बाँकेको टन्टनापुर गर्मीमा म कोहलपुर बसपार्कमा काठमाडौं जाने गाडीको टिकट काट्ने लाइनमा थिएँ । बिचौलियाहरू मुखमा गुट्खा च्यापेर यात्रुलाई ‘कहाँ जाने ?’ भनेर सोधपुछ गर्दै थिए । म भने बिचैलियाको सिकार पर्नुभन्दा पहिले नै अघि सरेर टिकट काट्ने लाइनमा बसिसकेको थिएँ ।

गर्मीले सबैको मुहार आगोको फिलिङ्गोजस्तै रातो बनाएको थियो । लाइनमा अगाडि उभिएका सबै दिक्दार देखिन्थे । सबैको अनुहार उदास थियो । सबै मलामी आए जस्ता भावशून्य देखिन्थे । काउन्टरमा काम कछुवाको गतिमा हुँदै थियो । कोही पछाडिबाट जोरजोरले कराइरहेका थिए । कोही भने लाइनमा ठेलम्ठेल गर्दै घुस्न खोज्दै थिए । म एक्लै सब दृश्य हेर्दै मनमनै कहिले काठमाडौं पुगिएला र म्यानपावरको एजेन्टलाई भेटिएला भन्ने सोचिरहेको थिएँ ।

विशाल दत्त भट्ट

मोटामोटी आज तीन महिनाभित्र सातौंपटक काठमाडौं जादै थिएँ । म्यानपावर कम्पनीले पनि विभिन्न बहानामा बोलाइरहन्थ्यो । छुट्टिने बेलामा एउटै कपीपेस्ट बिदावारी हुन्थ्यो, “भट्टजी, अब तयार हुँदै गर्नुहोला है । चाँडै भिसा लाग्छ ।”

हिजो बिहानै म्यानपावरकी स्टाफले फोन गरेर भनेकी थिई, “हेल्लो विशालजी, हजुरलाई मनोहर सरले बोलाइस्या छ । भोलि नै काठमाडौं आउनु पर्यो । अनि सुन्नु त ! बाँकी रहेको पेमेन्ट पनि गर्दिनुहोला है । उता कम्पनीबाट रेस्पन्स आइसक्यो ।”

हिजो दिनभरि लाएर खाना नखाईकन चिनेको नजिकका आफन्तसँग ऋण काढेर पैसा जोहो गरेको थिएँ । राती निद्रा पनि राम्रोसँग लाग्नै पाएन । मन एउटा सिनेमामा झैँ दृश्यहरू अविरल खेलाउँदै रह्यो ।

कसरी सपनाहरू सजिँदै जान्छन् ? कसरी बिपना भत्किएर पनि जान्छन् ?

कसरी रूखले पालुवा हाल्छ ? कसरी हरियो पात सुकेर पनि झर्छन् ?

कसरी हावामा आशाको महल ठडिन्छ ? कसरी आशाको महल तासको महलझैँ ढल्न पनि पुग्छ ?

“ए भाइसाब क्या हुवा ?”, ढाडमा धपधपाउँदै एउटाले मलाई अघि सर्न लायो । म झसङ्ग भएर अगाडि सरेँ । लाइनको लम्बाइमा कति पनि कमी आएको थिएन । त्यसपछाडिको मान्छेलाई भने मेरो अगाडि खाली रहेको डेढ फुटको पनि लोभ लागिरहेको थियो । मैले खल्तीमा रहेको नोकिया

मोबाइल झिकेर समय हेरेँ । दिउँसोको दुई बज्ने लागेको थियो । नाडीमा बाँधिएको घडीलाई निकै ग्लानि भएको हुँदो हो, लाचार भएर मेरो पसिनाले निथ्रुक्कै भिजेको अनुहारमा हेरिरह्यो ।

