१८. लाल छौँडाहरूको पल्टन

एक दिन आमाले भन्नुभयो ‘आज म दिनभर घर हुन्न । तिमीहरूलाई मन लाग्छ भने तिमीहरूका साथीहरूलाई चिया खान बोलाउन सक्छौ ।’

‘अहा ! के खोज्छस् काना आँखो’ अमरले खुसी हुदै भन्यो ‘हामी हिमानी र भकुन्डे भाइलाई बोलाउँछौ । काम्टे बालाई पनि बोलाउन सके हुन्छ । ‘

‘हुन्छहुन्छ’ गीताले खुसी हुदै भनी र चिठी लेखेर सिंगारी बाख्रोलाई दिई । ‘यो चिठ्ठी मोहिनी वनमा लगेर लोखर्केलाई दिनू’ भनी । बाख्रो चिठी लिएर मोहिनी वनतिर हिड्यो । यो सिंगारी बाख्रो पनि अचम्मको थियो । यसले मिठो दूध दिन्थ्यो, कुखुरीहरूको गोठालो लाग्दथ्यो र चील अथवा स्यालले कुखुरीहरूलाई झम्टन थाल्यो भने उनीहरूलाई आफ्नो सिंङले हानेर भगाउँथ्यो ।

सिंगारीले चिठी इन्द्रजाली रूखमा लोखर्केलाई दियो । लोखर्केले त्यो लगेर भकुन्डे भाइलाई दियो । चिठी पाएर भकुन्डे भाइ र हिमानी खुब खुसी भए । हिमानी त्यति बेला भकुन्डे भाइकहाँ आएकी थिई ।

‘भकुन्डे भाइ ! काम्टे बालाई पनि खबर गर्नु पर्ने ।’ हिमानीले भनी ‘उनी त श्री के-नाम-के-रे कहाँ सुतिरहेका होलान् ।’

भकुन्डे भाइले एउटा चिठी लेखेर सिंगारीलाई दिनु भनेर लोखर्केलाई दियो र आफू काम्टे बाको घरतिर लाग्यो । त्यस चिठीमा तीन बजेतिर आउँछौ भनेर लेखेको थियो ।

सिंगारीले चिठी लगेर अमरहरूलाई दिदा आमा बाहिर गइसक्नुभएको थियो । भकुन्डे भाइको चिठी पाएर अमरहरू खुब रमाए । आशिष र गीता फूल र गमला सजाउन थाले । घर सजाइसकेर गीताले मकैका खजुरी र बिस्कुटहरू पकाई । अमरले बगैचामा गएर मौरीका घारबाट मह काडेर ल्यायो । गीताले त्यो मह रोटीहरूमा दली ।

‘अब साथीहरूलाई खुब मजाको भोज दिऔला’ अमरले दङ्ग पर्दै भन्यो । उनीहरू खुब खुसी हुने छन् ।

तीन बजेसम्म सबै कुरा तयार पारेर अमरहरू साथीहरूलाई पर्खन थाले । तर सवा तीन बज्यो, साढे तीन बज्यो, साथीहरू आएनन् । गीता गएर बगैचाको ढोकामा उभी बाटो हेर्न थाली। आँखा च्यात्दाच्यात्दा आँखा टट्टाउन थाले । तर भकुन्डे भाइहरू आएनन् ।

‘कस्ता रहेछन्, बेलामा नआउने’ गीता बडबडाउन थाली ।

केही गडबड त पर्रन ?’ अमरले भन्यो । हेर्दाहेर्दै चार बज्यो, साढे चार पनि बज्यो । केटाकेटीहरू निराश भए । पक्कै पनि केही गडबड भयो । कतै भकुन्डेले चिठी नै गल्ती पढ्यो कि । अमर चिन्तित भयो । तर केही बेर त बाटो हेर्नै पर्यो । तर पाँच बज्दा पनि उनीहरूको अत्तो-पत्तो भएन । गीताले छटपटाउँदै भनी ‘दाइ ! हामी नै बुझ्न जानु पर्यो ।’

‘पख !’ अमरले भन्यो ‘भरे आमा आउनुभएपछि जाऔंला ।’

‘के भयो होला त ? केही नभएको भए त पक्कै आउनु पर्ने, अब हामी उनीहरूको भाग खानेकुरो पनि लिएर जाऔं’ गीताले भनी । अनि आमालाई पर्खन थाले । निकै झमक्क भएपछि आमा आउनुभयो । अनि उनीहरू खुसुक्क घरबाट निस्केर मोहिनी वनतिर लागे । अध्ँयारो रात भएकाले साथमा एउटा लाल्टिन पनि लान बिर्सेनन् । त्यसैको उज्यालोमा उनीहरू वनभित्र पसे । वनमा प्रत्यक रूख कानेखुसी गरिरहेझै लाग्थे । रातका कीराहरूको स्वरले वन गुँजिरहेको थियो ।

‘रूखहरू के कानेखुसी गरिरहेका होलान् बुझ्न सके कति मजा हुन्थ्यो’ गीताले भनी । तर रूखहरूको कुरा बुझ्न त मुस्किलै हुने थियो । आज जून नलागेकोले अँध्यारो बढी नै थियो । त्यहाँ आज परीहरूको मेला पनि लागेको थिएन । अमरहरूलाई वनमा अगाडी बढ्न गार्हो भइरहेको थियो । तर उनीहरू हिम्मत गर्दै अगाडी बढे । आखिर इन्द्रजाली रूखनजिक पुगे । तर आज त्यहाँ डोरीको भर्याङ पनि झुन्डिएको थिएन । त्यसैले उनीहरू आफै हात गोडाले रूख चढ्न थाले । यो धेरै कठिन काम थियो ।

