अस्ति लर्कासर्कामै भनेको थिएँ विश्वविद्यालयमा, ‘शेक्सपियरको नामै नलिई अङ्ग्रेजीमा एमए पनि हुन्छ संसारमा कतै कतै ।’
ट्वाँ परेर हेरेका थिए विद्यार्थीले । तिनलाई विश्वासै भएन । शेक्सपियर घोक्दा घोक्दा बिरामी भएका विद्यार्थी ट्वाल्ल ।
नेपाली विभागमा गएर कसैले देवकोटाकै बारेमा यसो भन्यो भने के हुन्छ होला ?
उही हुन्छ होला । ट्वाँ ।
तर शेक्सपियर वा देवकोटाका बारेमा यस्तो भन्न सक्छौँ के त हामी ? सोच नै पनि आउन सक्छ के त ? हैट्, पाप लाग्छ जस्तो पो लाग्छ त ! तरै पनि, पाप नै मोलेर पनि भनियो अस्ति । हुन त, पाप त दिनैपिच्छे मोलिएकै छ नि, छैन र ? ‘जाममा छु’ भनेर दिनको १६ पल्ट नढाँटी काठमाडौँमा जिन्दगी चलाउनै गाह्रो । ढाँट्नु पाप हो, थाहा छ ।
मानकका बारेमा कुनै बाङ्गो सोच आउनु हुन्न भन्ने छ हाम्रो दिमागमा । सत्य ।
‘मानक त छिरिक्कै चलाउनु हुन्न । चलायो कि गयो !’
यो एउटा मत । चलायो भने कता गइने हो थाहा छैन ।
‘मानक भनेको के ? कसले बनायो ?’
यो अर्को मत । बोलिसक्नु छैन । काट्लान् भन्ने डर ।
देवकोटाको नामै नलिई नेपाली भाषामा एमए गर्ने कुरो कल्पना गर्न सकिन्न र ?
हैन, यस्तो कल्पनै किन गर्नु ? किन यति साह्रो टिम्मुरिनु परेका ?
केही वर्षअगाडि धादिङबेसीमा समालोचनामाथि दुई दिने गहन गोष्ठी भएको थियो । अरू कुरा बिर्सें तर एउटा कुरा सम्झन्छु । केही ‘समालोचक’ गुरुहरूले जे बोल्दा पनि साक्ष्यको रूपमा देवकोटा तेर्स्याउने ।
उद्धरणमा देवकोटा । उदाहरणमा देवकोटा । मनमनमा देवकोटा । रनवन देवकोटा ।
उहाँहरूको सङ्ख्या ठूलो । विरोध गरिएन देवकोटोको । डरले भनौँ न ! अरिङालै पो खनिने डर त ! मौरीसम्म भए थेगिन्थ्यो पनि होला ।
बरू आलोचना अस्ति गरियो, एउटा भिटी बहसमा —
१. कतै माओ चे तुङमार्गी । कतै बुद्धमार्गी । देवकोटा हुनचाहिँ के ?
२. बालकहरूका लागि लेखिएको ‘राजकुमार प्रभाकर’ को भाषा त्यति क्लिष्ट किन ? बालकैले पढ्न सके के त ? कि सधैँ गुरु वा बाआमाको बैशाखी चाहिने ? विषयमा पनि यौनलिप्सा ।
३. कच्चा माल बाहिरबाट ल्याउँदै मेड इन नेपाल भन्दै । प्रमिथस, पृथ्वीराज चौहान, महाराणा प्रताप, मायाविनी सर्सी । शाकुन्तल नै पनि…भनौँ न । तर्क त छ— मौलिकता खोज्नुस् न, मौलिकता !
यसरी प्रश्न गर्न सकिन्छ तर गर्दैनौँ र पो ! यी माथिका बुँदा तर्कसङ्गत त छन् नि !
