‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता पाँच पुस्तक । खतिवडाकाे ‘चारखोलाको आँगनी’देखि राजकर्णिकारको ‘कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

===

१. चारखोलाको आँगनी – भवानी खतिवडा

नियात्राकार, कवि भवानी खतिवडाको पद्य-नियात्रा हो— “चारखोलाको आँगनी” । यसमा “पुगूँ छिट्टै इलाममा, बाफिन्छ कहिले मन, अर्को स्वर्ग कहाँ छ र ?, गोडा कन्याम चुम्दछ, रोपौँ इलाम देशमा, नौकुने पोखरीसँग, आमा सम्पूर्ण जीवन” शीर्षकहरूबाट इलाम यात्राको वर्णन पाइन्छ ।

अग्रजका आशीर्वचनमा छन्दसारथि रमेश खकुरेल लेख्छन्,

“यात्रा हो पाठशाला भुवनभर सबै जीवमा ज्ञान भर्ने
ती सारा जीवमध्ये मनुज अझ बढी ज्ञान पाएर छर्ने
यात्राका ज्ञानलाई बहुविध रचनाभित्र लेखेर बाँड्ने
स्रष्टा हुन् धन्य हाम्रा मन र मगनमा छाप ठोकेर राख्ने ।”

अग्रजका आशीर्वचनमा प्रभा भट्टराई लेख्छिन्,

“कतै नाचेकी छन् सललल घुमी भाव सरिता
कतै टल्केका छन् स्मृति मधु सन्देश रसिला
भवानी ! तिम्रो यो मृदु-कलम यात्रा रसमय
अझै बढ्दै जाओस् रसिक मन गाऊन् जय जय ।”

पुस्तकलाई कोकगोष्ठीले प्रकाशनमा ल्याएको हो । १ सय १२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।

===

२. विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन – डा. खगराज बराल

शिक्षा व्यवस्थापन र प्रशानमा सयभन्दा बढी लेखहरू प्रकाशित गरिसकेका डा. खगराज बरालको पुस्तक हो— “विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन” । पुस्तकलाई ‘शिक्षक व्यवस्थापन’, ‘गुरुकूल शिक्षा पद्धतिको इतिहास’लगायत नौ थान परिच्छेद र अनुसूचीहरूबाट तयार गरिएको छ ।

शुभेच्छामा डा. गोविन्द टण्डन लेख्छन्, “लामो समय सरकारी जागिरमा छँदा विभिन्न अनुभव एवं त्यसै विषयमा विषयगत अध्ययनसमेत गरी विज्ञता हासिल गर्नुभएको डा.साहेबको यो पुस्तक नेपालमा गुरुकुलको इतिहास एवं आधुनिक शिक्षाको इतिवृत्त थाहा पाउन बहुतै उपयोगी रहेको पाएँ । साथसाथै गुरुकुल शिक्षा पद्धतिलाई के कसरी टेवा दिनुपर्ने हो ? किन गुरुकुल शिक्षा नेपालमा धरमरको स्थितिमा रहेको छ, त्यसबारेमा पनि भलिभाँती चर्चा गरिनुका साथै के के गरे गुरुकुल शिक्षा बहुउपयोगी भई राष्ट्रविकारमा फलदायी हुन सक्छ भन्ने बारेमा पनि उहाँका विचार एवं धारणहरू यहाँ दिइएका छन् ।”

प्रकाशकीयमा लेखिएको छ, “विगतका शिक्षासम्बन्धी पुस्तकभन्दा यो अलि भिन्न छ । भिन्न हुनुको कारण यो पुस्तक अनुसन्धानमा आधारित छ । डा. बरालले आफ्नो विद्यावारिधि पनि यही विषयमा गर्नुभएको हो । नेपालको विद्यालय शिक्षा, विशेष गरी गुरुकुल शिक्षा पद्धति र आधुनिक शिक्षा पद्धतिको इतिहासको खाेजी, यी शिक्षा पद्धतिमा शिक्षकका व्यवस्थापनमा छनोट र भर्ना, पदस्थापन, पेसागत विकास, बढुवा, सरुवा, सजाय र अवकाश जस्ता सातओटा मापदण्डलाई लिइएको छ । नेपालमा शिक्षक व्यवस्थापन कसरी गर्दा उपलब्धिमूलक हुन्छ भनी सुझाव सिफारिस गरिएको छ । यसले नेपालको शिक्षक व्यवस्थापनलाई मार्गदर्शन गर्न सक्छ भन्ने अपेक्षा गरिएको छ ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय २७ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ९० रुपियाँ रहेको छ ।

