जर्ज बर्नार्ड शा
शेक्सपियरपछिका बहुचर्चित नाटककार जर्ज बर्नार्ड शाको जन्म जुलाई २६, १८५८ मा आयरल्यान्डको डब्लिनमा भएको हो । उनी समालोचक र सामाजिक व्याख्याताको रूपमा पनि परिचित छन् । यिनका नाट्य कृतिहरूमा हास्य र तीव्र व्यङ्ग्य पाइन्छ । मानवता, सौन्दर्य र आदर्शका लागि काव्यिक र व्यङ्ग्यात्मक नाटक लेखेबापत उनलाई सन् १९२५ को नोबेल पुरस्कार प्रदान गरियो । पुरस्कार ग्रहण गरे पनि उनले पुरस्कारको रकम भने नोबेल पुरस्कार गुठीलाई नै फिर्ता गरिदिए । उनको मृत्यु २ नोभेम्बर १९५० मा भयो । आर्म्स एन्ड द म्यान(१८९४), क्यान्डिड(१८९५), म्यान एन्ड सुपरम्यान(१९०३), मेजर बार्बरा (१९०५), डक्टर्स डिलेमा(१९०६), पिग्म्यालियन(१९०३) सेन्ट जोन(१९२३), द एप्पल कार्ट(१९२९), आदि उनका महत्वपूर्ण कृतिहरू हुन् ।
…
चमत्कारी प्रतिशोधन
अगस्ट ५ को साँझ म डब्लिन आइपुगेँ अनि त्यसपछि म सिधै मेरा काका कार्डिनल आर्चविसापको निवासतिर लागेँ । उनी मेरो परिवारका अन्य सदस्यजस्तै थिए, अर्काको भावना नबुझ्ने अनि खास गरी व्यक्तिगत रूपमा बढी नै निर्दयी थिए । उनी फोहोर घरमा बस्छन् जसको अगाडिको झ्यालबाट गिर्जाघरको पोर्टिकोको टेढोमेढो दृश्य देखिन्छ । अनि पछाडिबाट एउटा विशाल नेशनल स्कुल पनि देखिन्छ ।
मेरा काका पालेपहरा केही राख्दैनन् । मानिसहरू के विश्वास गर्छन् भने देवदूतहरूले नै उनको सेवा टहल गर्छन् । मैले ढोका ढक्ढक्याएपछि एउटी वृद्ध महिला जो उनकी एउटै मात्र नोकर्नी थिइन्, उनले ढोका उघारिन् अनि उनका मालिक गिर्जाघरको काममा गएको जानकारी दिइन् । उनले मेरो लागि पनि खाना पकाउन भनेका रहेछन् । नुन हालेको माछाको नमिठो गन्ध आएपछि मैले उनलाई डिनरमा केके पाकेको छ भनेर सोधेँ । “शुक्रवार फुत्तै जाने वार हो नि त । मैले उनीसित उहाँ हजुरलाई छिट्टै भेट्न चाहेको भनिदिन आग्रह गरेँ । अनि त्यसपछि म सिधै स्याक्मिल स्ट्रिटको होटलतिर लागेँ जहाँ मैले एउटा कोठा लिएँ र खाना खाएँ ।
खाना खाइसकोपछि अनन्त खोज जारी राखेँ मैले, त्यो खोज केका लागि थियो मलाई नै थाहा छैन । यसले मलाई अर्को भाइचाराले जस्तो घरी यता घरी उता लैजान्छ । गल्लीमा खोजी हिँडे तर सफल भइन । थिएटरतिर लागेँ म । सङ्गीत घटिया थियो भने मन्च सजावट एकदम नराम्रो । त्यो नाटक मैले एक महिनाअघि लन्डनमा हेरिसकेको थिएँ । प्रमुख भूमिकामा रहेका कलाकारहरू उही थिए, एकदम राम्रा खालका उनलाई नदेखेको पनि दुई वर्ष बितिसकेछ । सायद उनी लामो समय खोजेको रहस्य हुने छिन् भन्ने आशा थियो मलाई तर यो गलत साबित भो । त्यो रात विगतका आशाका लागि मैले उनलाई हेरेँ र सुनेँ । अनि पर्दा खस्दै गर्दा खुला हृदयले उनको अभिनयको खुब प्रशंसा गरे। तर म बाहिर एक्लै