलाई फेरि सम्झाउने प्रयास गर्नुभयो । अन्त्यमा ‘नेपाली भाषामा आगो लागेको छ, यो आगो तपाईं हामीले मिलेर निभाउनुपर्छ । राष्ट्रमा छवटा विश्वविद्यालय भैसके, पञ्चायती मानसिकता बोकेर त्रिविले आफूलाई मात्र विश्वविद्यालय मान्न भएन । क्याम्पस भन्दा ठूला ८३ व्यक्तिले नेकशुलेको अनुमोदन गरेका छन्, त्यसको मर्म बुझौं,’ भनेर तिनलाई विदा गर्नुभयो ।
खेदको विषय के भने, त्यसपछि पनि तिनले नेकशुले विरुद्ध भ्रम छर्ने कोशिश गरे । गुरुले विभिन्न अन्तर्वार्ता र लेख मार्फत त्यसको प्रतिवाद गर्नुभयो । आफ्ना चेलाहरूसँगको उक्त भेटघाटलाई स्मरण गर्दै उहाँले असार ९ गतेको कान्तिपुरमा लेख्नुभयो, ‘गत वैशाख अन्तिम साता त्रिविका प्राडाहरूसँगको अनौपचारिक भेटघाटमा “तँ बालकृष्णे गुरुले आँखाको अपरेशन गरी अन्धो भएको वेलामा मौका छोपी तँलाई ल्याप्चे ठोकाएर जारी गरेको हो यो नेकशुले–२०६९” भनी सम्साँझै मलाई अपजस लगाउने मेरा प्यारा छात्रहरूको मति, गति र नियति झन् झन् सुमधुर हुँदै जाओस् भन्ने हार्दिक कामना गर्दछु ।’
आफ्नै नेतृत्व र सहभागितामा नेकशुले–२०६९ तयार पारिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘२०३४ मा झर्रोवाद अनुरूप नेपाली हिज्जेको रूपान्तरण गराउन त्रिवि मार्फत विराटनगर, पाल्पा, पोखरा र काठमाडौंमा विशेषज्ञको टोली घुमाउने अग्रणी मै थिएँ । त्यही झर्रोवाद अनुरूप मैले नेपाली बृहत् शब्दकोश (२०४०) मा ०.५ प्रतिशत क्रान्ति लागू गरें । आज नेपाली भाषामा मच्चिएको भाँडभैलोको उद्गमस्रोत त्यही आधा प्रतिशत क्रान्ति थियो । २०४० को मद्वारा शतप्रतिशत निर्देशित र १५ प्रतिशत घुँडाधस शैलीमा सम्पादित नेपाली बृहत् शब्दकोशको यस पापको नेकशुले–२०६९ मार्फत मैले प्रायश्चित्त गरेको छु । …यसको समर्थनमा म एक्लो मात्र होइन, कमलमणि आचार्य दीक्षित, डा. तारानाथ शर्मा, मुकुन्दशरण उपाध्याय, डा. कुमारबहादुर जोशी, कृष्णप्रसाद पराजुली, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, जगदीश घिमिरे लगायतका झन्डै एक सय विद्वान् छन्। …नेपालीभाषीहरूबीच फूट ल्याउन खोजिएको भेउ पाएर हामी एक ठाउँ आएका हौं ।’ (कान्तिपुर २०६९ असार ९)
नेकशुले–२०६९ को जन्मको कथा संक्षेपमा यही हो । यो आफ्नो जीवनभरिको भाषिक साधना, अनुसन्धान, त्रुटि परिष्कार र मत स्थिरीकरण पछिको अन्तिम निचोडका रूपमा बालकृष्ण गुरुले नेपाली भाषालाई दिनुभएको अमूल्य उपहार हो । यो त्यो राजमार्ग हो, जसमा हिंडेर नै नेपाली भाषा अन्योल, अराजकता र संकुचनबाट मुक्त हुन सक्छ; विस्तृत, विकसित र सर्वग्राह्य हुन सक्छ अनि विश्वभाषा बन्ने दिशामा अग्रसर हुन सक्छ । यसको निर्माणमा गुरुसँग सहकार्य गर्ने मौका पाउनु मेरा लागि असीम गौरवको विषय बनेको छ । यसका निम्ति म बालकृष्ण गुरुप्रति कृतज्ञ छु ।
#
नेकशुले–२०६९ कै अनुक्रममा बालकृष्ण गुरुसँग सहकार्य गर्ने अर्को अवसर पनि जुटेको थियो, जसको उपयोग गर्न सकिएन । त्यसबारे संक्षेपमा उल्लेख गरेर यो स्मृति आलेखलाई विराम दिन चाहन्छु ।