देवकोटा पनि आजन्म टाकुरो होइरहन देवकोटा बनेका थिएनन् सायद ।
उनको आत्मालाई पनि लाग्दो हो— यी केटाले अरू कुनै लेखक पढेनन् ।
अथवा लाग्दो हो— यिनले मलाई भगवान् बनाएर बडो बोर गरे । गोष्ठी आयो कि गणेश बनाएर टपरीमा राखिदिन्छन् । अनि फूल, पाती, नैवेद्य, जलम्, पयम्, द्रव्यम् । द्रव्यम् अभावे पुष्पम् सुमर्पयामि । छिरिक्क गर्न पाइएन ।
मैले आफैँ नेपाली र अङ्ग्रेजीका केही ‘प्रतिनिधि’ कविता प्रकाशनमा कुनै न कुनै भूमिकामा जोडिएर काम गरेछु । अधिकांश ‘आधुनिक’ ।
गोपालप्रसाद रिमालबाट सुरू हुन्छ कुरो । अनि २० को दशकमा जन्मेका केही कविसम्म आइपुग्दा किताब ५०० पृष्ठको हुन्छ । त्यसपछिका कवि ‘जगेडा’ ।
यो परम्परा चलेको लामो समय भयो ।
यसरी त, प्रतिनिधिमा ३० वा ४० को दशकमा जन्मेका र अहिले युवा वयमा हिँडिरहेका कविहरूको पालो नै कहिल्यै नआउने भयो ।
पालो चैँ कसो गर्दा आउँछ त ?
गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ… आदि ‘छुट्नै हुन्न’ भन्ने मनोविज्ञानबाट ग्रसित हुँदासम्म पालै आउँदैन ।
कि, सुमन पोखरेलले एकचोटि गरेजस्तो ‘मनपरेका केही कविता’ भनेर सङ्कलन गर्ने आँट गर्नुप-यो । कि ‘प्रतिनिधि’ भन्नु भएन, र जुन राम्रो छ त्यही छाप्ने आँट गर्नुप-यो । होइन भने, उही हबिगत भोगत्नु प-यो ।
अब गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ आदि छुटाउँदा स्वर्ग गइएला के ?
जस देलान् ?
खेदो खन्लान् नि समालोचकले, पत्रकारले ?
कल्पना गरौँ, भारतीय नेपाली कथाहरूको एउटा सङ्कलनमा इन्द्रबहादुर राई छुटाइदिए कुनै सम्पादकले । सोच्नुस् त — तिनले कति दिनसम्म हप्की खाइरहनुपर्छ !
अनि कि, हामीले साहित्यको इतिहास लेखिरहेका छौँ र ?
प्रतिनिधि छनोटमा पनि समयको सीमाङ्कन गर्न सकिन्छ नि त ! जस्तो, ३६ सालपछिका रचना, ४६ सालपछिका रचना, ६२–६३ को आन्दोलनपछिका रचना, ७२ को संविधान आएपछिका रचना…यसरी ।
अथवा, फेरिँदा मूल्य वा मान्यताका प्रतिनिधि । अनि पो मिल्छ कुरो !
