भैरव अर्यालको नाम लिनासाथ हास्यव्यङ्ग्यलाई एकाएक सम्झन पुग्छौँ । तर भैरव अर्याल हास्यव्यङ्ग्यको साथसाथै पत्रात्मक नियात्राकार पनि थिए भन्ने कुरा थोरै मान्छेहरुलाई मात्र थाहा छ । नियात्राका विधाको उत्खनन् गर्ने कार्यमा लाग्दा यसको रहस्य खुलेको हो ।

अझ भन्ने हो भने नेपाली काङ्ग्रेसका लौहपुरुषका नामले सुपरिचित व्यक्तित्व गणेशमान सिंहले पनि हास्यव्यङ्ग्य सिर्जना गरेको कुरा कत्तिलाई थाहा छ सो बारे यकिन गरेर भन्न सकिँदैन । सिंहले रचना गरेको ‘श्री ३ मोहन प्रभुको स्वर्गारोहण’ शीर्षकीय नियात्रामा मोहन समशेरको काठमाडौंदेखि दिल्ली यात्राको व्यङ्ग्यात्मक वर्णन गरिएको छ । जसको केही अंश साभार गर्दा उपयुक्त हुन्छ भन्ने लागेकोले यहाँ उद्धृत छ–

‘धर्मावतार महाराज मोहन प्रभुको ऐतिहासिक दिल्ली–स्वर्ग–यात्राको बखान गर्नुभन्दा अघि म आफ्नु केही संक्षिप्त परिचय दिनु अनुचित होओइन कि भन्ठान्छु । … दिल्ली स्वर्ग–लोकसम्म महाराज युधिष्ठिरको पछि लाग्ने कुकुरझैँ सरकारको पछि लागेर जाने सौभाग्य प्राप्त भयो ।… जाडोको मौसम हुँदा काठमाण्डूदेखि लिएर रक्सौलसम्म बाटोमा पर्ने पहाडपर्वत, डाँडाकाँडा, खोलानाला, तरु, लता आदि सबैले श्री ३ मोहन प्रभुको ठूलो स्वागत गरे । यो दृश्यको बीच यात्रीहरुको लडेका लाश देख्दा साक्षात् पशुपतिका अवतार महाराजको सवारीमा यस्तो अनुभव हुन्थ्यो मानौं स्वयं कामारि पशुपतिको स्वागतमा प्रकृति नयाँ रुप रङ्ग रुप फेरेर स्वागतार्थ उभिएकी छ र भक्तजन उहाँको साष्टाङ्ग प्रणाम गरी स्वागत गर्दैछन् ।’

(सयपत्री, पृ.२४५–२४९) प्रस्तुत नियात्रा नेपाल पुकारको असार १३, २००७ मा प्रकाशित भएको थियो)।

यहाँ उक्त पंक्तिहरु उद्धृत गर्नाको तात्पर्य हास्यव्यङ्ग्यमा लाग्दै गरेका र सो विधामा स्थापितहरुले आफूलाई लागेका र अनुभव भएका कुराहरु सीधा राख्दा विविध कठिनाइको सामना गर्नु पर्ने स्थिति रहेको थियो । यसै बीचमा प्रजातन्त्रको आगमनसँगसँगै हुर्किरहेको नेपाली समाजमा आफ्नो आक्रोश पोख्न साहित्यकार र साहित्यिक इतर क्षेत्रमा स्थापितहरुले पनि हास्यव्यङ्ग्यकाे सहारा लिने गरेका थिए भन्ने कुराको ज्वलन्त प्रमाण हो ।

विषयवस्तु तर्फ नै लागौँ । भैरव अर्यालको जन्म ललितपुरको कुपण्डोलमा भदौ ५, १९९३ भएको थियो भने मृत्युवरण काठमाडौंको गोकर्णमा असोज १९, २०३३ मा भयो । साहित्यकार शिवप्रसाद सत्याल‘पीठ’ ले भैरव अर्याल कविको रुपमा नेपाली साहित्यको क्षेत्रमा प्रवेश गरेका थिए भनी उल्लेख गरेका छन् भने समालोचक डा.वासुदेव त्रिपाठीका अनुसार–‘२००७ सालपछि नेपाली साहित्यमा देखापरेका महान् प्रतिभाहरुमध्ये उनी (भैरव अर्याल) एक हुन् र उनी आफ्ना युग र परिवेशमा अन्तर्निहित असङ्गति र अन्तर्विरोधका द्रष्टा र भोक्ता प्रतिभा हुन् ।’

