पोष चापागाईं भनेपछि एउटा पृथक लेखन शैली मेरो स्मृतिमा आउँछ । छोटो, सरल, विचलन युक्त वाक्य अझ होइन कर्ता, कर्म र क्रियाको अपूर्ण रूप नै उनको लेखन शैलीको विशेषता हो । त्यो नै उनको मौलिकता हो । उनको निजी चिनारी हो ।
केही एक दुइटा अभिलेख पढेर म आकृष्ट भएकी थिएँ सर्जक चापागाईंको लेखनप्रति । उनी मूलतः नियात्राकार हुन्— पश्चिम अस्ट्रेलियाकाे यात्रासंस्मरण-सेरोफेरो पर्थको (२०५८), गोसाइकुण्डदेखि चेन्नैसम्म (२०६०), मौन चुल्ठो (२०६४), पुष्प प्रकम्प (२०६८), बाफको पर्दा (२०६८) लगायत उनका एघार वटा यात्रा निबन्ध सङ्ग्रह प्रकाशित छन् । त्यसपछि उनी कथाकार र समालोचक हुन् । अरू पनि उनका सात कृतिहरू प्रकाशित छन् ।
विविध पदीय दायित्त्व, त्यस्तै अनेक संलग्नता, सम्मान तथा पुरस्कारले साहित्यकार चापागाईँको व्यक्तित्व प्रस्टिएको छ । अस्टे्रलिया, अमेरिका, थाइल्यान्ड, मलेसिया, सिङ्गापुरलगायतका देश भ्रमणको उपलब्धि नै उनका नियात्रात्मक कृति हुन् ।
त्यस्तै उनको पछिल्लो समयको कृति ‘आनन्द’मा एघार दिनको तिब्बत यात्रा रहेको छ । अझ विशेष मानसरोवर र कैलाश पर्वतको यथार्थ र कल्पना मिश्रित वर्णन रमाइलो छ । त्यो स्मरणीय पद यात्रा साहसिक छ । त्यस पुण्यभूमिमा पुग्दाको सुखद अनुभूतिको थाकलाई नै आनन्द भनिएको छ । जीवनको उत्तरार्द्धमा गरिएको कठिन यात्रा भनौँ मनको अभीष्ट पूरा हुँदाको प्रसन्नतालाई उद्भाषित गर्ने शायद उनीसँग अर्कोअर्थपूर्णशब्द थिएन ।
“संसार दर्शनहरूको घर हो ” पोष चापागाईं एक वैचारिक तहमा पुगेर भन्छन् “आस्था र दर्शन इतरको संसारमा एक्लै हिँड्न सक्तैन मान्छे ।”
उनको नियात्रामा उनले भने जस्तै आस्था र दर्शनको गहिरो प्रभाव परेको छ । आस्तिकर नास्तिक दुवै चेत पालैपालो प्रकटित भएका छन् । उनले भन्न खोजेको आस्था आस्तिकतासँग मात्र जोडिएको छैन । नास्तिकहरूको पनि एउटा दर्शन छ, विश्वास छ । आँखाले देखिने सत्य बाहेक अर्को पनि सत्य छ भन्नेमा उनीहरू विश्वस्त हुन सक्दैनन् । भौतिकता नै सम्पूणर्ता हो भन्नु पनि एउटा विचारको आस्था हो, दर्शन हो, विश्वास हो ।
छोटो अवधिको त्यस्तै एघार दिनको यात्रामा, एक कृति नै तयार गर्नु लेखनप्रति, साहित्यप्रति स्रष्टा चापागाईंको गहिरो अभिरुचि र भरोसाको एक दृष्टान्त हो । लेखन शिल्पका दृष्टिले कृति जति मौलिक छ, संरचनात्मक दृष्टिले पनि उतिकै मौलिक लाग्छ । यात्राका बिसौनीहरू, बास उपबास तथा रोचक प्रसङ्गलाई खण्ड उपखण्डमा शीर्षकीकरण गरिएको हुँदा, एउटा टुङ्ग्याएर अर्को कतिबेला शुरु गरौँ जस्तो कौतूहल कृतिले उत्पन्न गरेको छ ।