निक्लेँ । रेस्टुराँमा खाना खाइसकेपछि म होटेल फर्के अनि पढ्ने जमर्को गरे तर व्यर्थ भो । होटलका अरू मान्छेहरू सुत्न जादै गर्दा करिडोरमा उनीहरूको खुट्टाको आवाजले गर्दा मेरो पढाइप्रतिको ध्यान भङ्ग भो । मैले झल्यास्स सम्झेँ, मैले मेरा काकाको चरित्र कहिल्यै राम्रोसित बुझ्न सकिन । अशिक्षित र गरिबको झुन्डको पिता मानिने उनी आडम्बरहीन र सिधासादा व्यक्ति हुन्, जसका सामु गरिबीले थिचिएकाहरू दिनहु जसो पुर्याइदेऊ भन्दै याचना गर्थे । दुःखमा परेका कृषकलाई उसको पिडाको घाउमा मलमपट्टी नलगाई उनी कहिल्यै फर्काउदैनथे । त्यसैका लागि उनको नाउँ चलेको थियो । उनको घुँडा त्यसै फाटेका थिएनन्, दीनदुःखीको आँसु पुछ्दै अनि उनीहरूलाई अँगालो हालेरै फाटेका थिए । मेरो फजुल खर्च गर्ने बानीलाई उनले प्रोत्साहन कहिल्यै गरेनन् अथवा सङ्गीत र पुस्तकका बारेमा मसित कुरा गर्ने उनलाई फुर्सद कहिल्यै भएन । त्यस्तो अपेक्षा गर्दागर्दै म झन्डै बौलाएको थिएँ । अहिले आएर मलाई त्यस्तो सहानुभूतिको खाँचो परेको छ । मैले उनलाई न्याय नै गरेको थिएँ । कोमल हृदय भएको मान्छेसित सङ्गत गर्न खोजे मैले । अनि उनीसितै सँगसँगै रुन चाहन्थेँ म ।
घडी हेरे, रातको लगभग एक बज्न लागिसकेछ । करिडोरको बत्ति निभिसकेको थियो । पल्लो छेउको एउटा बल्बबाहेक । लबेदा काँधमा हालेँ अनि स्पेनी ह्याट लगाए । सुनसान बाटोमा सुस्तरी पाइला चाल्दै अपार्टमेन्ट छाडेर हिँडे । ठुलो सिँढी ओर्लिदै गर्दा एउटा अनौठो दृश्यले मेरो ध्यान खिच्यो । एउटा खुला ढोकाबाट मैले सैलुनको झ्यालबाट जुनको उज्यालो छिरेको देखेँ जहाँ भर्खर मनोरञ्जनको कार्यक्रम भएजस्तो देखिन्थ्यो । यसो घडी हेरे, भर्खर एक बजेको रहेछ । पाहुनाहरू सबै हिँडिसकेका थिए , म कोठाभित्र पसेँ । मैन टाँसिएको फलेकमा मेरो जुत्ता जोडले चुइँकियो । कुर्सीमाथि बच्चाको दौरा र एउटा भाँचिएको खेलौना थियो । त्यो मनोरञ्जन वास्तवमा केटाकेटीहरूको पार्टी रहेछ । लबेदा लगाएको मेरो आफ्नै छायाँ हेरेर उभिइरहेँ म। उज्यालोमा अव्यस्थित सजावट पनि हेरे मैले । त्यसपछि कोठाको माझ भागमा मैले अझै खुला रहेको एउटा ठुलो पियानो पनि देखे । पियानो अगाडि बस्दै गर्दा मेरा औलाहरू काम्न थाले, अनि ठुलो स्वरमा गुन्गुनाउन थाले । जसले मूर्तिवत् चिसो छायाँ खुबै सराहना गरेको अनुभुति हुन्थ्यो । त्यतिमात्रै हैन देवदूतसहित जुनको कान्तिले मानिसहरूलाई जसरी रोमाञ्चित गराउँछ उसै गरी मेरो भजनले उत्तेजित गरायो । लगतै त्यहाँ सामान्य हलचल भयो । मानौँ त्यो परमानन्द चारैतिर फैलिँदै थियो । अझ हौसिँदै ठुलै स्वरमा भजन गाउन थाल्यो ।
”हेलो सर छक्क पर्नु भो होला हैन ? तपाई अनुमान गर्न सक्नुहुन्छ कि यो के चाला हो ?”
