पछिल्लो समय बालबालिकाहरूमा उमेर नपुग्दै आफू गे वा लेस्बियन भएको घोषणा गर्ने फेसन मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले यसरी आफूलाई लैंगिक अल्पसंख्यकका रूपमा मान्दै लिङ्ग (जनेन्द्रीय) नै परिवर्तन गर्नेहरूको संख्या बढ्न थालेपछि यसलाई शताब्दीकै सबैभन्दा ठूलो मेडिकल स्क्याम (औषध कम्पनीको काण्ड)का रूपमा चित्रित गरेकी छन् ।

५७ वर्षीया रोलिङ ह्यारी पोटर शृङ्खला लेखेर चर्चित भएकी लेखिका हुन् । उनी बेलायतकी सबैभन्दा धनी लेखिकाका रूपमा पनि प्रख्यात छिन् ।

विभिन्न मिडियामा यतिबेला लैंगिक अल्पसंख्यकका बारेमा यति धेरै चर्चा हुन थाल्यो कि सानै उमेरमा बालबालिकाहरू आफू अर्कै किसिमको शरीरमा कैद भएको पो छु कि भन्ने दुविधाको अवस्थामा पर्न थालेको र त्यस्तो दुविधामा परेकाहरूलाई मेडिकल सर्जरीका माध्यमबाट लिंग परिवर्तन गरेर नाफा कमाउन पल्केका मेडिकल माफियाहरूले ठूलो फाइदा लुटिरहेको उनको भनाइ छ ।

रोलिङले बेलायतको द टाइम्स अखबारसँग भनेकी छन्, ‘हामी यतिबेला शताब्दीकै सबैभन्दा ठूलो मेडिकल माफियाको चङ्गुलमा परेका छौँ । तिनले अहिलेको नयाँ पुस्तालाई अनेकन् कुरा घुसाएर भ्रष्ट तुल्याएका छन् । यसबारेमा जब जब कसैले कुरा उठाउँछ, तिनलाई अनेक फतुर लगाएर मुख टाल्ने प्रयास भइरहेको छ ।’

पछिल्लो समय बेलायतमा लिङ्ग परिवर्तन गर्न चाहने बालबालिकाहरूको संख्यामा अविश्वसनीय रूपमा बढिरहेकोमा उनले चिन्ता व्यक्त गरेकी छन् । उनले भनिन्, ‘यस्तो किन भइरहेको छ भनेर हामीमध्ये कसैले पनि किन बोलिरहेका छैनौँ ? पछिल्लो समय अविश्वसनीय रूपमा किन लैंगिक अल्पसंख्यकको संख्या ह्वात्तै बढेको हो ? यस्ता कुरामा प्रश्न गर्ने बेला भइसकेको छ ।’

‘समयले मलाई गलत प्रमाणित गरोस्,’ उनले भनिन्, ‘म यही चाहन्छु । हाम्रा बालबालिकाहरू गलत लिङ्गमा जन्मिरहेका हुन् भन्ने कुरा सही प्रमाणित होस् भन्ने म चाहन्छु तर वैज्ञानिक खोज अनुसन्धानमा त्यस्तो केही देखिएको म पाउँदिनँ । अहिले लिङ्ग परिवर्तन गर्नु नयाँ फेसनजस्तो बन्न पुगेको छ ।’

प्रख्यात लेखिका जेके रोलिङ कसरी लैंगिक विवादमा परिन् भन्ने विषयमा हालै द विच ट्रायल्स अफ जेके रोलिङ नामक सात भागको पडकास्ट बनाइएको थियो । उनले सो पडकास्टमा जेन्डर न्युट्रल लाभाटोरी, मुख्य संस्थाहरूको अल्ट्रा राइट पोलिटिक्स जस्ता विषयमा विस्तारमा छलफल गरेकी थिइन् । यो पडकास्ट बजारमा आएयता चर्को विरोध भइरहेको छ । खासगरी लैंगिक अल्पमतमा काम गरिरहेका संस्थाहरूले उनका कुरा उनीहरूविरूद्धको युद्धको संज्ञासमेत दिएका छन् ।

उनले पडकास्टमा भनेकी छन्, ‘अब त कुनै समय यस्तो पनि आउन सक्छ, जुन बेला स्त्री-पुरूष सम्बन्ध दुर्लभ सम्बन्ध बन्न सक्छ ।’

कार्यस्थलमा पुरूषहरूले महिलामाथि गर्ने अनेक किसिमका दुर्व्यवहारमा ध्यान नदिने तर लिंग परिवर्तनका कुरामा चिन्तित हुने उनको व्यवहारप्रति धेरैले व्यंग्यसमेत गरेका छन् । उनले सो सन्दर्भमा भनेकी छन्, ‘तपाईंमाथि कसैले यौन शोषण गर्छ, आशय करणी गर्छ र तपाईं चुप लागेर बस्नु भयो भने त्यो तपाईंको कमजोरी हो । तपाईंमाथि शोषण भयो भन्नलाई कसैले पनि रोक्दैन न त न्यायका लागि कसैले तपाईंलाई भाँजो हाल्छ । तर बालबालिकाहरूलाई सानै उमेरदेखि जब लिंग परिवर्तनका लागि विष घोल्छ, त्यो बेला उनीहरूलाई आफूमाथि भइरहेको शोषण वा मानसिक दबाबबारे थाहा हुँदैन । यस्ता विषयमा बोल्न वा मेडिकल माफियाबारे खुलासा गर्न ढिला भइसकेको छ ।’

यस्ता कुरा गर्नेलाई प्रायः पश्चिममा जगतमा बामपन्थी भएको आरोप लगाइन्छ । उनलाई पनि बामपन्थी भएको आरोप लगाइयो । यस किसिमको आरोपसँगै उनीसँग युवा पुरूषहरूले दूरी बढाएको गुनासो समेत गरेकी छन् । आफू अनुदारवादी भएको प्रमाणित गरेर धेरै समूहबाट आफूलाई अलग्याउन खोजिएको उनको भनाइ छ ।

उनले ठूला प्रकाशक तथा शैक्षिक संस्थाहरूले यसबारेमा छलफल चलाउन ढिला भइसकेको उनको भनाइ छ । जब जब लैंगिक अल्पसंख्यकका कुरा आउँछन्, ठूला प्रकाशक तथा शैक्षिक संस्थाहरू छलफल गर्नबाट तर्कने गरेको आफ्नो अनुभव भएको उनी बताउँछिन् । जब ठूला संस्था नै यस्ता कुरामा तर्कन्छन्, त्यो बेला हामी ठूलो समस्यामा पर्ने उनको भनाइ छ ।