त्रिभुवन विमानस्थलबाट आरम्भ भएको यात्रा गोङ्गार विमानस्थल हुँदै अगाडि बढ्दा ल्हासा पुग्छ । छैँटाैँ दिनमा गन्तव्य मानसरोवरमा रोकिन्छ । त्यसपछिको अझ कठिन यात्रा छ कैलाश पर्वतकाे । तीर्थयात्रीहरूको एउटा ठूलो समूह छ । केही यात्री मात्रै अन्तिम गन्तव्यमा पुग्न सकेका छन् ।
भ्रमणमा चापागाईंको साहित्यिक मन केही खोजिरहन्छ । बडो आकाङ्क्षी छ । यात्राको आरम्भमै त्यो मन बोल्छ, “आज भने लेखौँ लाग्ने, लेख्ने केही भेटिएन ।”
साहित्यकार चापागाईं नचिनेका पाठकलाई, उनको नियात्रात्मक कृति ‘आनन्द’ पढेपछि वर्षौं अघिका चिनारुको आभास हुन्छ । ठट्यौलो त्यो रौसे स्वभाव मन पर्ने छ । उनी असाध्यै गफी छन् । उनमा हास्य र व्यङ्ग्य दुवै कला छ । आफैँलाई व्यङ्ग्य गर्न समेत उनी हिच्किचाउँदैनन्, अर्थात् उनमा हीनताबोध छैन । त्यसैले आफैँमाथि परिहास गर्छन् ।
तात्कालीक क्षण नै उनका साहित्यिक विषय हुन् । जस्तो बोलिएको छ, हिँडिएको छ, खाइएको छ, त्यो अनौपचारिक दैनिकीलाई उनले खसोखास साहित्यिक रूप दिएका छन् । प्रत्यक्षतालाई औपचारिक वाणी दिएको अनुभूति पाठकलाई हुँदैन । अझ भनौँ संयमितभन्दा असंयमित, सहज, स्वाभाविक, प्राकृतिक लाग्छ उनको लेखन । कृत्रिमता जहिले पनि जटिल हुने गर्छ । उनमा त्यो जटिलता छैन । बरु संवाद सुन्नु जतिकै मूर्तता र प्रत्यक्षताको अनुभव हुन्छ ।
यात्रा रमाइलो छ, टीमले भरपुर मनोरञ्जन लिएका छन् । आफूलाई नास्तिक भन्न रुचाए पनि लेखकको अन्तस्करण आस्तिकताले चलेको छ । मानसरोवरको त्यो दुःखसाध्य यात्रामा कतै अभर परिने हो कि ? फर्किएर नआइने हो कि ? उनमा एउटा भय छ । त्यतिखेर उनी अलिक काँतर लाग्छन् । तैपनि मित्रलाई डर भगाउने तरिका सिकाउन उनी तत्पर हुन्छन् । भ्रमणका अर्का सहयात्री शिव भट्टराईमा पनि त्यस्तै एउटा भय छ, “मलाई त डरडर लाग्दैछ । तपाईंलाई नि ?” प्रश्न गर्छन् लेखकलाई ।
विश्वास एउटा यस्तो प्राकृतिक उपचार विधि हो । उत्तरमा चापागाईं निसन्देह भावमा बोल्छन्, “जब मन धकधक गर्न थाल्छ ॐ ॐ ॐ भन्नूस् भनिरहनूस् । जबसम्म मुटु धकधक गर्न छोड्दैन भनिरहनूस् । हिमालदेखि समुद्रसम्मका जडिबुटी ॐकारमा समाहित हुन्छन् (पृ—९)।”
ब्रह्मपुत्रको छेउछाउ हुँदै ल्हासा रिभरपछिको पोताला दरबार नजिक पुग्दा सर्जक निकै उदास हुन्छन् । छिनछिनमै मनोजगतमा अल्पिन्छन् । अनौठा अनौठा दृश्य रच्न थाल्छन् । त्यतिखेर उनी आफू जन्मे हुर्किएको भोजपुर दिङ्गला समेत पुग्छन् । तिब्बतीभूमिमा पुग्दा देशको महिमा बोध गर्छन् ।