(शाश्वत व्यङ्ग्यशिल्पी, भैरव अर्यालको साहित्यिक व्यक्तित्वको अन्तर्विकास र अन्तर्विघटनको प्रक्रिया शीर्षकीय लेखबाट पृ.१९१) ।

मान्छे कल्पनाशील हुन्छ अनि भ्रमणशील पनि । कुनै पनि प्राणीको जीवन र भ्रमण अन्योन्याश्रित हुन्छ । त्यसैले भन्न सकिन्छ कि जीवन रहनका लागि भ्रमण वा यात्राको आवश्यकता पर्छ । तर यसो भन्दैमा अमूर्त चीजहरुले यात्रा गर्दैनन् भन्न पनि गलत हुन्छ । अपवादकै रुपमा भए पनि कतिपय अमूर्त चीजहरुले यात्रा गरिरहेकै हुन्छन् । जस्तो कि हावा, मन, ध्वनि, नदी, चन्द्रमा, पृथ्वी आदि ।

यही प्रकारले गतिमय भएर भैरव अर्यालको ४० वर्षसम्मको जीवन चलेको पाइन्छ । उनले देशका विभिन्न स्थानको अर्थात् नजिकको होस् कि टाढाको वाध्यता, आवश्यकता तथा रहरले यात्रा त तय गरे नै । तर ती भ्रमणहरुका अभिलेखीकरण नभएकोले प्राप्य हुन सम्भव देखिएन । उनले स्वदेशका विभिन्न स्थानका साथसाथै विविध कारणबाट विदेशको यात्रा पनि गरेको पाइन्छ । औषधी उपचारका लागि भारत यात्रा, सेमिनार आदिमा सहभागी हुनका लागि पाकिस्तान, बंगलादेश, गणतन्त्र जर्मनी (पूर्वी), चेकोस्लाभाकिया तथा हंगेरी आदि विदेशका भ्रमण गरेका छन् ।

विदेश भ्रमणका समयमा आफ्नो नजिकको साथीलाई पत्र मार्फत आफ्ना कुराहरु लेखिपठाएका पाइन्छन् । उक्त पत्रमा आफ्नो यात्राका बारेमा उल्लेख गरेकोले ती पत्रहरु नियात्रा विधाको भेदमा पत्रात्मक नियात्रा अन्तरगत पर्दछन् ।

(हेर्नुहोस् जय छाङ्छाको नियात्रा विधा परिचयः अनुसन्धानात्मक कृति, प्रकाशक रत्न पुस्तक भण्डार)।

पत्रात्मक नियात्राको थालनी वि.सं. १९९६ तिरबाट भएको पाइन्छ । उक्त समयमा प्रकाशित भइरहेको ‘उद्योग मासिक’ र ‘शारदा मासिक’ मा हृदयचन्द्र सिंह प्रधानले पत्रात्मक साहित्य सिर्जना गरी प्रकाशन गरेको भन्ने कुरालाई यसरी उल्लेख गरेका छन्–‘त्यस बेला लेखन कलाको अभ्यासमा म कागज कोरिरहेको थिएँ । त्यो मेरो पत्रलाई साथीहरुले रुचाएर मलाई हौस्याए । म आफै पनि त्यो पत्र शैलीदेखि पुरस्कृत भइरहेको थिएँ ।’ (भू–स्वर्ग को लेखकीय मन्तव्यबाट )।

