देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ ।
देश तीन महिनादेखि लकडाउन (बन्दाबन्दी)मा छ । आंशिक रूपमा बन्दाबन्दी खुल्दै गए पनि त्रासदि उस्तै छ। रोगको त्रासभन्दा अमानवीय तथा हिंसात्मक समाजको दिसाको चिन्ता भारी बनिरहेको छ।
यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्ने छौँ:
आयुष भट्टराई:
“सिक्नु पनि त एक काम हो ! म अहिले सिकिरहेको छु ।”
लकडाउनको समय छ । यसो सोच्दा कोठामा थुनिएर बसेको पनि तीन महिना भैसकेछ । सुरूसुरूका दिनमा केही अफ्ठ्यारो महसुस भयो । तर म सधैँ कोठामा मात्र थुनिएर बसिनँ ।
दिनचर्या कसरी बितिरहेको छ ? भन्ने प्रश्नमा सरासर मेरो दैनिकि के हुन्छ भने , सानो किराना र ग्यास पसल छ, म परिवारलाई केही समय त्यता दिन्छु । कहिलेकाहीँ खाना बनाउँन सघाउँछु । केही समय सामाजिक सञ्जालले लिएर जान्छ । केही समय फिल्म, सिरिज लौजान्छन् । केही समय ध्यान, योग र व्यायामलाई दिइरहेको हुन्छु । खाने र सुत्ने त जसको पनि हुन्छ । मेरो केही समय किताब पढ्ने काम हुन्छ भने केही समय केही लेखिरहेको पनि हुन्छ । समंग्र दिन यसरी बितिरहेको हुन्छ ।
केही गरिएन भन्दाभन्दै धेरैथोक गरिसकिन्छ एकदिनमा । मलाई एक्लोपन केहीहदसम्म मन पर्छ ।
नगरकोटीको किताबमा कतै एकबेला पढेको थिएँ, “If you don’t celebrate your aloneness you are the most boring person in the world . I am alone I love my aloneness.”
मलाई यो भनाइले पनि एक्लोपनालाई माया गर र आफैँसँग रमाऊ भन्ने कुरा सिकायो । कति परिवार घर आउन नपाएको र परिवारभन्दा टाढा रहेको बेला, म परिवारसँगै बस्छु र छु । मैले आफूलाई र मेरो परिवारले पनि यस कुरामा भाग्यमानी ठान्नु पर्छ ।
मलाई मैले बाँचिरहेको जिन्दगी एक तरिकाले मज्जा लाग्छ । किनकि कति मानिसहरू मलाई हेरेर म जतिको मात्र हुने सपना देखेर बाँचिरहेका छन् । कति आफ्नै भोगाइ, कति देखेर, कति पढेर र कति फिल्म हेरेर मैले आजसम्म बुझेको कुरा यति हो ।
नवपुस्तामा युवाहरूले के गरिरहेका छन् ? भन्नेमा मलाई लाग्छ,- केही न केही गरिरहेका छन् । तर कसैलाई उनीहरूले बुझ्न खोजिरहेका छैनन् । सिक्न खोजिरहेका छैनन् । अगिल्लो पुस्तालाई सम्मान गरिरहेका छैनन् । युवाहरूलाई म जान्ने र मभन्दा जान्ने कोही छैन भ्रमले च्यापिरहेको छ । र आफैँलाई चिन्न खोजिरहेका छैनन् । त्यसमा मलाई दुःख लाग्छ ।
युवाहरूले देश बुझ्न जरूरी छ । भविष्य बुझ्न जरूरी छ । नवपुस्ताले धेरै कुरा बुझ्न जरूरी र बाँकी छ ।
