”तिमीले गरेका सबै कुराका लागि धन्यवाद । तिमीले मेरालागि गर्न सक्ने धेरै कुरा केही थिएन तर तिम्रो विशाल हृदयले जे जति गर्न चाह्यौ, त्यसका लागि म कृतज्ञ छु । तिमीले सधैँ समय दियौ र त्यसले मलाई कहिल्यै एक्लो हुन दिएन । मैले तिमीसँग भेट भएलगत्तै वादविवाद गरे पनि सुनिरह्यौ । यसका पछाडि तिम्रो यति मात्र उद्देश्य थियो कि तिमीसँग बिताउँदा मैले उपेक्षित महसुस गर्नु नपरोस् ।”

यो पत्र कसले कसलाई लेखेको हो, प्रस्ट छैन । न त प्रापकको नाउँ छ, न त प्रेषकको । यो अमेरिकाको क्यालिफोर्निया राज्यस्थित ओकल्यान्डस्थित पब्लिक लाइब्रेरीमा फेला परेको पुस्तकमा सुरक्षित राखिएको पत्र थियो । सम्भवतः कुनै पाठकले पुस्तक पढिसकेपछि अर्को सम्भावित साथीका लागि सन्देश छाडेको थियो होला । त्यो सन्देश नपुगेको हुनसक्छ । त्यसैले कयौँ वर्षपछि पनि ज्यूँका त्यूँ नै रहेको हुनसक्छ ।

ओकल्यान्ड पब्लिक लाइब्रेरीमा फेला परेको यो पत्रले धेरै कुरा भन्छ तर साह्रै कम कुरा चुहाउँछ । यी व्यक्ति को हुन् ? तिनको सम्बन्ध के थियो ? के विवाहित थिए ? के विवाहेत्तर सम्बन्ध थियो ? के तिनले विवाद गर्न अब आइन्दा छाडेकै हुन् त ? के तिनले अब सुखद् जीवन प्राप्त गरे होलान् ? यी बेनामे पत्रले नजाने यस्ता कयौँ प्रश्न छाडेर जान्छन् ।

जम्मा पाँच वाक्यको यो टिपोट त एउटा उदाहरण मात्र हो । ओकल्यान्ड पब्लिक लाइब्रेरीमा यस्ता कयौँ टिपोट फेला परेका छन् । पुस्तकालयको वेबसाइटमा यस्ता पत्रहरू अचेल पोस्ट हुन थालेका छन् र यसका मालिकहरू फेला पर्लान् र यस पछाडिको कथा केही जनतामाझ प्रकाशित होला भन्ने अपेक्षा पुस्तकालयकी लस्ट एन्ड फाउन्ड विभागकी अधिकृत स्यारोन म्याकेलरले बताइन् ।

स्यारोन भन्छिन्, ‘हालसम्म पुस्तकभित्र यस्ता ४३९ वटा टिपोट, प्रेमपत्र लगायतका चिज फेला परेका छन् । माथि उल्लेख गरिएजस्ता टिपोट सय वटा जति स्क्यान गरेर वेबसाइटमा हालिएको छ र अन्य कयौँलाई स्क्यान गर्न बाँकी छ ।’

स्यारोन पुस्तकालयकी कर्मचारी भएकाले उनको अफिसको टेबुलमा यस्ता टिपोटले भरिएको एउटा सानोतिनो बाकस नै छ ।

स्यारोनले सन् २००३ यता सो पुस्तकालयमा काम गर्न थालेकी हुन् । तर १० वर्षयता उनले यस्ता सामग्रीमाथि ध्यान दिन थालेकी हुन् । खासगरी पुस्तकालयको वेबसाइटमा सामान्य सूचना मात्र हुने हुनाले पाठकहरू त्यति धेरै नआउने समस्या समाधान गर्न पुस्तकालयका रोचक कुराहरू पोस्ट गर्दा राम्रै होला भनेर उनले यो अवधारणामा ओकल्यान्डलाइब्रेरीडटओआरजी/फाउन्ड-इन्-अ (लाइब्रेरी(बुक मा पोस्ट गर्न थालेकी थिइन् ।

पुस्तकालयमा फेला परेका यस्ता चिजहरूलाई स्यारोनले फेला परेका टिप्पणी, फेला परेका कला, फेला परेका तस्बिर, कार्ड र चिठ्ठीहरू, फेला परेका तथ्यहरू, फेला परेका बुकमार्कहरू, सिर्जनात्मक लेखनीहरू, केटाकेटीका बदमासी, आर्टिफ्याक्ट्रस आदि विभिन्न शीर्षकमा वेबसाइटमा राखिएको छ । रोचक त के छ भने, पुस्तकभित्र फेला परेका सिनेमाका टिकटहरूदेखि लिएर रेलको बिलसम्म राखिएका छन् ।