काउन्टरका कर्मचारी खाजा खाने समय भएको भन्दै निस्किए । कोही एक शब्द बोल्न सकेनन् । गर्मीले आलस्य बनाएको पनि हुनसक्छ, या त बोल्ने मुडमा कोही थिएनन् । ठिक त्यसै समय त्यहाँ हातमा एउटा थर्मसमा चिया र प्लास्टिकमा केही चाउचाउ, बिस्कुट, पाउरोटी, चुरोट, गुट्खा बोकेर एउटा अधबैंसे महिला आइपुगिन् । “ए नास्ता ले बे ?”, ती महिलाले मतिर हेर्दै थर्मस भएको हात थोरै उचाल्दै प्रश्न गरिन् । उनको त्यो प्रश्न नभएर आफ्नो घरमा बेलुका बालबच्चालाई खुवाउने दाल चामलको व्यवस्था गरिदिन अनुरोध थियो । मैले थोरै आँखा उचाल्दै हुन्छ भनेँ । उनले मलाई एउटा प्लास्टिकको गिलासमा चिया हालेर दिइन् ।

“अरू काई देबे ?”

मलाई चियासँग पाउरोटी खान मन लाग्यो । “यसको कति रुपैयाँँ हो ?”, पलास्टिकभित्र भएको पाउरोटीलाई चोर औंलाले देखाउँदै प्रश्न गरेँ ।

“दस रुपैयाँ लेबे ।”

मैले एउटा पाउरोटी मागें । तिनले एउटा पत्रिकाको टुक्राले च्यापेर मलाई पाउरोटी थमाइन् । मैले थोरै मुस्कान थपिदिँदै पैसा दिएँ र चियाको सुर्को लिएँ । उनी खुसी हुँदै अर्को मान्छेतर्फ सोध्दै गइन् । चिया र पाउरोटी खाँदै त्यसै लाइनमा बसिरहेँ । चियामा चोप्दै पाउरोटी खानाले पाउरोटीभन्दा अगाडि चिया सकियो । प्लास्टिकको गिलास नजिकै रहेको ‘फोहोर मलाई’ लेखिएको बाल्टीमा खसालिदिएँ । पाउरोटी अलिकता बचेकाले हातमा लिएर बिस्तारै खाई नै रहेँ । अन्तिमपटक बचेको सानो ठुन्को पाउरोटीलाई मुखमा हालेर हातमा भएको पत्रिकाको टुक्रा हेर्न थालेँ ।

केही विज्ञापन र सूचनाहरू थिए । कुनैबेला जागिर खोज्न पत्रिकामा विज्ञापन र सूचना हेर्दै विभिन्न कम्पनीका फोन नम्बर संकलन गरेको याद आयो । एक महिनामा कमाइ हुनेभन्दा बढी पैसा त तिनै कम्पनीमा फोन गर्न र जागिरबारे बुझ्नमै खर्च भएको थियो । अझ कुनै कम्पनीमा पुगेर तीन सयदेखि पाँच सयसम्मको फम भरेरसमेत आएको थिएँ । ती सबैले तपाईँ छानिइनुभयो भने सम्पर्क गरौंला भन्दै पठाएका थिए । म कुनैको पनि छनोटमा पर्न सकिनँ क्यारे ! महिनौं बितिसक्दा पनि फोन आएको थिएन । पछि पछि त आश र विश्वास दुवै मरेर गयो । हातमा भएको पत्रिकाको एउटा सूचनामा आँखा गयो । कालो बोल्ड अक्षरमा लेखिएको थियो ‘सभासद् हराएको सूचना !’

