
नवीन पौड्याल
नेपाली लोकसङ्गीतको क्षेत्रमा हीरादेवी वाइबाको विशिष्ट स्थान छ। उनले तामाङ सेलो लयमा नेपाली सङ्गीतमा ठूलो योगदान दिएर अमर बनेकी छन्। उनका गीतहरूले नेपाली जनजीवनलाई छोएको छ, छाएको छ, तुल्याएको छ। उनका सेलो र अन्य लोकलयका गीतहरू सुन्ने स्रोताहरू आनन्दले तरङ्गित हुन्छन्। उनका गीतमा हाम्रो आफ्नो अलिखित इतिहास छ, भूगोलका अनेकौं तह छन्। हाम्रा अतीतका ती पुर्खाले भोगेका प्राकृतिक जीवनको झलक पाइन्छ। मुजुरको नाचसित रमाएका, खान लाउनको डोहोडोहोसित बाँचेका, माया पिरतीका विभिन्न पाटासित साँचेका अनुभव अभिव्यक्त छन्। उनका गीतमा युवक-युवतीका धुकधुकी छन्, आशा र निराशाका रागभाव छन्। खुशी र सुस्केराका सुसाइ छन्। अवर्णनीय अनुभति छन्। जातीय जीवनका रमाइला पत्र, पक्ष र पृष्ठभूमि छन्। उनका केही लोकप्रिय गीतहरूमध्ये यी प्रमुख हुन्।
●फरिया ल्यादेछन् तै पनि राता घनन।
●धनकुटाको डाँडैडाँड़ा चल्यो हुलाकी नि राजै।
●राम्री त राम्रो कति राम्री
मार्यो नी मार्र्यौ अँखियोँ गाजलुले।
●नाचन झिल्के नाचन बारूली कम्मर भाँचन
●उँधो जाँदा चितुचाँगे फूल
●छुइयामा हाहा छुइयामा हा

हिरादेवी वाइबा
उनका गीतमा ओखलडुङ्गा, धनकुटा, नेपाल (काठमाडौं), पाटन, चौतारा, भोजपुर, काशी जस्ता नेपाली जनजीवनका स्थान ब्युँझन्छन्, फरिया, झुम्के बुलाकी जाग्छन्। समलाका भाकामा लाहुरेका मनोभाव झल्किन्छ। खरसाङको अम्बोटे कमानका वाइबा परिवारकी छोरी हीरादेवी वाइबाले आफ्नो परम्परालाई अघि बढाइ लोकप्रिय बनाएकी हुन्। हाम्रा चेलीबेटीका पीडा, प्रेमका विभिन्न रागभाव, सुस्केरीहरूलाई प्रतिनिधित्व गरेकी छन्। नेपाली जनजीवनले हिमाल, पहाड र मधेसको उकाली हिँड्दाका सुख-दुःख पसिना र संघर्षको गाथा छ।
हीरा बाइबाको गायनको बिँडो थाम्ने उनकै छोरी अझ प्रखर भएर निस्केकी छन्- नवनीत आदित्य वाइबा। उनको गायन पनि आमाकै लोकगीतलाई अघि बढाउँदै त्यसको सँगसँगै आफ्नै मौलिकलाई पनि विकसित गरेकी छन्। नवनीतको गलामा पनि ठेट नेपाली लोकलयका सरिता बगेको छ। आमा र उनको स्वरमा केही साम्य र केही वैषम्य पाइन्छन्। नवनीतले आफ्नी आमा हीरा वाइबाकै पुराना लोकगीतलाई ब्युँझाउने काम गरेकी छन्। आमालाई साँचो श्रद्धाञ्जलि अर्पण गरेकी छन्। नयाँ पुस्ताका युवा पिँढीलाई हाम्रो मौलिक लोक गीत-संगीतलाई अझ लोकप्रिय, सञ्चरण र पुनर्ताजगी बनाइदिएकी छन्। यद्यपि आमाका गीतको पुनर्जागरण गर्दै आफ्नै पनि मौलिक गीतहरू अझ मिठा मिठा गाएकी छन्। उनको गायकीमा आमाको स्वरको छायाँ छ, बाजे एस. एम. वाइबाको परम्परा छ। उनले आमाको लोकगायनलाई उत्थान गर्दै आफ्नै मौलिक मार्ग पनि बनाउँदै विकसित गरेकी छन्। उनको स्वर लहरीमा अलौकिक जादू छ, आनुसांगिक आनन्द पाइन्छ। बालकले आमाको काखमा लुटुपुटु गर्दाको न्यानोपन पाएझैं अवर्णनीय र नैसर्गिक आनन्द र तृप्ति पाइन्छ। उनको स्वरलहरीमा पनि आफ्नो गोर्खाली जातीय संगीतको नैसर्गिक परितृप्ति, जातीय संवेदना, सभ्यता संस्कार ब्युँझिन्छ। उनका गीतहरूभित्र हाम्रा इतिहास पाइन्छ, लुवाइखुवाइको झलक पाइन्छ, संस्कृतिका आन्तरिक पहलु पाइन्छ। हाम्रो पृष्ठभूमि, चिन्तन अवस्था-व्यवस्था, लोकजीवन आदिको झलक पाइन्छ। मौलिक र ठेट भाषाको सुगन्ध पाइन्छ। हिमालको फेदीमा बसोबासो गर्ने गोर्खालीजनको दुःख, सङ्घर्षको गाथा पाइन्छ। भाषामा