हामी हरेक आफू चिनाउन हतार गरिरहेका छौँ । मलाई आफैँलाई ‘म यो हुँ’ भनेर चिनाइहाल्ने बेला आएको छैन जस्तो लाग्छ । हामीले सुरूमा त आफैँलाई चिन्न जरूरी छ | त्यसपछि मात्र अरूलाई चिनाउनुपर्छ भन्ने सोच लिएर म बाँचिरहेको छु । त्यही आफैँलाई अहिलेसम्म राम्ररी चिन्न नसकेको र धेरै कुरा सिक्न बाँकी रहेकोले म हरेकपल्ट केही सिक्न खोजिरहेको हुन्छु । त्यही केही सिक्ने प्रकृयामा मैले केही सिरिज, केही फिल्महरूमा हेरेँ । केही किताबहरू पढेँ र आफैँलाई केहीहदसम्म बुझ्ने कोसिस गरेँ ।
लक डाउनको समयमा मैले केही सिरिजहरू हेरेँ, जसमध्ये केही हिन्दी, केही इंगलिस सिरिजहरूले दिनहरू राम्रै बिताएका हुन्थे । फिल्महरू पनि त्यस्तै दिनको एकको दरले हेर्दा सात-आठ दर्जन हेरियो होला । दश-पन्ध्रवटा किताब पढेँ होला, त्यसमा केही नयाँ र केही पूराना, पहिले पढिसकेका किताब फेरि पढेको छु । एकहप्ता जति भयो होला, अहिले भने केही फिल्म हेरेको छैन । केही समय केही हास्यब्यंग लेख, केही कथाहरू लेखिरहेको हुन्छु । र त्योभन्दा पनि बढी अनलाइनमा केही न केही हरेकदिन पढिरहेको हुन्छु ।
अरूले हेर्दा मैले केही पनि गरिरहेको छैन, तर म केही गरिरहेको छु । सिक्नु पनि त एक काम हो । म सिकिरहेको छु ।
मैले कतै सुनेको छु– जसरी हतियारलाई राम्रो बनाउन बारबार धारको जरूरी पर्छ, त्यसरी नै दिमागलाई धार लगाउन किताब पढ्नु जरूरी हुन्छ । म किताब पढ्न मन पराउँछु, र दिमागलाई धार लगाइरहन्छु । किताबहरू साथी हुन् जस्तो पनि लाग्छ । फिल्म हेर्न मन पराउँछु । सबैभन्दा ठूलो कुरा त सिक्न मन पराउँछु ।
अन्त्यमा, युवापुस्ता के गरिरहेका छन् भन्दा हामीले भन्न जरूरी छ- “हामीले सिक्न धेरैकुरा बाँकी छ । अहिले हामी धेरैकुरा सिक्ने बाटोमा छौँ ।” र म पनि त्यही भन्छु, “सिक्नु पनि त एक काम हो ! म अहिले सिकिरहेको छु ।”
रेणुका जिसी खतिवडा:
“जीवनमा सबैभन्दा बढी गरेको काम के ? – पढ्ने र पढाउने ।”
४ वर्ष हुँदा बाबाको हात समातेर विद्यालय टेकेका पाइलाहरू १२ वर्षपछि विश्वविद्यालय टेक्नुपर्ने बेलामा पुन: विद्यालयमा फर्किएँ । भूमिका बद्लियो । चुलबुले विद्यार्थीलाई पर्फेक्ट शिक्षक बन्नु थियो । बन्ने पर्यत्न जारी नै छ । बिगत १४ वर्ष देखिको एकैखालको दैनिकीदेखि घरिघरि आफैँ आजित हुन्थेँ । केही वर्षयता म आफ्नै दैनिकीबाट अलिक समय ब्रेक खोजिरहेकी थिएँ । यसकारण पनि मेरा लागि लक डाउन अवसर बनेर आयो । दौडधुपवाला जिन्दगीमा झ्याप्प ब्रेक लाग्यो । तर कोरोना माध्यम बनेर आओस्, मेरो कामना थिएन । न त घरभित्रै बसिरहनु रोजाइ नै थियो । तर समय जे आयो त्यसैलाई अवसर ठानियो । आफ्नो हिसाबले सदुपयोग गर्ने प्रयासमा नै छु ।