म तीन छक्क परेँ । जीवनको पच्चीस बसन्त पार गरिसक्दा पनि पहिलोपटक यस्तो सूचना देख्दै थिए । त्यस शीर्षकलाई दोहोर्याइतेर्याई हेरेँ । त्यो त्यही नै थियो, जुन म पढिरहेको थिएँ । मलाई त्यस अनौठो सूचनाले असमञ्जसको अवस्थामा धकेलिदियो ।

काउन्टरका कर्मचारी खाजा खाएर आइपुगेछन् । पछाडिबाट ठेलमठेल सुरु भैहाल्यो । मैले त्यस पत्रिकाको टुक्रालाई जतनसाथ पट्याएर पाइन्टको अघिल्लो खल्तीमा राखें । बिस्तारै बिस्तारै गरेर लाइनमा अगाडि बढ्दै गरेँ । सम्झँदै बिरक्त लाग्ने ती कर्मचारीहरूको अगाडि पर्दै काठमाडौंसम्म जाने गाडीको टिकट काटेर त्यस काउन्टरबाट ओझेल परें । गाडीको समय हुन अझै डेढ घन्टा जति बाँकी थियो । बस्ने बाहाना खोज्दै नजिकको एउटा सानो चिया पसलमा गएर चिया मगाएँ । चियापत्ती बिटभरि लागेर बाफ छोड्दै उम्लिरहेको भाँडोबाट एक कप चिया सानो सिसाको गिलासमा खन्याएर आधा तालु खुइलिसकेका एक जना अधवैंशे मानिसले म बसिरहेको टेबलमा ल्याएर टक्राए । उनको अनुहार देख्दा साह्रै दया पलाएर आयो । खाली रहेको चिया पसलमा म गएर बसिदिँदा उसलाई हिउँदमा सूर्य उदाएजस्तो आभास भएको हुँदो हो । आफ्नै टुक्राटाक्री सपनाहरू साँच्दै चियाको सुर्को तान्न थालेँ । तातो चिया मुखभित्र पुगेपछि थाहा भयो, चियाभन्दा तातो मन्द बगिरहेको हावा थियो । हुन पनि शीतल ओत खोज्दै बस्न चिया नै उपयुक्त माध्यम थियो ।

यसो खल्तीमा भएको अघिको पत्रिकाको टुक्रा निकालेर दृष्टिपात गर्न थालेँ ।

“असारेमास सकिनै लाग्दा सारा गाउँलेले चुनेर पठाएका सभासद् निकै लामो समयदेखि फरार छन् । गरिबका रक्षक, जनताका साथी, सबैका परम मित्र, आशाको किरण मानिएका सभासद् हराएको र जति प्रयास गर्दा पनि आजसम्म नभेटिएकोले भेट्टाउनुहुने महानुभावले हाम्रो गाउँको जोसुकैलाई पनि सम्पर्क गरिदिन सक्नुहुनेछ । उक्त कुरालाई मध्यनजर गर्दै यो सूचना प्रकाशन गरिएको छ ।”

दोहोर्याई तेहेर्याई त्यही कुरा पढिरहेँ । केहीबेर पढेपछि मात्र विश्वास लागेको थियो । हुन त पहिलोचोटि पढ्दा विश्वास नलागेर दोहोर्याएको होइन, तैपनि दोहोर्याउँदा मात्रै चित्त बुझ्न पुग्यो ।

निम्न बेहोराको सभासद् हराएको हुनाले देख्नुहुने मित्रहरूले सम्पर्क गरिदिएर सहयोग गरिदिनु होला;

रातो मुहार, लामो जुँघा, भ्यात्त बाहिर निक्लेको भुँडी, अग्लो कद र बोल्दा प्रायःजसो खोकेको स्वाङ पार्ने बानी भएको र कपाल पनि फुलेर सेतै भएको । देख्दा निकै सोझो र दयालु देखिने, बानी बेहोरा भने ठिक विपरीत भएको । नाकको प्वाल नै छोप्ला जस्तो गरी बाक्लो जुँगा पालेको र निधार र तालुसँगै जोडिएको । झ्याप्प हेर्दा अलि सामान्य जस्तो देखिए पनि असामान्य जायजेथाका धनी । देख्दा निकै अल्छी तर बोल्नमा भने नौ डाँडा उछिन्ने खुबी भएको । बोल्दा प्रायः जसो आफ्नो योगदानको मात्र कुरा गर्ने, तर यथार्थमा सिन्को नभाँचेको । कहिलै काम नगरे पनि आफ्नो गहकिलो भाषणले सबैको मन जित्न सक्ने हैसियत भएको । बोलेरै जित्न सक्ने र जस्तोसुकै परिस्थितिमा कुरा मिलाउन सक्ने खुबी भएको । यस्तै यस्तै बहुमुखी प्रतिभा भएको एकमात्र महापुरुष आफ्नो गाउँ छोडेर अन्यत्र लाग्दा हामी सबै जनताको बिल्लिबाठ भएको छ ।