‘अनधिकृत हस्तक्षेपको सकस’ शीर्षकमा २०७३ असोज ८ गते शनिवार कान्तिपुर दैनिकमा भाषा सम्बन्धी मेरो आलेख प्रकाशित भएको थियो । त्यसमा, लगातार हुँदै आएका अनधिकृत हस्तक्षेपहरूले क्षतविक्षत भएको नेपाली भाषालाई त्यस अवस्थाबाट मुक्ति दिलाउन के गर्नुपर्छ र के–केमा विशेष ध्यान दिनुपर्छ भन्ने प्रस्ताव गरिएको थियो । त्यसै क्रममा अबको शब्दकोश कस्तो हुनुपर्छ भन्नेबारे सूत्रात्मक रूपमा उल्लेख गरेको थिएँ । लामो अस्पताल–वासपछि अघिल्लो दिन मात्र घर फर्केका कमल दीक्षितले त्यस दिन बिहान साढे दश बजेतिर फोन गरेर मलाई भन्नुभयो, ‘तपाईंको लेख राम्रो लाग्यो । दुई पटक पढें । त्यसमा पनि अबको शब्दकोश कस्तो हुनुपर्छ भन्ने प्रसंग ज्यादै घत लाग्यो । त्यही भएर फोन गरेको । लौ न, त्यस्तो शब्दकोश बनाऊँ । त्यसका लागि लाग्ने खर्च म उपलब्ध गराउँछु । सम्पादक तपाईं नै हुनुपर्छ ।’
उहाँले ठूलै रकम तोकेर ‘ल, मैले यति रुपैयाँ छुट्याएँ’ भन्नुभएको थियो ।
अकस्मात् आएको यति गुरुत्वपूर्ण प्रस्तावले एक छिन त म रन्थनिएँ । अनि भनें, ‘आज एक दिन विचार गर्न दिनोस् । भोलि भन्छु ।’
दिनभरि विचार गरेर मैले शब्दकोशमा के–के गर्ने र कसरी गर्ने भन्ने निश्चित खाका तथा योजना तयार पारें र भोलिपल्ट उहाँलाई सुनाएँ । शब्दकोशको नाम ‘प्रयोगकर्ताको मानक नेपाली शब्दकोश’ प्रस्तावित गरेको थिएँ । मेरो भनाइ थियो, ‘काम त म गरौंला, तर शब्दकोशको निर्देशक बालकृष्ण गुरुलाई बनाउनुपर्छ । अनि मलाई सम्पादकको टोली पनि चाहिन्छ ।’
उहाँले भन्नुभयो, ‘गुरुको उमेर धेरै भइसक्यो, काम गर्न सक्नुहोला र ?’
‘गुरुलाई खेताला होइन, निर्देशक बनाउने हो नि,’ मैले भनें, ‘उहाँले निर्देशन मात्र दिने हो । त्यसका आधारमा हामीले काम गर्ने हो ।’
‘कोशिश गरौं न त । मान्नुभयो भने त हाम्रो अहोभाग्यै भइहाल्यो नि,’ उहाँले भन्नुभयो । नेपाली बृहत् शब्दकोश (२०४०) का निर्देशक प्रा. बालकृष्ण पोखरेलको निर्देशकत्वमा, नेकशुले–२०६९ को व्यवस्था बमोजिम बन्ने मानक शब्दकोशको शक्ति, प्रभाव र महत्व के हुन्छ भन्ने उहाँले जति राम्ररी कसले बुझ्थ्यो होला र ?
यस शब्दकोशलाई अन्य शब्दकोशले आजसम्म समेट्न नसकेका तर नेपाली भाषामा भित्रिइसकेका विदेशी, खास गरी अंग्रेजी शब्दका साथै राष्ट्रिय भाषाहरूका र आञ्चलिक शब्द समेत समावेश गरेर अद्यावधिक बनाउनुपर्छ भन्ने मेरो विशेष जोड थियो । तदनुरूप प्रा.डा. गोविन्दराज भट्टराई, डा. राजेन्द्र विमल र कोशकार चूडामणि गौतमलाई सम्पादक मण्डलमा समावेश गर्नुपर्ने पनि मेरो प्रस्ताव थियो । कमल दीक्षितसँग मैले भनें, ‘अरूलाई म मनाउँछु । गुरुलाई अनुरोध गर्ने जिम्मा तपाईंको ।’
नभन्दै गुरुले अनुरोध स्वीकार्नुभयो । मैले गुरुसँग फोनमा छलफल गरेर उहाँका निर्देशनहरू टिपें र तिनलाई निश्चित ढाँचामा लिपिबद्ध गरें । सम्पादक मण्डलमा बस्न तीनै जनालाई मन्जूर पनि गराएँ ।
यति काम दश दिन जतिमा भइसकेको थियो । नौरथा लागिसकेको थियो । दशैंका लागि म आफ्नो घर (धरान) तिर लागें, डा. भट्टराई उहाँको घर (दमक) तिर लाग्नुभयो । २०७३ असोज २३ गते आइतवार, महाअष्टमीका दिन हामी इटहरीमा भेला भयौं र बस चढेर विराटनगर, बालकृष्ण गुरुकहाँ पुग्यौं ।