जिन्दगीको पूर्णता नै अपूर्णताभित्र भेटिन्छ । यही सोचेर चित्त बुझाउँदै छु । जागिर ,घरव्यवहार र छोराछोरी तेहोरो भूमिकामा बाँधिदा जति नै प्रयास गर्दा पनि कहीँ न कहीँ केही न केही छुटेको जस्तो, अपुरो जस्तो भान भइरहने रहेछ । दुई सन्तानको आमा भएर पनि आमा हुनुको सम्पूर्ण आनन्द महसुस गर्न पाइनँ कि त ! अक्सर यही लागिरहन्छ ।
“आज त साहराले मम्मा भनिन्, नानी त आज उभिएकी, बाबुले आज यसो गरे, उसो गरे ।’’, उनीहरूको पहिलो बोली, पहिलो उभिएको, हिँडेको दृश्य या यस्ता धेरै पल समाचारका रूपमा दोस्रो मानिसका मुखबाट सुन्दा आमा मन चसक्क हुन्थ्यो । जे छुट्यो, त्यो त सकियो । जे छ त्यसलाई सार्थक बनाउन त सकिन्छ नि ! बन्दाबन्दीको यो समय छोराछोरीको रंगमा रंगीएको छ । छोरीको टिकटक, खेल , पैदलयात्रा या अन्य रहरमा उसको साथी बनेर हिँडिरहेकी छु । ‘बी’ र ‘डी’मा झुक्किने छोरासँग स्पेस र ग्रहहरूको बारेमा यति धेरै ज्ञान रहेछ, सुनिरहेकी छु । उसको स्पेस मोहसँगै कथा मोह पनि अनौठो छ । उमेरले ६ को दैलो टैक्दै गरेको उसले हिन्दी ,अंग्रेजी र नेपाली मिश्रित भाषामा अनौठा कथा सुनाउँछ । मामुको पिठ्यूमा चढेर ‘हट घोडा हट’ गर्दै या काँधमा चढेर ‘म बिगर भएँ’ भन्दै उसले भन्छ “मामु आप तो वन्डरफुल ओमन हो ।’’, म सधैँ यस्तै भैरहन सकूँ !
लक डाउनले सामाजिक दूरी बढाए पनि आत्मीक दूरी भने कम गरेको छ । यादमा मात्र आइरहने देश विदेशका प्यारा आफन्तसँग धित मरुन्जेल कुराकानी भएको छ । जन्म गाउँका पाखापखेरामा घन्किएका भाकाहरू ग्रुप च्याटमा घन्केका छन् । आफ्नै भाग्य भेट्न हतारहतार दौडिरहेका साथीहरू बिसौनीमा बसेर गफिरहेका छौँ । प्रतिकूलतालाई अनुकूलतामा ढाल्दै विभिन्न सेमिनार र भर्चुअल साहित्यिक गोष्ठीहरू भ्याए जति उपस्थित भएकी छु । केही कविता, केही गजल र केही कथा सृजना गर्न भ्याएकी छु ।
सबैभन्दा बढी एक्सपेरिमेन्ट गर्ने ठाउँ त भान्छा पो रहेछ ! भान्छामा पस्नेबित्तिकै आत्तिने म स्वादले तानिने भएकी छु । यसअघि नपाकेका परिकार पाकेका छन्, यसअघि पाकेका परिकार फरक तरिकाले पाकेका छन् । छतमा तरकारी, फेसबुकमा स्टाटस र तस्विर अनि युट्युबमा आफूले जानेको खेती जताततै गरेका छौँ ।
‘हम दो हमरा दो’वाला परिवार छ । नियमित आम्दानीको ठूलो हिस्सा ठप्प छ । चिन्ता होइन, चिन्तन गरिरहन्छौँ । समयभन्दा बलवान अरू के नै छ र ! जिन्दगी आफ्नो हो । यो समय फेरि आउनेवाला छैन । पूरा गर्न सक्ने जति रहर बाँच्ने प्रयासमा छौँ। आखिर जिन्दगी त यत्तिकै पनि त बितिजान्छ ।