म फरक्क फर्के अनि सन्नाटा छायो । अर्धनग्न र अस्तव्यस्त कपाल भएका ६ जना मान्छेहरू ठिङ्ग उभिएर मलाई नै हेरिरहेका थिए । खुब रिसाएका देखिन्थे उनीहरू । सबैको हातमा मैनबत्ती थियो । तीमध्य एक जनाले बुटज्याको बोकेको थियो । अग्रभागमा रहेको अर्को चाहिँले पेस्तोल बोकेको थियो । भरिया चाहिँ पछाडि लुगलुग कामिरहेको थियो । ”सर !” रिभल्भर बोकेको मान्छेले रुखो भाषामा भन्यो ”यति बेला यस्तो बाहियात हल्ला गरेर अरूलाई बाधा पुर्याउन पाइन्छ ? तिमी बौलायौ कि क्या हो हँ ?”
”तपाईलाई मन परेन कि क्या हो ?” मैले शिष्ट भाषामा जबाफ दिए ।
”केका मन पर्नु र नपर्नु नि !” खुट्टा ठटाउँदै उसले भन्यो । ”तिम्रा सबै कुरा हामीलाईमज्जा लाग्नुपर्छ भन्ने के छ ? वाहियात” बुट्ज्याक लगाएको मान्छेले कानेखुसी गर्दै भन्यो ”होस् गर त्यो मान्छे बौलाएजस्तो छ ।”
म हाँस्न थाले । त्यसपछि त झन् उनीहरूले मलाई साँच्चिकै बौलाहा ठाने । मेरो बानीअनुसारको कुरा यहाँ नभएका र सङ्गीतको ज्ञान नभएकाले पनि होला सायद उनीहरूको गल्ती भलै असङ्गत भएपनि अस्वाभाविकचाहिँ थिएन । म उठेँ, उनीहरू पनि एकापसमा झनै नजिकिए अनि रातिको भरिया त्याहाँबाट भाग्यो । ”सज्जनवृन्द ! बाधा पुग्न गएकोमा क्षमाप्रार्थी छु, अलि बेर आरामसित सुतेर ध्यानपूर्वक सङ्गीत सुन्नुभएको भए यसले सबैलाई फाइदै गर्थ्यो मनोरञ्जनै दिन्थ्यो । तर तपाईहरूले जे गर्नु भो, त्यसलाई फेरी उल्ट्याउन त सकिन्न । भरियालाई जानकारी गराइदिनुस्, म मेरा काका कार्डिनल आर्च बिसपलाई भेट्न आएको !”
उनीहरू एकापसमा खासखुस गर्दै थिए, म फटाफट अगाडि बढेँ । केही समयपछि मैले कार्डिनलको घरको ढोका ढकढक्याए । एकै छिनमा पहिलो तलाको झ्याल खुल्यो ।
अनि जूनको उज्यालो सेतै कपाल फुलेको टाउकामा पर्यो । ढुङ्गाको सँघारमुनि छाँयाको अथाह अन्धकारसामु टाउकाको कालो टोपी फुस्रो देखियो ।
”को हौ तिमी ?”
”म जेनो लेगी क्या त ।”
”यति बेला के चाहियो तिमीलाई ?”