यो जगतलाई हेर्ने उनको आफ्नै दृष्टिकोण छ । तीर्थ, व्रत, दान, धर्मलाई उनी आध्यात्मिक किसिमले हेर्न रुचाउँदैनन् । त्यो त सुखप्राप्तिका लागि गरिएको कर्म हो, “धर्म गर्ने वा पाप गर्ने मान्छेको मन जस्तोसुकै पनि हुन सक्छ । मन सानो-ठूलो, असल-खराब हुन सक्छ । तर जस्तोसुकै मनले पनि रमाउन खोज्छ । सबै मन रमाउन चाहन्छन् (पृ-१३)। ”
यस्तो पृथक प्रस्तुतिको नियात्रा अघिका दिनमा पढेको सम्झना छैन । एकापसको संवादमा नाटक भनूँ जस्तो । फेरि लेखकले आफैँसँग गरेको संवार्तामा मनोवाद भन्नु नै ठीक लाग्ने । यात्राको निरन्तर सिलसिलामा दैनिकी नै सही । वैचारिकता र निजात्मक अनुभूतिमा यी निबन्ध त यसै पनि हुन् । त्यसमा नियात्राको विशेषता छँदैछ । मिथकीय चरित्र, घटना, परिवेश र स्वैरकल्पनामा एउटा आख्यान पढ्नु जतिकै उत्कण्ठा झन् विशेष छ । शिवपुराणका अनेक संहिता, उपनिषद र महात्म्यको भावानुवादमा पूर्वीय व्याख्यान उल्लेख्य लाग्छ । कविता पनि छ नि । यस्ता विविध संरचनात्मक तत्त्वले निर्मित कृति हो— ‘आनन्द’ ।
कति कति बेला लेखकको विचारमा विरोधाभास पाउँछु । कहिले आस्तिकताको पक्षमा बोल्छन् त कहिले नास्तिकताको । तर कृतिले गहिरो आध्यात्मिक चेत जागृत गराउन सकेको छ । शिव महिमा सघन छ ।
तिब्बतको बन्जरभूमि कति उराठिलो होला ? पोताला दरबारको वर्णनमा प्रयुक्त विम्ब र प्रतीकले एउटा यस्तो जीवन्त चित्र खिच्छ— नाङ्गा मान्छेहरूको बीचमा सुन्दर आभूषण र वस्त्र लाएर उभिएकी चिटिक्ककी षोडशीजस्तो । शुष्क, निरस वातावरणप्रति उनी विरक्त हुन्छन् । पोताला दरबार वरपर बोटबिरुवा, हरियाली खोज्नु मूर्खता हो रे ! उनले यही भनेका छन् । खसी काटेर तातोपानीले खुइल्याइएको मासु र तिब्बतको पठार भूमि उनी एउटै देख्छन् । यसरी दृश्यात्मक विम्बले प्रत्यक्षताको अनुभूति हुन्छ ।
बोन्साइ गरिएका सडक किनारका बोटलाई उनी गान्टे रुख भनेर चिन्छन् ।
तिब्बत र नेपालबीचको भावनात्मक सम्बन्ध सातौँ शताब्दी अझ अघिदेखि कायम थियो । स्रङ्चन गम्पोसँग भृकुटीको बिहेले अर्को सम्बन्ध थप्यो । तिब्बतीहरूको लागि नेपाल ससुराली देश बनेपछिको सुमधुरता बढ्दै जान्छ । भृकुटीले माइतीको सान बढाउँदै गइन् । आज पनि तिब्बतीहरूले उनीप्रति गरेको उच्च श्रद्धा देखेर लेखक गौरवले प्रफुल्लित हुन्छन् । त्यहाँ एउटा दर्शनीय स्थलको नाम नै भृकुटी तीर्थ राखिएको थाहा पाउँदा कत्रो प्रतिष्ठाबोध हुन्छ, “भृकुटीले दाइजो स्वरूप लगेको बुद्ध मूर्ति प्रतिस्थापन गर्न जोखाङको पवित्र मन्दिर निर्माण भएकाले यस क्षेत्रलाई पवित्र स्थल अथवा ल्हासा भन्ने गरी त्यसैबाट ल्हासा सहरको नाम रहेको रहेछ (पृ-२२)।”
