मनोरञ्जन उद्योगमा जवानी खस्कनु सधैँ समस्याका रूपमा रहँदै आएको छ । तर २०२३ को अस्कर अवार्ड समारोहमा पुरस्कार थाप्दै मलेसियाली अभिनेत्री मिसेल योले भनिन्, महिला मित्रहरू, अरूले तपाईंहरूको समय सकियो भन्ने दिन सकियो । उनीहरूलाई अब त्यो मौका नदिनुस् । प्रयास कहिल्यै नछाड्नुस् ।
अस्करमा उनले यसो भन्नुको खास उद्देश्य थियो । सन् २००२ मा हेल बेरीले पहिलो पटक काली अभिनेत्रीका रूपमा अस्कर उचाल्ने अवसर पाएकी थिइन् । यस पटक मिसेलले पहिलो एसियाली मूलकी अभिनेत्रीका रूपमा अस्कर उचालिन् । ६१ वर्षको उमेरमा मिसेलले यो पुरस्कार पाउनु आफैँमा दुर्लभ कुरा थियो र आश्चर्यको कुरा पनि । प्रायः महिलाहरूले अस्कर उचाल्ने औसत उमेरभन्दा उनी २० वर्षले बढी थिइन् । तापनि उनले पुरस्कार जितिन् । यस हिसाबले अहिलेसम्म ६० वर्ष उमेर पुगेपछि पनि अस्कर उचाल्ने जम्मा तीन जना महिला छन् । सामान्यतः फिल्मी नायकको औसत उमेर ४७ हुने गर्छ । त्यतिञ्जेल उसको रजगज चल्छ । यस्तै नायिकाको उमेर ३९ वर्षसम्म मात्र हुने गर्छ । यही हिसाबले ६० पार अस्कर पुरस्कार हात पार्नु विरल उदाहरण बन्न पुगेकी हुन्, मिसेल ।
केहीले यसलाई एजिङ एक्ट्रेस रेनेसाँ नामकरण गरेका छन् । रोचक त के भने, अस्करमा अन्य दुई जना महिला पनि नामाङ्कनमा परेका थिए । एनी बेसेट र कर्टिस लीलाई उछिनेर मिसेलले यो पुरस्कार हात पारेकी हुन् । एक त उमेर गुजारी सकेका महिलाहरू, त्यसमाथि अस्करमा नामाङ्कन पाउनु पनि अलि उपलब्धिकै कुरा हो ।
२०२३ अस्करले वृद्धाहरू फिल्म पाइरहेको, पाएको मात्र होइन, सशक्त भूमिकासमेत पाएकाले अस्करमा नामाङ्कन पाएको उदाहरण बन्न पुगेको छ ।
के सिनेमामा मात्र वृद्धा महिलाहरूले काम पाउन थालेका हुन् त ? पक्कै पनि होइन । ओटिटी प्लेटफर्मका कारण अचेल भूमिका सुहाउँदो अभिनयका लागि जवानलाई वृद्धा बनाएर खेलाउने चलन लगभग हट्न थालेको छ । द ह्वाइट लोटसको दोस्रो सिजनमा लिगल्ली ब्लोन्डकी अभिनेत्री जेनिफर कुलिजले एम्मी अवार्डसँगै गोल्डेन ग्लोबमा सहायक अभिनेत्रीमा पुरस्कार हात पारिन् । त्यस्तै ५३ वर्षको उमेरमा गायिका तथा अभिनेत्री जेनिफर लोपेज पनि पर्दामा फर्किइन् । यो सूचीमा सेरिल ली राल्फले पनि गत वर्ष एम्मी अवार्ड जितिन् । उनको उमेर ६६ वर्षको छ ।
हलिउड महिलाको सन्दर्भमा शुरूदेखि नै सुन्दरताको पुजारी रहँदै आएको छ । ४० उमेर पार गर्नेबित्तिकै सुन्दर महिला हलिउडको पर्दाबाट गायब हुन थाल्थे । अचानक सन् २०१७ देखि अवस्था परिवर्तन हुन थाल्यो । बिग लिटिल लाइज् शृंखलामा ५० वर्षकी निकोल किडम्यानले ४१ वर्षे अलेक्जेन्डर स्कारगार्डकी पत्नीको भूमिका खेलिन् । २०२२ मा नर्थम्यान फिल्ममा अभिनय गर्दा उनी ५५ वर्षकी थिइन् । त्यसयता उमेरले नेटो काटेका अभिनेत्रीहरू पर्दामा झुल्किन थाले ।
त्यसैको पछिल्लो कडी मिसेल योको अस्कर यात्रा हो ।
पुरूषहरूको सन्दर्भमा भने हलिउड अलि उदार नै रहँदै आएको छ । पछिल्लो समयमा पनि टम क्रुजले उनको मिसन इम्पोसिबल शृंखला फिल्ममा जवान युवतीसँगै रोमान्स गरिरहेका छन् । कियानु रिभ्सले जोन विक शृंखला फिल्ममा उमेरको हदबन्दी महसुस गरेका छैनन् । त्यस्तै आइरन म्यान फिल्ममा रोबर्ट डोनी जुनियर देखिएकै छन् ।
फिल्ममा कन्टेन्ट बोस हुन्छ, मान्छेको अनुहार होइन भन्ने कुरा ब्ल्याक प्यान्थर फिल्मले देखाएको थियो । काला जातिका मान्छे मुख्य भूमिकामा रहेका फिल्म ब्लकबस्टर हुँदैनन् र संसारभर हेरिँदैनन् भन्ने भ्रम तोडिएको थियो । सो भ्रमबाट मुक्त भएपछि राम्रो कन्टेन्टमा उपयुक्त पात्र छान्नुपर्छ र त्यसमा लैंगिक चेत छाड्नु हुन्न भन्ने सोचका कारण उमेरगत विविधीकरणका नायिकाहरू देखिन थालेका छन् ।
नेपालमा भने यस्तो चलन कुन बेलाबाट शुरू हुने हो, हेर्न बाँकी नै छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।