उल्लिखित कुराबाट के स्पष्ट हुन्छ भने नेपाली साहित्यमा पत्रात्मक साहित्यको सुरुवात हृदयचन्द्र सिंह प्रधानले गरेका हुन् भने उनले (वि.सं. २००३ प्रथम संस्करण) प्रकाशित गरेको कृति भू–स्वर्गमा केही सिर्जनाहरुमा नियात्रामा पनि रहेका छन् । जसमध्ये ‘काशी यात्राको अनुभव’ नामक पत्रात्मक नियात्रा समावेश भएको छ । उक्त पत्रात्मक नियात्रा चैत ५, १९९६ मा लेखिएको र सो को केही हरफहरु उध्दृत गरिँदा उपयुक्त हुने देखिएको साभार गरिएको छ– ‘मेरो माधु, गत १ गते कलकत्ताबाट पठाएको पत्र पुगेकै होला । गएको मङ्गलबारदेखि म बनारसमा तीर्थ स्नान र श्री विश्वनाथजीको दर्शनको निमित्त, आइरहेको छु । मेरो हजुरलाई आज त्यसैको केही वर्णन गर्दछुः प्रथम मणिकर्णिका कुण्डमा स्नान गरिसकेपछि अनि गंगाजीमा स्नान गर्नु पर्ने रहेछ । मणिकर्णिका कुण्डमा स्नान गर्न भनी सरासर गएको त पण्डाजीले कुक्कुरलाई झैं हप्काए ।’ (भूस्वर्ग, पृ.८४)।

यस्तै पत्रात्मक नियात्राका एउटा सिङ्गो कृति लैनसिंह वाङ्देलले नेपाली नियात्रा साहित्यलाई वि.सं.२०१४ मा उपहार दिएका छन्– ‘युरोपको चिठी’ । उक्त कृतिमा सातवटा पत्रात्मक नियात्राहरु समावेश छन् । जसमध्ये एउटा पत्रमा प्रियवर र अन्य ६ वटा पत्रहरुमा प्रिय साथी भनी सम्बोधन गरिएका छन् । वाङ्देलका जुन ४, १९५३ देखि डिसेम्बर ३, १९५३ सम्मका पत्रात्मक नियात्राहरु समावेश भएका छन् । (हेर्नुहोस् युरोपको चिठी, प्रका.रत्न पुस्तक भण्डार, काठमाडौं)।

यी त भए नेपाली नियात्रा साहित्यमा पत्रात्मक नियात्राहरुका केही उदाहरणहरु ।

वास्तवमा विश्व नियात्रा साहित्यमा पत्रात्मक नियात्राहरु युगौँदेखि लेखिँदै आएका पाइन्छन् । पाश्चात्य नियात्रा साहित्यमा अठारौं र उन्नाईसौं शताब्दीमा धेरै मात्रामा पत्रात्मक नियात्राहरु लेखिएका छन् । जसको दृष्टान्तमा हेलेन बारबर मोरिसनले सम्पादन गरेको पुस्तक ‘द गोल्डेन एज अफ ट्राभल’ लाई लिन सकिन्छ । जसमा सन् १७०१ देखि १८९५ का पचासौं पत्रात्मक नियात्राहरु संलग्न रहेका छन् । जसमा जोसेफ एडिसन, लुड्विग भान विथोवेन, ओल्फग्याङ्ग एमेडियस मोजार्ट, नेपोलियन बोनापार्ट, मार्क ट्वीन, विलियम वर्डस्वर्थ, बिस्मार्क, बेञ्जामिन फ्राङ्कलिन, थोमस जेफर्सन, होरेस वालपोल, चाल्र्स डिकेन्स, हेन्री वाड्सवर्थ लङ्गफेलो, जीन जाक्यू रुसो देखि थोमस जेफर्सन आदिसम्मका पत्रात्मक नियात्राहरु संलग्न रहेका छन् । (हेर्नुहोस् द गोल्डेन एज अफ ट्राभल, सम्पदकः हेलेल बारबार मोरिसन, प्रका.त्वाने पव्लिसर्स, न्यूयोर्क ।)

उल्लिखित जानकारीबाट बुझ्न सकिन्छ कि विश्वभरिका विविध क्षेत्रमा स्थापित व्यक्तित्वहरु वा महामान्यहरुले पनि पत्रात्मक नियात्राको प्रयोग र सिर्जना कार्य गरेका पाइन्छन् ।

