अजम्बरी त भगवान् मात्रै छन् भन्छौँ हामी । अमरताका बारेमा कल्पना गर्न थाल्दा यो कुरा हामीलाई साइन्स फिक्सन जस्तो लाग्छ । प्रकृतिको नियम नै जन्मेपछि मृत्यु हुनु हो । तर वैज्ञानिकहरू भने मृत्यु नामक शाश्वत सत्यलाई पनि गलत साबित गर्न सकिन्छ भन्नेमा पुगेका छन् ।
अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ह्युमानिटी प्लसका वैज्ञानिक डाक्टर जोस कार्डिरोका अनुसार आगामी केही वर्षमै वैज्ञानिकले अमरताको गुह्य खोल्न सफल हुनेछन् । उनका अनुसार सन् २०३० मा जीवित मानिसहरू बर्सेनि आफ्नो उमेर बढाउन सक्नेछन् र सन् २०४५ पछि वैज्ञानिकहरूले मानिसलाई अमर बनाउन सुरु गर्नेछन् ।
आगामी २०/२२ वर्षमै मानिसलाई कसरी अमर बनाउन सकिन्छ त भन्ने बारेमा वैज्ञानिकहरूले अहिलेसम्म खुलेर केही पनि बताएका छैनन् । तर यसमा रोबोटिक्स तथा आर्टिफिसियल इन्टलिजेन्सको सहयोग लिन सकिने देखिएको छ । सो प्रविधिको सहयोगबाट मानिसको आयु बढ्दै जानेछ र अन्ततः यस्तो समय आउनेछ, जहाँ मानिस सयौँ वर्षसम्म बाँच्न सक्नेछ ।
डाक्टर कार्डिरोका अनुसार पहिले पहिले मानिसको औसत आयु नै निकै कम हुन्थ्यो तर अहिले धेरै बढिसकेको छ । यही सूत्रमा डि एन ए को बुढ्यौलीलाई उल्टाइनेछ अर्थात् रिभर्स एजिङ गराइनेछ ।
डाक्टर कार्डिरोका दाबीका पछाडिको कारण भन्नु नै हार्वर्ड तथा बोस्टनस्थित प्रयोगशालामा भएका विभिन्न प्रयोग र अनुसन्धानहरू हुन् । ती अनुसन्धानले बढी उमेरका मुसाको उमेर उल्टाएर त्यसलाई तन्नेरी बनाइएको थियो । यहाँसम्म कि उमेरका कारण कमजोर बनेको आँखाको शक्तिलाई समेत ठीक पारिएको थियो ।
हार्वर्ड मेडिकल स्कुल तथा बोस्टन युनिभर्सिटीको उक्त संयुक्त अनुसन्धान हालै सेल नामक जर्नलमा प्रकाशित भएको छ । त्यस सम्बन्ध्मा शोधकर्ता डेभिड सिनक्लेअरले भने, उमेर भनेको उल्टाउन मिल्ने प्रक्रिया हो । अर्थात् उमेरलाई परिवर्तन पनि गर्न सकिन्छ ।
लस अफ एपिजेनेटिक इन्फर्मेसन एज कज अफ म्यामेलियन एजिङ शीर्षकमा प्रकाशित उक्त शोधका क्रममा प्रयोगशालामा मुसामाथि अनुसन्धान गरिएको थियो । त्यसक्रममा के प्रष्ट भयो भने उमेरलाई पछाडि फर्काएर बुढ्यौलीमा पुगेकालाई तन्नेरी बनाउन सकिन्छ ।
तर अनौठो त के भने उमेर केवल पछाडि मात्र फर्काउन सकिने होइन अगाडि पनि दौडाउन सकिन्छ । अर्थात् प्रयोगशालाबाटै कुनै तन्नेरीलाई छिटै बुढो पनि बनाउन सकिन्छ ।