त्यो प्रश्नले मलाई ठुलो चोट पुर्यायो । म चिच्याएँ ”काका ! तपाईले मलाई स्वागत नगर्न खोजेको त होइन होला तर मलाई त्यस्तै लाग्दै छ । ” म आग्रह गर्छु – ”तल आउनुस् र मलाई भित्र पस्न दिनुस् ।”
”तिम्रै होटलमा जाऊ, भोलि बिहान भेटौँला ।” रुखो स्वरमा यति भन्दै उनी अलप भए अनि झ्याल थुने । मैले के महसुस गरे भने यदि मैले अपमानजनक जबाफलाई त्यसै जान दिए भने न त भोलिपल्ट बिहान न त भविष्यमा कुनै बेला काकाप्रति मेरो सम्मान नै रहन्छ ।त्यसैले मैले दाहिने हातले ढकढक्याउने औजार चलाइरहेँ भने देब्रे हातले भित्रबाट ढोकाको साङ्लो खटखटाएको नसुनुन्जेल घन्टी थिचिरहेँ । काडिनलको अभिव्यक्ति निकै गम्भिर थियो । साथसाथै रुखो पनि । जित बेला उनीसित मेरो ढोकाको सँघारमा मुकाबिला हुदै थियो ।
उहाँको हात च्याप्प समात्दै म चिच्याए, ”काका मलाई गाली नगर्नुस् । दीनदुःखीका लागि तपाईको ढोका कहिल्यै बन्द भएन । म पनि त्यस्तै दीनदुःखी हुँ । रातभरी बसेर गफ गर्न दिनुस् मलाई ।”
”तिमीले प्रवेशका लागि मेरो ओहोदालाई धन्यवाद दिन सक्छौ न कि मेरो उदारतालाई जेनो,” उनले भने ”छिमेकीकै लागि मैले तिमीलाई भित्र पस्न दिएको । आउने भए चुपचाप माथि आऊ मेरी गृह प्रबन्धक महिला निकै मिहनेती छिन् । थोरै सुत्ने उनलाई बाधा पुर्याउनु राम्रो होइन ।”
”तपाई निकै दयालु हुनुहुन्छ काका ।” म मुसाले जस्तै घस्रिदै सुटुक्क आउँछु। ”यो मेरो पढ्ने कोठा दोस्रो तलाको अस्तव्यस्त सानो कोठामा पस्दै गर्दा उनले भने । यदि तिमीलाई जलपान गर्न मन छ भने मैले दिन सक्ने भनेको किसमिसको झुप्पा मात्रै हो । मलाई थाहा छ, डक्टरले तिमीलाई उत्तेजक खानेकुरा छुनै मनाही गरेका छन् ।” भग्वान कसम माफ गर्नुहोला, किरिया खानु मेरो गल्ती थियो । डक्टरको सल्लाह पुरै बिर्सिसके मैले त । भर्खरै डिनरमा एक बोतल ग्रेभ्स लिइसके ।
”के रे ? एक्लै एक्लै हिड्नुपर्ने तिम्रो कुनै कामै छैन । तिम्री आमाले तिमी यहाँ आउनुपर्दा बुसीसित मात्रै आउने छ भनेर वचन दिएकी थिइन् ।”
”छि ! त्यो बुसी अर्काको भावना बुझ्ने खालको मान्छे नै होइन फेरि ऊ डरछेरुवा पनि छ । मैले रिभल्भर किनेदेखि मसित हिड्नै मान्दैन ऊ ।” ”उसले तिम्रो रिभल्भर खोसेर राख्नु पर्थ्यो ।” ”किन बच्चालाई जस्तो व्यवहार गर्नुहुन्छ सधै मलाई काका तपाई ? म त ज्यादै प्रभावित भइहाल्ने खालको मान्छे छु, म तपाईले भनेको कुरा पत्याउँछु पनि तर संसार एक्लै घुमेको छु, आयरल्यान्ड घुम्न मलाई धाइ सुसारे चाहिँदैन ।”