स्रष्टा चापागाईंले ठाउँ विशेषको राम्रो अवलोकन गरेका छन् । आफूले देखेको स्थलगत दृश्यमा केही खोजमूलक ज्ञानले अझ प्रस्ट पारेका छन् । ल्हासा, मानसरोवर अनि कैलाश पर्वतको भ्रमण नगरेका पाठकलाई प्रस्तुत नियात्रा एकदमै रोचक लाग्ने छ । मलाई पनि लाग्यो । गुम्बै गुम्बाको शहर ल्हासा जाने मनमा यतिखेर एउटा उत्कट इच्छा पैदा भएको छ ।
तिब्बती र नेपाली वास्तुकलाको संयोजन पाइने जोरखा गुम्बालाई-जोरखा मन्दिर पनि भन्दा रहेछन् लेखक बताउँछन् गुम्बाभित्रका ऐतिहासिक र सांस्कृतिक सामाग्री नेपालसँग सम्बन्धित पनि पाइन्छ ।
स्कूलको पाठ्यक्रममा भृकुटीलाई एक विभूतिको रूपमा पढाइन्थ्यो । उनको बिहे तिब्बतमा भएको, त्यहाँ उनले गौतम बुद्धको प्रचार गरेको त्यस्तै केही सामान्य जानकारी मात्रै अहिले स्मृतिमा आउँछ । त्यस बाहेक नेपाल र तिब्बतबीचको निकटता, भृकुटीप्रतिको उच्च सम्मानबारे लेखक चापागाईंको आनन्द नपढेको भए यी कुरा थाहा पाउनबाट म वञ्चित हुने रहेछु ।
बौद्ध धर्म र दक्षिण एसियाली भूखण्डको सभ्यता र संस्कृति हिमालपारि पुर्याउने नेपालकी छोरी (भृकुटी) को कत्रो यश कीर्ति छ । उतिखेरकी चेलीको त्यो पराक्रमलाई मिथकीय कथा झैँ पढाउने गरिन्छ । तर त्यस्तै साहसिक, निर्भीक, कर्तव्यनिष्ठ चेली तयार पार्ने शिक्षा कहिल्यै दिइएन । बस्, एउटा इतिहास मात्रै घोकाइन्छ ।
ल्हासा सहर सानो होइन । अति ठूलो पनि के भन्ने । सहरजस्तो सहर । रमरम रमाइलो लाग्यो रे लेखकलाई । चाइनिज वा तिब्बती लवजका अस्पष्ट नेपालीभाषी वक्ता, अझ व्यापारीहरू कति पुस्ता भयो होला त्यहीँ स्थायी बसोबास गरेको । अझ पनि उनीहरूले आफ्नो भाषा भुलेका छैनन् । भाषाप्रेम, जातिप्रेमको एउटा दृष्टान्त छ आनन्दमा ।
महाकविले मुनामदनमा देखेको ल्हासा र चापागाईंले आनन्दमा देखेको ल्हासामा, म कत्ति पनि समानता पाउँदिनँ । मलाई मदन पुगेको ल्हासा नै मन पर्यो, सुन्दर लाग्यो । सुनका गजुर, अग्ला अग्ला अट्टालिका अनि त्यसभित्रका सुन्दरीहरू अझै पनि झ्यालबाट निहारिरहेका छन्, मेरो बालमस्तिष्कमा । तिब्बतको त्यो अनुर्वर वन्जर भूमि मदनले कहीँ देख्दैन । साथका मित्रहरूले उसलाई छोडेर गए । परदेशको भोटेले प्राण भरिदिन्छ । त्यो मानवता मुनामदनमा अहिले पनि जीवितै छ, अर्थात् कविज्यूको ल्हासामा ।
नेपालीहरू उद्यम गर्न ल्हासमा जाने परम्परा शायद भृकुटीको बिहेपछि अझ सहज भएको हुनुपर्छ, “एक समय ल्हासामा नेपाली व्यापारीहरू धेरै थिए रे ! नेपालीहरूले करिब-करिब ल्हासाको व्यापारमा आफ्नो आधिपत्य जमाएका थिए रे ! अग्रता थियो रे ! यहाँ आदिवासी भएर बसेका नेपालीका सन्तान-दरसन्तान अझै उहाँ बन्दव्यार गरेर बसेका छन् रे (पृ-१२) !”
