च्याट जिपिटी, च्याट बोटजस्ता एआई द्वारा सिर्जना गरिने टेक्स्टका लागि प्रकाशकहरूले मूल कम्पनीसँग रोयल्टी माग गर्नेबारे सोचिरहेका छन् ।

आफूहरूद्वारा प्रकाशन गरिएका पुस्तकका कन्टेन्टहरू यी च्याटबोटहरूले प्रयोग गरिरहेको आशंकाका साथ सोको रोयल्टी माग्ने विषयमाथि छलफल चलिरहेको हो । खासगरी साहित्यका सनेट लगायत सिर्जना गर्न च्याट बोटहरूले सिद्धहस्त लेखक जत्तिकै क्षमता देखाउन थालेपछि प्रकाशकहरूले रोयल्टी माग्नेतर्फ ध्यान दिन थालेका हुन् ।

पछिल्लो समय एआई सम्बद्ध कम्पनीहरूले मेसिनहरूलाई क्षमताको सीप सिकाउनका लागि पुस्तकहरूको उपयोग गर्न थालेको आशङ्काका साथ तिनमा रोयल्टीको अपेक्षा गर्न थालेका हुन् ।

‘हामीसँग मूल्यवान् कन्टेन्ट छन्, ती कन्टेन्ट उत्पादन गर्न हामीले करोडौँ खर्च गरिरहेका हुन्छौँ तर तिनै कुरा उपयोग गरेर च्याट जिपिटीजस्ता कम्पनी चर्चामा आइरहेका छन् । तिनको कमाईमा हामीले भाग खोज्नु नौलो कुरा होइन,’ न्युज मेडिया अलायन्सका उपाध्यक्ष ड्यानियल कोफीले भने ।

ओपन एआई नामक कम्पनीले गत जनवरीमा च्याटजिपिटी रिलिज गरेको थियो । माइक्रोसफ्ट कम्पनीले आफ्नो सर्च इन्जिन बिङमा सोही टूल उपयोग गरिरहेको छ । त्यसको चर्को होहल्ला शुरू भएपछि अल्फाबेट कम्पनीको गुगलले पनि बार्ड नामक कुराकानी गर्न मिल्ने सफ्टवेयर जारी गरेको थियो । यसले पनि मान्छेले झैँ कुराकानी गर्ने गर्छ ।

रेडइट नामक अर्को सामाजिक सञ्जालले पनि सोही प्रकारको च्याट बोट जारी गर्ने तयारी गरिरहेको छ । यस्तोमा तिनले सर्वसाधारणसँग गर्ने जुन कुराकानी हुन्छ, ती कुराकानी अखबार वा पुस्तकहरूबाट नै सन्दर्भ लिइएका हुन्छन् । तिनको नाफाका लागि अर्काका कन्टेन्टबाट सन्दर्भ लिइसकेपछि कम्तीमा त्यसको फाइदा जसको कन्टेन्ट लिइएको हो, उसलाई पनि हुनुपर्छ भन्नेमा पैरवी भइरहेको न्युज कर्प कम्पनीका प्रमुख कार्यकारी रोबर्ट थम्सनले बताए ।

एआई कम्पनीले जहाँबाट सूचनाको स्रोत उठाइरहेका छन्, तिनमा सूचनाको स्रोतका सर्जकको प्रतिलिपि अधिकार हनन हुन्छ कि हुँदैन भन्नेबारे यतिबेला अमेरिकामा छलफल तीव्र भइरहेको थम्सनले बताए ।

‘प्रायः फेयर युज भन्ने एउटा नीतिले कतिपय सूचना उपयोग गर्न नमिल्ने होइन तर कति प्रयोगलाई फेयर युज भन्ने, कतिलाई कपिराइट लाग्ने भन्ने विषयमा घनीभूत छलफल हुनुपर्ने देखिएको छ,’ थम्सनको भनाइ छ ।

यसअघि ओपन एआईका प्रमुख कार्णकारी साम अल्टम्यानले उच्चकोटीका डेटाका लागि आफूहरूले ठूलो रकम तिर्न इच्छुक भएको बताएका थिए । उमेरमा जम्मा दुई वर्षे च्याट जिपिटीले यतिबेला यत्तिको सम्भावना देखाएको छ भने ठूलो संख्याको डेटा यसले उपयोग गर्न सकेको खण्डमा यसका सूचनाहरू अझ सटीक हुने र त्यसले संसारलाई नै फाइदा गर्ने उनको भनाइ थियो ।

माइक्रोसफ्टको बिङ च्याटले भने सोधिएका कतिपय कुराहरू सटीक रूपमा जवाफ दिने मात्र नभई, थप सूचनाका लागि फलानो वेबसाइट हेर्नुस् भनी जानकारी दिने गर्छ । यस्तोमा सूचना लिएको वेबसाइटलाई माइक्रोसफ्टले केही रकम तिर्नुपर्नेतर्फ केहीले ध्यानाकर्षण गराएका छन् ।

माइक्रोसफ्ट कम्पनीले धेरै वर्षदेखि कतिपय कन्टेन्टको लाइसेन्स लिएबापत ठूलो रकम प्रकाशकहरूलाई तिरिरहेको छ । अब प्रयोग हुने एआईका उत्पादनका लागि बेग्लै रकम तिर्नुपर्ने माग प्रकाशकहरूको छ । यसबारेमा भने माइक्रोसफ्टले कुनै प्रतिक्रिया दिएको छैन ।

उता गुगलको बार्डले भने गरिएका कुराकानीका लागि कुन स्रोतबाट जानकारी उठाएको भनी बताउँदैन । उसले सिधै प्रश्नको जवाफ मात्र दिने गरेको छ ।

गुगल असिस्टेन्सका उपाध्यक्ष सिसी सियाओले गुगलले प्राप्त उम्दा र स्वस्थ सूचनाहरूलाई सदुपयोग गर्ने र सदुपयोग गरेबापत ठूलो रकम दिनेबारे छलफल गर्न सकिने जानकारी दिइन् । गुगलले यसअघि नै वाल स्ट्रिट जर्नलको मुख्य प्रकाशक न्युज कर्प लगायतका कम्पनीसँग गुगल न्युज सो केसमा कन्टेन्ट देखाउन सहमति गरेको थियो । जुन अझै पनि अमेरिकामा जारी भइसकेको छैन । तर यो पुरानो सम्झौताको कुरा भयो । नयाँ प्रविधिसँगै नयाँ सम्झौता हुनुपर्ने माग कतिपय प्रकाशकको छ ।

टेक्स्टको विवाद त केही होइन । यसअघि गेट्टीइमेजेज नामक तस्बिर बेच्ने कम्पनीले अमेरिकाको डेलावेयरमा रहेको स्टाबिलिटी एआई नामक कम्पनीले आफ्नो तस्बिरसँग मिल्दोजुल्दो तस्बिर नक्कल गरी प्रकाशन गरेको आरोप लगाउँदै मुद्दा हालेको छ ।

गत साता अमेरिकी कपिराइट अफिसले एआईले ल्याएको यो नयाँ तहल्कामाथि गम्भीर रूपमा छलफल र बहस हुन जरूरी रहेको र आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।

यसको अर्थ, यसले धेरैको निद्रा अझै केही वर्षभित्रमा खल्बल्याउने देखिन्छ ।