सधैँ प्रतिनिधि भन्यो कि सुरूवात भानुभक्तबाट । अथवा गोपालप्रसाद रिमालबाट । अथवा गुरुप्रसाद मैनालीबाट । यो कुरा यस्तै रूपमा कायम रह्यो भने, ३० को दशकपछिका लेखकलाई समेट्ने सुविधा कुनै पनि सङ्कलक वा सम्पादकसँग कहिल्यै पनि रहँदैन सायद ।
यसो भन्नुको अर्थ, समेटिएका सबै मानक हुन्छन् भन्ने पनि होइन । तर, मानकीकरणको दिशामा नयाँ सम्भावनाहरूको प्रवेश अवश्य हुन्छ । यत्ति कुराचाहिँ मान्न पनि सकिन्छ ।
मानाकीकरणको प्रश्न मूलतः कुनै पनि सर्जक वा सिर्जनालाई प्राज्ञिक अभ्यासले, विशेष गरी पाठ्यक्रम निर्माण प्रक्रियाले कसरी हेर्छ भन्ने कुरामा निर्भर भएको देखिन्छ ।
कारण छन् ।
अधिकांश मान्छेहरूको हकमा पाठ्यक्रममा समाविष्ट सामग्रीले नै उनीहरूलाई पहिलोपल्ट साहित्य, कुनै सिर्जना अथवा साहित्यकारतिर आकर्षित गरेको हुन्छ । नढाँटी भन्दा हामीले पनि भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली वा पारिजातलाई पहिलोपल्ट चिनेको पाठ्यक्रममार्फतै हो, यद्यपि, भानुभक्तलाई चाहिँ घरघरमा पढिने ‘रामायण’ मार्फत् पनि चिनेको हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । मै सम्झन्छु— हजुरआमाले ढिलो न ढिलो, सुर र ताल नमिलाई ‘रामायण’ पढेको । उहाँले जिन्दगीमा अर्को किताब पढेको मैले देखिनँ, सुनिनँ ।
अरूका पनि कथा यस्तै हुन सक्छन् ।
ती हाम्रा पाठ्यक्रम बनाउनेहरूले यी स्रष्टाको परिचय, जीवनी वा रचना हाम्रा किताबमा समावेश नगरिदिएको भए हाम्रा दिमागमा यी स्रष्टा ठूला हुन् भन्ने कुरा पस्थ्यो वा पस्थेन, भन्न सकिँदैन । हामी हामी मिलेरै त यो देशको पाठक समुदाय बनेको हो नि ! हामी धेरैको पाठ्यक्रमबाट छुट्दै गएका सर्जक गुणवत्ताका हिसाबले जति नै महान् भए पनि हामीले मानेका मानकको सूचीबाट अलि टाढै परे ।
त्यसैले, मानक को बन्छ, कसरी बनाइन्छ भन्ने कुरामा पनि कतिपय फण्डा छन्, रहेछन् । तिनलाई छिचोल्नु जरुरी छ ।
भन्न त भने— मानक निर्माणको प्रक्रिया आत्मगत वा भावनात्मक होइन । यो पूर्णतः वस्तुगत हो ।
तर, त्यसो होइन कुरो ।
भन्न त भने— मानक भनेको कुनै पनि देशको मूल्यविधान, पहिचान र राष्ट्रियता बोक्ने सिर्जना हो ।
साहित्यले सर्वप्रथम विद्यालय अथवा विश्वविद्यालयहरूमा प्रवेश पाउँदा, भनौँ, अठारौँ शताब्दीको मध्यतिर साहित्यको उद्देश्य नै मन्छेलाई चरित्रवान् बनाउनु, विनयशील र दयालु बनाउनु, राष्ट्रप्रति वफादार बनाउनु, देशभक्त बनाउनु आदि थिए । यस्ता गुणको सञ्चार गर्न सक्ने ठानिएका साहित्यले पाठ्यक्रममा प्रवेश पाए । तिनै मानक बनेर स्थापित भए ।
आज धेरै पुराना कुराको जग हल्लिइरहेको छ, तर पनि जब मानकको प्रश्न आउँछ, तिनै सिर्जना अगाडि आउँछन् । सर्जकहरूको उही सूची अगाडि आउँछ । भन्छन्— आप्पुई, देवकोटा त कसरी छुटाउनु र ? ‘नटिप्नू हेर कोपिला, नचुँड्नू पाप लाग्दछ…’
आप्पुई, भानुभक्तको ‘प्रश्नोत्तर’ नराखी त कसरी हुन्छ र ?