यात्रा जब मौन हुन खोज्छ त्यतिखेर लेखकले ठट्टा परिहास गर्दै रमाइलो बनाउन शिवपुराणका, संहिता र महात्म्यका कथाहरू भन्न थाल्छन् । देवी देवताका रतिरागात्मक प्रेम, रासलीला र छलकपटका घटनाले यात्रीहरू फेरि बौरिन्छन् । देवताहरूका छल कपट प्रायः त्यही रतिरागका लागि भएका छन् । उनीहरू पनि दोषरहित थिएनन् भन्ने उदाहरणका कथा हुन् ती । हामी भगवानका लीला मानेर त्यसलाई आध्यात्मिक दृष्टिले हेर्छौं । तर लेखकले ती पुजनीय चरित्रलाई सामान्यीकरण गरेका छन् । उनीहरूलाई मानिसजस्तै भौतिकीकरण गरेका छन्, केही व्यङ्ग्य मिसाएर । उनीहरूको कुकृत्यलाई मनोरञ्जनको रूपमा लिए पनि कृतिमा लेखकले पराभौतिक चिन्तनको रस उत्पन्न गराएका छन् ।
पूर्वीय वाङ्मयले देवी देवता, ऋषि महर्षिका सन्तान नै आजका हामीहरू हौँ भन्छ । हामी देवपुत्रका सन्तति हौँ । यसरी वंश कायम राख्न रतिरागात्मक प्रेम गर्नु, रासलीला रच्नु प्राकृतिक कुरा हो । कुनै अक्षम्य भूल र निकृष्टता होइन । त्यसो हो भने देवदेवीको रतिप्रेममा अनौठो मान्नु पर्ने नै के छ र ? उनीहरू पनि हामी जस्तै जैविक चाहनाले परिचालित थिए । वेद पुराणमा वर्णन गरिएको उनीहरूको देह पनि हाम्रै जस्तो थियो । त्यो अलौकिक शक्तिले मात्र उनीहरू मानव चरित्रदेखि माथि उठेका थिए । उनीहरूसँग पनि रीस, राग, द्वेष, ईर्ष्या थियो । रमायण, महाभारत त्यस्तै अन्य धार्मिक ग्रन्थमा कत्रो जालझेल प्रपञ्च, घातप्रतिघातका कथा छन् । अझ भनौँ हाम्रा धर्म ग्रन्थहरू रतिप्रेम र युद्धै युद्धका कथा हुन् । त्यही समयदेखि नै युद्ध, भय, आतङ्कको बीजारोपण भएको थियो ।
यात्राको तेस्रो दिन भ्रमण टोली ल्हासाबाट सिगात्से पुगेको छ । लोभपाप नभएपछि मान्छे शून्य बन्दो रहेछ । लेखक बेला बेला वैचारिक तहमा पुग्छन् । भनाइ समान्य छ तर अर्थ मलाई विशेष लाग्छ । गीतामा कृष्णले यही भनेका छन्—संवेग परित्याग गर, सारा दुःख स्वतः हटेर केवल कर्म मात्रै बाँकी रहने छ । हो त्यतिखेर मान्छे शून्य स्थितिमा बस् कर्ममा ध्यानस्थ हुन्छ ।
एकै वाक्यले बहु अर्थ दिने र अनेक विम्बको आकृति कल्पनामा ल्याउने स्रष्टा चापागाईँको भाषा प्रभावकरी लाग्छ । सिगात्सेकोसाइट सिइङका सुन्दर र मोहक सडक मार्गलाई उनले एकै वाक्यमा यसरी दृश्यात्मक बनाएका छन्, “भर्खर नुहाएकी योनीक्षत नगरिएकी सुन्दरी कामिनी जस्ता सडक … ।”
सानैदेखि मैले सुन्दै आएको स्वस्थानी व्रत कथामा ब्रह्मा, बिष्णु, वृन्दा र जालन्धरका कथा अलिक बेग्लै थिए—चापागाईंले आनन्दमा प्रस्तुत गरेका कथाभन्दा । एक ठाउँमा कामुक कुवेरको आँखा फुटेको छ । माता पार्वतीलाई कामाशक्त दृष्टिले हेर्दा ऊ त्यसरी खोटी हुन्छ । लेखकले संहिताका कथा उपकथामा हमेसा कामुकता मात्रै देख्नुमा, एउटा मनोवैज्ञानिक तथ्य छ । किनकि उनी पनि त्यही कामुकताले गतिशिल छन् र त त्यस्तै कथामा गफिएका छन् । फेरि अर्को कुरा यात्रालाई रोचक बनाउन, पाठकलाई लोभ्याउन उनी त्यसो गर्दैछन् । नियात्रालाई आख्यानात्मक बनाउनु पनि त्यस्तै अर्को ध्येय हो ।