निर्देशनको बेहोरा तयारै थियो, पहिले नै फोनबाट सुनाएर स्वीकृत गराइसकेको थिएँ, त्यहाँ प्रत्यक्ष रूपमा फेरि एक पटक गुरुलाई सुनाएँ । गुरुले त्यो कागज लिनुभयो र त्यसलाई घुँडामा राखेर आफ्नो हातले निर्देशनको पुछारमा थप्नुभयो :
‘हामीले परिवर्धन र परिवर्तन निमित्त कलमलाई सक्रिय राख्नु हाम्रो दायित्व हो तर परिवर्तनको नाउँमा मुखविवरका औच्चार्य–अवयवलाई मर्काए झैं निमोठनामोठ गर्नेहरूको झैं भस्मासुरधर्मी प्रयासबाट हामी जोगिन सक्यौं भने पक्कै पनि यो यहाँ माथि प्रस्तावित पवित्र भूमिका सफल होला भन्ने मेरो इरादा छ ।’
र, निर्देशन–पत्रमा हस्ताक्षर गर्नुभयो ।
त्यसमुनि, गुरुको निर्देशन र अनुशासन बमोजिम यो शब्दकोश तयार गर्नेछौं भन्ने बेहोरामा हामी दुई जनाले त्यहीं गुरुकै सामुन्ने र अरूले एक हप्ता पछि काठमाडौंमा हस्ताक्षर गर्यौं । त्यसको मूल प्रति मसँग रह्यो, फोटोकपी सबैसँग । यो हामी सबैका लागि गौरवको विषय थियो । (निर्देशनको पूर्ण पाठ परिशिष्ट–२ मा हेर्नुहोस् ।)
उक्त शब्दकोशको प्रारम्भिक काम पनि शुरू भएको थियो, तर विभिन्न कारणवश त्यो कार्य अघि बढ्न सकेन । अब त कमल दीक्षित र बालकृष्ण गुरु दुवै यो लोकमा हुनुहुन्न । गुरुको निर्देशन मात्र हामीसँग छ । त्यो शब्दकोश बन्न नसके पनि अबको मानक नेपाली शब्दकोश कस्तो हुनुपर्छ भन्ने बाटो गुरुको निर्देशन–पत्रले देखाएको छ । यो पनि नेपाली भाषालाई बालकृष्ण गुरुको महत्वपूर्ण उपहार हो ।
प्राज्ञ बालकृष्ण पोखरेल स्मृतिग्रन्थ (२०७८)
(सम्पादक : विवश पोखरेल, प्रकाशक : विराटनगर महानगरपालिका)
परिशिष्ट— १………………………………
नेपाली कसरी शुद्ध लेख्ने ?
हिज्जे–विचार
(नेकशुले—२०६९)
प्रस्तावना
भाषाको सम्प्रभुता यसका प्रयोगकर्तामा निहित हुन्छ भन्ने तथ्य आत्मसात् गर्दै, शिष्ट परम्परा र प्रचलनबाट स्थापित हिज्जेको सुदृढ जगमा उभिएर नै भाषाको विकास एवम् विस्तार हुन सक्ने यथार्थ मनन गर्दै, समयको अन्तरालमा देखा परेका विकृतिबाट मुक्त गराएर नेपाली भाषालाई स्वच्छ, उदार र गतिशील बनाउँदै लैजाने उद्देश्यले, ऋषिकल्प भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको निर्देशन तथा सहभागितामा, भाषा–तपस्वी प्रा. मुकुन्दशरण उपाध्यायको सुझाव समन्वित समर्थन र भाषा उन्नायक डा. तारानाथ शर्मा, प्रा. डा. कुमारबहादुर जोशी तथा भाषाका शारदेय साधक कृष्णप्रसाद पराजुलीको सल्लाह एवम् सहमतिका साथ, ललितपुर घोषणापत्र–२०६८ को मर्म तथा भावना अनुरूप, नेपाली भाषा प्रयोगकर्ता समूह (नेभाप्रस–२०६९) ले नेपाली भाषा प्रयोगकर्ताहरूका लागि यो व्यवस्था गरेको छ ।
यो संक्षिप्त, सूत्रात्मक व्यवस्थाले, नाट्यसम्राट् बालकृष्ण समका शब्दमा, ‘तमाम नेपाली शब्दसागरमा बाँध बाँध्न सक्तैन, न व्याकरणका नै अनेकानेक वाक्यविचारका भाँडामा बिर्को लगाउन सक्तछ’, त्यसका निम्ति त व्याकरण र शब्दकोशका बृहत् ठेली पल्टाउनै पर्दछ । तथापि, नेपाली हिज्जेलाई उचित मार्गमा डोर्याउन यसले पर्याप्त योगदान पुर्याउने आशा गरिएको छ। — शरच्चन्द्र वस्ती
नेपाली कसरी शुद्ध लेख्ने ?