यसरी नै नेपाली हास्यव्यङ्गको क्षेत्रमा सर्वोच्च स्थान सुरक्षित गर्न पुगेका भैरव अर्यालले पनि आफ्ना निकटका मित्र रोचक घिमिरेलाई विदेशमा रहँदाको समयमा पत्र मार्फत आफ्नो यात्रा बारे जानकारी दिने क्रममा नियात्राको सिर्जना गरेका छन् । उनका केही पत्रात्मक नियात्राहरु नमुनाका रुपमा यहाँ साभार गरिँदा उपयुक्त हुने देखिएकोले केही हरफहरु उद्धृत गरिने प्रयास गरिएको छ– ‘प्रिय रोचक, ….कुनै पनि कुनाबाट आशाको किरण छिर्न नसक्ने मेरो म भन्ने धुकधुकी, जमुनाको किनारमा रहेको एउटा सानो कुनामा, यही साउनको प्रतिबिम्बझैं समर्पणको साइत कुरिरहेको छ ।… सम्भव छ, यो चिठी पुगुञ्जेल म फर्किसकूँ, जताबाट आइएथ्यो उतै फर्किसकू; तैपनि अन्तिम यी पंक्तिहरु आफ्ना साथीभाइहरुसँग विदाइ लिनको लालसामा कोरिँदै छन् ।… १८ वर्षकै अवस्थादेखि जुन रोगले मलाई पिर्दै ल्यायो, त्योसँग आखिर मेरो केही लागेन, म समर्पित भएँ, सिध्दिएँ, केवल यत्ति सम्झना ।’

यी हरफहरु घाँटीको उपचार गर्न दिल्ली गएको समयको हो । पत्रको मितिः ३० श्रावण २०२०, बेलारोड, दिल्ली उल्लेख भएको छ । (शाश्वत व्यङ्ग्यशिल्पीको साथीलाई केही पत्र शीर्षकीय आलेखबाट, पृ.७७)।

यस्तै अर्को पत्रात्मक नियात्रा छ हवाइजहाजबाट जून २७, १९६४ मा दिन पाकिस्तानको लाहोरबाट ढाकातर्फ जाँदा पी.आई.ए. बोइङ ७२६ मा यात्रारत रहँदा लेखेको– ‘प्रिय रोचक बाबू, ३८ हजार पाँच सय फिटमाथिको हावामा कावा खाँदै अहिले हामी लाहोरबाट ढाका आउँदै छौं । बालमुकुन्द (पाँडे?) मलाई जिस्क्याउँदै छन्, म तिमीलाई चिठी लेख्तै छु । यसबेला हाम्रो घडीमा ४:१५ बजेको छ ।… हाम्रा ठीक पछाडि दुई जना… छन् । घरीघरी बालमुकुन्द अन्तरबाट चिहाएर दृष्टि मैथुन गर्दै छ । यस पटक एयर होस्टेस उति राम्रा छैनन् । तैपनि उनीहरुका सुकोमल हातको जुस पिउँदा केही न केही अंशमा तिनीहरुलाई नै पिएजस्तो लाग्छ ।’ (ऐजन, पृ.७८)।

भारतको पश्चिम बङ्गाल राज्य अन्तरगत पर्ने दार्जिलिङमा पुगेको समयमा वा मार्च १२, १९६७ का दिन दिलखुशा होटलबाट प्रेषित अर्को पत्रात्मक नियात्रा छ । जसका केही पंक्तिहरु यस प्रकार रहेका छन्– ‘रोचक, …. दार्जलिङ रमाइलो रहेछ, जन्मले यो हाम्रैजस्तो पहाड भए पनि सभ्यताले युरोप च्यापेको रहेछ । रमेश विकल भन्छन्, “तिमी हवाई नपुगेकोमा अपशोच नगर, हवाईको बाबु ठाउँमा आइपुगेका छौ ।”…प्रकृति र विज्ञान दुवैले प्यारो गरेको दार्जलिङ हामीलाई लोभ्याउँछ– हरेक कुरामा लोभ्याउँछ, तर यी सबै लोभ मनमा च्यापेर हामी भोलि फर्कदै छौं विराटनगरतिर । विकल नुहाउँदै छ, मञ्जुल दाँत माझ्दै छ ।’ (ऐजन, पृ.८४–८५)।

