
आज शनिबारको दिन । रिल्याक्स मुडमा हुनुहुन्छ भने र आज अनलाइनमा कुन फिल्म हेर्ने भनेर सोचिरहनु भएको छ भने त्यसको समाधान लिएका आएका छौँ ।
अ म्यान कल्ड ओटो, एउटा सुन्दर फिल्म छ । फिल्मको कथानकले तपाईंलाई बाँधिरहन्छ र अन्त्यमा एउटा फिलगुड भाइब्स दिएर जान्छ ।
यसको कथानक छोटकरीमा यस्तो छः
६३ वर्षे ओटो एन्डरसन नामक पुरूष छ । हालै उसकी श्रीमतीको निधन भइसकेको छ । उसको दैनिकी भन्नु नै, कि त अफिस जानु हो कि त उसकी बिरामी पत्नीको रेखदेख गर्नु हो । त्यसबाहेक जीवनमा उसको कोही छैन, केही छैन ।
उसकी पत्नीको निधन भइसकेपछि उसको दैनिकी भन्नु नै सातामा एक पटक चिहान जानु र पत्नीसँग साताभरिका गफ गर्नु हुन्छ ।
एक दिन ऊ उमेर हदका कारण जागिरबाट निकालिन्छ । इन्जिनियरिङमा उसको विज्ञताको अब काम छैन । उसको ठाउँमा नयाँ मान्छे आइपुग्छन् । अचानक, उसको अब केही बाँकी रहँदैन । जुन कामका लागि ऊ यतिञ्जेल बाँचिरहेको थियो, त्यो पनि खोसुवामा परेपछि ऊ दिकदार बन्छ । दिनदिनै पनि श्रीमतीको चिहानमा ऊ कति जाओस् !
यसबाट दिक्क भएर ऊ आत्महत्याका लागि तयार हुन्छ । एक दिन जब ऊ आत्महत्याका लागि पासो लगाएर ठीक पर्छ, उसको डोरी चुँडिन पुग्छ । अर्को दिन पासो लाग्दा, छिमेकमा नयाँ मान्छेहरू आउँछन् र तिनलाई सहयोग गर्न निस्कँदा आत्महत्या गर्नै बिर्सन्छ । तेस्रो पटक आत्महत्या गर्न लाग्दा डोरी चुँडिएर सिलिङ नै दुलो पर्छ । त्यो टाल्न थाल्छ । चौथो पटक जब ऊ आत्महत्या गर्न बन्दुक लिएर तयार हुन्छ, त्यो दिन छिमेकीका कारण ऊ आत्महत्या गर्न सक्दैन ।
बरू छिमेकीले उसलाई यति धेरै सानातिना कुरामा पनि घरमा आएर दुःख दिन्छन् कि ऊ उनीहरूको समस्या समाधान गर्नतर्फ थाल्छ । र, छिमेकीसँगै उसले अरूलाई पनि सहयोग गर्न थाल्छ जबकि पहिले सहयोगको नाउँमा ऊ केही पनि गर्दैनथ्यो । बरू ऊ झगडालु स्वभावको वृद्धका रूपमा बदनाम थियो ।
छिमेकी विदेशबाट अमेरिकी सपना पछ्याउँदै आएका हुन्छन्, उनीहरूलाई धेरै कुरामा सहयोग गर्नुपर्ने आवश्यकता देख्छ । सहयोग गर्दागर्दै उसलाई अरूको खुसीको अर्थ थाहा हुन थाल्छ । र, ऊ आत्महत्या गर्ने सोच त्यागेर बिग्रेका अन्य सम्बन्ध सुधार गर्नेतिर लाग्छ ।
यति गर्दा पनि उसमा भएको आत्महत्याको सोच निख्रदैन । बरू एक दिन रेलको पटरीमा मर्न लागेको एक वृद्धलाई बचाउँदै गर्दा ऊ स्थानीय नायक बन्न पुग्छ ।
फिल्मले एक्लोपनले ल्याउने अवशाद र त्यो अवशादको घनत्वका कारण मान्छेले अँगाल्ने आत्महत्यामाथि निकै सुन्दर टिप्पणी गर्दै मान्छेको उद्देश्य आफू बाँच्ने होइन, अरूका लागि कसरी बाँच्न सकिन्छ भन्नेसमेत सिकाउँछ ।
यो फिल्म अमेरिकाको पेन्सिलभेनिया राज्यमा सन् २०२२ को फेब्रुअरीमा सुटिङ थालेर मेमा सकिएको थियो । फिल्म १४ डिसेम्बर २०२२ मा रिलिज भएको थियो । संसारभर यो फिल्मले १०९ मिलियन डलरको व्यापार गरेको थियो ।
यो स्विडेनी लेखक फ्रेडरिक ब्याकम्यानद्वारा लिखित स्विडेनी भाषाको उपन्यास अ म्यान कल्ड ओभमा आधारित फिल्म हो । यो उपन्यास बजारमा आउनेबित्तिकै निकै लोकप्रिय बन्न पुग्यो । सन् २०१३ मै यसलाई अंग्रेजीभाषामा अनुवाद गर्नेबित्तिै न्युयोर्क टाइम्स बेस्टसेलर उपन्यासमा दरियो । करिब १८ महिनासम्म बेस्टसेलरमा अडिएपछि २०१५ मा स्विडेनी भाषामा फिल्म पनि बन्यो । फिल्मले स्विडेनका तर्फबाट अस्करमा नामाङ्कनसमेत पाएको थियो ।
स्विडेनी फिल्मको तुलनामा टम ह्याङ्क्सको फिल्म बढी मनोरञ्जक र सान्दर्भिक बनाइएको छ । खासगरी टम ह्याङ्क्स अभिनयमा सहज देखिन्छन् ।
यत्ति हेरिसकेपछि खासमा तपाइँलाइ स्विडेनी फिल्म पनि कस्तो रैछ भन्ने चासो नि लाग्छ सक्छ । त्यो चासो मेटाउन स्विडिस भाषामा बनेको द म्यान कल्ड ऊभ हेर्न सक्नुहुन्छ यहाँः
भाषा नबुझेका कारण हेर्न अल्छी लाग्यो भने र यो उपन्यास कस्तो रहेछ त भन्ने चासो लाग्यो भने अंग्रेजीमा उपन्यासमाथि गरिएको टिप्पणी पनि हेर्न सक्नुहुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
