शेक्सपियर

कुलीनको रगतभन्दा एउटा भिखारीको किताबको बढी मूल्य हुन्छः सेक्सपियरले कुनै समय लेखेका थिए । यतिबेला भिखारीको किताबको मूल्य मात्र होइन, उनी स्वयंले लेखेको किताबको मूल्य आश्चर्यजनक तरिकाले महँगो पर्न गएको छ ।

सेक्सपियरको संकलित रचना प्रकाशन भएको चार सय वर्ष पूरा भएको छ । त्यो बेला प्रकाशन भएको समग्र रचनाका केही प्रति मात्र बाँकी रहेको दाबी गरिरहेको अवस्थामा सीमित प्रति बिक्रीका लागि जारी गरिएको थियो । सो समग्र रचना पुस्तक ८७ लाख ६० हजारमा बिक्री भएको छ ।

दुर्लभ पुस्तकको व्यापार हेरिरहेको कम्पनी हेरिङटन रेयर बक्सका वरिष्ठ विज्ञ एडम डग्लस भन्छन्, ‘पाण्डुलिपि बिक्रीको कीर्तिमान नदेखिएको होइन तर पुस्तक नै यति महँगो दाम तिरिएका केही दुर्लभ क्षणमध्ये यो परेको छ । यसबाट सेक्सपियर कति लोकप्रिय छन् भन्ने प्रस्टिन्छ ।’

सन् २००१ ताका सेक्सपियरका कविताहरूको संकलित रचनाको प्रथम संस्करण पनि निकै महँगोमा बिक्री भएको थियो । तर यो रकमले २००१ लाई पनि माथ खुवाएको डग्लसको भनाइ छ ।

यस्ता संकलित पुस्तक विरलै बिक्रीमा राखिन्छ । तर यस पटक जब यो पुस्तक बिक्रीका लागि इन्टरनेटमा देखियो, पिटर हेरिङटनले तुरून्त किन्न चासो जनायो । पिटर हेरिङटन नामक कम्पनी दुर्लभ प्रकाशित पुस्तकहरूका बारेमा चासो राख्ने निजी कम्पनी हो ।

यो पुस्तक कसको संकलनमा थियो, कसले बेच्यो भन्नेबारे खुलाइएको छैन । तर पुस्तक चाहिँ चार सय वर्ष नै पुरानो रहेको दाबीमा कसैले पनि इतर विचार राखेको छैन ।

यसअघि सेक्सपियरको कविता संग्रहको प्रथम संस्करणलाई साढे ६२ लाख पाउन्डमा किनिएको थियो । पछि क्रिस्टीलाई २०१० मा १५ लाख पाउन्डमा बिक्री गरिएको थियो । किन कम दाममा बिक्री गरियो भन्नेबारे कतै खुलाइएको छैन ।

८७ लाख पाउन्ड मोलको यो पुस्तक भने फ्रान्सेली कागजमा छापिएको छ । यसलाई बाच्छा-बाच्छीको छालाले मोरिएको छ । बाच्छाबाच्छीको छालाले किताबको आयु यत्तिका वर्षसम्म पनि ज्यूँका त्यूँ राखेको विज्ञहरूको भनाइ छ । किताबमा कतै पनि दागधब्बा लागेको छैन । न त कुनै खराबी देखिएको छ । बरू यसका अगाडिका चार वटा पन्न गायब भएको देखिन्छ । त्यसबाहेक कुनै खराबी देखिएको छैन ।

सन् १९०६ मा दुर्लभ चिजवस्तुको गणना गरिँदा यसको कतै पनि उल्लेख भएको पाइँदैन । पुराना पुस्तकहरूको व्यापारीका रूपमा चिनिएका हेस्केथको सङ्कलनमा भने सन् १९५० मा यो पुस्तक रहेछ भन्ने पत्तो लागेको थियो ।

सबैभन्दा आश्चर्य चाहिँ सन् १६६३ मा लन्डनमा भएको ठूलो अग्निकाण्डमा यो पुस्तक कसरी जोगियो भन्ने पनि रहेको छ । यो पुस्तक जुन तस्बिरमा देखिएको छ, २३३ प्रति प्रकाशन भएर यसरी नै जनावरको छालाले मोरिएको तथ्याङ्कले देखाएको छ । अन्य पुस्तकहरू अग्निकाण्डमा परेको हुन सक्ने आँकलन छ ।

त्यसो त यस्ता पुस्तकहरूका अन्य संस्करणहरू पनि पाइन्छन् । डग्लसका अनुसार १६३२ मा प्रकाशित संस्करण ४ लाख ५० हजार पाउन्डमा हात पार्न सकिन्छ । त्यस्तै १७९० मा प्रकाशित संस्करण भने १ लाख ८५ लाखमा पाइन्छ । त्यस्तै सेक्सपियरका कविताहरूको सङ्कलन ६ लाख २५ हजार पाउन्डमा प्राप्त गर्न सकिने डग्लस बताउँछन् । यो सङ्ग्रह चाहिँ रोमबाट विलियम बेन्टले फेला पारेका थिए । कविताका किताबहरू ६४ वटा फेला पारेयता उनले यसलाई दुर्लभ पुस्तक भन्दै महँगो दाममा बेच्दै आएकाले यसको मूल्य कम हुन पुगेको डग्लस बताउँछन् ।

अमेरिकाको न्युयोर्कमा हरेक वर्ष मे महिनामा लन्डन रेयर बुक फेयर लाग्ने गर्छ । यस पटक सो मेलामा यस्ता पुस्तकहरूले राम्रै दाम पाउन सक्ने अपेक्षा डग्लसको छ । डग्लस भन्छन्, ‘यस्तो मेलामा दुर्लभ किताब हेर्न पाइन्छ । अरू बेला भने यिनलाई ताल्चा लगाइन्छ ।’