सहरमा कि त सलहको चर्चा छ कि कोरोनाको । जनजीवन सरल र सामान्य हुनुको साटो झन् जटिल हुँदै जाने सङ्केतहरू देखिँदै छन् । आम मानिस खुट्टो खोच्याउँदै हताश भावमा गाँस, बास र कपासकै मियो वरिपरि घुमिरहेका छन् निरन्तर । सहज परिस्थितिमा त सीमित वृत्तमाबाहेक कविता पढ्ने, पढाउने, चर्चा–परिचर्चा गर्ने बौद्धिक अभ्यास र परम्परा नरहेको हाम्रोतिर अहिलेको अवस्थामा कविता मान्छेको केन्द्रबिन्दु र महत्वभित्र पर्ने कुरै भएन । तै पनि कविताका विभिन्न मञ्चहरू अनावरण भैरहेकै छन् र कविताका पाठकहरू वर्तमान विषमतालाई कविता या साहित्यको सिटामोलले मत्थर पार्ने प्रयास गरिरहेकै छन् ।

शरद ऋतु

सत्तरीको दशकको शुरूआतदेखि नै नेपाली साहित्यमा कविताको सबैभन्दा पछिल्लो पुस्ताले आफ्नो उपस्थिति देखाउन थालिसकेको हो । २०७५ सालको अन्तिममा यही पुस्ताका सत्रजना कविको संयुक्त कविताकृति ‘अनुहारको भीड’ बजारमा आयो । यस कविताकृतिको प्रकाशनमा नेतृत्वदायी भूमिका खेलेका यही पुस्ताका सशक्त कवि नवीन प्यासी यसै संग्रहका सम्पादक समेत हुन् ।

प्रसिद्ध समकालिन अफ्रिकन–अमेरिकन कवि निक्की जियोभानीको विचारमा कविले जस्तै कोलाहलयुक्त कोठामा पनि शान्ति भेट्टाउँछ र त्यही स्थितिमा उसले सृजना गर्छ । कवि नवीन प्यासी काठमाडौंको होहल्ला र कोलाहलसित जुझ्दै कविताको स्केच कोरिरहेको छ । ऊ कलाको मिहीन मसीले समय, सम्बन्ध र संवेदनाहरू कविताको पटागिंनीमा निरन्तर पटाक्षेप गरिरहेको छ ।

लाग्छ, कवि नवीन प्यासी आफ्नै हस्ताक्षर सहितको कविताको छुट्टै डिक्सन निर्माण गर्ने यात्रामा छ । अहिले नै धेरै भन्न नसकिए पनि यति चाहिँ भन्न सकिन्छ कि उसकै समकालिन कविहरूका कवितासित नाम छोपेर सराबर गरेर राख्ने हो भने पनि पाठकले उसका कविताहरू सजिलै भेट्टाउँछन् । ‘तिमीसँग भेट नभएको भए’ शीर्षकको एउटा कवितामा ऊ भन्छ,

     आँसुले छातीमा हिर्काएर जाने थिएन

शब्दहरू घाँटीसम्म आएर अड्कने थिएनन्

झरीले रुझेको कागज जस्तो हुने थिएन ओठ

बेपत्ता हुने थिएनन् ओठको कुनाबाट मुस्कानहरू

ऊ वियोग, बिछोड र वेदनालाई मात्रै कविताको क्याप्सुल बनाएर बेच्दैन । उसका कवितामा समयचेत, बोध र कर्तव्यका पाटाहरू पनि कलाको भ¥याङ उक्लिएरै आइपुगेका हुन्छन् । उसलाई थाहा छ, नाफाखोर बजारले उत्पादन गरेको कथित ब्राण्डेड वस्तु जस्तो होइन कविता । समाजको आन्तरिक संरचनाको जोड–घटाउमा कविताको निकै ठूलो महत्व हुन्छ । माथिकै कवितामा अगाडि ऊ लेख्छ :

     तिमीसँग भेट नभएको भए

आउँदैनथ्यो यत्रो दुःखलाई छिचोल्ने साहस

तिमीले मलाई यति बलियो बनाएर

छाडेकी रहिछौ कि,

तिमीसँग भेट नभएको भए

उहिल्यै मरिसकेको हुन्थेँ म ।

जब भावनाले विचार र विचारले शब्द पाउँछ तब कविता बन्छ भन्ने कवि रोबर्ट फ्रस्टको भनाइ प्यासीको कविता र उसका कवितावृत्तिसित मेल खान आउँछ । ऊ बेअर्थ कवि भनिनकै निम्ति कविता लेख्दैन । अन्तर्यमा गहन विचार र बोध समाहित गरेको ऊ बाहिरबाट हेर्दा चञ्चल किशोर लहर जस्तो पनि देखिन सक्छ । युवावयमै कविता खेतीमा परिपक्व उत्रिएको कवि नवीन प्यासी वर्तमानका पदिृश्य र मरुभूमि झैँ बाँचिरहकेका मानिसका कथा उतार्न माहिर छ । ‘एउटा मानिसको कथा’ यो समय बाँचिरहेका मानिसहरूका कथा हो । राज्यको एकैखालको आर्थिक, सामाजिक र राजनीतिक संरचनाभित्र बाँधिएका मानिसका व्यथा पनि उस्तै नै हुन्छन् ।

