यतिबेला काठमाडौँको बत्तिस पुतलीस्थित गोठाले नाट्यघरमा घिमिरे युवराजद्वारा लिखित तथा प्रवीण खतिवडाद्वारा निर्देशित विमोक्ष नाटक मञ्चन भइरहेको छ । मञ्चनको यो अन्तिम साता हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशका अनुसार विमोक्षको अर्थ हुन्छः सांसारिक मायाबन्धनबाट छुटकारा पाउने काम; मोक्ष; मुक्ति । सांसारिक मायाबन्धनबाट छुटकारा पाउनका लागि अनेकन् उपायहरू धर्मशास्त्रमा देखाइएका छन् । मायाबन्धन एउटा प्राचीन समस्या हो । यसले मानवलाई संसारको वास्तविक सौन्दर्यपान गर्नबाट बाधा पुर्याएको छ । जुन दिनबाट मानव जातिले आफूलाई विमोक्ष पार्छ, उसले वास्तविक जीवन फेला पार्नेछ । विमोक्षका लागि कसैले धर्म परिवर्तनको नारा लगाउँछन्, कसैले आफैँलाई नियाल्न प्रेरित गर्छन् ।
विमोक्षको तहमा पुग्नका लागि यस नाटकमा संवादको सहारा लिइएको छ । कुनै पनि समस्यामाथि छलफल भयो, त्यसको अतल गहिराईमा पुग्न सकियो भने मान्छे समस्याबाट मुक्त हुन्छ । खासगरी साइकोएनालिस्टहरूले बिरामीहरूसँग कुराकानीकै माध्यमबाट तिनको समस्याको जरो पत्ता लगाउँछन् र रोगको निदान गर्ने प्रयास गर्छन् । यहाँ दुई पात्रहरूबीच एकअर्काको समस्या आदानप्रदान गरेर निको हुने प्रयास गर्छन् । नाटकले निको भएको तहमा होइन, समस्या कोट्याइदिएर दर्शकको खुजली शान्त पारिदिन्छन् । यसरी नेपालको प्राचीन समस्यामाथि नाटकले तपाईंलाई घच्घच्याउने प्रयास गर्छ ।
पुरानो घरमा, एक जना वृद्धालाई भेट्न एउटा पुरूष पुग्छ । ऊ वृद्धासँग कुराकानी गर्न थाल्छ । ऊ वृद्धासँग ज्यादै क्रुद्ध छ । धेरै वर्षअघि उसले यो घर र त्यो स्त्रीसँगको सम्बन्ध त्यागेको छ । कयौँ पटक स्त्रीले भेट्न बोलाए पनि ऊ यो घरमा पाइला टेक्न आएको छैन । मर्ने बेलामा भेट्ने घिडघिडो पूरा गर्न ऊ आइपुग्दा पुराना प्रेम सम्बन्धका कुरा उठ्छन्, अपमानका कुरा उठ्छन्, स्वाभिमानका कुरा उठ्छन् । त्यही स्वाभिमानका कारण छोडेको घर फर्कंदा पुराना घाउहरू कोटिन्छन् र तिनै घाउ कोट्याउँदा उत्पन्न हुने कोक्याइलो वातावरणका बीच दर्शकहरूले घटनाबारे थाहा पाउँछन् ।
एउटा दलित केटोसँग शारीरिक सम्बन्धको आवश्यकताका बेला नजिक हुने तर परिवार तथा समाज बीचमा आउनेबित्तिकै व्यक्तिको उदात्त चरित्र हराउने प्रवृत्तिप्रति नाटकले व्यंग्य गरेको छ । यसले व्यक्तिको घाउ र एउटा समुदायको घाउ कोतरेर प्रेम वर्गरहित हुन सक्दैन, प्रेमलाई सफल तुल्याउन उही हैसियत र जात चाहिन्छ भन्ने सामाजिक मनोवृत्तिमाथि प्रहार गरेको छ । कम्तीमा यो नाटक हेर्दा त्यस्तो महसुस गराउँछ ।