गाईको खाँटी दुध पिउँदाको परितृप्ति पाइन्छ। पहाडको चोखो सरिताको कलकल र झरनाको प्रवाह छ, वनमा चराचुरङ्गीको मिठो चिरबिर कलरवको प्राकृतिक समीपता पाइन्छ। पहाडको चाँप-गुराँसको जङ्गलको परम सौन्दर्यको झल्को पाइन्छ। उनको गलामा कोइलीको कुहुकुहुको मिठास छ, न्याउलीको विरहीपन पाइन्छ। उनका गीत सुन्दै गर्दै हाम्रो कल्पनालहरीले वनजङ्गल विचरण गर्छन्। इतिहासका ती अलिखित पाटाहरूमा पुग्छौं, दर्शनका ती अवर्णनीय र अलिखित पन्नाहरूमा पुग्छौं। लोकसुस्केराका आनन्दका तालमा डुब्छौं, आफ्नोपनको न्यानोपनमा झुल्छौं। च्याङबा र मैच्याङका प्रेम-प्रीतिका आनन्द र उच्छवासका भावनानजिक पुग्छौं।
● झिल्के नाचेको देखेर डम्फू बजाइ नाचौं नाचौं लाग्दैछ।
● निष्ठुरी निष्ठुरी तिम्रो त माया मो गर्छु,
मेरो त माया कसले पो गर्ला।
● ए स्याङबो सहनैको सङ्केतले सम्झायो सैबैलाई
● मालीमा गाईको दुध बेग्लै
न मधेस जानु न भोट जानु
न मरी जानु न गरिखानु
मुगलानको देशमा लै लै म एक्लै।
● ढिकी कुटी चामल ढाँटा ओखल कुटी पिठो
जिउडाल तिम्रो डाँफे जस्तो बोली वचन अति मिठो।
●एक मुरी धान कुटी कुटी ए लै लै पसलभरि बियाँ
म त ओल्लो घर थियाँ। पल्लो घरको निम्तो बाँड्दा। सैबैज्यूको निम्तो बाँड्दा।
● के के तिपाङ्गे सैबै आँगनीमा पैसा छैन के पो तिपाङ्गे

नवनीत आदित्य वाइबा
यी प्रत्येक गीतमा एकेकवटा डिस्कोर्स पाइन्छ। यी गीतभित्र धेरै कुरा समेटिएका छन्। मानव जीवनमा माया प्रेम, बसाइ सराइ, घर गृहस्थी, आफन्त, साइनोको ठूलो प्रभाव हुन्छ। यी तत्त्वहरूबीच बाँच्दाका उतार चढाउमा नै मानिसको जीवन रहेको हुन्छ। प्रकृतिले पनि मान्छेलाई बचाइराखेको हुन्छ। धेरै प्रभाव पारेको हुन्छ। उहिलेदेखि मुगलान आएर बसेका युवक-युवतीका अन्तर्निहीत र आन्तरिक प्रेम र यसबाट उब्जेका विभिन्न भाव पाइन्छ, उनीहरूका धुकधुकी छाम्न सकिन्छ। लोकविश्वास, लोकधर्मका विभिन्न पाटाहरू छन्। नेपाल, भारत र तिब्बतस्थित ती उच्च स्थानमा रहेका जनजीवनको धुक्धुकी छ। उनका गीतमा डाँफे-मुनाल, कलचुँडा र जुरेलीका बुलबुलझैं सहज र स्वाभाविक लय छ। गलामा वैचित्र्य, वैविध्य, सुमधुरता पाइन्छ। तामाङ सेलो र अन्य लोकधुनको मिश्रणबाट नयाँ र अझ मिठो लय सिर्जना भएको छ। उनका गीतले हाम्रो हृदय आनन्दतिरेकले गद्गद् हुन्छ। प्रकृतिको न्यानो काखमा लुटुपुटु गर्न पुग्छौं। उनको शब्दोच्चारणमा स्पष्टता, स्वरमा मार्मिकता र ठेटपन पाइन्छ। गर्मीका दिनमा हिँडेर देउराली पुगेपछि सिर्सिर हावाको आनन्द अनुभूत हुन्छ।
नवनीतले आमाको गीतहरूलाई पुनर्जागरण गर्नका साथै आफ्नै मौलिक गीत पनि अझ मिठो गरी गाएकी छन्। मानव संवेदना, अतीतप्रेम, कल्पनाको प्रबलता र लोकसंवेदनालाई समात्न सकेकी छन्। आमालाई श्रद्धाञ्जलि नामक एउटा परिवारिक परियोजनालाई कार्यान्वन गर्दै आफ्नी आमा र आफ्ना मौलिक लोकगीतलाई अघि बढाएकी छन्। उनले शुरूमा आमाका सातवटा गीतलाई लिएर नयाँ गरी गाएकी छन्। उनले यस अभियानलाई अघि बढाउँदै सन् २०१७ मा काठमाडौंमा कुटुम्ब ब्याण्डको आयोजनामा आफ्नी आमा र आफ्ना गीतहरूको प्रत्यक्ष कार्यक्रममा गाइसकेकी छन्। उनले विशाल सम्भावनाको ढोका उघार्दै आमालाई र समग्र गोर्खालीलाई अलौकिक गायनद्वारा डोहोर्याएर लान सक्नेछिन्। उनलाई शुभकामना छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