===

३. चैतको हुरी – मुकुन्द पथिक

गीतकार मुकुन्द पथिकको गीतिसङ्ग्रह हो— “चैतको हुरी” । यसमा ‘अचम्म लाग्यो दैवको लीला’, ‘जिन्दगीमा नखाएको’, ‘परदेशीसित लाएको माया’देखि लिएर ‘मनको व्यथा धोइदिन्छ’, ‘मनमा पीर परे पनि’, ‘सताउन थाल्यो मलाई’लगायत १ सय ८८ विविध विषयवस्तुका मीठा गीतहरू सङ्ग्रहित छन् ।

“पथिकमा उत्पन्न निराशाको एउटा कारण एकातिर प्रेमिकाको अभाव हो भने जीवनका अनेक समस्याहरूले पनि उनलाई निराश बनाएका छन् । फूल फुलेर चराचुरुङ्गीले गाएर बाहिरी वातावरण जतिसुकै सुन्दर र मनोहर भए पनि मनमा शान्ति नभएपछि जतासुकै अँध्यारो छाउने रहेछ ।” भूमिकामा डा. कृष्णहरि बराल लेख्छन्, “आफू ताक्छु मूढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो आफूले राम्रै गरे पनि त्यसको परिणाम भने नराम्रो पनि हुने रहेछ । यसैले गर्दा होला घरको न घाटको भएको जिन्दगीसँग पथिक असहमति प्रकट गर्छन् । र आफूले मन पराएको र असल ठानेको मानिसको मृत्युमा विह्वल पनि हुन्छन् । एकातिर भनेको नपुग्ने भत्कोसे जीवन र अर्कोतिर बाँच्न खोज्दाखोज्दै मर्नैपर्ने विसङ्गत जीवनसँग उनको राम्रो परिचय छ । यसले गर्दा उनी धेरै गीतहरूभित्र रोएका छन्, चिच्याएका छन् र यस्तो संविधान दिने कर्ताप्रति आक्रोशित भएका छन् । पथिकका केही गीतमा देशप्रेमको भाव पनि अभिव्यक्त भएको पाइन्छ । उनले सगरमाथा, लालीगुराँस, बुद्धका आँखा, डाँफेमुनाल, राष्ट्रिय झन्डा, झरना, नदी तथा सिङ्गो नेपाल नै हाँसेको सपना देखेका छन्, नेपाली हावा अनि नेपाली माटोलाई स्वर्ग नै ठानेका छन् । यस्तै उनका कतिपय गीतमा वात्सल्य भावको प्रस्तुति पाइन्छ भने कतिपयमा विविध सामाजिक विषयवस्तुको झल्को पनि पाइन्छ । यिनका केही गीतमा आख्यानको प्रभाव पनि निकै नै देख्न सकिन्छ ।”

पुस्तकलाई श्रीमती सरला वाग्लेले प्रकाशनका ल्याएका हुन् । १ सय ८८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य नेपाली रुपियाँ १ सय र युएस डलर ५ रहेको छ ।

===

४. अमेरिका यात्रा – मधुसूदन पाण्डेय

प्रकृतिप्रेमी, कवि मधुसूदन पाण्डेयकृत लघु काव्यसङ्ग्रह हो— “अमेरिका यात्रा” । पुस्तकलाई ‘आरम्भ’, ‘क्रिष्चयन देशमा हिन्दु मन्दिर’, ‘लुरेगुफा घुमघाम’, ‘डेलावरको कफी’ लगायत २३ थान शीर्षकहरूबाट तयार गरिएको छ । यसमा अमेरिकाको सम्पूर्ण स्थलको सौन्दर्यपक्षहरूलाई अनुभव गर्न पाइन्छ ।