     ऊ यति निरीह मानिस हो कि

जुनसुकै बेला पनि ऊ बेपत्ता हुनसक्छ

जुनसुकै बेला पनि उसको नाक–कान काटिन सक्छ

जुनसुकै बेला पनि उसको मुटुमा

बारूदको गन्ध भेटिन सक्छ

कवितामा आत्मरति र आत्माभिमानमा रमाउने कविहरूको झुण्ड बाक्लै छ बजारमा । यद्यपि यो समयका केही इमान्दार कविहरू समयको भुलचुक बिना हिचकिचाहट आफ्नो खातामा हाल्छन् । कवि प्यासी भन्छ:

यो जीवन शून्य सहरमा

झुट बोलेर बाँच्ने कोसिस गरिरहेको म

दम्भ देखाएर बाँच्ने कोसिस गरिरहेको म

दुखेको कुरा गर्न नजानेको म

खुसी देखिने अभिनय गरिरहेको म

‘शासन’ शीर्षकको कवितामा ऊ आन्दोलनकारीले भत्काउन बिर्सेको व्यस्त चोकको पुरानो शालिकले अझै औँला उठाइरहेको देखेर उसमा अझै सत्ताको भोक बाँकी रहेको देख्छ । यो छोटो कविताले सिङ्गो शासकिय चरित्र र इतिहासमाथि बलियो धावा बोलेको छ ।

नवीन प्यासी

नवीन प्यासी पछिल्लो पुस्ताको एउटा जिम्मेवार कवि हो । कविताका लागि चाहिने ‘सिरियसनेस’ उसमा छँदैछ । यद्यपि उसका कविताले विचारको नुतन र गहकिलो आकाशमा विचरण गर्न बाँकी नै छ । चेतना र चिन्तनगत आयाममा जीवन, प्रकृति, सौन्दर्यका नवीनतम आलोकहरू खोज्न बाँकी नै छ । कवि नवीन प्यासी मौलिक तर बलियो विश्वदृष्टिकोणसहित माझिएर आउन बाँकी नै छ । खैर, भर्खरै त यात्रा शुरू भएको छ । भविष्य त उज्वल छँदैछ । यार मनहरू भिज्ने गरी कविता लेखिरहनू । तिमीलाई शुभकामना ।

 

नवीन प्यासीको कवितामाथि टिप्पणी गरिएका कविताहरू यसप्रकार छन् ।

१. शासन

 

आन्दोलनकारीले भत्काउन बिर्सेको

पुरानो शालिक

व्यस्त चोकमा उभिएर

अझै पनि औँला उठाइरहेको छ

 

सायद,

उसमा सत्ताको भोक अझै बाँकी छ ।

 

 

२. एउटा मानिसको कथा

लाग्छ– ऊ माटोको गिलास हो

जो भर्खरै समयको हातबाट छुटेर

मार्बलमा बजारिएको छ

 

लाग्छ– ऊ कसैको औंला झुक्किएर ठोक्किएको

पुरानो सारंगीको एक्लो तार हो

जसले आफ्नो मृत्युको गीत आफैं गाउनुपर्छ

कुनै मानिसको आत्महत्याले

हाँगा थर्थराएर खसेका

थोपाहरुको सरसराहट जसरी

शासकविरूद्ध

फाासीको तख्ताबाट निस्किएको

अन्तिम आवाज जसरी

जल्नुअघि

झिलिक्क बलेको बिजुलीको बल्ब जसरी

हारेको ठानेर हुन्छ

या जितेको ठानेर

उसले आफ्नो मृत्युको गीत आफैं गाउनुपर्छ

 

चीत्कारमा आनन्द लिन

कुनै कलिलो हातले

फर्सीको फूलमा छोपिन सक्ने कीरा हो ऊ

धूलो र माकुराको जालोले छोपिएको

कसैको प्रतिविम्बको प्रतीक्षामा बााचेको ऊ

ऐना पनि हो

र ऊ कुवा पनि हो

जसको छातीमा जून मुस्कुराइरहेको बेला

पहेंलो पात खसिदिँदा मात्र पनि

कच्याककुचुक हुन सक्छ

ऊ हात काट्छ

र प्रेमपत्र लेख्छ

ऊ भट्टी छिर्छ

र आफ्नै हातले निधार हिर्काउाछ

ऊ महागीमा उभिन्छ

र बजार भाउ सुनेर मात्र फर्कन्छ

ऊ भूकम्पले आधा चिथोरेको घर सम्झन्छ

ऊ दुःखले धुजा–धुजा बनाएको आमाको अनुहार सम्झन्छ

 

ऊ यति निरीह मानिस हो कि

जुनसुकै बेला पनि ऊ बेपत्ता हुन सक्छ

जुनसुकै बेला पनि उसको नाक–कान काटिन सक्छ

जुनसुकै बेला पनि उसको मुटुमा बारूदको गन्ध भेटिन सक्छ

 