उनीहरू बल्लतल्ल दुई हाँगा मात्र उक्लन सकेका थिए, त्यहाँ एउटा विचित्रको कुरा भयो । कसैले अमरलाई एक्कासि धकेलेर तल खसालिदियो । अमर हत्तपत्त तल्लो हाँगा समातेर अड्यो ।

‘मलाई धकेल्ने को हो ?’ अमर क्रोधले चिच्यायो र आफ्नो कमरको लाल्टिन झिकेर माथि उचाल्यो । लाल्टिनको उज्यालोमा माथिल्लो हाँगामा एउटा लाल छौँडा बसिरहेको देख्यो । अमरले गीता र आशिषलाई रोक्तै भन्यो ‘माथि नउक्ल ।’

माथिल्लो हाँगामा बसेका राता भूतका छौंडाहरू रूखका पात जस्ता चुच्चे कान र रूखकै टोड्काजस्ता बदमासी भरिएका आँखा भएका थिए । उनीहरू बडो रिसले अमरलाई हेरिरहेका थिए । उनीहरूमध्ये एउटा दुष्ट खाले छौंडाले भन्यो ‘तिमीहरू कसको आज्ञाले यस रूखमा चढेका ? यो त हाम्रो रूख हो ।’

‘के रे ? यो तिमीहरूको रूख रे ? यो त हाम्रो साथीहरूको रूख हो । हामीहरू उनीहरूलाई भेट्न आएका । तिमीहरू को हौ ? हाम्रा साथीहरू कहाँ छन् ? हामी माथी जान्छौँ’ अमरले भन्यो र माथि उक्लने जमर्को गर्यो ।

‘खबरदार ! माथि नचढ !’ लाल भुतले भन्यो ‘नत्र… !’ ‘अमर !’ त्यसबेला अमरको पछिल्तिरबाट कसैले मसिना स्वरमा भन्यो ‘तिमी माथि नचढ । यिनीहरूले कैदी बनाउँछन्, तिम्रा साथीहरूलाई यिनीहरूले कैदी बनाइसके ।यी दुष्ट लालछोंडा हुन् । ‘

अमरले लाल्टिनको उज्यालो पछाडि फ्याक्यो । रूखको टोड्कामा रातो लोखर्को थियो । उसले अमरलाई रूख नचढ्न भनिरहेको थियो ।

‘ओ ! लोखर्को तिमी ?’ अमरले सोध्यो ‘के त भकुन्डे भाइ र हिमानी कैद परे ? कसले कैद गर्यो ?’

‘यिनीहरूले नै’ लोखर्केले भन्यो ‘आजभोलि बादलमाथि भूतहरूको धरती आएको छ । यी भूतहरूले त्यहाँ बादलको भ्वाङबाट तल ओर्लेर सबैलाई कैदी बनाएका छन् ।’

‘तर किन ?’ अमरले आश्चर्य मानेर सोध्यो ।

‘किनभने यी भूतहरू रूखका बासिन्दाहरूको मन्त्र खोस्न चाहन्छन् । तर उनीहरू त्यो मन्त्र दिन चाहँदैनन् । त्यसैले भूतहरूले उनीहरूलाई थुनेका !’

‘कस्ता दुष्ट भूतहरू’ गीताले भनी ‘अब हामीले साथीहरूलाई कसरी मद्दत गर्ने ? भूतहरूले त हामीलाई माथि जान दिदैनन् ।’

त्यसै बेला रूखले केही भन्न खोजेझै स्याइँस्याइँ गर्यो । गीताले बडो चाख मानेर त्यो सुनी । अनि उसले बुज्रुक भएर भनी ‘लौ हेर ! यी रूखहरू हामीलाई केही भन्न खोज्दैछन् ।’

गीताले आफ्नो दाहिने कान रूखको काण्डमा टाँसेर कुरा सुनी । रूख भन्दै थियो ‘तिमीहरू हाम्रो मद्दत गर !’

‘मलाई पनि त्यस्तै लाग्छ’ लोखर्केले भन्यो । ‘यो इन्द्रजाली रूख मोहिनी वनको राजा हो । यसलाई अहिले ठूलो आपत परेको छ । त्यसैले अरू रूख पनि दुःखी भएका छन् । उनीहरू हामीबाट मद्दत खोज्दैछन् । त्यसैले उनीहरू हामीलाई कुनै गुप्ति कुरा भन्न खोज्दैछन् । त्यसैले हामीले उनीहरूको कुरा सुन्नु पर्छ ।

‘तर कसरी ?’ गीताले सोधी ‘हामीलाई यी छौडाले माथि जान दिदैनन् ।’

‘तिमीहरू भकुन्डेको गुप्ति घोप्टेबाट चिप्लेटीको बाटोमाथि जाऔ । अनि भकुन्डे भाइको घरमा गएर यिनलाई भगाउने सल्लाह गर ।’

‘ठीक छ ठीक छ, हामी त्यसै गर्छौ’ गीताले खुसी हुँदै कराई । तर लोखर्केले उसलाई रोक्तै भन्यो ‘बेसरी नकराऊ भूतका छौडाले सुन्छन् ।’

अनि गीताले रूखले भनेको कुरा बताई ‘घोप्टेबाट माथि जानु रे !…’ ‘क्या मजा, लौ त झट्टै गर’ अमरले भन्यो । अनि तीनैजना केटाकेटी इन्द्रजाली रूखको घोप्टे भएको भागतिर गए । अनि त्यो गुप्ति घोप्टेको ढोका खोल्दै अमरले भन्यो ‘अब फेरि अर्को मजा हुने भयो ।’