मेरा लागि पुस्तक पढ्नु आफूलाई मीठो लाग्ने खानेकुरा खानुजस्तै हो । व्यस्तताका बाबजुद पनि पुस्तक पढ्न समय हुन्छ, छ । अझै लक डाउनले यो क्रमलाई ह्वात्तै बढाइदियो । मनभरि पात्र बोकेर अर्को कुरामा मेरो ध्यान जाँदैन । जतिसुकै लामो किन नहोस्, आख्यानलाई एकै बसाइमा सिध्याउनुपर्छ ।
लक डाउनका सुरुवाती दिनमा नै हरेक दिन एक-एक पुस्तक पढेँ । घरमा भएका मध्ये नपढेका पुस्तकहरू थोरैमात्र थिए । हंस, घामकिरी, लाइफ अ बटरफ्लाई, लेभ टोल्सटोइका विश्वप्रसिद्ध कथालगायतका कृति पढिसकेपछि केही कवितासंग्रहहरू दोहोराएँ । केही उपन्यासहरू पनि । देशको कारण होस्, परिवेशको कारण होस् , सम्बन्धहरूका कारण या यावत कारण मन त दुखिरहन्छ । दुखिरहने मनलाई ठ्याक्कै पेनकिलरको काम गर्छन् कुनै किताबहरूले । र त मोहन मैनालीको ‘देखेको देश’ र नयनराज पाण्डेको ‘यार’ दोहोराएर पढिरहन्छु ।
पुस्तक पढ्ने माहोलमा छोरी पनि समावेश भैसकेकी छिन् । गौरी खण्डकाव्य, एलिस इन द वन्डरल्यान्ड र केही बालकथाहरू उनले पनि पढिसकिन् । मैले भने भर्खरै सत्यजित रोयका कथाहरू पढेर सकेकी छु । चार वेद र पारिजातका संकलित रचनाहरू पालो पर्खेर ¥याकबाट टुलुटुलु हेरिरहेका छन् ।
कोरोनाको परिधि सँगै भय र चिन्ताको परिधि पनि बढिरहेको छ । हरेक दिन बढिरहेका संक्रमित र मृत्युको संख्या त छँदै छ, सँगसँगै मन भतभत पोल्न दिनहुँ नयाँ नयाँ समाचार आइपुग्छन् । अन्नबाली र घरका छत नै नाश गर्नेगरी आएको असिनादेखि राजु सदा को मृत्युसम्म आइपुग्दा पटक-पटक दुखेको छ मन ।
आफूले धेरै आश गरेको कम्युनिष्ट सरकारको कमाउनिष्ट प्रवृतिले आक्रोशित बनाइरहन्छ । व्यवस्था मात्र परिवर्तन भएर अवस्था परिवर्तन नहुने रहेछ । संकटको यो घडीले थुप्रै मुखुन्डाधारीको वास्तविक रूप उदाङ्गो पारेको छ । सुनेकी छु, हरेक विनाशले पूराना मानकहरू भत्काएर नयाँ मानकहरू स्थापित गर्छ । आशा छ यो विषम परिस्थितीले पनि पक्कै सम्भावनाका नयाँ ढोकाहरू खोल्ने छ ।
बिकेश कविन:
“मेरो लकडाउन प्रकृति, पुस्तक, कविता, खोज आदि इत्यादिसँगै केही कुरा सिकेर बित्यो“
देशभरि लक डाउनको घोषणा हुनुभन्दा अघिसम्म म नियमित रूपमा इटहरीको ’इटहरी मेट्रीक्स’, साथसाथै छेउछाउका गाउँबस्ती अनि वनजङ्गल र खोलाहरूतिर चरा हेर्न जानेगर्थेँ । यो क्रममा थुप्रै नुतन चराहरू देख्न पाइयो, जुन चराहरू इटहरी चोकआसपास देख्न असम्भवप्रायस् छ ।