सन् १९७२ मे ५ मा जर्मन डेमोक्राटिक रिपब्लिक (पूर्वी जर्मनी) पुगेका समयमा लेखेको पत्रात्मक नियात्राका केही हरफहरु– ‘प्रिय रोचक, … प्राग र बुढापेस्टबाट तिमीलाई पठाउन भरिएका पोस्टकार्डहरु खल्तीको खल्ती नै रहे । प्रागबाट ६ क्राउन, बुढापेस्टबाट ११ फेरिन जति टिकट खर्च लाग्ने, त्यति गरीकन पनि तिमीले पाउँछौ भन्ने निश्चिन्तता ठेगानाको अभावले नहुने हुनाले नपठाएको हुँ ।… जर्मन भाषा नजान्नेले जर्मन समाजसँग घुलमिल गर्न गाह्रो छ । भाषाको पर्खाल बर्लिनको पर्खालजत्तिक्कै कडा छ ।’ (ऐजन, पृ.८७)।

माथि उद्धृत गरिएका भैरव अर्यालका पत्रात्मक नियात्राहरुमा नियात्रा विधालाई आवश्यक पर्ने, विशेषता, तत्व तथा शैलीहरु रहेका पाइन्छन् । जस्तो कि नियात्राको विशेषता भनेको नियात्राकार स्वयं नायक हुनु हो र सक्रिय भूमिका हुनु पनि हो । कल्पनाशीलता, चित्रात्मकता र सत्यताको सेरोफेरोमा सिर्जना गरिनु हो । यस्ता कुराहरु भैरवका नियात्रामा पाइन्छन् । त्यसरी नै तत्वहरुमा आधारशिलाको रुपमा रहेका को, कहिले, कहाँ, कसरी र किन आदिका उत्तरहरु पनि भैरव अर्यालका सिर्जना पाइन्छन् । यी कुराहरुको साथसाथै नवीन रहस्यहरुलाई पनि उद्घाटन गरेका पाइन्छन् । जस्तो कि हवाइ उडानको समयमा गरेको दृष्टि मैथुन, अमेरिकाको हवाइभन्दा पनि अव्वल स्थान दार्जिलिङ रहेको र भाषाको समस्या कत्ति जटिल हुँदोरहेछ भन्ने कुरालाई राम्ररी दर्शाएका छन् ।

उल्लिखित कुराहरुलाई दृष्टिगत गर्दा हास्यव्यङ्ग्यका महारथी भैरव अर्याल पत्रात्मक नियात्रा सर्जक हुन् भनेर भन्न सकिन्छ । उनका प्राप्य पत्रात्मक नियात्राहरु श्रावण ३०, २०२० देखि चैत २३, २०२८ का बीचमा सिर्जना भएका देखिन्छन् । रचनाको दृष्टिकोणबाट भैरवका नियात्राहरु नेपाली नियात्राको कालविभाजन अन्तरगत आधुनिककालीन नियात्राको प्रारम्भकालीन सेरोफेरोमा पर्ने देखिन्छ ।

नेपाली नियात्रालाई उर्वर बनाउनमा कथाकारहरु सर्वश्री गुरुप्रसाद मैनाली, दौलत विक्रम विष्ट, नाटककार बालकृष्ण सम, आख्यानकार भवानी भिक्षु आदिले पुर्याउनु भएको योगदान सो सरह नै भैरव अर्यालको पनि योगदान रहेको छ । तसर्थ भैरव अर्याल हास्यव्यङ्गकारको साथसाथै पत्रात्मक नियात्राकार पनि हुनुहुन्थ्यो भन्ने कुरा प्रमाणित हुन्छ ।

०००

सन्दर्भसूची

– प्रधान, हृदयचन्द्र सिंह, भू–स्वर्ग, प्रकाशकः साझा प्रकाशन, संस्करणः तेस्रो, वि.सं.२०३० ।

– वराल, डा. ईश्वर, सयपत्री, प्रकाशकः दि नेपाल भ्यारिटी स्टोर्स, दार्जलिङ्ग, संस्करणः दोस्रो, वि.सं.२०१३ ।

– घिमिरे, रोचक (सं), शाश्वत व्यङ्ग्यशिल्पी, प्रकाशकः श्री भैरव पुरस्कार गुठी, काठमाडौं, संस्करणः पहिलो, वि.सं.२०७५ असोज ।

– बाङ्देल, लैनसिंह, युरोपको चिठी, प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौं, संस्करणः तेस्रो, वि.सं.२०६६ असोज ।

– छाङ्छा, जय, नियात्रा विधाः परिचय, अनुसन्धानात्म कृति, प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौं, संस्करणः प्रथम, वि.सं.२०७७ फागुन ।