जिउँदै म-याको भनि नाउँ कस्को ? उद्यम विना बित्तछ काल जस्को ।
पश्चिमतिर हेरौँ न ! हामीले मानक भन्ने गरेकोलाई उनीहरू ‘क्यानन’ भन्छन् । ‘क्यानन’ शब्दको व्युत्पत्तिको यसो सुराक लाएर ल्याउँदा, यसको अर्थ नै कुनै धार्मिक नियम, यानि, इसाईहरूले आफ्ना अनुयायीहरूका लागि निर्माण गरेको निर्देशिका, सूत्र वा नीति भन्ने बुझिने रहेछ । अझ प्रस्ट भन्दा यो भनेको चर्चले जारी गरेको नियम वा निर्देशिका रहेछ । त्यसो हो भने, ‘क्यानन’ मानिएको साहित्यभित्र केकस्ता सामग्री पर्छन्, अनुमान लगाउन निकै सजिलो हुन्छ ।
यो परम्परा तोड्न अनेक प्रकारका आँट चाहिन्छन् ।
कस्तो आँट ? नेपालीसँग त आँटै आँट हुन्छन् त !
(अनि कि, आँट चैँ हुन्छन् । तर नेपालीको आँटले देशलाई कहाँ पु-यायो ? अर्थ–स्वास्थ्यको सूचीमा तलबाट खोज्न थालौँ है देशको नाम । माथिबाट हेर्दा स्क्रल गरेको ग-यै, गरेको ग-यै, दिनभरि लाग्न सक्छ ।)
आँट कस्तो भने, यस्तो ।
सबैले वाह वाह गरेको डीएच लरेन्सको ‘लेडी च्याटर्लीज लभर’ लाई पछि विवादित बनाए, विशेष गरी महिलाको अपमान गरेको आरोपमा । नव–समालोचावादका एक जना टाउके, एफ.आर. लिविसले ‘जीवन मूल्य’ का लागि उम्दा मानेको यस पुस्तकलाई नारीवादी चिन्तक केट मिल्लेटले महिलाविरोधी भनेर खोइरो खनेको कुरा पिटर विडोसनले आफ्नो किताब ‘लिटरेचर’ मा उल्लेख गरेका छन् ।
यो एउटा उदाहरण मात्र ।
हुन त सबैले वाह वाह गर्दै ल्याएको कुनै पनि कृतिमा अर्को ‘वाह’ थप्न एफ. आर. लिविस र उनका सेसन्तरलाई सजिलो हुन्छ । ‘तपाईंका पाँच सबैभन्दा मनपर्ने किताब कुन हुन् ?’ भनेर कसैले सोध्दा ‘देवकोटाको मुनामदन’ भनिसकेर मात्रै अन्य चारबारे सोच्दा हुन्छ नेपालमा । तर देवकोटाको मुनामदन ‘पोलिटिक्स अफ इमोशन’ हो, अथवा लोकमा प्रचलित कुनै आदिम कथाको काव्य रूपान्तरण हो भन्न त गाँठे, १५३ पल्ट सोच्नुपर्छ ।
केट मिलेटको कित्तामा उभिनुको जोखिम उनलाई र उनका अनुयायीलाई थाहा हुन्छ ।
शिक्षाशास्त्रतिर एउटा भनाइ छ — ‘लर्न’ गर्नभन्दा ‘अन्लर्न’ गर्न कठिन । भन्नाले, नयाँ कुरा सिक्नुभन्दा दिमागमा पहिल्यैदेखि थर्पु हालेर बसेको कुनै पुरानो तर असत्य कुरालाई खुर्केर फाल्न गाह्रो ।
हुन पनि हो । कतिचोटि भनिसके गुरुहरूले मलाई — ‘केटा, मान्छे बाँदरबाट आएको होइन क्या ! बाँदर, मान्छे, ढेडु…सबै एउटै आदिम पुर्खाबाट आएका ।’ तर दिमागमा बसेको छ— मान्छे बाँदरबाट आएको । थाहा छ, यो सत्य होइन तर भन्न छोडिएन । कतिपय कविहरूले कवितामै पनि लेखेको देखेँ । यसो यात्रा गर्दा बाँदर देख्यो कि साथीहरू भन्छन्— उः, उः, पुर्खा । शिर झुका !
