नेपालमा भानुभक्त चिनाउने मोतिराम भट्ट बने, देवकोटालाई महाकविको दर्जा भारतीय लेखक राहुल साङ्कृत्यानले दिए । यसैगरी बेलायतमा सेक्सपियरलाई महान् बनाउने कार्य उनको मृत्युपछि प्रकाशित पुस्तकमा अक्सफोर्ड विश्वविद्यालयका केही प्राध्यापकहरूले गरेको अनुसन्धानबाट खुलेको छ । डा. क्रिस लाउटेरिसले प्रस्तुत गरेको सेक्सपियर्स बुकः द इन्टरवाइन्ड लाइभ्स बिहाइन्ड द फर्स्ट फोलियोमा सो कुराको खुलासा गरेका हुन् । उनी बिर्मिङघम विश्वविद्यालय अन्तर्गतको सेक्सपियर इन्स्टिच्युटका असोसिएट प्रोफेसर हुन् ।
फर्स्ट फोलियोका रूपमा चिनिने पुस्तकमा सेक्सपियरका पहिलो ३६ नाटक संकलित छन् । सो संकलनमा त्यो बेलाका नामचीन लेखक तथा विद्वानहरूले सेक्सपियर किन महान् हुन् भनी लेखेका कविताहरू प्रकाशन गरिएका छन् । अचम्म त, कतिपय कविले सेक्सपियर अक्सफोर्डजस्तो उम्दा शिक्षालयमा दीक्षित भएका हुनाले यति महान् लेखक हुन सकेको दाबी समेत गरेका छन् । जबकि उनी अक्सफोर्डमा शिक्षा लिनेमध्येमा पर्दैनन् । खासमा भन्ने हो भने उनी त्यो बेलाका अन्य महान् साहित्यकारभन्दा कम पढेलेखेका व्यक्ति थिए ।
लाउटेरिस भन्छन्, ‘त्यो बेलासम्म नाटकमा खेल्नु वा नाटक लेख्नु सबैभन्दा निम्नस्तरको काम थियो । त्यसलाई उच्च कोटीको प्रमाणित गर्न पछि धेरै मिहिनेत गरेको देखिन्छ ।’
‘द प्राइभेट लाइफ अफ विलियम सेक्सपियर’की लेखिका लेना कोवेन ओर्लिनले निकै लामो समय शोध सेक्सपियरमाथि एउटा प्रामाणिक जीवनी कोरेकी छन् । उनी भन्छिन्, ‘सेक्सपियरको मृत्युपछि अक्सफोर्ड विश्वविद्यालयले उनको छवि उजिल्याउन र उनको नातो विश्वविद्यालयसँग थियो भन्नेतर्फ धेरै काम गरेको देखिन्छ । यसो गर्दा ती उम्दा लेखकसँगै विश्वविद्यालयको आकर्षण पनि बढ्ने भएकाले त्यस बेला त्यस्तो गरिएको देखिन्छ ।’
त्यस बेलाका विद्वानले फर्स्ट फोलियो (नाटकहरूको प्रथम संग्रह) प्रकाशन गर्ने बेलामा सेक्सपियरका ‘काम’हरू भनी सम्बोधन गरिएको छ । सेक्सपियरले शीर्षक नामकरण नगरेको संकलित रचनालाई विश्वविद्यालयका प्राध्यापकहरूले ‘वर्क्स'(काम) भनी शीर्षक जुराइएको थियो । त्यसबेला यस्ता शब्दको उपयोग पुस्तक गुणस्तरीय भएको सन्देश दिन खोजिएको लेना बताउँछिन् । त्यो बेला ऐतिहासिक वा राष्ट्रिय महत्त्वका सिर्जनालाई मात्र ‘वर्क्स’ भनिन्थ्यो । यसरी विज्ञ र महाज्ञानी सेक्सपियर जन्मन पुगे ।
संकलित रचनाहरू कति महत्त्वका छन् भन्ने बुझाउन विश्वविद्यालयको मिहिनेतकै कारण सेक्सपियर लोकप्रिय बने । उनको लोकप्रियता यति बढ्यो कि उनी जन्मेको पाँच सय वर्ष बितिसक्दा पनि उनको लोकप्रियता घट्नुको साटो बढेकै छ । नबढेको भए पनि घटेको भने छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।