नाटकमा जम्मा चार पात्र छन् । पात्र त मुख्य दुई नै हुन् तर कथा फ्ल्यासब्याकमा जाँदा चार बन्न पुग्छन् । गम्भीर र अनुभवले पाकेको व्यक्तिको अभिनयमा घिमिरे युवराज निकै सहज रूपमा प्रस्तुत भएका छन् । उनी अभिनयमा कतै पनि बिझाउँदैनन् । उनको संवादको प्राकृतिकताले दर्शकलाई उनको पीडासँगै यात्रा गराउँछन् । सगुना शाह एक वृद्धाको अभिनयको उम्दा देखिएकी छन् । नाटक सकिएपछि जब उनी बाहिर प्रशंसकहरूसँग तस्बिर खिचाउँछिन्, त्यो बेला उनी बिरामी नै छिन्, धेरै दुःख दिन नहुने हो कि भन्ने भाव पैदा गर्न सफल भएकी छन् । कमल घिमिरेको भूमिकामा सागर खाती निकै सहज, चञ्चल र परिपक्व देखिएका छन् । खासगरी रतिरागात्मक दृश्यमा उनको सहजताले दर्शकलाई बिझाउँदैन । तर यो नाटकको मूल ‘शो स्टिलर’ चाहिँ पवित्रा खड्का हुन् । एक चञ्चल, उन्मुक्त प्रेमातुर स्त्रीका रूपमा उनले जसरी दर्शकहरूलाई बाँध्छिन्, त्यसले उनको नाटक र अभिनयप्रति समर्पित भाव प्रस्ट्याउँछ ।
पृष्ठभूमिका कथा देखाउने शैली निकै मनोहर छ । खासगरी मल्टिमिडियाको प्रस्तुतिले नाटकलाई रोचक बनाउन र रियालिस्टिक टच दिन सघाउ पुर्याएको छ । समग्रमा, शहरमा एउटा नाटक छ, जुन नेपाली फिल्मले उठाउन, कोट्याउन र प्रभाव पार्न नसकेका कुरालाई बिना रोकटोक, उन्मुक्त तरिकाले प्रस्तुत गरिरहेकाले कम्तीमा एक पटक हेर्नैपर्ने बनेको छ ।
नाटक चलिरहेका बेला तपाईं एक पटक चाहिँ झड्का महसुस गर्नुहुनेछ, जब रश्मिदेवी र कमल घिमिरे (नाटकका पात्रहरू) बीच चुम्बनको दृश्य आउँछ । नेपाली नाटकमा त्यति सहज र झड्का दिने चुम्बन दृश्य यसअघि तपाईंले नाटकमा हेर्न नपाउनु भएको पनि हुनसक्छ ।
चेतावनीः यो नाटक हेर्दाका बखत तपाईंले मोबाइल कि त पूरै साइलेन्ट मोडमा राख्नुस् कि त अफ नै गर्नोस् । यो पंक्तिकारले जब नाटक हेर्दैथियो, नाटकको पात्र दीप दर्नाल गम्भीर कुरा गरिरहेको थियो । अचानक मोबाइलको रिङटोन बज्यो । त्यसपछि गम्भीर कुरा गरिरहेको दीप दर्नालको अवतार परिवर्तन भएर घिमिरे युवराजमा परिणत भयो । युवराजले ती दर्शकलाई त्यहीँ मज्जाले झपारे र पुनः दीप दर्नालको चरित्रमा घुसेर उही तह, उही संवेदनाका साथ बिरामी परेकी मुमाहजुरसँग झगडा गर्न मस्त भए । पक्कै ती दर्शकलाई नाटकको पात्रले गाली गरेको मन परेन । तपाईंलाई पनि मन नपर्न सक्छ । त्यही भएर यो चेतावनी पनि दिइएको हो ।
समग्रमा शहरमा नाटक मञ्चन निकै दुर्लभ भइरहेका बेला, नाटक मञ्चन भए पनि विषयवस्तुले नतानिरहेका बेला यसले तपाईंलाई तान्छ । आज शनिबार दिनको दुई पटक मञ्चन हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।