घन्टा झुकाउँछु शिर ! न डार्बिनले भनेको, न लामार्कले ।
तर भन्न चैँ म पनि भनिहाल्छु— ‘उः, पुर्खा । शिर झुका ।’
अनि कि, दिमागमा बसेको काउसो खुर्केर नजाँदो रहेछ !
यो ‘मानक’ को कुरा पनि यस्तै यस्तै हो ।
यसो सुराकी गर्छु । २०६२–६३ को आन्दोलनपछि देशको मनस्थिति अलिकति फेरिएको सत्य हो । कतिपय साहित्यिक उत्सवमा देखेँ— ‘मानकमाथि प्रश्न’ भनेर बहस पनि भए । एउटा बहसमा त म आफैँ पनि सहभागी थिएँ केही वर्षअघि इलाममा । मज्जा आयो ।
मज्जा त आयो । प्रश्न पनि ग-यौँ । माथि भनेका प्रायः सबै कुरा भन्यौँ । तर फेरि पनि सोह्र दुना आठै भएको छ । हामीले नै ग-यौँ । बाँदर नै पुर्खा । मानक उही । सम्मान उही । सूची उही । पाठ्यक्रम उही ।
कार्यक्रममा बहस चैँ फरक ।
कलेज अथवा विश्वविद्यालयलाई अलि ‘यथास्थितिवादी’ भएको आरोप लाग्छ, विशेष गरी पाठ्यक्रम निर्माणको सन्दर्भमा । हुन्छ चैँ के भने, बनाइएको पाठ्यक्रमलाई स्वीकृत गर्ने अर्कै निकाय हुन्छ, र त्यहाँ सरकारको सास पसेको हुन्छ । जहाँ सरकारको सास पस्छ, त्यहाँ यथास्थितिलाई ‘कम्फोर्ट जोन’ मानिन्छ । कम्फोर्ट जोन, यानि काखी कनाएर मज्जा लिइरहने ठाउँ । त्यस्तो ठाउँमा ठूलो परिवर्तनको आस गर्नु बेकार हुन पुग्छ ।
भएको यही हो ।
उसो भए मास्टर आफैँ चाहिँ काशी नुहाएर कञ्चन भएका ? सामग्रीको छनोटकै चरणमा पनि आग्रह–पूर्वाग्रहका समस्या समय समयमा सहतमा नआएको होइनन् ।
मास्टरले आफ्नो विशेषज्ञता वा सनकका आधारमा आफैँ कोर्स बनाएर, आफैँ पढाएर अङ्क दिने पद्धति नेपालमा आएकै छैन । एउटा मास्टरले, आफैँले चाहेर कुनै पाठ्यक्रम बनाउन सक्दैन । पद्धतिबाटै जानु पर्छ । पद्धतिमा सरकारको सास पसेको छ ।
जहाँ विश्वविद्यालयको स्वायत्ततामाथि सरकारी हस्तक्षेप हुँदैन, त्यहाँका पाठ्यक्रम अचम्मै पार्ने हिसाबले फेरिँदैछन् । मानक सानक भानक भएका छन् । दशकैपिच्छे देशको विचार र त्यहाँको समाजको समीकरण फेरिन्छ । भनौँ, मान्यता फेरिन्छ । त्यसैले मानक फेरिन्छ । स्वायत्त निकायहरूले फेरिएका मान्यताअनुसार नयाँ मानकलाई ठाउँ दिन्छन् । जहाँ जहाँ सरकारको छाया काँचो वायु बनेर उपस्थित रहन्छ, मान्नुस्, परिवर्तनको गति कछुवाको भन्दा धीमा हुन पुग्छ ।
बिचरा कछुवालाई किन मुछ्नु र यहाँ ? उसलाई कुन दरबार पुग्नु छ र छिटो हिँड्नु ?
कि राति नै तोरीको भाउ छोप्नु र पैसा कमाउनु छ कछुवालाई ?