”अनि यहाँ बसेर के गर्न चाहन्छौ त तिमी ?” मेरो केही योजना थिएन । उत्तर दिनुको साटो मैले कुम हल्लाए अनि कोठाको चारैतिर आँखा डुलाए । काकाको डेस्कमाथि भर्जिनको सानो मूर्ति पनि थियो । मैले मूर्तिको अनुहार हेरेँ । त्यहाँ मैले अनन्त शान्तिको अनुभव गरे । माथि गुलाबी रङको बादलमा खस्दै स्वर्गका रत्नजडित औँठीहरूको असीमित नेटवर्कले गर्दा हावा पनि ज्योतिर्मय भएको थियो ।
”काका !” पहिलोचोटि आँखाबाट बरर्र आसु झर्दै मैले भने ”अब मेरो घुमफिर सिद्धियो, म चर्च प्रवेश गर्छु, यदि तपाई मलाई मद्दत गर्नुहुन्छ भने फाउस्टको तेस्रो खन्ड मिलेर पढौँ किनकि मैले भर्खर भर्खर बुझ्न थालेको छु त्यसलाई ।”
”चुप लाग !” ठिङ्ग उभिएर अनिष्टको सङ्केत गर्दै उनले भने- ”आफूलाई सम्हाल ।”
”मेरा आँसुले तपाईलाई पथभ्रष्ट नगरोस्, शान्त र दृढ छु म । छिटो गेटे पढ्न थालौँ ।”
”अवर्णनीय घटना घट्छ यहाँ सनातन महिलावादीहरूले मार्गदर्शन गर्छन् हामीलाई ।”
”आऊ ! आऊ ! आँसु पुछ अनि चुप लाग यहाँ मसित पुस्तकालय छैन ।”
”तर म सित छ ।” होटलमा छालाको सुन्दुकमा उठेर मैले भने ”म लिन जान्छु, पन्ध्रै मिनेटमा फर्किन्छु ।”
अहँ, सम्भव छैन ।
जोडले हाँस्दै उनलाईबिचैमा रोके मैले । ”काडिनल”ठुलो स्वरमा मैले भने ”तपाई विधर्मी या बिटुलो भैसक्नु भो । एउटा विधर्मी पुरोहित सबैको सच्चा मित्र हुन सक्छ । अलिकति वाइन पिऔँ, अनि म जर्मन बियर गीत गाउँछु ।”
”तिमीलाई हानि हुने कुनै काम मैले गरे भने भगवानले मलाई क्षमा गरुन् , तर मलाई लाग्छ तिम्रो अभागी खप्परमा ईश्वरले पापको प्रायश्चित हालिदिए जस्तो छ । अलि बेर मेरो कुरामा ध्यान दिन्छौ कि ? तिमीलाई केही कुरा भन्नु छ भने साँडे पाँच हुनुअघि अलि बेर सुत्नु पनि पर्छ ।” उनले भने ।
”मेरो प्रायः सुत्ने समय यही हो । तर तिमी अघि बड्न सक्छौ । उपेक्षा गर्नु गल्ती होइन तर अति भावुकता चाहिँ हो । ल ठिक छ, तिमी जाउ जेसुकै कारण होस् केही फरक पर्दैन ।” ”तपाईले मलाई जाओस् भन्ठान्नुभो मलाई यति नै काफी छ ल, म अहिले नै हिडिहाले ।”
”जेनो अलि बेर बसेर मेरो कुरा सुन्छौ कि ?”
मन नलागी नलागी म कुर्सीमा बसे । मैले भने ”तपाईकै सेवामा र तपाईको आँखामा देखिएका यौनावेग एउटा अपराध हो । बत्ती अलि सानो पारौँ ?”
”किन ?”
”गम्भीर मुद्रा उत्पन्न गर्न, जसले म बडो धैर्यसाथ सुन्न सक्छु ।”
”म आफै सानो पार्दिउँला हुन्न ?”
