१. समयको धुन

श्रीराम श्रेष्ठ

हावाको मन छ
आज एउटा गीत
सुसेल्ने — धुलोमा
बाजा बजाउँदै ।

धुलोको पनि
मन छ आज
धक फुकाएर नाच्ने
हावाको तालमा
हावाको धुन सुन्दै ।

दुवै जनाको
मन मिलेको छ आज
एउटा आँधीबेहरी
निम्त्याउने परिवर्तन
समयलाई जुरुक्क उचालेर ।

२. विराट समायोजन

विराट समायोजन
अदृश्य उद्गमको
यति धेरै धुलो
जसलाई मैले कुल्चेँ ।

हैन,
धुलोलाई मैले टेक्दै छु
वा
बोकिरहेको छ मलाई
यिनै धुलोले ??

३. धुलोको क्षण

च्वाट्ट काटिएको घाउ
देख्नासाथ आफूमा
एउटा ज्यामी भरियाले
केही नपाएर
झट्टै आफ्नो अगाडि
एक मुठ्ठी धुलो लिएर
लगायो घाउमा
औषधी सम्झेर
एउटा सत्य
त्यो क्षण
धुलोको क्षण ।

अनुवादः आर. मानन्धर

कवि परिचयः
श्रीराम श्रेष्ठ दर्शनलाई विषयवस्तु बनाएर निरन्तर लेखिरहने कवि हुन् । हालै उनको कविता सङ्ग्रह धुलय् धू (धूलोमा धूलो) प्रकाशित भएको छ । सोही सङ्ग्रहबाट यी तीन छोटा कविता प्रस्तुत गरिएको हो ।

मूल रचनाः