एकजना भाइकी दुलहीलाई सोधेँ— ‘बुहारी, अलि ढिलो बोल न । यति छिटो बोलेपछि मैले के बुझ्नु ?’
भनिन्— ‘दाजु, ढिलो बोल्दा कामै भ्याउँदिनँ । कति हो कति छ काम घरमा ।’
हाय रे सिया–राम । ठोरी नछाड प्रभु ।
यसो पश्चिमतिर हेर्छु । हुन त, पश्चितिर हेर्दाहेर्दा घाँटी नै पश्चिमतिर टेढिएको छ मेरो ।
पाठ्यक्रम बनाउँदा, अथवा मानक निर्धारण गर्दा चिन्तकहरूलाई लागेछ— पाठ्यक्रममा समाविष्ट साहित्यले ‘स्पिरिचुअल भल्गरिटी अफ आवर सिभिलाइजेशन’ यानि हाम्रो सभ्यताको आत्मिक अभद्रतालाई हटाउने चेष्टा गर्नुपर्छ । यस्तो भनाइ १९८३ तिर, अङ्ग्रेजी साहित्यको नयाँ दिग्दर्शन बनाउने एल.एच. मायर्सले पनि अगि सारेकै थिए रे ! १९८३ भन्नु, त्यति पुरानो समय त होइन नि ! त्यो बेला पनि पाठ्यक्र निर्माणको निर्देशक सिद्धान्त यस्तो । त्यस बेलाका चिन्तक भन्थे रे— मानकमा मान्छेलाई सभ्य बनाउने शक्ति हुनुपर्छ । मान्छेको संवेदनाको आकार बढाउने तथा हाम्रो सहिष्णुता बढाउने शक्ति हुनुपर्छ ।
झट्ट हेर्दा नराम्रो केही देखिन्न तर झट्ट मात्रै हेरेर नपुग्ने भयो । अलि टेढो पनि हेरौँ न ! अलि लामो पनि हेरौँ न !
एउटा प्रश्न । थाहा छैन कति दशक भयो हामीले यस्तै राष्ट्रवादी, मनवतावादी साहित्यलाई पाठ्यक्रममा राखेर पढाएको । एकचोटि परिणाम हेरौँ न ! कति राष्ट्रवादी, कति मानवतावादी, सत्यवादी, सहिष्णु, सहयोगी भयो त मानक पढेर आएको पुस्ता ?
जर्ज स्पेटहरू पनि जन्मे । जर्ज स्पेटले गोली हानेछ ड्याङ ड्याङ स्कुले बच्चालाई । मा-यो एक दर्जनजति अबोध शिशु । पछि कोर्टमा सोधिएछ— किन यसो गरेको ?
भनेछ— मैले मान्छे मरेको कुरा सुनेको थिएँ । मान्छे मर्दैगरेको चाहिँ कहिल्यै देखेको थिइनँ । त्यो हेर्न मन थियो र आफैँ मारेको ।
हैट । ऊ पनि कुनै राष्ट्रवादी अथवा सभ्य पाठ्यक्रम नै पढेर आएको होला नि, हुन त ।
यस्तै धार्मिक र विश्वकल्याणकारी पाठ्यक्रम नै पढेका थिए होला नि ट्विन टावरमा विमान ठोक्काउने पाइलहरू ।
यसबारे थप कुरा गरौँ कि नकुरा गरौँ ? नगरौँ । बरु भनौँ— मौसक ठीक छैन ।
यानि, मानक फेल छ कि पास ?
पास पनि । फेल पनि ।
अनि पाठ्यक्रम नि ?
अनि कि, देशको पाठ्यक्रममा सबै वर्ग, समुदाय र समूह आफ्नो अनुहार आएको हेर्न चाहन्छन् । अनुहार त सबै प्रकारका हुन्छन् नि ! सबै राजेश हमाल हुन्छन् त ? मजस्ता पनि हुन्छन् नि ? र, मलाई, मेरै मापदण्डमा हेर्दा, नराम्रो भन्न मिल्दैन । राजेश हमालको मापदण्डबाट मलाई हेर्दा पो ममाथि अन्याय हुन्छ ! अनि, त्यो अन्यायको दस्तावेजलाई मैले मानक मान्नुपर्ने ?