विगत चौध-पन्ध्र महिना पहिलै हामी सबैले आफ्नो समस्याको समाधान खोज्दै आफ्नै सुख-दुःख साट्नका लागि भनेर प्रतिनिधित्व गर्नका लागि चुनेको मसिहा आफ्नै सुख-दुःखमा रमाउन पुगे । र उक्त समयपछि निजले सारा गाउँलाई वास्ता नगरी चट्ट छाडेर गाउँबाट फरार रहेका छन् । उहाँले त्यसरी छोडेर जाँदा सारा गाउँको बीचल्ली भएको छ । उहाँ त्यसरी हामी माझबाट एकाएक टाढिँदा सारा गाउँ नै टुहुरो भएको छ । हाम्रो एक मात्र आशाको किरण हुनुहुन्थ्यो उहाँ । त्यसकारण सबै देश-विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरू आआफ्नो ठाउँबाट खोजी कार्यमा सहयोग गरिदिनहुन विनम्र अनुरोध गर्दछौँ ।

चुनाव भएको एक महिनापछि सम्पर्क विहीन हुनुभयो र धेरै सोधखोज गर्दा पनि आजसम्म सम्पर्कमा आएका छैनन् । चुनाव लगत्तै सारा गाउँबासीको सारा आशा उनमै केन्द्रित थियो । अब साँच्चिकै हामी सबैको दिन फेरिएको छ भन्ने लागेको थियो, तर उक्त कुरा पूरा हुनै पाएन ।

यदाकदा सुनेका हौं, तर ठ्याक्कै यही हो या होइन भन्ने यकिन चाहिँ छैन, कि उहाँ राजधानीतिर भेटिनुहुन्छ अरे । राष्ट्रिय दैनिक पत्रपत्रिकाले बेलामौकामा उहाँबारे समाचार सम्प्रेषण गरिरहेको हुन्छ । फलानो नेता राजधानीको फलानो फलानो फाइभस्टार होटेलमा भेटिनुभयो अरे । हाम्रो स्वर्गजस्तो प्यारो गाउँ छोडेर कृत्रिम फाइभस्टार होटेलमा उहाँ रम्नुभएको समाचार सुन्दा मन कटक्क खान्छ ।

कुनैबेला एउटा पत्रिकाले खबर छापेको थियो, फलानो नेताले आफ्नो गृहजिल्लाको विकासमा केन्द्रित भएर राजधानीको हायात होटलमा भव्य कार्यक्रम आयोजना गरे । त्यस समाचार पढेर हामी सारा गाउँबासी साह्रै मर्माहत भयौँ । फाइभस्टार होटलमा गरेको कार्यक्रमले कसरी गाउँको विकास हुन्छ ? हामी आफ्नै जनप्रतिनिधि प्रति एकपटक संदिग्ध हुन बाध्य भयौं । हामीले आफ्नो लागि चुनेको प्रतिनिधि कतै डलर खेतीको मोहमा त फसेनन् ? हामीलाई आत्तिन बेर लागेन ।