काव्यकारको भनाइमा लेखिएको छ, “प्रकृतिप्रेमी भएर हो वा किन हो ? मलाई त्यो देशको अरू संरचनाले भन्दा प्राकृतिक दृश्यले ज्यादा लोभ्यायो । पैसाले त जे पनि बनाउन सकिन्छ । आइफेल टावर, बुर्ज खलिफा, अम्पायर स्टेट बिल्डिङ, ब्रुकलिन ब्रिज, वर्ल्ड ट्ररेड सेन्टर यी सबै पैसाकै चमत्कार हुन् । मानव निर्मित चिजलाई मानिसले पनि ध्वस्त पार्छ र प्रकृतिले पनि ध्वस्त पार्छ तर प्रकृतिका वरदानलाई प्रकृतिले मात्रै ध्वस्त पार्न सक्छ । मानव निर्मित चीज आज देख्न पाइन्छ भने अर्को पटक भन्न सकिन्न । करोडौँले देखेको मानव निर्मित वर्ल्ड ट्रेड सेन्टर हामीले देख्न पाएनौँ तर माथि उल्लेख भएका प्राकृतिक संरचना दीर्घकालीन हुन् । त्यसैले होला म तिनमा बढी लोभिएँ र जहाँ पनि यस्तै यस्तैमा लोभिने गर्छु ।”

पछिल्लो कभर पृष्ठमा लेखिएको छ,

“सान अन्टोनिया त्यो अति सुन्दर बोटबाट घुमेथ्यौँ
दायाँ र बायाँ घरहरू अग्ला नहर हेरेथ्यौँ ।

भर्जिनिया भित्र रहेछ गुफा लुरे नाम भएको
प्रकृति पनि कलाकार कति कुन औजार चलाको ?

रकभिलमा पनि रहेछ ट्रेल वेस्ट साइड नामको
सुगम नै रैछ आठ जना हामी एकपल्ट घुमेको ।

जर्जिया राज्य कोकाकोला सहर त्यो साह्रै राम्रो छ
सि एन एन बिल्डिङ मिडिया हाउस त्यो झनै राम्रो छ ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । ६८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।

===

५. कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार – घनश्याम राजकर्णिकार

नेपालमा पाउराेटी उत्पादन र त्यसकाे उपभाेग गर्न सिकाउने पहिलाे उद्धमी हुन्- “कृष्णबहादुर राजकर्णिकार”। यिनै कृष्णबहादुरका कान्छा छाेरा नियात्राकार घनश्याम राजकर्णिकारको संस्मणात्मक कृति हो— “कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार” । यसमा ‘कृष्णबहादुर राजकर्णिकारको जन्म र पारिवारिक पृष्ठभूमि’, ‘कृष्ण पाउरोटीको उन्नयन’, ‘बन्दुकको निशानामा म’लगायत ४२ शीर्षकबाट कृष्ण पाउरोटी भण्डारको इतिहास छोटकरीमा पाइन्छ ।

“कालक्रमानुसार कृष्ण पाउरोटी भण्डार शून्यमा शून्य भएर जाने पृष्ठभूमिमा पटकपटक मडारिसकेको स्थिति, परिस्थिति बचाउन ‘सहु बाबु ! सहु सहु सहनै नसके पनि’ भन्ने प्रसिद्ध नाटककार बालकृष्ण समको भनाइलाई हृदयङ्गम गरी धेरै हानि-नोक्सानी सहेर पछि पिताजीको बिँडो थाम्न सफल भएकोमा मलाई अहिले संसारै जिते जस्तो भइरहेछ ।” मेरो भन्नुमा लेखक लेख्छन्, “यो कुरा सत्य हो, संस्मरण साहित्यमा संस्मरण कर्ताले तटस्थ बनी यथार्थ कुरालाई कहीँकतै नमोडी इमान्दारीसाथ चित्रण गर्नुपर्ने हुन्छ । यसै तथ्यलाई हृदयङ्गम गरी कृष्ण पाउरोटी भण्डारको जन्म, विकास र पछि तारन्तर कुठाराघातका रामकहानी यसमा इमान्दारीसाथ प्रस्तुत गरेको छु । कृष्ण पाउरोटी भण्डारको जीवन्त घटनालाई यसरी प्रस्तुत गर्न सकेकोमा मैले आफूलाई धन्य सम्झेको छु । हाम्रा पारखी ग्राहक महानुभावहरूले यो कृति पढेर कृष्ण पाउरोटी भण्डारको इतिहास बुझ्न सक्नुहुनेछ ।”

पुस्तकलाई कृष्ण पाउरोटी भण्डारले प्रकाशनमा ल्याएको हो । ५६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ८० रुपियाँ रहेको छ ।