वैज्ञानिकहरूले एउटा नयाँ प्रविधिको सहयोगले अहिलेसम्म खोजिएकामध्ये सबैभन्दा ठूलो ब्ल्याक होल (कृष्ण विवर)मध्ये एकलाई पत्ता लगाएका छन् । यो विशाल ब्ल्याक होल सूर्यको घनत्वभन्दा ३० अर्ब गुणाभन्दा बढी छ ।

नयाँ अध्ययनले देखाएअनुसार अहिलेसम्म यत्रो आकारका जम्मा चार वटा ब्ल्याक होलहरू मात्र खोज्न सकिएको छ । त्यो पनि ग्राभिटेसनल लेन्सिङ नामक एउटा नयाँ प्रविधिको सहयोगले पत्ता लगाउन मद्दत पुगेको बताइएको छ ।

यसमा कुनै टाढाको आकाशगंगाबाट पृथ्वीतर्फ आइरहेको प्रकाशको आकार बढेर भित्रतर्फ छिरेको देखिन्छ । यही कारणले एउटा विशाल अँध्यारो ठाउँ भएको पत्ता लागेको हो ।

खगोल वैज्ञानिकहरूका अनुसार आउँदा वर्षहरूमा यो प्रविधिको प्रयोगले हजारौँ यस्ता ब्ल्याक होलहरूको खोजी गर्न सकिनेछ । यो नयाँ अध्ययनका मुख्य लेखक जेम्स नाइटिंगेलले भने, यो तरिका एउटा वाइन गिलासभित्र प्रकाश छिराउनुजस्तै हो । र, यो एउटा ऐतिहासिक खोज हो ।

नाइटिंगेल बेलायतको डर्हम विश्वविद्यालयमा खगोल वैज्ञानिकका रूपमा कार्यरत छन् । उनी भन्छन्, यो निकै भाग्यशाली कुरा हो । किनभने यति टाढाको एउटा आकाशगंगाको प्रकाश त्यो ब्लइाक होलनजिकैबाट जाँदै थियो । यो पृथ्वीबाट करिब २ अर्ब प्रकाश वर्ष टाढा छ ।

इतिहासमा अंकित यो सबैभन्दा ठूलो ब्ल्याक होल हुनसक्ने तर यस्तै हो भनेर ठोकुवा गन गाह्रो हुने उनले बताए । प्रचलित भन्दा बेग्लै प्रविधिबाट खोजिएको हुनाले अहिले नै निश्चित ठोकुवा गर्न नसकिने पनि उनले बताए ।

निकै ठूलो विशालकाय ब्ल्याक होल, आकाशगंगाहरूको केन्द्रमा हुने गर्छन् र आफ्ना विशाल गुरूत्वाकर्षणको शक्तिले ताराहरूको धुलोका कणजस्तै निल्ने गर्छन् । प्रकाश पनि यिनको शक्तिबाट उम्कन पाउँदैनन् ।

यसअघि यत्रो आकारको ब्ल्याक होलका बारेमा थाहा थिएन । संयोगवश यस पटक जब ब्ल्याक होलले ताराहरू निल्न थाल्यो, त्यसबेला बाहिरतिर निकै ठूलो मात्रामा प्रकाशका किरणहरू देखिएको थियो । कुनै ब्ल्याक होलले निल्दै गरेको ताराको गति तीव्र तरिकाले बढ्न पुग्छ । यस्ता ताराहरूको स्थान, कक्ष मापन गरी ब्ल्याक होलका बारेमा पत्ता लगाउने गरिन्छ ।

तर यस्तो तरिकाले मापन गर्न ती आकाशगंगाहरूलाई मात्र सकिन्छ, जुन तुलनात्मक रूपमा पृथ्वीबाट नजिक छन् । नाइटिंगेल भन्छन्, अहिलेसम्म पहुँचबाहिर रहेका ती ब्ल्याकहोलका बारेमा ग्राभिटेनसल लेन्सिङ नामक नयाँ प्रविधिको सहयोगले पत्ता लगाउन सकिने भएको छ । खगोल वैज्ञानिकहरूले यसका माध्यमबाट पत्ता लागिनसकेका ती ९९ प्रतिशत आकाशगंगाहरूमा भएका ब्ल्याक होलहरूलाई पनि पत्ता लगाउन सक्छन् । यतिबेला ५०० ग्राभिटेसनल लेन्सहरूका बारेमा वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यही लेन्सका माध्यमबाट अब खोजी क्रम नाटकीय रूपमा परिवर्तन हुनेमा नाइटिंगेल विश्वस्त छन् ।

यही कुरालाई गहनताका साथ खोजी गर्न युरोपेली अन्तरिक्ष एजेन्सीको युक्लिड मिसनलाई आउँदो जुलाई महिनामा अन्तरिक्षमा पठाउने तयारी भइरहेको छ । यो मिसनले ब्रह्माण्डको एउटा विशाल हाई रेजुलेसनको नक्सा बनाउनेछ । यसले ब्ल्याक होल खोज्नेहरूबीच एउटा ठूलो डाटा युगको शुरूवात हुने विश्वास नाइटिंगेलले लिएका छन् ।

आउँदा ६ वर्षमा युक्लडले १ लाख नयाँ ग्राभिटेसनल लेन्सहरू खोज्न सक्छ । यस्तो भएको खण्डमा अहिलेसम्म लुकेका हजारौँ ब्ल्याक होलहरूका बारेमा थाहा हुनेछ । यस अध्ययनका बारेमा हालै मन्थली नोटिसेस अफ द रोयल एस्ट्रोनमिकल सोसाइटी अखबारले प्रकाशन गरेको थियो । (एएफपी)