हिज्जे विचार : २०६९
नाम
१. ह्रस्व इ, उ अन्त्यमा हुने शब्द—
क. सामान्य पुँल्लिङ्गी शब्द । जस्तै— बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि ।
ख. सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै— घिउ, आलु, गाउँ, हिउँ आदि ।
ग. नु, आउ, आइ कृत्प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द । जस्तै— हिंड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि ।
अपवाद— दाईं, लडाईं, बसाईं आदि ।
२. दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द—
क. सामान्य स्त्रीलिङ्गी शब्द । जस्तै— गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि ।
ख. सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै— कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि ।
ग. मनुष्यको विशेष जात र पेशालाई बुझाउने शब्द । जस्तै— ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि ।
घ. आदरार्थी ज्यू, जी प्रत्ययान्त शब्द । जस्तै— दाज्यू, भाउज्यू, पिताजी, शर्माजी, परियारजी आदि ।
ङ. भाव (धर्म), सम्बन्धी (धर्मी) र ‘त्यहाँ हुने’ अर्थ बुझाउने ‘ई’ तद्धित प्रत्यय लागी बनेका शब्द । जस्तै— गरीबी, नोकरी, चाकरी, खुनी, बैगुनी, इलमी, नेपाली, अछामी, जंगली आदि ।
सर्वनाम
१. सर्वनामको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— ऊ, ती, तिमी, हामी, यिनी, उनी, तिनी, आफू, कोही, केही, यही, त्यही, त्यहीं, कहीं आदि ।
विशेष : सर्वनामका त्यल्ले, त्यल्लाई, जल्ले, जल्लाई, कल्ले, कल्लाई, क्वै, क्यै, तैले, जैले, ऐले, उइले जस्ता संक्षिप्त रूप पनि हुन सक्छन् जसको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ । साथै त्यहाँ, यहाँ, उहाँ आदरार्थीमा पनि प्रयोग हुन्छन् ।
विशेषण
१. क. स्त्रीलिङ्गका र दुवै लिङ्गमा हुने इकारान्त विशेषण दीर्घ हुन्छन् । जस्तै— काली, गोरी, राम्री, राजी, धनी, नामी, जाती आदि ।
ख. दुवै लिङ्गमा हुने उकारान्त विशेषण ह्रस्व हुन्छन् । जस्तै— दुधालु, घरेलु, मायालु, सिकारु आदि ।
२. सामान्य विशेषण प्रकरण हेरी ह्रस्व दीर्घ दुवै हुन्छन् । जस्तै— पिरो/पीरो, तितो/तीतो, अमिलो/अमीलो, अलिकति/अलीकति आदि ।
३. संख्यावाचक शब्दमा आउने इकार (‘त्रि’ बाहेक) दीर्घ हुन्छन् । जस्तै— दुई, बीस, तीस, चालीस, बत्तीस, चौंतीस, पैंतालीस, बाईस, तेईस, उन्नाईस आदि ।
संख्याबोधक शब्दका अन्य रूप दुईवटा, दोटा, दुईटा/दुइटा, दुगुना, दोहोरो, दुईसरो, दुदुई, एकेक, लाखौं, करोडौं, लाखन्, करोडन्, कैयौं, कैयन् आदि हुन्छन् ।
४. सानो, ठूलो, कालो, सेतो जस्ता विशेषणका रूप हेलाँमा साने, ठूले, काले, सेते आदि र मायाँमा सानु/सानू, कालु/कालू आदि पनि हुन्छन् ।
क्रियापद
१. क्रियापदहरू उच्चारण अनुरूप लेखिन्छन् ।
२ विध्यर्थक क्रियापदको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— गर्नू, जानू, गरूँ, जाऊँ, आऊ, बचाऊ आदि ।
३. क. धातुको अन्त्यमा वर्गको प्रथम वा द्वितीय अक्षर (क्, च्, ट्, त्, प्, ख, छ्, ठ्, थ्, फ्) वा स् रहेको छ भने त अथवा द विकल्पले जोडिन्छ । जस्तै— पाक्छ/पाक्तछ/पाक्दछ । जाँच्छ/जाँच्तछ/जाँच्दछ । राख्छ/राख्तछ/राख्दछ । हाँस्छ/हाँस्तछ/हाँस्दछ आदि ।