मैले उनलाई धन्यवाद दिएँ अनि दोछायाँमा बसेर उनको कुरा सुन्न थाले । मेरा आखा चम्किन थालेको महसुस भो मलाई एड्गर एलानपोको कालो कौवा जस्तै भए म ।
”मैले तिमीलाई विक्लो पठाउनुपर्ने थुप्रै कारण छन् । पहिलो त तिम्रै भलाइका लागि सहरमा बस्यौ भने तिमी त्यहाँको रमझममा भुल्छौ, एक हप्ताजति स्विफटको हस्पिटलमा बस, तिमी गाउँमै बस्नुपर्छ, एउटा भरपर्दो मान्छेको निगरानीमा, जसलाई म विश्वास गर्न सकूँ, अनि बदमासीबाट बच्न तिमीले आफूलाई कुनै न कुनै काममा व्यस्त राख्नैपर्छ । त्यतिमात्रै होइन पेन्टिङ र काब्यबाट पनि टाढै रहदा राम्रो । सर जोन रिचार्डसले मलाई लेखिपठाएका छन् कि यी कुराहरू तिम्रो अहिलेको अवस्थामा खतरनाक छन् ।”
”दोस्रो कारण- तिम्रो कर्मले चर्चको मानहानि नहोस् भनेर एक जना विश्वासिलो र सचेत मान्छेको हातमा सुम्पिन चाहन्छु किनभने म तिमीलाई मात्रै विश्वास गर्न सक्दिन । छोटकरीमा भन्नुपर्दा एउटा चमत्कारको बारेमा अनुसन्धान गराउन चाहन्छु म तिमीलाई ।”
उनले खुब ध्यान दिएर मतिर हेरे, म मुर्तिवत बसिरहे ।
”मैले भनेको कुरा बुझ्यौ तिमीले ?” उनले सोधे ।
”अहँ बुझिन” मैले रुखो स्वरमा जवाफ दिए, ”माफ गर्नुहोला” मैले थपे मैले गरेको कल्पनाले जुन जुक्ति लगायो त्यो देखेर म आफै छक्क परे ।
तपाईका कुरा मैले राम्ररी बुझे । अझै केही भन्नु छ भने भन्नुस् ।
”मलाई आशा छ तिमी बुझ्छौ । अँ त, विक्लोबाट चार माइल टाढाको दुरीमा फोर माइल वाटर नाम गरेको एउटा गाउँ छ। त्यहाँको आवासीय पादरी फादर हिक्की छन् ।”
”नकमा छँदा तिमीले त्यहाँको चमत्कारका बारेमा सुनेकै छौ ?” मैले आँखा झिम्क्याए ।
चमत्कारप्रतिको तिम्रो धारणा के हो, त्यो मैले तिमीलाई सोधिन, तर तिमीले त्यसका बारेमा सुनेका छौ कि छैनौ भन्ने मात्रै हो । मलाई लाग्छ, तिमीले पक्कै सुनेका छौ । यो देशमा चमत्कारले चर्चलाई राम्रो गर्नुको साटो हानि नोक्सानी नै बढी गर्छ । यो कुरा मैले तिमीलाई भनिराख्नु परेन । नयाँ मतको समर्थकहरूको सबुत प्रमाणद्वारा देशको शक्तिशाली र ईर्ष्यालु शत्रुहरूको मुख बन्द गरेको पूर्णरूपेण प्रमाणित नहुन्जेल यसै भन्न सकिन्न । त्यस कारण मैले गत हप्ता बेक्सफोर्डबाट प्रकाशित हुने पत्रिकामा सार्वजनिक गरिएको दैवीशक्तिको अनौठो बयानका बारेमा पढेँ म खुब चिन्तित भए । त्यसैले मैले उक्त विवरण सत्य हो , होइन बताउन आग्रह गर्दै फादर हिक्कीलाई पत्र लेखे साथै सत्य होइन रहेछ भने उक्त रिपोर्टको लेखकको भर्त्सना गर्न र तुरुन्तै त्यसको बारेमा बताएर झिजो गर्न चाहन्न उनी भन्दै जान्छन् । एकैछिन पर्खनुस् यो उनले आफ्नै हातले लेखेका हुन ? यो त लोग्ने मान्छेले लेखेजस्तो लाग्दैन । दाहिने हातको औलामा बाथ रोगबाट पीडित छन् उनी अनि एउटी टुहुरी भतिजी पनि उनीसितै बस्छिन् । उनी लेखनदासको काम पनि गर्छिन् । बस ! के हो नि उनको नाम चाहिँ ? उनको नाम ? केट हिक्की ।
”कति वर्ष भइन् उनी ? ”
”धत् ! सानी फुच्ची केटी हो, उमेर पुगेकी केटी भएको भए म तिमीलाई त्यहाँ पठाउँदै पठाउँदिन नि ! अरू पनि केही प्रश्न छ कि तिम्रो उनको बारेमा थप सोध्नुपर्ने ?”