सरकारले देशभरि लकडाउनको घोषणा गर्यो । त्यसपश्चात् विशेषगरी घरमै समय व्यतीत गर्नथालेँ । लकडाउनले गर्दा वातावरण शान्त र प्रदूषणरहित बन्यो । बाटाहरूमा मान्छेहरू देखिएनन् । देखिए त केवल विभिन्न प्रजातिका सुन्दर चराहरू जो उन्मुक्तसाथ आफ्नो प्रकृतिरूपी घरमा मज्जाले माधुर्य गीत गाइरहेका थिए । देखिए त केवल वसन्तमा रमाइरहेका वृक्षहरू । कोइली चरा (एसियन कोयल) जसलाई सामान्य अवस्थामा इटहरीका भित्री गाउँहरूमा देख्न पनि मुस्किल पर्थ्यो, त्यसलाई गाउँहरूमा मात्र होइन, इटहरीको अति व्यस्त रहने मुख्य चोकहरूका वृक्षहरूमा बसेर ’कुहु……कुहु…..’ गाइरहेको सुन्न पाइयो ।
कुथुर्के (ब्लु थ्रोटेड वारबेट) चरा जुन इटहरी सहरमा देखिनु दुर्लभप्रायस् हो, यसलाई पनि लक डाउनको बखतमा भारी सङ्ख्यामा देख्न पाइयो । यसको आवाज मज्जाले सुन्न पाइयो । यी चराहरूका अतिरिक्त गाजले सुनचरी, कालोटाउके सुनचरी, फ्राप्रे चरा, ढोडे गोकूल, भद्राई चरा आदि आदि इत्यादि चराहरूलाई पनि इटहरीका चोकचोकमा, गाउँगाउँमा देख्न पाइयो । सुन्न पाइयो । यी चराहरूलाई एकैपटकमा देख्न र सुन्न लकडाउन महत्वपूर्ण समय रहेछ नत्रभने अन्य अवस्थामा यी चराहरू सजिलै देखिँदैनन् । अझ सहरतिर त अन्य सामान्य चराहरू पनि देख्न मुस्किल नै पर्छ ।
लकडाउनको सुरुवाती दिनमा कवि भूपी शेरचनका कवितासङ्ग्रहहरू घुम्ने मेचमाथि अन्धो मान्छे र भूपी शेरचनका कविताहरू (शिव रेग्मीद्वारा सम्पादित कवितासङ्ग्रह) दोहार्याएर पढेँ । यसका अतिरिक्त कवि शेरचनमाथि लेखिएका विभिन्न लेखकहरूका संस्मरण, विचार, आलेख आदि इत्यादि पढेँ । कवि भूपीबारे केही खोजहरू गरेँ । उनका केही दुर्लभ फोटोहरू साथसाथै उनको जीवनको अन्तिम अन्तर्वार्ताको भिडियो पनि फेला पारेँ ।
वास्तवमा भन्ने हो भने मेरा लकडाउन दिनहरू भूपीमय भए । कवि भूपीका अतिरिक्त अन्य कविहरूका केही कवितासङ्ग्रहरू पढेँ । ध्रुवचन्द्र गौतमको मदन पुरस्कार प्राप्त सुप्रसिद्ध उपन्यास ’अलिखित’ पढेँ । लेनसिंह बाङ्देलको मालिक उपन्यास ’लङ्गडाको साथी’ पढेँ । यसका अतिरिक्त अन्य केही पुस्तकहरू साथसाथै सङ्कलन गरिएका म्यागेजिन, आलेख आदि इत्यादि पनि पढेँ । साथसाथै, लकडाउनको अवधिमा कोरोना भाइरस, महामारी, बालबालिका आदि केन्द्रीत केही कविताहरू पनि लेखेँ । समग्रमा भन्नुपर्दा, मेरो लकडाउन प्रकृति (चरा, रुख, खोला आदि), पुस्तक, कविता, खोज आदि इत्यादिसँगै केही कुरा सिकेर बित्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।