नारीकै कारण विश्वमा धेरै अप्रिय कुरा घट्दै आएका छन् । यो नौलो कुरा होइन । अझ पूर्वीय तथा पश्चिमका शास्त्रीय ग्रन्थमा ठूला ठूला युद्धपात भएका छन् । विनाशको हरहिसाब नै छैन । यसरी नारीलाई केन्द्रमा राखिनु र अनिष्ट घटना घटाउनु यो प्राकृतिक चेतले दिएको आदेश हो या पुरुषवादी सोचले ? अनादिकालदेखि नै नारीमाथि पुरुषको एकाधिकार र हस्तक्षेप हुँदै आएको छ । चापागाईंको आनन्दमा वर्णित मिथकीय कथा पढ्दा ममा एउटा विद्रोही स्वर अनायासै जागृत भइदिन्छ ।
एउटी महिलाको लागि उसले जुन किसिमको पुरुषार्थ देखाउँछ वास्तवमा ऊ त्यति नै दुर्वल पनि छ । किनकि ऊ ज्यादा भोगी छ । प्रकृतिबाट ऊ किञ्चित टाढिन सक्दैन । जति एउटा महिला पुरुषबाट टाढिन सक्छे । उसको अनुपस्थितिमा पनि स्वभाविक हुन सक्छे । श्रीमतीको अनुपस्थितिमा एउटा पुरुष कति विचलित हुन्छ । उदाहरणको लागि हाम्रै गाउँ समाजको विधवा र विधुरलाई हेर्नुस् । त्यसो त पितृसत्तात्मक संस्कारले महिलालाई दृढ निसङ्गी भएर बाँच्न बाध्य बनाएको छ । यति भएर पनि पुरुषभन्दा प्रकृति मनोवैज्ञानिक रूपमै बलिया हुन्छन् । हाम्रो परिवेशले नारीलाई मानसिक रूपमै दुर्वल हुन मन्द जहर खुवाएर मात्रै ऊ कमजोर देखिएकी हो ।
स्त्रीभन्दा पुरुष कमजोर हुन्छन् भन्ने दृष्टान्त मानिसमा मात्र होइन अन्य प्राणीको मनोवैज्ञानिक अनुसन्धानबाट पनि पुष्टि हुन्छ । जस्तो कि परेवा । आफ्नी प्रेयसी मर्यो हरायो भने उसले रातारात गुँड छोड्छ, अर्कीको खोजीमा । तर ऊ एक्लै रहन सक्दैन ।
भ्रमणको पाँचौँ दिन सागाबाट मानसरोवरको गन्तव्य अब झन् उत्सुक बन्दै जान्छ । कैलाशवासी महादेवलाई लेखक साखिल्लो भावमा ‘शिव बा’ को सम्बोधन गर्छन् । उनको महात्म्य गाउँछन् । उनलाई अहिले पनि महादेव त्यहीँ कैलाश पर्वतमा छन् जस्तो लाग्छ । आँखा चिम्लिन्छन्, ध्यान गर्छन् । शिवको प्रत्यक्ष दर्शन पाएको कल्पना गर्छन् । संवाद गर्छन् । त्यही प्रभावले पाठकलाई पनि हो न हो भगवान् शिव त्यहीँ निवासित छन् भनूँ झैँ लाग्छ ।
‘मानसरोवरको तटबाट मैले देखेको आकाश’ कविता ! वाह ! उनको त्यो कवि हृदय कसरी प्लावित भएको छ । बादलका कल्पित दृश्यलाई विम्ब बनाइएको छ ।
अब राक्षस ताल पुगिसकेको छ पदयात्रा । त्यो ठाउँ साँच्ची नै शिवपुराणमा भनिएजस्तै लाग्छ । त्यो मिथक यथार्थै थियो भन्नु लाग्छ । त्यहाँ लेखक कल्पना जीवन्त लाग्छ ।
ठाउँ विशेष काल्पनिक हुनु कवि हृदयको विशेषता नै हो । भ्रमण दलका अर्का सहयात्री डा. अनन्त अधिकारीको कविता ‘अनुरोध मानसरोवरसँग’ त्यस्तै आह्लादकारी छ । कालीदासको मेघदूतबाट प्रभावित भएर उनले त्यो कविता रचेको हुनुपर्छ । आफ्नी प्रेमिकालाई खबर छोडिदिन मानसरोवरलाई अनुरोध गरेका छन् ।
विश्वास र अविश्वासको सङ्घारमा, मानसरोवरको तटमा लेखकले पितृ कर्म सम्पन्न गरेका छन् । उनको साथमै छ कार्मकाण्डीय पुस्तक । तर उनलाई त्यो एउटा औपचारिकता लाग्छ । त्यस पवित्रभूमिमा पुगेर पितृलाई तर्पण दिएँ भन्ने आत्मविश्वासले पूर्णतः तृप्ति दिँदैन । बरु हाँस्छन् आफूले गरेको श्राद्ध कर्मप्रति । उनी बडो हास्य चरित्रको लाग्छ ।
आफैँलाई कतिखेर उनी झुम्रे भन्छन्, कतिखेर लन्ठु अनि कहिले लठुवा । यस्तै उस्तै भनिरहन्छन् । वास्तवमा उनी झुम्रे हुँदा हुन् त्यो झुम्रेपनलाई छिपाउन अनेक अभ्यास गर्ने थिए ।