हैट्, झगडाजस्तो पो सुनियो त !
अनि कि, कुन कुरा मान्य, कुन अमान्य ?
एउटा उदाहरणबाट हेरौँ । उदाहरण चैँ— आत्महत्याको ।
पुराण पल्टायो भने भेटिन्छ— अपहत्ते गरेर जाने त तर्न पनि तर्दैनन् । अँ, सप्ताह पुराण लाइदियौँ भने केही होला । उता पनि, आफैँ जलकुण्डमा खसेर मरेकी ओफेलियालाई दिइनुपर्ने अन्त्येष्टि दिइएन नि शेक्सपियरको नाटक ‘हेम्लेट’ मा । किन त ?
‘डेथ बाई वाटर’ पनि हेरौँ, टीएस इलिटको ‘द वेस्टलेण्ड’ मा ।
मानकीकरणको सिद्धान्तमा सायद भनियो— आत्महत्याको कुरै नगर है ! सोच्नु पनि हुँदैन ।
तर, आत्महत्या संसारमा व्याप्त एउटा यथार्थ हो कि होइन ? होइन भन्नेप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । हो भन्नेले आँट गरे, यद्यपि, संसारमा आत्महत्या भन्ने चीज हुँदै नभएको भए क्या गज्जब हुन्थ्यो ! तर, छ ।
मार्सा नोर्मनले ‘नाइट मदर’ भन्ने नाटकमा एउटा पात्र ल्याइन् । पात्र, एउटी केटी, आमालाई खुल्लम खुल्ला भन्छे— आमा, भोलि त मैले मर्नु छ । चिनी ल्याइदिएँ । अरू कुरा ल्याइदिएँ । अब म गए हुन्छ नि, हुन्न र ?
हैट् ! यो सिर्जना पाठ्यक्रममा राख्नु ? यसलाई मानक बनाउनु ?
म भन्छु— राख्नु । बनाउनु ।
आदर्श पढाउने कि यथार्थ, बहस त्यस विषयको हुनुपर्छ सायद ।
आदर्श भन्नु प्लेटोको दिमागभित्र कैद होला । त्यहाँ पस्न त प्लेटो आफैँले पनि सकेका थिए कि थिएनन्, उनी आफैँ जानून् । हामीले दिनैपिच्छे देख्ने र भोग्ने सत्य भनेको चाहिँ यथार्थ नै हो । र, यथार्थ पनि चिप्लो हुन्छ । पलपल फेरिने । दशकैपिच्छे फेरिने । छेपारै भनौँ न !
बिचरा छेपारो बदनाम भयो फेरि मान्छेका नाउँमा ।
र, फेरिँदो समयका फेरिँदा मूल्य, मानविन्दु र सौन्दर्यलाई नै पढ्ने–पढाउने हो भने, र पढेर निस्किएको मान्छेले नयाँ समयका नयाँ चुनौतीसँग लाप्पा खेल्ने हो भने मानकहरू पनि फेरिँदै जानु जरुरी छ ।
होइन, बाँच्ने चैँ आज, र लाप्पा खेल्ने चाहिँ सत्य जुगका मधुकैटवसँगै हो भने त के भन्नु र खोइ !
अँ, इतिहासको जानकारीका लागि नयाँ र पुराना सिर्जनाको सन्तुलन चाहिँ जरुरी होला । तर, त्यो पठनको गौण उद्देश्य हो । यसै पनि हामी ‘नेशनलिज्म इज अ किल्लर थिङ’ भन्ने मतसँग पनि बाँचिरहनुपर्ने समयमा छौँ । त्यसो हो भने, बक्री र मार्गी दुवै प्रकारका साहित्य पढेर, त्यसबीचबाट आफ्नो विवेकले वस्तुस्थिति बुझ्ने पुस्ता हामीले निर्माण गर्नुपर्ने होइन र ?