हाम्रो शरीरसँग आफ्नो युवावस्थाको ब्याकअप कपी हुन्छ भन्ने मान्यताका आधारमा उक्त शोध गरिएको हो । त्यसैले यदि उक्त कपीलाई ट्रिगर गरियो भने कोशिकाहरू पुनरुत्पादन हुन थाल्छन् अनि उमेर पछाडि फर्किन थाल्दछ । साथै उक्त अनुसन्धानबाट शोधकर्ताहरूले उमेर बढ्नु वंशाणुजन्य उत्परिवर्तन (जेनेटिक म्युटेसन) को परिणाम हो, जसमा डिएनए कमजोर हुन्छ भन्ने पुरानो मान्यतालाई पनि गलत साबित गरिदिएका छन् ।
करिब एक वर्षसम्म चलेको उक्त अनुसन्धानका क्रममा बुढो तथा कमजोर देखिने मुसामा मानिसको प्रौढ छालाका कोशिकाहरू प्रत्यारोपण गरिएको थियो । जसबाट केही दिनमै ती हेर्न लायक बने । त्यसपछि सोही तरिकाबाट मस्तिष्क, मांसपेशी तथा मिर्गौलाका कोशिकाहरूलाई पनि पहिलेभन्दा कैयन् तन्नेरी अवस्थामा पुर्याउन सकियो ।
यसअघि सन् २०२२ को अप्रिलमा क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले यस्तै दाबी गरेका थिए । जसमा शोधकर्ताहरुले एउटा विशेष विधिबाट जो कोहीको उमेरलाई ३० वर्ष घटाउन सकिने जिकिर गरेका थिए । उक्त शोधका क्रममा वैज्ञानिकहरूले छालाका कोशिकालाई रिप्रोग्रामिङ गरे ताकि उक्त छाला वास्तविक उमेरभन्दा निकै कम उमेरको देखियोस् ।
बुढ्यौलीको छालामा यसबाट कोलाजेन पैदा गर्ने क्षमता बढ्यो । कोलाजेन एउटा प्रोटिन हो जसबाट शरीर मजबुत तथा युवा देखिन्छ ।
मल्टीओमिक रिजुभिनेसन अफ ह्युमन सेल्स शीर्षकको उक्त शोध इलाइफ जर्नलमा प्रकाशित भएको थियो ।
पछिल्लो समयमा विश्वका विभिन्न देशमा कतिपय खर्बपतिहरूले यस उमेर उल्टाउने पद्धतिका माध्यमबाट अमरता प्राप्त गर्ने आशामा भारी रकम खर्चिन थालेका छन् ।
प्रयोगशालामा आफ्नो मृत सरीरलाई सुरक्षित राख्ने चलन पनि बढेको छ ताकि अमरताको सूत्र फेला परेसँगै मरिसकेको अवस्थामा पनि पुनः जीवित बनियोस् । यसलाई क्रायोनिक्स भनिन्छ । एक दाबीअनुसार विश्वमा हालसम्म ६ जना मानिसको मृत शरीरलाई यसरी फ्रिजमा राखिएको छ ।
यस विषयमा विभिन्न निजी कम्पनीहरूले पनि काम गरिरहेका छन् । मानिस मर्ने बित्तिकै क्रायोनिक्स विज्ञहरूले उसको शरीरमा मस्तिष्कसम्म अक्सिजन आपूर्ति भैरहेको यकिन गर्दछन् । त्यसपछि शरीरका कोशिकाबाट पानी निकालेर त्यसको ठाउँमा एक केमिकल भरिन्छ । त्यसपछि उक्त शरीरलाई माइनस १३० डिग्रीको तापमानमा राखिन्छ ।
क्रायोनिक्समा शरीरका भिन्न भिन्न भागलाई संरक्षित गर्ने शुल्क पनि फरक-फरक हुन्छ । एक अनुमानअनुसार यदि वैज्ञानिकहरूले सन् २०४५ सम्ममा अमरता प्राप्त गर्ने सूत्र पत्ता लगाए भने अहिले मृत्यु भएको मानिसको शरीर त्यतिबेलासम्म सुरक्षित राख्नका लागि करिब सबा २ करोड रुपैयाँ खर्च हुने बताइन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 