ख. अन्त्यमा अन्य अक्षर रहँदा भने द मात्र विकल्पले जोडिन्छ । जस्तै— माग्छ/माग्दछ । बुझ्छ/बुझ्दछ । हान्छ/हान्दछ । बोल्छ/बोल्दछ । रम्छ/रम्दछ आदि ।
ग. कतिपय धातुमा भने त वा द केही पनि जोडिंदैन । जस्तै— जान्छ, खान्छ, रुन्छ आदि ।
विशेष : लिई, भई, भयो, खाँदैन, गरिदेऊ, भनिदेऊ, होऔं, होओस्, होउँला आदिका संक्षिप्त रूप ली, भै, भो, खान्न, गर्देउ, भन्देउ, ह्वौं, होस्, हुँला आदि पनि हुन सक्छन् । यिनको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ ।
अव्यय
१. सामान्यतः अव्ययका अन्त्य इकार, उकार ह्रस्व हुन्छन् । जस्तै— माथि, मुनि, पट्टि, चाहिं, थरि, बाजि, चोटि, खालि, अघि, पछि, बरु, अनि, पनि, भोलि, पर्सि, निम्ति, खेरि, छिः आदि ।
२. ‘अरी’ प्रत्यय लागेका र यसको अर्थ दिने अव्यय दीर्घान्त हुन्छन् । जस्तै— राम्ररी, बेसरी, बराबरी; भकभकी, खलखली, ह्वालह्वाल्ती आदि ।
विशेष शब्द–विचार
१. संस्कृतबाट जस्ताको तस्तै आएका (तत्सम) शब्द यथावत् लेखिन्छन् । जस्तै— श्री, गणेश, शक्ति, भक्ति, कीर्ति, शीतल, आकाश, रीति, नीति, समीप, शरीर, वीर, वर्षा, बुद्धि, बधू आदि ।
२. मूल शब्दका तद्भव वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— गाउँ, खेत, भुइँ, सास, नाइके, रगत, आकाश/अकास, वर्षा/बर्खा, वास/बास, शीतल/सीतल, पुँलिङ्ग/पुंलिङ्ग/पुलिङ्ग आदि ।
३. अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत् लेखिन्छन् । जस्तै— जोश, होश, जीप, चीफ, शहीद, शिकार, जमीन, गरीब, शेयर, फेशन, शेक्सपियर, सीट, मार्कशीट, टीभी, सीडी, कानून, तूफान, भूल, छूट, स्कूल, कार्टून, जवाफ, रवाफ, मुताबिक आदि ।
४. अन्य भाषाबाट आएका शब्दका झर्रो नियम अनुसारका वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— शिकार/सिकार, होश/होस, शेयर/सेयर, गरीब/गरिब, स्कूल/स्कुल, छूट/छुट, कानून/कानुन, कार्टून/कार्टुन, जवाफ/जबाफ आदि ।
५. झर्रोवादी आन्दोलनबाट स्थापित शब्द यथावत् लेखिन्छन् । जस्तै— अक्कास, सित्तल, अखानो, अगावै, अडेसो, अभेक, अहमत्याइँ, कस्केली, ग्रिसेली, उल्था, औतारी, कुहिरे, कुइरे, कैरन, कोकोहोलो, कोसेढुङ्गो, कोसदुएक, पपाँच, गोडादशेक, कौलासो, खटनपटन, खुरुन्धार, खैराँती, गनोट, गज्मौरो, गलहत्ती, गान्टिनु, जमर्को, घचारो, घुर्मैलो, अनजबाफ आदि ।
६. परम्परागत रूपमा शुरूमा दीर्घ लेखिंदै आएका तद्भव शब्द यथावत् लेखिन्छन् । जस्तै— खीर, कीरो, तीतो, मीठो, मीत, रीस, पीरो, पीठो, दूध, फूल, रूख, रूखो, बूढो, धूलो, ठूलो, पूरा आदि ।
७. नेपाली प्रत्यय लगाउँदा मूल शब्दमा रहेका वर्णहरूलाई नबिगारी लेखिन्छ । जस्तै— स्वीकार्नु, विश्वासिलो, पूर्वेली, पश्चिमेली, पुष्ट्याइँ, एकवर्षे, जोशिलो, बेहोशी, होशियार, खुशियाली, कानूनी, तुषारो, पोषिलो, विदेशिनु आदि ।
अपवाद : पुजारी, चिनियाँ, रिसाहा, मितेरी, सिपालु, जुनेली, दुधिलो आदि ।
८. क. संस्कृतबाट आएका तत्सम शब्दमा शिरविन्दुको सट्टा पञ्चम वर्ण लेखिन्छ । जस्तै— चञ्चल, घण्टा, दण्ड, सन्त, सन्दर्भ, शम्भु, सम्पादक, सम्बोधन आदि ।