भन्नेहरूले त नानाथरी कुराहरू फुक्दै हाम्रो कानसम्म ल्याए पनि । हामीले कहाँ सजिलै ती कुराहरू पत्यायौँ र ! पत्याउनलाई पनि कुरामा वजन चाहियो नि ! अब कुरा पनि कस्तो भने, फलानो नेताले काठमाडौँमा अलिसान बङ्ला जोडे अरे, फलानो परियोजनामा करोडौं भष्टचार गरे अरे, फलानो कोषबाट करोडौं हिनामिना गरे अरे, सम्पत्ति विवरण सामान्य देखाएर श्रीमतीको नाममा विदेशी बैंकमा करोडौं राखेका छन् अरे ! हावा कुरा पत्याउदै हिँड्ने हो भने त भोलि हामीलाई मान्छे नै होइनन् भन्देलान् । हामी कोही पनि त्यस झुठो समाचार पत्याइहाल्दैनौँ ।

जे जस्तो भए पनि उहाँप्रति हाम्रो विशेष सम्मान र भरोसा छ । कसरी उहाँ यसरी हामीलाई छोडेर अलप हुन सक्नुहुन्छ ? उहाँ आफ्नै जन्मथलो नआएर त्यो बिरानो मुलुकमा कसरी रहन सक्नुहुन्छ ?

उहाकै कारणले हामीले धेरै कुराहरू सिक्दै गयौं । हामीलाई कुनै मतलब नभएको राजनीतिप्रति थोर-बहुत चासो दिन थाल्यौं । उहाँको वाक्पटुतामा हामी सबै कायल हुन्थ्यौँ । उहाँको हरेक कुराले हाम्रो मन छुन्थ्यो । उहाँको गहकिला भाषणले हामीलाई उहाँमा पूर्ण विश्वस्त बनाइदिन्थ्यो । हामी सारा गाउँबासी उहाँमा परजीवी हुँदै गयौं । जुन कुरा हामीसँग थिएन र जुन कुराको हामीलाई खाँचो थियो ठिक त्यसै कुराको आश्वासन हामीलाई उहाँबाट प्राप्त हुन्थ्यो । हामीले कहिलै सोचेका थिएनौँ, हाम्रो दैनिक जीवनभन्दा माथि राजनीति, न्याय र अधिकार जस्ता कुराहरू पनि थुप्रिएका छन् । हामीले आफ्नै बारेमा बेवास्ता गरेका कुराहरूबारे उहाँ हामीलाई सचेत गराइरहनुहुन्थ्यो । उहाँको राष्ट्रभक्तिपूर्ण वक्तव्यले हामीलाई बारम्बार आफू हुनुको पहिचान हस्तान्तरण गरिरहन्थ्यो । उहाँका कुराहरूले तातो रगत भुलुक्कै उम्लिएर आउँथ्यो । नशा नशा तरङ्गित हुन्थे ।

आफ्नै गाउँको अभिभावक मानिएका व्यक्ति त्यसरी एकाएक हराउनु साँच्चिकै असाधारण र असामान्य कुरा रहेको हामी नकार्ने पक्षमा छैनौं । हामी असह्य गाउँबासीलाई भैरहेको धर्ती एक्कासि भासिनु जस्तै भएको छ । सधैँ आश्वासन दिएर मनोबल उच्च पारिदिने व्यक्ति हामीबाट अलग भैदिँदा जिजीविषा खस्कँदै गएको छ । जीवनमा बाँच्नका लागि केवल गाँस, बास र कपास मात्र अपुग हुँदा रहेछन् । केबल खानु र लाउनु मात्र जीवनको परिभाषा होइन । जीवन बाँच्नु मात्र पर्याप्त छैन । यसलाई अर्थपूर्ण बनाउनुपर्छ, तब मात्र बाँच्नुको औचित्य हुन्छ ।