मानसरोवरको परिसरमा पितृकार्यको लागि होमहोमादी गर्ने तिर्थालु तथा श्रद्धालु यात्रीहरू प्रशस्तै छन् । नियात्राकार चापागाईं जस्ता अविश्वासी होइन । अन्तश्चेतनाले जे गरिन्छ त्यही सिद्धि हुन्छ भन्ने कुरामा लेखकलाई शायद भरोसा थिएन । कर्मभन्दा पनि विश्वास ठूलो कुरा हो, जतिखेर कर्म नै साध्य भइदिन्छ ।
लेखकको स्मृति विम्बमा कैलाश पर्वत सृष्टि, स्थिति र प्रलय गराउने चाँदीको दिव्य दरबार रहेको छ । शिवजीलाई राजाको रूपमा स्थापित गरेर आध्यात्मिक विम्बलाई उनले यस किसिमले भौतिकीकरण गरेका छन्, “मैले पर माथि चाँदीको घर देखेँ । कैलाश । घरै त चाँदीको । चाँदीको घरभित्र केके होला ? रत्नैरत्न । सुन होला । … कला होला । कलाकार होलान् । सौन्दर्य होला । रूपवतीहरू होलान् । विद्वान होलान् । संसारभरिका मरेका मान्छेहरूको आत्मा चाँदीका घरभित्रको सर्वोच्च अदालतभित्र लगिन्छ होला । आत्मा टुक्रुक्क बस्छ होला सुनको बेन्चमा । न्यायाधीशले सोध्छन् होला—मत्र्यलोकमा तैँले केके राम्रा काम गरिस् ? केके नराम्रा काम गरिस् ? सबै फेहरिस्त भन् । टुक्रुक्क बसेको, डरले लुगलुग काम्दै गरेको आत्मा भन्दो हो—मैले यो गरेँ । त्यो गरिनँ … (पृ-८०)।”
सर्जक बडो उडन्ते मनका छन् । उनको मानस विम्बमा थरीथरीका दृश्य बन्छन् । मानौँ, वेद पुराणमा सुन्दै आएको मानसरोवर, कैलाश पर्वत उनले भनेजस्तै थियो । त्यसो त उनले तिनै वेद ग्रन्थादिमा आधारित भएर त्यस्तो कल्पना गरेका थिए । त्यस्तै मनोवाद रचेका थिए । उनको लेखन कलाले ती यथार्थ हुन् कि काल्पनिक ? एउटा भ्रम उत्पन्न गरेको छ । पाठक उत्सुक हुन्छन् । पक्कै उनले ब्रह्मा, बिष्णु, महेश्वरलाई देखेका थिए । लक्ष्मी, सरस्वती, पार्वती पनि भेटे जस्तो लाग्छ ।
कृतिमा वास्तविकता र कल्पनाको सुन्दर संयोजन गरिएको छ ।
यात्राटोली अब दुई भागमा विभाजित भएको छ । कैलाश पर्वत जाने र नजाने । बलिया, बाङ्गा दिन उमेरका यात्रीले त्यो आँट गरेका छन् कैलाश दर्शन गर्ने । लेखक दम्पतीलगायतका यमद्वारबाट फिर्ता भएर दार्चेन गेष्ट हाउसमा, मित्रहरूको प्रतीक्षामा रहन्छन् । लेखकले कैलाश पर्वत पुगेको अनेक कल्पना गर्नु शायद त्यहाँ जान असमर्थ हुनुको क्षतिपूर्ति थियो ।
सुसाङ अर्थात् मृत मान्छेको शरीर टुक्रा टुक्रा पारेर गिद्धलाई खुवाउने ठाउँ । तामाङ समुदायको त्यो चल्तीचलन अचम्मको छ । हुन त त्यस्तो संस्कारबारे मिडियामा आइरहन्छ । तर यसमा अलिक अनौठो कुरा छ— मन्त्र पढेर गिद्धलाई बोलाउने । पापी मान्छेको मासु खान गिद्ध नआउने कुरा जनविश्वास होला कि यथार्थ ? उसो त गिद्धले पापी अधर्मी मान्छे कसरी खुट्याउँछ ? कस्ता मानिसलाई पापी भन्ने ? अनि धर्मात्मीहरू कस्ता हुन्छन् ? मन्त्रको प्रभावले कहाँकहाँबाट ती पक्षी कसरी आए होलान् ? टाढाका तिनले मन्त्रोचारण गरेको कसरी सुन्न सक्छन् ? यस प्रसङ्गमा केहीबेर म सोचमग्न भएँ । अनि लाग्यो देखिएको सत्यभन्दा नदेखिने सत्य कैंयन् गुणा प्रभावकारी हुन्छ । उसो भए के त्यो घटना एउटा अदृश्य सत्य हो ?
