
गत फेब्रुअरी २४-२६ मा बेइजिङमा बेइजिङ बुक फेयर सम्पन्न भयो । सन् २०२१ यता पुस्तक प्रदर्शनी हुन नसक्दा पुस्तक प्रेमीहरूका लागि पछिल्लो फेयर उत्साहप्रद रह्यो ।
सो प्रदर्शनीमा ७१० प्रकाशकका २ हजार ७ सय ९३ स्टलहरू राखिएका थिए । तिनले करिब चार लाख पुस्तकका टाइटल प्रदर्शन गरेका थिए । सँगैमा ३४५ शीर्षकमा विविध छलफल कार्यक्रमसमेत आयोजन गरिएका थिए । सबै छलफल कार्यक्रमको सामाजिक सञ्जालहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
प्रदर्शनी हेर्न एक लाखभन्दा बढी अवलोकनकर्ता पुगेका थिए । पुस्तक प्रदर्शनीमा यत्ति धेरै दर्शक पुग्नु कीर्तिमानी भएको चाइनाडेली अखबारले जनाएको छ । प्रदर्शनीकै दिन बिहान ठूलो संख्यामा पाठक तथा अवलोकनकर्ताहरू लाइन लागेर सभामा छिर्न कुरिरहेका थिए ।
चिनियाँ टिकटक डोयिनमा प्रभावशाली व्यक्ति (इन्फ्लुएन्सर) वाङ फेङका अनुसार प्रदर्शनीको पहिलो दिनको पाँच घण्टामा नै १ करोड युआन (साढे १४ लाख डलर) का पुस्तकहरू बिक्री भएका थिए ।
विदेशी साहित्य चिनियाँ भाषामा अनुवाद र पाठकको त्यसप्रति चासो पछिल्लो समय निकै बढेको पाइएको छ । यसपाला चीनको कमर्सियल प्रेसले एकै झमटमा सय विश्व साहित्यका रत्न अनुवाद बजारमा ल्याएको थियो । प्रदर्शनीमा पर्सियन लेटर्स, क्राइम एन्ड पनिसमेन्ट, अ थाउजन्ड एन्ड वन नाइट्स, सरलक होम्सका सम्पूर्ण रचनावली पुस्तकहरू निकै बिक्री भएको पाइयो । यस्तै कविता, साहित्य, नाटक, निबन्ध तथा जीवनीका पुस्तकहरूप्रति पनि उत्तिकै आकर्षण देखियो ।
त्यसो त जति विदेशी रचनाको चिनियाँ भाषामा पढ्ने चाह बढ्दो छ, उसैगरी चिनियाँ साहित्य पनि विदेशतिर उत्तिकै माग बढिरहेको सो अवसरमा जानकारी दिइयो । सन् २०२२ मा विभिन्न प्रकाशन गृहले ६०३ वटा पुस्तकका विभिन्न ३६ भाषाका विभिन्न ४० क्षेत्रमा अनुवादका लागि स्वीकृति प्रदान गरेका छन् । यिलिन प्रेसका प्रधान सम्पादक युआन नान भन्छन्, पछिल्लो समय लु मिनको डिनर फर सिक्स उपन्यास सात भाषामा अनुदित भएका छन् । न्युयोर्क टाइम्स पत्रिकाले उनको सो उपन्यासलाई २०२२ मा अनुदित सर्वोत्कृष्ट चिनियाँ उपन्यासका रूपमा नोटेबल बुक्समा राखेको थियो । त्यस्तै लु कै युवा अपराध कथामा आधारित उपन्यास दिस लभ कुड नट बी डेलिभर्डलाई अंग्रेजीमा सिमोन एन्ड सुस्टरले प्रकाशन गरेको छ ।
पुस्तक प्रदर्शनीमा लुले आफ्नो अनुभव साट्दै जर्मनी र इटालेली भाषामा भएका अनुवादले अन्य भाषामा समेत आफ्ना कृतिहरूप्रति रूचि जगाएको बताइन् । लु कै अर्को उपन्यास गोल्डेन रिभरको अनुवाद गरेका माइकल डेले कार्यक्रममा चिनियाँ साहित्यको अन्य भाषामा अनुवादले चीनप्रतिको एकलकाँटे विचारलाई चिर्न मद्दत गर्ने बताएका थिए ।
कार्यक्रममा पेकिङ युनिर्भसिटीका दर्शन साहित्यका प्राध्यापक लिउ हुजेइद्वारा लिखित प्लान्ट्स ग्रो फर देमसेल्भ्स विमोचन गरिएको थियो । उनले सर्वसाधारण मानिसले जङ्गलमा विचरण गर्न किन जरूरी छ भनी लामो व्याख्यान दिएका थिए ।
संसारभर हरेक वर्ष २२ लाख नयाँ पुस्तक प्रकाशन हुने गर्छन् । यसमा चीनले हरेक वर्ष चार लाखभन्दा बढी टाइटल प्रकशन गर्ने गर्छ । त्यस्तै संयुक्त राज्य अमेरिकाले वर्षमा करिब तीन लाख टाइटल प्रकाशन गर्ने गर्छ ।
पछिल्लो प्राप्त तथ्याङ्कअनुसार बेलायतले १ लाख ८६ हजार पुस्तक सन् २०२० मा प्रकाशन गरेको थियो । त्यस्तै सन् २०१७ को तथ्याङ्कनुसार जापानले १ लाख ४० हजार नयाँ पुस्तक प्रकाशन गरेको थियो भने २०२० को तथ्याङ्कअनुसार पाँचौँ नम्बरमा १ लाख ३५ हजार ८१ वटा पुस्तक प्रकाशन गरेर इन्डोनेसिया ठूला पाँच पुस्तक प्रकाशन गर्ने मुलुकमा दरिएको छ ।
चाइना डेलीको रिपोर्ट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