वोले सोयिङ्काले बाङ्गै कुरा लेखे । सधैँ पाठ्यक्रममा छन् । नपत्याए उनको ‘टेलिफोन कन्भर्सेसन्’ नामको कविता कहाँ कहाँ पढाइन्छ भनेर सुराकी लगाऔँ न । कवितामा गोरी र काली दुई महिलाको संवाद छ । कालीलाई डेरा चाहिएको । घरबेटी गोरी । संवादको क्रम चल्छ, र सोधिन्छ— कति काली ? कत्तिकी काली ? सारै काली कि अलि अलि मात्रै काली ?
र अन्त्यमा, डेरा दिइँदैन ।
यो कविताको नयाँ मानक । कारण, नश्लवाद धरतीको एउटा कुरूप यथार्थ हो । यो आजको समयको एउटा केन्द्रीय वैश्विक मुद्दा हो । यो कुरा पाठ्यक्रमा किन नआउने ? आउने नि ?
‘यो कुराले छुवाछुत बढायो । यसले विभेदलाई प्रश्रय दियो,’ भनेजस्तो काइते तर्क गरेर पाठ्यक्रम विकास केन्द्रले कतिपय पाठ हटाउन लगाएको पुस्तक लेखक साथीहरूलाई राम्रै गरी थाहा होला । यस्तो अवस्थामा, पाठ्यक्रम पग्लेन भने, स्वतन्त्र लेखनले सुन्दरभन्दा सुन्दर, र कुरूपभन्दा कुरूप यथार्थलाई लेख्छ । लेख्ने आँट गर्नुपर्छ ।
त्यो पढेर पाठकले आफ्नो विवेकलाई आफैँ दाउँछ ।
पाठ्यक्रमले नै चरित्र सिकाउँछ र चरित्र निर्माण गराउँछ भन्ने कुरो चाहिँ, कात्तिकमा सर्पलाई सर्प नभनेर लामकीरो भनियो भने सर्पले कहिल्यै टोक्दैन भनेजस्तो हो । सर्पको दुलोमा हात हालेर हेरौँ त, टोक्छ कि ‘हजुर’ भन्छ ?
लु न, सर्पको दुलो खोज्न जाऔँ ।
नजाऔँ । नयाँ नयाँ सोच र मान्यताको हुरीमा हल्लिइरहेका छन् मानकहरू । तिनलाई के गर्ने, सोचौँ ।
एउटा जोखिम भने छ अचेल । मानक वा मूलधारका नाममा प्रोपाग्यान्डा छिरिरहेका छन् । कला र गुणवत्ताको कुरा कता हो कता, बेपत्ता, कलकत्ता । मुद्दा छिराउने कोसिस छ । बुझ्नु के जरुरी छ भने, एउटा पुरानो मानकलाई विस्थापित गरेर, त्यसको ठाउँ ओगट्ने नयाँ मानक पनि उत्तिकै बलियो, कलात्मक र उम्दा हुनु जरुरी छ । नयाँ हुँदैमा, फरक हुँदैमा, चर्को हुँदैमा, हल्लाखल्ला गर्दैमा लोकले त्यसलाई मानकको रूपमा स्वीकार्छ भन्ने हुँदैन ।
लोकको अनुमोदन पाउन नसकेको सिर्जना, चुनाव हारेको नेताको पोस्टरजस्तो हुन्छ । टाँस्सिइरहेको हुन्छ गाउँ–सहरका भित्ताहरूमा । ऐँठन गराइरहन्छ बितेर गएको एउटा बिर्सन लायक समयको ।
ऐँठनको उपचार खोजौँ ।
भुलात्राको पात सिरानीमुनि राखेर सुत्नु अरेन्त !
अब कहाँ खोज्न जानु भुलेत्राको पात ??
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।