ख. अनुस्वार पछि कवर्ग रहेको अवस्थामा भने वैकल्पिक रूपमा शिरविन्दु र पञ्चम वर्ण दुवै लेखिन्छ । जस्तै— अंक/अङ्क/अङ्क, शंख/शङ्ख/शङ्ख, गंगा/गङ्गा/गङ्गा, संघ/सङ्घ/सङ्घ आदि ।
ग. य देखि ह सम्मका वर्ण (य, र, ल, व, श, ष, स, ह) भन्दा पहिले भने शिरविन्दु मात्र लेखिन्छ । जस्तै— संयम, संलग्न, संवाद, संविधान, संशय, संस्कृत, संस्कार, सिंह, संहार आदि ।
घ. अन्य भाषाबाट आएका, तद्भव र झर्रा शब्दमा शिरविन्दु दिइँदैन, उच्चारण अनुरूप पञ्चम वर्ण नै लेखिन्छ । जस्तै— हम्कनु, चम्किलो, चम्चा, गम्छा, सम्धी, सन्चो, बिसन्चो, लन्डन, टेन्डर आदि ।
अपवाद : अंग्रेजी/अङ्ग्रेजी, कांग्रेस/काङ्ग्रेस आदि ।
९. क. डिकोभन्दा माथि मात्रा नभएको स्थितिमा चन्द्रविन्दु लेखिन्छ । जस्तै— तँ, कहाँ, जहाँ, यहाँ, गएँ, खाएँ, छायाँ, दायाँ, बायाँ आदि ।
ख. डिकोभन्दा माथि मात्रा वा रेफ भएको स्थितिमा भने चन्द्रविन्दुको सट्टा शिरविन्दु लेखिन्छ । जस्तै— भनें, गरें, बैंस, सधैं, ढोंग, मानौं, हजारौं, गर्छौं, झार्छौं, कहीं, त्यहीं,
हिंड्नु, गिंड्नु, तपाईं, फर्कंदा, झर्कंदा आदि ।
१०. एउटै महाप्राण वर्ण दोहोरिएर आएमा एउटा अल्पप्राणमा परिणत हुन्छ । जस्तै— सक्खर, सुक्खा, नत्थी, पट्ठो आदि ।
पदयोग, पदवियोग
१. समस्त शब्दहरू एउटै डिकोमा लेखिन्छन् । जस्तै— दाजुभाइ, दिदीबहिनी, घटीबढी, यथाशक्ति, छात्रावास, शुभकामना, गाईगोठ, उपसचिव, नीलकण्ठ, पीताम्बर, गोडधुवा, लामपुच्छ्रे, चरीनङ्ग्रे, कपडछान आदि ।
२. क. समास भएपछि पाँच अक्षर भन्दा बढी हुने स्थिति भएमा शब्दहरू छुट्याएर लेखिन्छन् । जस्तै— परराष्ट्र मन्त्री, प्रधान न्यायाधीश, शिष्ट परम्परा, इतिहास शिरोमणि, परराष्ट्र मन्त्रालय आदि ।
ख. व्यक्ति/संस्था/स्थानवाचक नाम भने अभ्यास वा प्रचलन अनुरूप यथावत् लेखिन्छन् । जस्तै— लेखनाथ, बालकृष्ण, लक्ष्मीप्रसाद, त्रैलोक्यनाथ, कृष्णचन्द्रसिंह, जनकपुर, ललितपुर, विराटनगर, राजविराज, विश्वविद्यालय, महाविद्यालय आदि ।
३. एउटै काम जनाउने संयुक्त क्रियापद एउटै डिकोमा लेखिन्छन् । जस्तै— भनिसक्यो, गरिदियो, सुतिहाल्यो, आइपुग्यो, आइपुग्छ, खाइहेर्छ, जानुपर्छ, जानेछ, गएथ्यो, गर्दथ्यो, बस्तथी आदि ।
४. छुट्टाछुट्टै काम जनाउँदा क्रियापद छुट्याएर लेखिन्छन् । जस्तै— भनी सक्यो, गरी दियो, गए हुँला, खाई हेर्छ, जाने गर्छ, गरेको छ, भनेको छ, भनेको थियो आदि ।
विशेष : कतिपय संयुक्त क्रियापदहरू एउटा काम जनाउँदा एउटै डिकोमा र छुट्टाछुट्टै काम जनाउँदा छुट्याएर लेखिन्छन् । जस्तै— हुनपुग्यो, हुनपुगें, बन्नपुगे; हुन पुगें, बन्न पुग्यो, भन्न हुन्छ, गर्न सक्छ, खान सक्छ आदि ।
५. विभक्तिहरू शब्दसँग एउटै डिकोमा लेखिन्छन् । जस्तै— ले, लाई, द्वारा, बाट, देखि, को, का, की, मा आदि ।
६. विभक्तिवत् आउने नामयोगीहरू जोडेर वा छुट्याएर दुवै किसिमले लेख्न सकिन्छ । जस्तै— मुनि, माथि, बारे, भन्दा, सँग, वारि, पारि, भित्र, बाहिर, तिर, सित, तर्फ, सम्म आदि ।
७. उपर्युक्त बाहेक सबै नामयोगी र निपातहरू छुट्याएर लेखिन्छन् । जस्तै— मात्र, विना, बाहेक, समेत, अगाडि, पछाडि, सिवाय, मार्फत/मार्फत्, समक्ष, अनुसार, अनुरूप, बराबर, लगायत, मुताबिक, बमोजिम, अन्तर्गत, वटा, जना, चाहिं, झैं, नै, जसरी, जस्तो, जस्तै, समान आदि ।
………………………….