कहिलेकाहीँ भने भनिहिँड्छ ऊ,

‘यो सहर मेरो पनि हो

यो सहरमा

मेरो सपना धरहरा भइसकेको छैन’

र पनि ऊ निरीह मानिस हो

वर्षौंदेखि सुनसान घरसँग जसरी

–जीवनको छनक दिने वृद्ध खोकीहरु

–जीवनको आनन्द दिने केटाकेटी चिल्लाइहरु

–धिपधिप गर्दै मधुरो बल्ने दियो

–सााझ/बिहान धुरीबाट आकाश उक्लने धूवाँहरु

केही–केही छैनन् ऊसँग

 

ऊ कुनै चुल्ठोमा सिउरिँदै गर्दा

फूलको थुंगोबाट खसेको

एउटा पत्र हो

ऊ कुनै युवतीको छातीबाट खसेको

कमिजको टाँक हो

ऊ जे पनि हो

ऊ उज्यालो बोकेर गइरहेको

घाम हेर्दै टोलाइरहने

फुल्न खोजिरहेको आरुको रुख हो

ऊ मध्यराति बतासको ठोक्काइले

चुइा… चुइा… गरिरहने

गाउाको कुनै एक्लो घरको चुकुलबिनाको ढोका हो

ऊ कुनै समय बिहानै–बिहानै

चारा टिप्न आइपुग्ने परेवाले बिर्सेको आँगन हो

ऊ तोक्माको संगीत सुनेर बाँचेको

पुरानो बाटो हिाडेर आएको पौताला पनि हो

ऊ यति मात्रै होइन

ऊ विष खोसिएको सर्प हो

ऊ भाषा र आवाज खोसिएको सुगा हो

ऊ जंगल र स्वतन्त्रता खोसिएको बाघ हो

 

कहिलेकाहीँ

म उसलाई बेस्सरी सम्झन्छु

खडेरीमा बिरूवाले वर्षात सम्झिए जसरी

नवविवाहित महिलाले

सिरानी अंगालेर निदाए जसरी

झुक्किएर आमाले

मरेको सन्तानलाई पनि खाना पस्किए जसरी

उसलाई म बेस्सरी सम्झन्छु

 

यो जीवन–शून्य सहरमा

झूट बोलेर बाँच्ने कोसिस गरिरहेको म

दम्भ देखाएर बाँच्ने कोसिस गरिरहेको म

दुखेको कुरा गर्न नजानेको म

खुसी देखिने अभिनय गरिरहेको म

कहिलेकाहीा केही क्षण फुर्सद निकालेर

जब त्यो निरीह अनुहार सम्झन्छु

जब यत्रो संसारमा मसँग मात्र परिचित त्यो मानिसलाई सम्झन्छु

मैले ऐना अगाडि उभिनुपर्छ।

 

 

३. तिमीसँग भेट नभएको भए

 

तिमीसँग भेट नभएको भए उदास लाग्ने थिएनन् साँझहरू

विफल हुने थिएनन् आत्महत्याका प्रयासहरू

लेख्ने थिइनँ हाम्रो सम्बन्धको आयुभन्दा धेरै ‘सुसाइड नोटहरू’

 

आँसुले छातीमा हिर्काएर जाने थिएन

शब्दहरू घाँटीसम्म आएर अड्कने थिएनन्

झरीले रुझेको कागज जस्तो हुने थिएन ओंठ

बेपत्ता हुने थिएनन् ओंठको कुनाबाट मुस्कानहरू

 

तिमीसँग भेट नभएको भए बिथोल्ने थिएनन् विगतहरूले

जन्मिने थिएनन् सपनाहरू

भेट्दिनँ थिएँ तिम्रो हाँसोमा जीवनका बाँकी खुसीहरू

तिम्रा आँखाबाट देख्दिनँ थिएँ हिँड्नुपर्ने बाँकी बाटाहरू

 

तिमीसँग भेट नभएको भए

अल्झन्न थिएँ म तिम्रो पैतालामा

र पछ्याउँदिन थिएँ तिमीलाई सुदूर-सुदूरसम्म पुग्नका लागि

तिम्रो गरम सासहरूले निथ्रुक्क भिज्ने थिइनँ म

तिम्रा औँलाहरू मेरा कपालहरूमा दगुर्दैन थिए

 

तिमीसँग भेट नभएको भए- एउटा यात्रा आफूखुसी हिँडिरहन्थ्यो

एउटा मान्छे आफूखुसी बाँचिरहन्थ्यो

तिमीसँग भेट नभएको भए छुटिने त्रासले निस्कदैनथे सुस्केराहरू

कसैलाई गुमाउने भयले धड्किदैनथ्यो मुटु

प्रेमको तापले यसरी पग्लिदैन थिएँ म

 

फेरि यसो सोच्छु –

तिमीप्रतिको गुनासोहरूलाई परै राखेर सोचिबस्छु म…

तिमीसँग भेट नभएको भए आउँदैनथ्यो यत्रो दु:खलाई छिचोल्ने साहस

तिमीले मलाई यति बलियो बनाएर छाडेकी रहिछौ कि,

तिमीसँग भेट नभएको भए उहिल्यै मरिसकेको हुन्थेँ म ।