लेखकले यस नियात्रात्मक आख्यानमा पाठकलाई बडो जटिल स्थितिमा पुर्याएर एक्लै छोडिदिन्छन् । उनको कुरामा विश्वास गर्ने नगर्ने ?अर्थात् हिन्दू धर्मशास्त्रलाई कसरी लिने ? उनका भनाइ अनुसार घरी घरी लाग्छ, हाम्रो धर्मशास्त्र आस्था र विश्वासले बनिएको एउटा आत्मिक चिन्तन हो । उनी स्वयं कहिले बडो आस्थावान् हुन्छन् । कहिले उनको आस्था नै हराउँछ । यद्यपि शिवजीप्रतिको आस्था भने अभिन्न लाग्छ । यसरी उनी विषय सन्दर्भ अनुसार कहिले आफ्नो आस्थाको समर्थनमा हुन्छन् कहिले विखण्डनमा ।
कैलाश पर्वतको फेदीमा पुग्दा लेखकले भाँती भाँतीका दृश्य वर्णन गरेका छन् झन् कैलाशमै पुग्दा कति काल्पनिक होलान् ? भन्ने एउटा उत्सुकता दार्चेन गेष्ट हाउस फिर्ती भएपछि त्यसै मुर्झाउँछ । त्यसपछि उताको कैलाश पर्वत पुग्ने कठोर भयप्रद मार्गको वर्णन डा. अनन्त अधिकारीको आलेखबाट ज्ञात हुन्छ ।
पुस्तकको अन्त्यमा डा. अनन्तको ‘कैलाश परिक्रमा अद्भुत अनुभूति’ एक आलेख राखिएको छ । पेशाले मनोचिकित्सक भए पनि उनी राम्रा नियात्राकार रहेछन् । कैलाश यात्राबारे उनको अनुभूति साँच्ची नै अद्भुत रहेको छ । मिजासिलो लेखन प्रस्तुति लोभ्याउने खालको छ । तीन दिनको पदयात्रामा, कैलाश पर्वतको परिक्रमा पूर्ण भएको उनी बताउँछन् ।
पहिलो दिन मानसरोवरबाट देरापुकसम्म बाह्र कि.मि., दोस्रो दिन जुथुलपुकसम्म बाइस कि.मि. र तेस्रो दिन दश कि.मि. गरी ४४ किलोमिटरको पदयात्रा ज्यादै साहसिक लाग्छ । कति यात्रीहरू बीच मार्गमै बिरामी परेका छन् । फर्काइएका छन् । कतिपय यात्रीहरू घोडामा सवार छन् ।
यात्राको सिलसिलामा कैलाश पर्वतको सेरोफेरोले सम्मोहित भएका डा. अनन्त एक ठाउँमा भन्छन्, “धर्तीमा पनि कतै स्वर्ग छ भने यतै हुनुपर्छ ।”
यात्राको दशौँ दिन यात्रीहरू पुनरागमन हुन्छन् । भोलिपल्ट ढुङ्गामा आइपुग्छन् ।
पुस्तकमा देशप्रेम, देश महिमा आइरहन्छ । केरुङको बोर्डरबाट नेपालको भूमिमा पाइला राखेपछि लेखक मातृभूमिप्रति श्रद्धाले झुक्छन्, “पिसाब फेर्ने निहुँले पर खोल्सीमा म गएँ । पहिले भुइँमा हातले छोएर हात जोडेँ । अनि निकै बेर दस औँला जोडी भित्तातिर फर्केर देशवन्दना गर्दै मनमनै भनेँ …(पृ—१३७)। ”
एउटा पृथक प्रस्तुतिको सिर्जना पढिसकेपछि ढुक्क लाग्यो, समय व्यर्थताको बोध हुन पाएन । लेखकको त्यो ठट्यौली शब्द गठनले पनि मलाई लोभ्याइरह्यो जस्तो—शिव बाको लँगौटी फेर्ने दार्चिनमा हट वाटर ? देउताले नुन छरेका तिब्बतका पाखापखेरा, सूर्यसँगै लभ खेली बसेका डाँडापाखाहरू ।
सबै कृति सबैका लागि मन नपर्न सक्छन् । पाठकलाई प्रभाव पार्ने भाषा शैली, विचार यस्तै अनेक तत्त्वहरू हुन्छन् । आनन्दले मलाई राम्रै प्रभाव छोडेर गयो । अरू पाठकलाई पनि यसले सही प्रभाव पार्ने कुरामा म विश्वस्त छु । प्रस्तुत कृतिले स्रष्टाको थप चिनारी बढाउँदै जाओस यही कामना छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।