नेपाली भाषा प्रयोगकर्ता समूह (नेभाप्रस–२०६९) का तर्फबाट (हस्ताक्षरकर्ता) :
अजय दीक्षित, अभि सुवेदी, अमर गिरी, अलका आत्रेय चूडाल, अविनाश श्रेष्ठ, इन्दिरा प्रसाई, इल्या भट्टराई, कमलमणि दीक्षित, कालीप्रसाद रिजाल, काशीनाथ न्यौपाने, काशीराज दाहाल, किरण नेपाल, किशोर नेपाल, किशोर पहाडी, कुन्दन अर्याल, केदार शर्मा, कृष्ण धरावासी, कृष्णमुरारी भण्डारी, कृष्णराज सर्वहारी, कृष्णा ताम्राकार, खगेन्द्र संग्रौला, गणेश रसिक, गाउँले बलदेव, गीता केशरी, गीता त्रिपाठी, डा. गोविन्दराज भट्टराई, गोविन्द वर्तमान, चन्द्रकिशोर झा, जगदीश घिमिरे, जैनेन्द्र जीवन, ज्ञानमणि नेपाल, ज्ञानुवाकर, डा. तुलसीप्रसाद भट्टराई, दीपा गौतम, दुर्गाप्रसाद श्रेष्ठ, धनराज गिरी, धर्मेन्द्र झा, धीरेन्द्र पे्रमर्षि, ध्रुव सापकोटा, ध्रुवहरि अधिकारी, नगेन्द्रराज शर्मा, नयनराज पाण्डे, नरेन्द्रराज प्रसाई, नारायण ढकाल, परशु प्रधान, पुरुषोत्तम सुवेदी, प्रकाश सायमी, प्रदीप घिमिरे, प्रेमबहादुर खड्का, बिष्णु प्रभात, मुराारि सिग्देल, मोदनाथ प्रश्रित, मोहन मैनाली, युवराज घिमिरे, राजेन्द्र दाहाल, डा. राजेन्द्र विमल, राप्रउ पोखरेल, रोचक घिमिरे, लक्ष्मीप्रसाद उप्रेती, लोकमणि पौडेल, लोचन भट्टराई, वासुदेवकृष्ण शास्त्री, विनोद नन्दन, विमल आरोही, विमल निभा, विष्णु निष्ठुरी, विष्णुराज आत्रेय, विष्णुविभु घिमिरे, शरच्चन्द्र वस्ती, शार्दूल भट्टराई, शिव गाउँले, शिवगोपाल रिसाल, शिवप्रसाद सत्याल पीठ, शेखर खरेल, शैलेश आचार्य, श्यामल, सनत कुमार, श्रवण मुकारुङ, साई मुनाल पोखरेल, सौरभ, हरि अधिकारी, हस्त गुरुङ, होमनाथ ढुंगाना ।
मिति : २०६९ वैशाख २१ गते । पाटनढोका, ललितपुर
…………………………..
यो पुस्तिका तयार पार्न प्रेरणा दिने कृति तथा अमर आत्माहरू :
नेपाली कसरी शुद्घ लेख्ने ? (१९९१), गोपाल पाँडे असीम, हृदयचन्द्रसिंह प्रधान ।
…………………………..
प्रस्तुतकर्ता :
नेपाली भाषा प्रयोगकर्ता समूह
(नेभाप्रस—२०६९)
…………………………………………………………………
परिशिष्ट— २………………………
प्रयोगकर्ताको
मानक नेपाली शब्दकोश
(संकल्प एवं निर्देशन–पत्र)
भाषाको सम्प्रभुता यसका प्रयोगकर्तामा निहित हुन्छ भन्ने तथ्य आत्मसात् गर्दै, शिष्टपरम्परा र लोकव्यवहारबाट स्थापित हिज्जेमाथिको अतिवादी हस्तक्षेप भाषाको विकास एवं विस्तार निम्ति घातक हुन्छ भन्ने अनुभूत सत्य मनन गर्दै, समयको अन्तरालमा थोपरिएका विकृतिबाट मुक्त गराएर नेपाली भाषालाई स्वच्छ, गतिशील, सर्वस्वीकार्य र भविष्यमुखी बनाउँदै लैजाने उद्देश्यले ‘प्रयोगकर्ताको मानक नेपाली शब्दकोश’ तयार गरिनेछ । यो बृहत् शब्दकोश नभई दिन–प्रतिदिन प्रयोग हुने शब्दहरूको संग्रह हुनेछ र यसले विशेष गरी प्रयोगकर्तालाई प्रचलित नेपाली शब्दको मानक हिज्जे र स्तरीय रूप पहिल्याउन तथा प्रयोग गर्न सघाउ पुर्याउनेछ । ‘नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले)–२०६९’ को मर्म तथा भावना अनुरूप तयार गरिने ‘प्रयोगकर्ताको मानक नेपाली शब्दकोश’ ले निम्न मान्यता आत्मसात् गर्नेछ :
१. हस्व–दीर्घ, श–ष–स
• संस्कृतबाट जस्ताको तस्तै आएका (तत्सम) शब्द यथावत् लेख्ने ।
जस्तै : शिव, शरीर, शीतल, नवीन, आकाश, वर्षा, मयूर, अक्षर, ईश्वर, ऊर्जा, राष्ट्रिय, सम्पादकीय आदि ।
• नेपालभित्र र बाहिरका अन्य विभिन्न भाषाबाट हाम्रो भाषामा ‘जस्ताको तस्तै मिल्न आएका’ र मिल्न आउने (आगन्तुक) शब्दको रूप नबिगारी लेख्ने । यस्ता शब्दमा जबर्जस्ती श लाई स, दीर्घलाई हस्व र ब लाई व नबनाउने ।