”अहँ, छैन, म चर्चको नीतिनियम अनुसार नै सेतो घुम्टो ओढेको उनको तस्बिर मनमा उतार्छु, त्यो पनि एक प्रकारको वश्वास र निर्दोषपना हो । उनको बारेमा यो भन्दा बढी अरू कुरा नगरौँ । बरु भन्नुस् भूतप्रेत भनौँ या अशरिरी मूर्तिका बार्रमा रेभरेन्ड हिक्की के भन्छन् ।”
ति भूतप्रत होइनन्, उनले भनेका कुरा म तिमीलाई पढेर सुनाउँछु । यो प्यारिसमा घटेको पछिल्लो चमत्कारिक घटनाका बारेमा तिमीले सोधेको प्रश्नको जवाफमा मैले तिमीलाई जानकारी दिनैपर्छ त्यो के भने म यसको सत्यताको जिम्मा लिनु सक्छु र त्यहाँका बासिन्दा, जो क्याथोलिक हुन् उनीहरूद्वारा मात्रै मेरो कुरा पुष्टि हुने होइन बल्कि चिहानको पहिलेको अवस्थासित परिचित प्रोटेस्टेन्ट आर्चडिकन अफ बाल्टिङ्ग्लासलगायत हरेकले पुष्टि गर्छ जो छिमेकी गाउँमा वर्षको छ हप्ता बिताउने गर्छ ।पत्रिकाको विवरण अपूरो र अशुद्ध छ, सत्यतथ्य यस प्रकार छ- लगभग चार वर्षअघि वोल्फेटोन फिट्जेराल्ड नाम गरेको मान्छे अश्व चिकित्सकका रूपमा यस गाउँमा बसेको थियो, उसको पुर्ख्यौलीको ठेगाना लागेको थिएन र उसको परिवार पनि थिएनन्, एक्लो थियो ऊ आफ्नो बारेमा पूरै लापर्वाह थियो अनि प्रायः ऊ मातेकै हुन्थ्यो । त्यति बेला कुराकानीको क्रममा न भगवानप्रति उसको कुनै सम्मानभाव हुन्थ्यो न त व्यक्तिप्रति नै । मानिसहरू उसलाई गुन्डा, बदमास ईश्वरनिन्दक, फोहोरी, जड्याहा भन्थे । अझ त्योभन्दा पनि नराम्रो कुरो त मेरो विचारमा ऊ नास्तिक थियो । क्रिस्चियनहरूको भोजभतेर र समारोहमा सरिक हुदैनथ्यो कहिल्यै । क्विनलाई भन्दा पनि हिज होलिनेसलाई बढी गालीगलौज गर्थ्यो । मैले भन्नै पर्यो कि ऊ एउटा उग्र विद्रोही थियो । आफ्ना बाबुबाजेको खुब धाक लगाउँथ्यो ऊ । अन्ततः ऊ ब्रिमस्टोन बिल्लीको नामबाट हिड्यो अनि सबै खाले दुष्टताको दृष्टान्त बन्न पुग्यो ।