अब त यी कुराहरू सुन्दा पनि आफैंमा हास्यास्पद लाग्ला, तर यसको अर्थ कति गहन छ भनेर घोत्लिएर पत्ता लगाएको दिन, स्वयमलाई हाम्रो अवस्था सम्झिएर निकै ग्लानि र सहानुभूति प्रकट हुन सक्छ । यस अवस्थासम्म पुग्दा हाम्रो बीचल्ली भएको छ । साना भन्दा साना खुसीहरू पलायन भएर अन्त जाँदै छन् । पक्कै उनको आँखाले कुर्सी मात्रै देख्छन् र आफूलाई पनि प्रभावशाली नेताकै लहरमा गन्छन् । उनको दिमागभरि गोबर भरिएको छ, तर पनि हामी उनलाई फूल जत्तिकै मन पराउँछौं । उहाँ जे जस्तो भए पनि हाम्रो सुख-दुःखको संगम हुनुहुन्छ । हाम्रो खुसीको तप्काहरू प्रत्यक्ष अप्रत्यक्ष उहाँसँग जोडिएका छन् । समय निकै बलवान् छ । तर उसले चाहेको खण्डमा मानिसलाई बलवान् र कायर दुवै बनाउन सक्छ । हामीले चुनावमा उहाँलाई केबल उहाँको खुसीको आर्जनको लागि चुनेका हैन । हाम्रो दु:-खसुखको प्रतिनिधि गर्न छानेका हौं । के अब पनि हामीले इमान्दारिताको ढोङलाई सहेरै बस्ने ? अझ पनि लाचार भई बस्नु के हाम्रो लागि हितकर छ ?

कृपया यो मान्छे जहाँ, जस्तो अवस्थामा फेला परे पनि हामीलाई जानकारी गराइदिनुहुन हजुरहरूसँग विनम्र अनुरोध गर्दछौं । हाम्रो निभ्न लागेको दियोको सलेदो फेरिन सक्छ । अस्ताउन लागेको घाम पुनः उदाउन सक्छ । सुक्न लागेको दुबो फेरि मौलाउन सक्छ । बगेको खोला त बाह्र वर्षमा फर्किन्छ भन्छन्, कतै उहाँको मन पनि फेरिएर आफ्नो जन्मभूमिलाई सम्झिएर आइहाल्नु पो हुन्छ कि ?”

सुन्दा पनि कस्तो अपत्यारिलो कुरा ! गाउँकै सभासद् हराएर गाउँबासीको बीचल्ली । यो नमिल्दो शीर्षक र प्रसङ्गबीच एउटा नमिल्दो अमिलो र ठसठसी गन्हाउने गन्ध आइरहेको थियो ।

पत्रिकाको टुक्रामा भएको विवरण पढेर सकेपछि मैले त्यसलाई त्यसै फ्याँक्ने हिम्मत गर्न सकिनँ । त्यसका हरेक शब्द र वाक्यले मलाई राम्रोसँग  छोएको थियो । पाउरोटीको चिल्लो लागेर लतरपतर भएको त्यस पत्रिकाको टुक्रालाई झोलाको एउटा खल्तीमा राखेर चियाको पैसा तिरेर त्यहाँबाट हिँडेँ ।

मलाई बित्यास पर्यो । गाडी हिँड्न करिब एक घण्टा जति थियो । चिया पसलमा पनि अनायासै बसिरहन मन लागेन । गाडीमै गएर बसिरहन उपयुक्त लाग्यो । गाडी खोजेर आफ्नो टिकट अनुसारको सिटमा गएर बसेँ । मनमा कुराहरूको दोहोरी नै चल्न थाल्यो । म आफूलाई त्यस पत्रको हराएको सभासद् जस्तै लाग्न थालेँ । म पनि आफ्नो सारा समाज छोडेर परदेश पलायन हुने प्रयासमा थिएँ । एक हिसाबले म आफ्नो मातृभूमिलाई छल गर्दै थिएँ । हराएका सभासद् र ममा केबल एउटै भिन्नता थियो । सभासद् आफ्नै स्वैच्छाले आफ्नो मातृभूमिबाट टाढिएका थिए म भने आफ्नो विवसताले टाढिँदै थिएँ । हामीबीच एक घनिष्ट द्वन्द्वात्मक प्रक्रिया चलमलाइरहेको थियो ।

म पनि उनै हराएको सभासद्कै समकक्षीमा परेछु ।