जस्तै : खुशी, शहर, शहीद, फेशन, शेयर, शिकार, मार्कशीट, जीप, बेलून, कानून, कार्टून, जवाफ आदि ।
• विदेशी शब्द यथासम्भव मूल भाषाको उच्चारणसँग निकटतम हुने गरी लेख्ने । थप नियम लगाएर तिनको रूप नबिगार्ने ।
• संस्कृत लगायत सबै भाषाबाट रूप परिवर्तन भई आएका (तद्भव) शब्द यथावत् लेख्ने ।
जस्तै : गाउँ, हात, नाइके, छाता, लाल्टिन, सोख, जर्नेल, सिमन्टी, अस्पताल आदि ।
• वैकल्पिक तथा झर्रो नियम अनुसारका शब्दलाई निषेध नगर्ने ।
जस्तै : अकास, बर्खा, सित्तल, सिकार, सेयर, कार्टुन, जबाफ आदि ।
• क्षतिपूरक दीर्घीभवनको नियम अनुसार परम्परागत रूपमा दीर्घ लेखिदै आएका शब्द नबिगार्ने ।
जस्तै : तीतो, मीठो, खीर, फूल, दूध, बूढो, ठूलो आदि ।
• नेपाली प्रत्यय लगाउँदा मूल शब्दलाई यथासम्भव नबिगार्ने ।
जस्तै : स्वीकार्नु, पूर्वेली, पश्चिमेली, अंशियार, बेहोशी, कानूनी आदि ।
२. संयुक्त अक्षर; पदयोग–पदवियोग
• संयुक्त अक्षरहरू परम्परागत ढाँचामा संयुक्त रूपमै लेख्ने । अपवाद बाहेक खुट्टा काटेर नलेख्ने ।
जस्तै : विद्या, बुद्ध, शक्ति आदि । अपवाद : खड्ग, तद्भव, पढ्नु आदि ।
• शब्दको बीचमा खुट्टा काटेर पञ्चम वर्ण नलेख्ने । सकेसम्म संयुक्त रूपमै लेख्ने, नत्र अनुस्वार दिने ।
जस्तै : सम्पादक, सन्तान, दण्ड, सञ्चार, शङ्का वा शंका, सङ्घ वा संघ ।
• नेपाली भाषाको पदवियोगमुखी प्रवृत्तिलाई ख्याल गर्दै, अर्थ फरक नपर्ने भएमा, छ वा सोभन्दा बढी अक्षर भएमा समस्त शब्दलाई छुट्याएर लेख्ने । तर व्यक्ति, स्थान, पद, संस्था आदिलाई बुझाउने शब्द अभ्यास वा प्रचलन अनुसार यथावत् लेख्ने ।
• विभक्ति तथा विभक्तिवत् नामयोगी जोडेर लेख्ने । त्यस बाहेकका नामयोगी छुट्याएर लेख्ने ।
• एउटा काम जनाउने संयुक्त क्रियालाई एउटा डिकोमा लेख्ने । छुट्टाछुट्टै काम जनाउने भए छुट्टै डिकोमा लेख्ने ।
३. शब्द–प्रविष्टि
• मूल शब्द (तत्सम र तत्समवत् आगन्तुक) लाई नै मुख्य मानी तदनुरूप मूल प्रविष्टि दिने । तिनको वैकल्पिक रूपलाई वैकल्पिक प्रविष्टि दिने ।
जस्तै : आकाश, वर्षा, खुशी, शहीद, कानून, फेशन, कार्टून आदिलाई मूल प्रविष्टि दिने र तिनको अर्थ त्यहीं दिने । अकास, बर्खा, खुसी, सहिद, कानुन, फेसन, कार्टुन आदिलाई वैकल्पिक प्रविष्टि दिने र अर्थ मूल प्रविष्टिमा हेर्न लगाउने ।
• नेपाली भाषामा भित्रिएका विदेशी शब्दका साथै राष्ट्रिय भाषाहरूका र आञ्चलिक शब्द समेत थपेर यथासम्भव अद्यावधिक एवं समावेशी बनाउने ।
• सरलता र मौलिकताको भ्रामक आवरणमा अराजकता, संकीर्णता र संकुचनतर्फ नलागी परिशुद्धता, उदारता र विस्तारतर्फ उन्मुख हुने ।
हामीले परिवर्धन र परिवर्तन निमित्त कलमलाई सक्रिय राख्नु हाम्रो दायित्व हो, तर परिवर्तनको नाउँमा मुखविवरका औच्चार्य–अवयवलाई मर्काए झै निमोठनामोठ गर्नेहरूको झै भस्मासुरधर्मी प्रयासबाट हामी जोगिन सक्यौं भने पक्कै पनि यो यहाँ माथि प्रस्तावित पवित्र भूमिका सफल होला भन्ने मेरो इरादा छ ।
(हस्ताक्षर) २०७३–६–२३ आइतवार बालकृष्ण पोखरेल
विराटनगर– १३
प्रा. बालकृष्ण पोखरेल गुरुको उक्त निर्देशन र अनुशासन बमोजिम, उहाँको निर्देशकत्वमा हामी यो शब्दकोश तयार गर्नेछौं ।
१. गोविन्दराज भट्टराई (सम्पादक)
२. चूडामणि गौतम (सम्पादक)
३. राजेन्द्र विमल (सम्पादक)
४. शरच्चन्द्र वस्ती (संयोजक तथा सम्पादक)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