तिमीलाई थाहै छ, पधेराको उत्तरपट्टि अवस्थित चिहान देशैभरि प्रख्यात छ भन्ने कुरा, जहाँ भिक्षुणी सेन्ट उर्सला र फोर माइल वाटरका योगीको शव गाडिएको थियो । त्यसै गरी अन्यथुप्रै पुण्यात्माहरूको शव पनि गाडिएका थिए । कुनै प्रोटेस्टेन्टले पनि त्यहाँ शव गाड्ने कानुनी अधिकारका लागि दबाब दिने दुस्साहस गरेको छैन । यधपि दुईजना मान्छे प्यारिसमा मरेको मलाई याद छ । तीन हप्ताअघि यो फिट्जेराल्डको मदिरासेवन गरिरहेकै अवस्थामा मूर्च्छा परी मृत्यु भयो । अनि यही चिहानमा ल्याएर उसको शव गाडिँदै छ भन्ने हल्ला फैलिएपछि गाउँमा ठुलो हल्लीखल्ली मच्चियो । शव नचोरियोस् र चौबाटोमा नगाडियोस् भनेर कुरेर बस्नुपरेको थियो । मृत्यु संस्कार रोक्न नसकेकामा मप्रति धेरै मानिसहरू निराश पनि भए, खास गरी मृत्यु संस्कार भैरहेको बेला मैले पादरीले गर्नुपर्ने काम गरेको थिइन । यधपि उनीहरूलाई मैले हस्तक्षेप नगर्न आग्रह गरे । शव गाड्ने काम जुलाई १४ मा सम्पन्न भो , त्यो पनि कानुनले तोकेको समयभन्दा निकै ढिलो साझँपख । कसैले बाधा व्यवधान पुर्याएन । भोलिपल्ट बिहान हेर्दा चिहान पधेँराको दक्षिणपट्टि सरेको देखियो । उत्तरपट्टिको चिहानमा चाहिँ भर्खरै शव गाडेको पाइयो । यसरी दुवै चिहान सँगसँगै रहन गए । स्वर्गीय भइसकेको सन्तहरू पापीहरूसित बस्दैनन् । क्रिस्चियन पादरीले किरिया हालेमात्रै म साक्षी बस्न सक्छु, चर्च बाहिरका मान्छेहरू यदि सन्तुष्ट नभए । चिहान कहाँतिर थियो भनेर सम्झना राख्ने जो कोहीले पनि मैले पहिल्यै भनेजस्तै मेरो भनाइलाई पुष्टि गर्दैनन् । चमत्कारको यो सत्यताको बारेमा सूक्ष्म अनुसन्धान गर्ने जिम्मा प्रोटेस्टेन्ट सज्जनलाई दिनुपर्छ, सम्मानपूर्वक सल्लाह दिन चाहन्छु म । मेरा मान्छेहरूले दिएको नयाँ मतलाई उनीहरूले स्विकार्नैपर्छ भन्ने छैन । शस्त्रागारको नक्साले चिहान कहाँनिर थियो भनेर देखाउँछ, त्यसपछि सबैले चिहान कहाँनिर रहेछ थाहा पाइहाल्छन् । पवित्र चर्चको शत्रुहरूलाई यसले कसरी भर्त्सना गर्छ भनेर तिम्रो मालिकलाई भनिरहन त म जरुरी ठान्दिन, जसले नकच्यापेलमा पछिल्लो घटनाक्रमलाई लिएर उनलाई जस नदिई दाग लगाउने कोसिस गरेको छ । यदि उनीहरू फोर माइलाबाट समा आउँछन् भने कसैलाई सोधपुछ वा केरकार गर्नु जरुरी छैन । उनीहरूले कुनै कुरामा पनि विश्वास गरिरहनु पर्दैन खालि आफ्नै सोच वा चेतनामाथि विश्वास गरे पुग्छ ।
क्रमश……
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।