यसैगरी त्यसमा विमानको बोर्डिङ पासदेखि तासका पत्तीहरू, राति सुत्ने स्लिप मास्कदेखि औषधिका प्रेस्क्रिप्सनदेखि दाँतको परीक्षण कार्ड (जसमा दाँतको अवस्था निकै राम्रो रहेको लेखिएको छ) जस्ता कुराहरू त्यहाँ फेला परेका छन् ।

जापानको मानचित्र, पिज्जा खाने चिठ्ठा लगायत अन्य कुराहरू पनि फेला परेका छन् ।

स्यारोन भन्छिन्, ‘धेरैजसो चाहिँ बुकमार्क नै फेला परेका छन् । ती पनि व्यावसायिक बुकमार्क छन् । तर त्यसको रोचक पक्ष चाहिँ के छ भने अधिका्श बुकमार्क घरैमा बनाइएका, हातैले बनाइएका छन् ।’

उनलाई रमाइलो लागेको चाहिँ, कतिपयले सियो र कतिपयले चिनीको स्यानो प्याकेट पनि राखेका छन् । र, यसको सबैभन्दा राम्रो पक्ष, सबै चिजबिजहरूमा सकारात्मकता देखिन्छ । नकारात्मक कुराहरू कतै लेखिएका छैनन् । उनीहरूमा एउटा आशा देखिन्छ । नराम्रा कुरा भए पनि तिनमा कुनै घृणा वा विषाद देखिदैन ।

उनी भन्छिन्, ‘फेला परेका कुराहरूमध्ये नकारात्मक र घृणाजन्य विषय नभएका होइनन् तर तिनको मात्रा निकै न्यून छन् तर ती निकै कडा खालका भएकाले वेबसाइटमा राख्न योग्य देखिएनन् ।’

स्यारोन भन्छिन्, ‘जुन व्यक्तिले त्यो बेला ती कुराहरू लेखे, ती पक्कै पनि नराम्रो अवस्थाबाट, पीडादायी अवस्थाबाट गुज्रिए होलान् । जब तिनले इन्टरनेटमा यस्ता पुराना कुरा देख्छन् वा देख्लान्, उनीहरूलाई पक्कै पनि ती पीडादायी क्षण कति थोरै समयका लागि थियो भन्ने पक्कै महसुस गर्लान् भन्ने अपेक्षा छ ।’

फाउन्ड इन् अ लाइब्रेरी बुकमा प्रकाशित एउटा तस्बिर चिनेर एक पाठकले पुस्तकालय प्रशासनलाई सम्पर्क गरेको दिन स्यारोनका लागि सबैभन्दा सुन्दर क्षण थियो । पुस्तकभित्र एउटा सानो तस्बिर थियो । र, त्यो तस्बिर कुनै आफन्तको भएकाले उनी तस्बिरको मूल प्रति लिन पुस्तकालयसम्म पुगेर फिर्ता लिएका थिए ।

स्यारोन भन्छिन्, कस्ता मान्छेले किताब पढ्दा रहेछन् भन्ने जान्न यो कार्यक्रमले ठूलो सहयोग गरेको छ ।

स्यारोनलाई यत्रो ठूलो पुस्तकालयलाई ज्ञानका लागि प्रयोग गर्नेहरू दिनहुँ घटिरहेकोमा दुःख लाग्ने गर्छ तर जब पढिरहेकाहरूको संख्या देख्दा यो पनि कम नभएकोमा उनलाई खुसी लाग्ने गर्छ ।

स्यारोनले एउटा नोट पढेर सुनाइन् । त्यसमा लेखिएको थियो- मलाई एउटा गोप्य कुरा सुनाउनु छ । मेरी एक जना साथी छन्, उनलाई म सधैँ तिमी मेरी बेस्ट फ्रेन्ड हौ भन्थेँ । यति भनिदिँदा ऊ निकै खुसी हुन्थी । उसको अनुहार उज्यालिन्थ्यो तर वास्तवमा ऊ मेरी सबैभन्दा बेस्ट थिइन । ऊ बेस्ट हुनबाट यस कारणले चुकेकी थिई कि ऊ सधैँ नयाँ कुरा प्रयोग गर्न डराउँथी, सधैँ केही न केही नयाँ कुरा झिकेर ऊ छड्किन्थी ।

स्यारोन भन्छिन्, ‘पुस्तकले नै उनलाई यत्तिको समझदार बनायो भन्ने मलाई लाग्छ र पुस्तकालय यही कारणले महत्त्वपूर्ण छ ।’

(द राइटर म्यागेजिनबाट साभार)