ओ चित्रकार !
के गर्दैछौ
के हेर्दैछौ
के कोर्दैछौ
मेरा लागि ?

मलाई त आशाका
दीपहरू बनाइदिनु
बनाइदिनु
कर्मयोगी हातहरू

खेत खलियान घुमाउँला
हरिया डाँडाहरू डुलाउँला
अनि घुमाउँला
भन्ज्याङ अनि देउरालीहरू

ओ चित्रकार !
जीवन चल्ने एउटा गाडी बनाइदिनु

तर बिन्ति
नबनाउनु
अधुरो आकाश
नबनाउनु
प्रतिक्षाका ओठहरू
बिन्ति
नउतार्नु क्यान्भासमा
क्षितिजमा टोलाएका
निर्दोष आँखाहरू

ओ चित्रकार !
एउटा शुभ बिहानी बनाइदिनु
एउटा घामको झुल्को बनाइदिनु
बिन्ति नबनाउनु
बादल मडारिएको आकाश ।