

बेन्डिट क्विन पुस्तककी लेखिका माला सेन
सन् १९९१ मा बेलायतको हार्विल प्रेसले एउटा सनसनीखेज पुस्तक छाप्यो । पुस्तकको नाउँ थियो, इन्डियाज् बेन्डिट क्विनः द ट्रु स्टोरी अफ फूलनदेवी ।
यो पुस्तक लेखेकी थिइन्, माला सेनले । १९४७ जुन ३ मा उत्तराखण्ड राज्यको मसूरीमा जन्मिएकी माला सेन सैनिक पिता प्रोतीप सेन र कल्याणी गुप्ताकी छोरी थिइन् । १९५३ मा उनका मातापिताको पारपाचुकेपछि उनलाई बुवाले हुर्काएका थिए । उनी पछि फारूख धोन्दीसँग बेलायत भागिन् । सन् १९६८ मा बिहे गरेपछि उनीहरूको बिहे एक दशक पनि टिकेन ।
उनले लामो समय मानव अधिकारमाथि काम गरिन् । सन् ६० र ७० को दशकमा बेलायतमा बस्ने एसियाली र काला जातिका मुद्दामाथि काम गरिन् । तर उनको जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट भन्नु नै फूलनदेवीको जीवनी लेख्नु बन्न पुग्यो ।
११ वर्षको उमेरमा आफूभन्दा १० वर्ष जेठो व्यक्तिसँग बिहे हुनु र बिहेको रात बलात्कृत हुनु उनको जीवनको दुःखद् शुरूवात थियो । पछि पनि कथित उच्च जातिका व्यक्तिहरूले उनलाई अपहरण गर्नुका साथै बलात्कार गरे ।

फूलनदेवी
२४ वर्षको उमेरमा आफूलाई बलात्कार गर्ने कथित उच्च जातिका ठाकुरहरूलाई लाइनै लगाएर हत्या गरिन् र पछि सन् १९८३ मा प्रहरीसमक्ष आत्मसमर्पण गरिन् । उनले त्यसपछिका ११ वर्ष जेलमा बिताइन् ।
त्यही जेलमा मालाले फूलनदेवीलाई भेटेकी थिइन् र उनका कथा भन्न प्रेरित गरेकी थिइन् । यो पुस्तक लेख्न मालालाई आठ वर्ष लागेको थियो । पछि १९९१ मा हार्विल प्रेसले १९९१ मा प्रकाशित गरेको थियो ।
यही पुस्तकमा आधारित रहेर शेखर कपुरले बेन्डिट क्विन निर्देशन गरेका थिए । यो फिल्मलाई त्यो बेलाको कान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो । त्यो बेला फिल्मले निकै ठूलो वाहवाही कमाएको थियो ।
फिल्मको बलात्कार दृश्यमाथि स्वयं फूलनदेवीको आपत्ति थियो । उनले भारतभर रिलिज गर्न नदिन अदालतमा मुद्दा हालिन् । पछि फिल्म निर्माता र फूलनदेवीबीच सम्झौता भयो । सम्झौतामा फिल्म चल्न दिइएबापत फूलनदेवीलाई निर्माण समूहले ४० हजार पाउन्ड दिने भयो ।

बहुचर्चित पुस्तकको आवरण
फिल्मको रिलिजपछि फूलनदेवीप्रति सहानुभूति राख्नेको संख्या ह्वात्तै बढ्यो । यही मौकामा उनी उत्तर प्रदेशको १९९७ को विधानसभा चुनावमा सांसदसमेत भइन् । तर पछि सन् १९९९ मा उनलाई गोली हानी मारियो ।
यिनै लेखिका मालाको सन् २०११ मे २१ मा ६३ वर्षको उमेरमा क्यान्सरका कारण निधन भयो ।
उनै मालाले लेखिदिएको पुस्तकका कारण एउटा कालजयी सिनेमा निर्माण सम्भव भयो । आजको सटर्डे सिनेमामा हामी फूलनदेवीको जीवनीमा आधारित सो फिल्म अवलोकन गरौँ ।
फिल्ममा सीमा विश्वास, निर्मल पाण्डे, मनोज वाजपेयी, गोविन्द नामदेव लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा दलित महिलाको दलन, यसबाट विद्रोह गर्ने फूलनदेवीको जिजीविषा र त्यस क्रममा उनले पाएका केही पुरूषहरूको सहयोगले आफ्नो लक्ष्य फत्ते गरेको कथा छ ।
यसमा दुई तीन वटा दृश्यले भने तपाईंको आङ सिरिङ्ग पार्छ । खासगरी सामूहिक बलात्कारको प्रसंग र गाउँमा फूलनलाई नाङ्गै घुमाइएको दृश्यले तपाईंको दिमाग रिङ्ग्याइदिन्छ । कलाकारको अभिनयमा फूलनका रूपमा सीमा विश्वासले अभिनयको जुन उचाई चुमेकी छन्, त्यो विरलै प्राप्त हुने उचाई हो ।
शेखर कपुरले फिल्म निर्देशकका रूपमा यहाँ एउटा बुलन्द र ज्यादै उच्चकोटीको कौशलता प्रदर्शन गरेका छन् ।
तपाइँलाइ कस्तो लाग्यो फिल्म, हेरेपछि तल कमेन्ट गर्नुहोलाः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

